14th August 2018, Tuesday

E-budhabar

अधिनायकवादः कांग्रेसको राजनीतिक ‘बिजनेस’



अधिनायकवादः कांग्रेसको राजनीतिक ‘बिजनेस’

कांग्रेसले सरकारमाथि ‘अधिनायकवाद’को आरोप लगाउँदै आएको छ । कांग्रेस बुद्धिजीवीहरू यसलाई साबित गर्न कम्मर कसेर लागेका छन् । कतिपय गैरकांग्रेसीहरूलाई पनि सरकार अधिनायकवादी बनेको लागेको छ । उनीहरूले पनि यसको निरन्तर विरोध गरिरहेका छन् । कांग्रेसले लगाएको अधिनायकवादको आरोप भने नयाँ होइन । कम्युनिस्टहरूलाई ऊ लोकतन्त्रवादी नै देख्तैन । कम्युनिस्टहरूलाई अधिनायकवादीका रूपमा प्रस्तुत गर्न उसले इतिहासमा धेरै मसी खर्च गरेको छ । कम्युनिस्टहरूसँगको प्रतिस्पर्धामा उसलाई यसबाट थोरैधेरै लाभ पनि मिलेको छ । २०५२ सालमा एमालेको सरकार बन्दा पनि उसले आजको जस्तै अधिनायकवादको खतरा देखेको थियो । त्यसपछिका कम्युनिस्ट सरकारहरूलाई लिएर पनि उसले यस्तै आरोप लगाउने गरेको हो । आज ऊ यो आरोप अलि जोडले लगाउँदै छ । ‘अधिनायकवाद’ कांग्रेसको यस्तो राजनीतिक ‘बिजनेस’ हो, जसको प्रयोग सबैभन्दा बढी उसले आफू कमजोर भएको महसुस गर्दा गर्छ । यसले कांग्रेसको राजनीतिक जीवनमा एक प्रकारले मृतसञ्जीवनी बुटीकोे काम पनि गर्छ । एक जना विख्यात भारतीय नेता पार्टीसँग कुनै बिजनेस नभएका बेला गाडीमा भए पनि ढुंगा हान्न लगाउनुपर्छ भन्थे । यसले पार्टी जीवनलाई गतिशील बनाउन भूमिका खेल्छ भन्ने उनको विचार थियो । कुनै खास मुद्दा नभएको कांग्रेसले आज यही गर्न खोजेको देखिन्छ ।
कांग्रेसले अधिनायकवादको भय निर्वाचनको बेलादेखि नै देखाउन सुरु गरेको हो । दुई ठूला पार्टी मिलेर चुनाव लड्ने भएपछि उसले ‘अधिनायकवाद’को ‘फायर’ खोलेको थियो । अधिनायकवादको त्रास देखाएर जनतालाई आफूप्रति आकर्षित गर्न सकिन्छ भन्ने उसको ठम्याइ थियो । ऊसँग अरू त्यस्ता कुनै मुद्दा थिएनन् । जनविरोधी निर्णय र क्रियाकलापका कारण सरकार अलोकप्रिय बनेको थियो । जनता कम्युनिस्टहरूमा आफ्नो भविष्य देखिरहेका थिए । कम्युनिस्टहरू मिलेर चुनाव लड्ने कुराले उनीहरूलाई अझ उत्साहित बनाएको थियो । कांग्रेसको पराजय निश्चित थियो । कम्युनिस्टहरूको सम्भावित सानदार विजयबाट नराम्रोसँग झस्किएको कांग्रेससँग अधिनायकवादको आरोप लगाउनुभन्दा अर्काे कुनै विकल्प बचेको थिएन । तर उसको यस आरोपलाई जनताले पत्याएनन् । निर्वाचनमा ऊ नराम्रोसँग पराजीत भयो ।
कुनै बेला कांग्रेस कम्युनिस्टहरू धर्म मान्न दिदैनन्, छोरीचेली भन्दैनन्, ६० वर्ष नाघेकालाई गोली हानेर मार्छन् आदि जस्ता कुरा गरेर जनतालाई भ्रमित गर्न खोज्थ्यो । कतिपय सोझा जनता उसको कुरालाई पत्याउँथे पनि । समयले यसलाई झुठो सावित मात्र गरेन, यो त उसको जनतालाई कम्युनिस्टहरूको विरोधमा उभ्याउन गरिने भ्रमपूर्ण प्रचार पो रहेछ भन्ने पनि स्पष्ट ग¥यो । एमालेको नौ महिने सरकारका बेलामा यस्ता धेरै भ्रम च्यातिए । जनमत निर्माणको यस्तो कांग्रेसी तरिका आज भुत्ते भएको छ । जनताले उसका कुरा पत्याउन छोडेका छन् । अधिनायकवादको उसको आरोपको पोल पनि निकै चाँडै खुलेको छ । निर्वाचनदेखि यहाँसम्म आइपुग्दा अधिनायकवादको कांग्रेसी रोइलोको निहितार्थ स्पष्ट भएको छ । जगत्ले कांग्रेस यसलाई सरकार र कम्युनिस्ट पार्टीका विरुद्ध प्रभावकारी हतियारका रूपमा प्रयोग गर्न चाहन्छ भन्ने बुझ्दै छ ।
अधिकनायकवादको आरोपको पुष्टिका निम्ति उसले जे–जस्ता आधारहरूलाई अगाडि सारेको छ, तिनले त्यसकोे पुष्टि गर्दैनन् । कांग्रेस अधिनायकवादको आरोपको बैसाखी टेकेर कम्युनिस्टहरूलाई कमजोर बनाउन सकिन्छ भन्ने राजनीतिमा छ । ऊ जे गरिरहेछ यसैअनुसार गरिरहेछ । राजनीतिक नियुक्तिको खारेजी केही ठाउँमा सभाजुलुस गर्न नपाइने निर्णय, सभामुख, उपसभामुख दुवै आफूले राखेको विषय, गोविन्द केसीको अनशन, उपकुलपति र डाक्टरलाई बालुवाटार र गृह मन्त्रालय बोलाइएको प्रकरण आदिले सरकार अधिनायकवादी भएको प्रमाणित गर्दैनन् भन्ने कुरा कांग्रेसलाई पनि राम्रोसँग थाहा छ ।
अधिनायकवाद कस्तो हुन्छ, कांग्रेसलाई बुझाइरहनुपर्दैन । संसारमा अधिनायकवादका धेरै उदाहरणहरू छन् । कठोर होस् वा तुलनात्मक रूपमा उदार, अधिनायकवाद अधिनायकवाद नै हो । लोकतन्त्र र अधिनायकवाद सँगसँगै हिँड्न सक्दैनन् । लोकतन्त्रका माझबाटै अधिनायकवाद आउन सक्छ । यसका अनेकौं दृष्टान्त छन् । अधिनायकवादका निम्ति आधार निर्माण गर्ने कार्य कहिलेकाहीँ लोकतान्त्रिक भनिने शक्तिहरूले पनि गर्छन् । कांग्रेसले आज जेजस्तो भूमिका सम्पादन गर्दै छ, यसले वर्तमान सरकारलाई असफल बनाउने र लोकतन्त्र विरोधी शक्तिहरूलाई खेल्नका निम्ति ठाउँ प्रदान गर्ने कार्य गर्न सक्छ । धमिलो पानीमा माछा मार्न चाहनेहरू मौका पर्खेर बसेकै छन् । पूर्ण बहुमतको सरकारलाई असफल बनाउने, पुनः अराजकता र अस्थिरता खडा गर्ने, घुमाइफिराइ राजनीतिक शक्तिहरू मुलुकको नेतृत्व गर्न असक्षम छन् भन्ने पुष्टि गर्ने, राजनीति र दलप्रति चरम निराशा र घृणाको खेती गर्नेजस्ता कार्यहरू आज पनि सुनियोजित रूपमा भइरहेका छन् । कांग्रेसजस्तो आफूलाई सबैभन्दा लोकतान्त्रिक भन्ने राजनीतिक शक्ति पनि जानेर हो वा नजानेर यही गरिरहेछ । आन्दोलनको घोषणै गरेर उसले परिस्थितिलाई अझ जटिल बनाउन चाहिरहेछ । संवादबाटै समस्या समाधान गर्न सक्ने बाटाहरू खुला हुँदाहुँदै कांग्रेसले वर्षा मासमा आन्दोलनको घोषणा किन ग¥यो, धेरैलाई आश्चर्य लागिरहेछ ।
लोकतन्त्रमा आलोचना गर्न पाइन्छ, सडकमा विरोध प्रदर्शन गर्न पनि पाइन्छ । विरोधका अरू तरिकाहरू पनि अपनाउन सकिन्छ । तर, यी सबै जिम्मेवारीपूर्वक गरिनुपर्छ । अधिनायकवादको जुन आरोप उसले लगाउँदै छ, यसले राजनीतिक द्वन्द्वलाई बढाउने काम मात्र गर्छ । अधिनायकवाद हल्का ढंगले प्रयोग गर्ने शब्द नै होइन । लोकतन्त्रका लागि सँगसँगै लडेको, सरकारमा सँगसँगै बसेर काम गरेको, मिलेरै संविधान निर्माणलाई टुंगोमा पु¥याएको एउटा सहयात्रीलाई बिनाआधार अधिनायकवादको आरोप लगाउँदा यसको के अर्थ लाग्छ भन्ने हेक्का उसलाई हुनुपर्ने हो । हाम्रो राजनीतिक आन्दोलनमा शब्दको प्रयोगमा ख्याल नगर्ने, आवेग र आक्रोशमा जे पनि भन्ने र गर्ने प्रवृत्ति पाइन्छ । यो अपरिपक्वताको प्रमाण हो । जुन दिन यहाँ अधिकनायकवाद लागू हुन सुरू गर्नेछ, काङ्गे्रसले यसरी विरोध गर्न नै पाउने छैन । सरकारले गरेको निर्णयमा अदालतले स्टे अडर दिन पनि सक्नेछैन । अधिनायकवादले सबैको थाप्लामा टेकेर शासन गर्नेछ र राज्यका सबै अंग उसका निर्जीव कठपुतली मात्र बन्नेछन् ।
लामो राजनीतिक संक्रमणपछि मुलुकले एउटा दिशा पक्रेको छ । नेकपाको नेतृत्वमा दुई तिहाइ समर्थन प्राप्त सरकार बनेको छ । नेपालको लोकतान्त्रिक शासनको इतिहासमा यो एक महŒवपूर्ण राजनीतिक घटना हो । यसले जनतामा आसा र उत्साह जगाएको छ । अस्थिरता, बेथिति र गरिबीबाट गुज्रिरहेको मुलुकले अब त काँचुली फेर्छ कि भन्ने धेरैलाई लागेको छ । यो आशालाई पूरा गर्ने गरी कार्य गर्नु आजको सरकारको दायित्व हो । यसलाई पूरा गर्न नसक्दा सरकार मात्र असफल हुने छैन, लोकतन्त्र नै असफल हुनेछ । कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर यस कार्यलाई सघाउन सक्छ र सघाउनुपर्छ । कमजोरीहरूमाथि उसले रचनात्मक विरोध गर्न सक्नुपर्छ । मुलुकले यस्तो अवस्था सधैं थेग्न सक्दैन । निराशा र हीनताबोधको जुन स्तर आज नेपाली समाजमा पाइन्छ, मुलुकले तरक्की गर्न नसके यसले कुनै पनि बेला विस्फोटक रूप ग्रहण गर्न सक्छ । सरकारले बेलाबखत बाटो बिराउने सम्भावना रहने भएकैले लोकतन्त्रमा जिम्मेवार प्रतिपक्ष चाहिन्छ । प्रतिपक्ष नै गैरजिम्मेवार बन्न थालेपछि सरकार मात्र होइन शासनव्यवस्था नै अप्ठेरोमा पर्छ । कांग्रेसले यस यथार्थलाई हेक्का राख्न जरुरी छ । परिवर्तन विरोधी शक्तिहरू अहिले पनि सोचे जति कमजोर छैनन् । लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको कांग्रेस यस विषयमा गम्भीर र संवेदनशील बन्न सक्नुपर्छ ।
यस मुलुकमा कम्युनिस्टहरूले पनि लोकतन्त्रका निम्ति लामो संघर्ष गरेर आएका छन् । उनीहरूको योगदानलाई कांग्रेसको भन्दा कम आँक्न सकिन्न । कम्युनिस्ट र कांग्रेस मिलेर संघर्ष नगरेको भए २०४६ सालमा पञ्चायतको अन्त्य र लोकतन्त्रको स्थापना सम्भव नै थिएन । कम्युनिस्ट र कांग्रेस मिलेर संघर्ष गर्न सकेको भए लोकतन्त्रको स्थापना २०४६ सालभन्दा अघि नै हुन सक्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना दुवै मिलेर संघर्ष गर्दा नै सम्भव भयो । दुवै मिलेर अघि बढ्दा संविधानसभाबाट संविधान निर्माण हुन सक्यो । लोकतन्त्रको विरोधमा कम्युनिस्टहरू उभिएको भए यी सबै हुन सम्भव थिएन । नेपालको आफ्नो राजनीतिक विशिष्टताका कारण नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनका पक्षमा मात्र उभिएन, उसले आफूलाई लोकतान्त्रीकरण पनि गर्दै आयो । एमालेले कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका पक्षमा आफूलाई धेरै पहिले उभ्याएको थियो । माओवादी २०६२÷६३ को आन्दोलनपछि यस बाटोमा क्रमशः अगाडि बढ्यो । विचारमा समानता देखिएपछि दुवै पार्टीका बीचमा एकता पनि सम्भव भयो । नेकपा लोकतान्त्रिक प्रक्रियाबाटै समाजवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ । समाजवादको उल्लेख संविधानमै गरिएको छ ।
वर्तमान संविधानको निर्माणमा नेकपाले धेरै समय, श्रम र विवेक खर्च गरेको छ । संविधानलाई कागजको खोस्टोमा परिवर्तन गर्ने कार्य उसबाट हुन सम्भव छैन । लोकतन्त्रप्रतिको उसको प्रतिबद्धतामा अविश्वास गर्नु आफूबाहेक अरूलाई लोकतान्त्रिक देख्नै नसक्नु हो । कांग्रेसमा यो चरित्र सबैभन्दा बेसी छ । कांग्रेस लोकतन्त्रका नाममा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा जसरी हिड्न चाहन्छ नेकपा त्यसरी हिंड्न चाहन्न । नेकपा कांग्रेस होइन, हुन सक्तैन । लोकतान्त्रिक ढङ्गले समाजवादको दिशामा अघि बढ्न चाहने सरकारलाई अधिनायकवादीको संज्ञा दिनु एक प्रकारको अलोकतान्त्रिक चरित्र प्रर्दशन गर्नु हो । सरकारमा कमजोरी होलान, हुन सक्छन् तर कमजोरीहरू नै अधिनायकवादका आधार होइनन् । कमबेंसी कमजोरीहरू सधैं रहन्छन् । विगतका सबै लोकतान्त्रिक सरकारहरूमा रहँदै आएका छन् । यस्ता कमजोरीहरू भोलिका सरकारहरूमा पनि रहनेछन् । अधिनायकवादको भ्रम छरेर राजनीतिक लाभ लिन चाहने प्रवृत्ति नै लोकतन्त्रका निम्ति सबैभन्दा बढी हानिकारक छ । यसले नै लोकतन्त्रलाई असफल बनाउन भूमिका सम्पादन गर्नेछ ।
सुनिँदै छ, सरकारलाई अधिनायकवादी साबित गर्न एकथरी बाहिरको पैसै खाएर लागेका छन् । कैयाँैलाई योजनाबद्ध रूपमा लेख्न लगाइएको छ । वर्तमान सरकारबाट अधिनायकवाद आउँदैन भन्ने ‘फन्डिङ’ गर्ने र लिने दुवैलाई थाहा छ । भूराजनीतिक महŒव राख्ने नेपालमा अधिनायकवाद उनीहरूको चासोको विषय नै होइन । उनीहरूको चासो यस मुलुकको भूराजनीतिक संवेदनशीलता हो । यो कुनै नयाँ कुरा पनि होइन । यस मुलुकको अस्थिरता, निर्धनता र पछौटेपन भूराजनीतिक संवेदनशीलताबाट फाइदा लिन चाहनेहरूका निम्ति फाइदाजनक हुन्छ । कांग्रेसले यस यथार्थलाई बुझ्न चाहेको देखिन्न । परिपक्व राजनीतिक गर्ने हो भने कांग्रेस अहिले सरकारलाई कमजोर बनाउनतिर लाग्नै हुन्न । राजनीतिमा धैर्य लिन पनि सक्नुपर्छ । अब कम्युनिस्टले सधै शासन गर्ने भए, हाम्रा दिन गए भन्ने भयबाट ऊ मुक्त हुनुपर्छ । सरकारलाई काम गर्न नदिने, अवरोध खडा गर्ने क्रियाकलापले उसलाई नै नोक्सान पु¥याउनेछ । अलोकप्रियताका कारण निर्वाचनमा नराम्रोसँग पराजीत कांग्रेसले यस यथार्थलाई राम्रोसँग हेक्का राख्न आवश्यक छ । अरूको इसारामा सरकारलाई अधिनायकवादी सावित गर्न लागेकाहरूले पनि बुझ्नुपर्छ, यो बलियो जनमतबाट बनेको सरकार हो । यो लोकतन्त्रप्रति प्रतिबद्ध छ । गोयबल्स शैलीले अब काम गर्दैन । कम्युनिस्टहरू गोयबल्स शैलीका विरुद्ध निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेका हुन् । जित उनीहरूकै हुनेछ, गोयबल्सहरूको होइन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा