14th December 2017, Thursday

E-budhabar

अख्तियारले किन उम्कायो ठूलो माछो ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको विषयमा विशेष अदालतमा मुद्दा चलाउने अन्तिम तयारीमा गरिरहेको बेला एक ‘ठूलो माछा’को मुद्दा तामेलीमा राखेको छ । आयोगका एक आयुक्तको जोडमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा विशेष अदालतमा दायर हुनै लाग्दा पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलीमा राखिएको हो ।
स्रोतका अनुसार नेपाल सरकारका पूर्वगृहसचिव तथा आयुक्त नवीन घिमिरेले आफ्नै सम्धीको तीव्र दबाबका कारण अर्यालको मुद्दा तामेलीमा राख्न लगाएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रबन्ध महाशाखाका डीआईजी पवन खरेल घिमिरेको सम्धी भएको र सम्धीले निकै कर गरेपछि अर्यालको मुद्दा अदालतमा पेस नगरिएको बताइएको छ ।
अर्याल आईजी हुँदा कल्याण कोष, आर्थिक प्रशासन महाशाखालगायतका मालदार स्थानमा बसेर गैरकानुनी रूपमा मनग्ये आर्जन गरिसकेका डीआईजी खरेल आयुक्त घिमिरेका सम्धी रहेको जानकारी पाएपछि पूर्वआईजीपी अर्यालले घिमिरेमार्फत आफ्नो मुद्दा रोक्न लगाएको अख्तियार स्रोतले दाबी गरेको छ । उक्त मुद्दा रोक्न लगाउन डीआईजी खरेलले डेढ हप्तायता धेरैपटक आफ्ना सम्धी घिमिरेसँग भेट तथा टेलिफोनमा कुुराकानी गरेको उच्च स्रोतले दाबी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको सम्पत्ति विवरणमा पूर्वआईजीपी अर्यालले करोडौं रुपैयाँ आँप खेतीबाट मात्र आर्जन गरेको उल्लेख छ । तर, अनुसन्धानले उनको पुख्यौंली सम्पत्ति पनि कम रहेको र सिरहाको मिर्चैयास्थित उनको जमिनबाट त्यसरी आँपको उत्पादन र आम्दानी हुन नसक्ने ठहर गरेको बताइन्छ ।
तर, अर्यालले अहिले भने विभिन्न स्थानमा साझेदारी र एकलौटी ढंगले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनले विभिन्न आफन्त र आफ्ना विश्वासीका नाममा सम्पत्ति सञ्चय गर्ने गरेको बताइएको छ । उनले मीत साइनो लगाउने गरेका एनआरएनका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोसँग प्रायः हरेक ठाउँमा व्यापारिक साझेदारी गर्ने गरेको भेटिएको छ ।
सम्पत्ति धेरै भएपछि अख्तियारको छानबिनमा परिेने भयले अर्यालले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खनियाखर्कमा करिब २५ रोपनीको एउटा डाँडो आफ्ना दाइको नाममा पास गरिदिएका छन् । त्यस्तै, सिन्धुलीकै सुनकोसी गाउँपालिकामा पनि उनले पर्याप्त जग्गा खरिद गरेको भेटिएको बताइन्छ ।
तीन वर्ष तीन महिना आईजीपी चलाएका उनले सिन्धुलीका पेट्रोलियम व्यवसायी कामेश्वर महतोसँग पनि साझेदारी गरेको बताइन्छ । प्रहरीभित्र राम्रो दाम कमाएका भनेर चिनिएका एआईजीद्वय रमेशशेखर बज्राचार्य र वीरेन्द्रबाबु श्रेष्ठलाई प्रयोग गरेर आफ्नो हस्ताक्षरबिना नै अर्यालले अकुत रूपमा कमाएको स्रोतको दाबी छ । च्यानल मिलाउन सक्ने खुबी भएका यी दुवैलाई सबैभन्दा आकर्षक प्रशासन महाशाखा र मानवस्रोत महाशाखामा पालैपालो जिम्मा दिएर अर्यालले कमाएको बताइएको छ ।
अख्तियारको प्रमुखमा लोकमानसिंह कार्की रहँदा प्रहरीको स्रोतसाधन नेताहरूको सुराकीमा प्रयोग गरी विवादमा आउने मात्र होइन, हरेक काम लोकमानलाई सोधेर वा उनको निर्देशन लिएर मात्र गर्ने गरेको आरोप पनि अर्यालमाथि लागेको छ । आफू आईजीपी हुँदा प्रबन्ध शाखालाई १५ सय रुपैयाँ पर्ने सामानलाई ४५ सय रुपैयाँसम्मको दर राखेर अर्बौंको खरिद गराई उक्त खरिदको टेन्डर भने उनै लोकमानको सम्धी रोहिणी थपलियालाई दिइएको थियो ।
तत्कालीन दरबारिया पृष्ठभूमिका कुमारबहादुर शाहीको सिरहामा रहेको मौजामा रेखदेख गर्न भर्ती भएका उपेन्द्रकान्तका बुवाले शाहीकै दबाबमा पञ्चायतकालमा इन्स्पेक्टरमा जागिर लगाइदिएका थिए । त्यस्तो हैसियतको मान्छे अहिले अर्बपति भएपछि सबैको आँखा लागेको बताइएको छ ।

कामिनीले मन्त्रीलाई किन बुझाइन् २ करोड ?
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई खुसी पार्नका लागि नेपाल टेलिकमले २ करोड रुपैयाँ चुनावी खर्च बुझाएको बताइएको छ । वाम गठबन्धनको प्रभावका कारण सिन्धुपाल्चोकबाट पराजयको संकेत पाएसँगै आगामी चुनावमा पैसाकै खोलो बगाउने योजनाअनुसार मन्त्री बस्नेतले टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीमार्फत २ करोड बुझेको उच्च स्रोतले दाबी गरेको छ ।
त्यति मात्र होइन, सिन्धुपाल्चोकको चुनावी अभियानमा निर्वाचन आचारसंहिताको व्यापक धज्जी उडाउनुका साथै दर्जनौं संख्यामा टेलिकममा गाडीहरूको दुरुपयोग भएको बताइएको छ । मन्त्री बस्नेतले चुनावी खर्चका नाममा नेपाल टेलिकमका कर्मचारी उच्च तहका कर्मचारी, प्रबन्ध निर्देशक र केही व्यापारीहरूसँग समन्वय गरेर २ करोड ल्याइदिनू भनेर निर्देशन दिएका आधारमा कामिनीले २ करोड बुझाएको बताइएको छ । मन्त्रीले चुनाव आएको र खर्च प्रशस्तै लाग्ने भन्दै २ करोड रुपैयाँ सहयोगको प्रबन्ध मिलाउन टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई निर्देशन दिएका थिए । केही समय त के गर्ने होला भनेर अलमलमा परेकी प्रबन्ध निर्देशक भण्डारी अर्का घुस्याहा प्रबन्धक गजेन्द्र ठाकुरको परामर्शपछि मन्त्री बस्नेतलाई २ करोड रकम बुझाउन राजी भएकी थिइन् । ‘सुरुमा त राजभण्डारीले यति धेरै रकम मैले कसरी दिने भन्दै आफूले सहयोग गर्न असमर्थ रहेको जनाउ दिएकी थिइन्, तर सबैसँग उठाएर दिन सकिने ठाकुरको सुझावपछि उनले मन्त्रीको मान्छेलाई पैसा पठाइदिइन्,’ टेलिकम स्रोतले भन्यो ।
मन्त्री बस्नेतबाट दबाब आएपछि पछि अप्ठेरो पर्ने ठानेर उनले मागेको आर्थिक सहयोग प्रदान गरिएको बताइएको छ । यता मन्त्रीका लागि केही अभाव नगर्नू भन्दै उनले केन्द्रीय कार्यालय र जिल्ला शाखाहरूबाट चाहिएजति सरकारी गाडी पठाउने गरिएको बताइएको छ । सो कुुराको टेलिकमका कांग्रेस निकटका कर्मचारीबाहेक अन्यले समर्थन गरेका छैनन् । मन्त्री बस्नेतले मनोनयनका दिनदेखि यताका हरेक दिनजसो सबैतिर गरी करिब तीन दर्जन सवारीसाधन प्रयोग गरिरहेको बताइएको छ । सिन्धुपाल्चोकका प्रचारमा हिँड्ने कांग्रेसी कार्यकर्ताहरू पनि ‘मोहन दाइले पैसाको परवाह नगर्नू, जसरी पनि जित्नुपर्छ’ भनेको भन्दै मस्तीका साथ प्रचारमा हिँडेको बताइन्छ । त्यहाँ कार्यकर्ताहरूले नै ‘टेलिकमको पैसा छ, हामीलाई केको दुःख छ ?’ भन्ने नारा नै बेलुका थकाइ मार्ने बेलामा आन्तरिक रूपमा लगाउने गरेको एक कार्यकर्ताले नाम नबताउने सर्तमा जानकारी दिए ।
के छ गाडी दिने प्रावधान ?
विभिन्न किसिमका लक्जरीदेखि मध्यम खालका गाडीहरू नेपाल टेलिकमसँग रहेको छ । त्यसका हाकिमहरूले मन्त्री, सचिव वा अन्य उच्च पदस्थ कर्मचारीहरूलाई चाकडी गर्नुपरेको खण्डमा पर्याप्त तेलसमेत हालिदिएर गाडी चालकसहित पठाइदिने चलन नौलो होइन ।
पावरदार व्यक्तिले भनिसकेपछि कागजी प्रक्रिया मिलाएर तुरुन्त गाडी पठाइदिने र आफूहरू निरीह हुने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले सिन्धुपाल्चोकमा गाडी दुरुपयोग भएको स्विकार्दै मन्त्रालयको प्रयोगका लागि आवश्यक भन्दै मन्त्रालयबाट चिठी लिएर आएपछि र एमडीले तोक लगाएपछि आफूहरूले रोक्न नमिल्ने जानकारी दिए । उनले यसमा आफ्नो संलग्नता नभई एमडीकै आदेशमा आफूहरूले काम गरेको बताए । गाडीसम्बन्धी हेर्ने काम भने निर्धर भट्टराईले गर्दै आएका छन् ।
प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक ठाकुरले टेलिकममा अर्बौं रुपैयाँको भ्रष्टाचार गरिरहेको टेलिकमका कर्मचारीको आरोप छ । राजभण्डारी र ठाकुरले फोरजी सेवा सञ्चालन र अन्य अनेकौं प्रोजेक्ट तथा टेन्डरमा खुला भ्रष्टाचार गरेको टेलिकमकै कर्मचारीहरूले खुलासा गरेका छन् ।
थ्रीजीका उपकरण तथा पुरानै टावर प्रयोग गरेर फोरजी सेवा सञ्चालन गरेको प्रचारप्रसार गरेर १ अर्ब २५ करोड रुपैयाँ खर्च गरिएको छ । यसको सूक्ष्म छानबिन गरिए १ अर्बभन्दा बढीको भ्रष्टाचार गरिएको स्पष्ट हुने स्रोतको दाबी छ ।
यता प्रबन्ध निर्देशक राजभण्डारीले भने आफूलाई मन्त्रीले कुनै पनि आर्थिक सहायता र गाडीका लागि दबाब नदिएको बताइन् । उनले बुधबार प्रतिनिधिसँग भनिन्, ‘मन्त्रीज्यूले त्यस्तो केही भन्नुभएको छैन, मिलाएर लेखिदिनुहोला ।’
स्मरणीय छ, उनले फोरजीमा गरेको घोटाला र टेलिकममा रहँदा गरेको गैरकानुनी आर्जनबारे अख्तियारले छानबिन गरेको र मुद्दा चलाउने अन्तिम तयारी गरेको छ । बयानका लागि उनी यसअघि नै पुगिसकेकी थिइन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कुमारी र एनसीसी बैंक डुबाउने खेलमा को–को ?

काठमाडौं । काण्डैकाण्डमा मुछिएको कुमारी बैकमा फेरि पनि विवाद बल्झिएको छ । यसअगाडिका सीईओ उदयकृष्ण उपाध्याय यौन काण्डमा परेर चर्चामा आएका मात्र होइनन्, उनको जागिर नै गएको थियो- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

जहाँ फुल्दै छ एउटा सार्थक सपना

आखिर सपना देख्नेहरू नै बदल्छन्– सिंगो संसार, आफू बाँचिरहेको समाज÷परिवेश । युवा सर्जक कमल ढकालसँग पनि सपनाका अनगिन्ति थाकहरू थिए । तिनै सपनामध्ये अहिले एउटा स्वप्नले सार्थक र- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

चीन बुझ्न सजिलो

पहिलो आर्थिक महाशक्ति बन्ने तीव्र दौडमा सामेल चीनले पछिल्ला अवधिमा विकास, उन्नति र समृद्धिको क्षेत्रमा मारेको फड्कोले सबैलाई चकित तुल्याउँछ । समाजवादी राज्य प्रणाली अपनाएयता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा