22nd June 2018, Friday

E-budhabar

अनेक आयामका गजल



अनेक आयामका गजल

जगन्नाथ दाहाल केही वर्षयता गजल लेखनमा समर्पित रूपले लागिरहेका स्रष्टा हुन् । विविध आयामका गजलहरू लेखेर उनले पछिल्लो समय मौलाउँदै गइरहेको गजल विधालाई समृद्ध र उन्नत बनाउन सक्रिय भूमिका निभाइरहेका छन् । १४ वटा गजलका कृति ल्याइसकेका छन् उनले । ती गजलहरूमा केही बालगजलका कृति पनि रहेका छन् । गजल लेखनमा प्रयोग गर्न रुचाउने दाहालको पछिल्लो अर्थात् पन्ध्रौं गजल–कृति हो, ‘धर्तीको सूर्य’ । र, यो पछिल्लो गजल कृतिमा उनले आफ्ना पूर्ववर्ती भाषा, शैली र कथ्यलाई निरन्तरता दिँदै गजल लेखनमा पहिलादेखि नै बिसाउँदै आएका पदचिह्नलाई पछ्याउन चाहेका छन् ।
दाहालको गजल लेखनको धरातल विशाल छ । विषयवस्तुका हिसाबले अनेक दिशा र क्षितिजहरूमा उनको लेखनी फैलिएका छन् । प्रेम, सामाजिक÷पारिवारिक सन्दर्भ, मान्छेका कथा र व्यथाहरू, प्रकृतिका बयानजस्ता अनेक रूपरंगमा उनका गजलहरू छरिएका छन् । उनका प्रेम–सन्दर्भका गजलहरू आफ्नो फरक चिनारीसहित उभिएका प्रतीत हुन्छ । एउटा बान्की यस्तो छ,
‘जसरी नि तिमीलाई, म त आज लान्छु
मनभित्र बसिसक्यौ, म उर्वसी ठान्छु
मेरो मन ह¥यौ तिम्ले, मेरो दिलै ह¥यौ
हजारौं थे तर म त तिमीलाई छान्छु’
दाहालका प्रेमसम्बन्धी गजलहरू प्रायः पुरुष र स्त्रीबीच एकअर्कामा प्रकट हुने शारीरिक आकर्षण र त्यसले निम्त्याउने प्रेमप्रवाहको सीमामा पुगेर उभिन्छन् । खासगरी, विपरीत लिंगीबीच उब्जिने आकर्षण, माया र त्यसले उब्जाउने छटपटी र चिन्तनहरू उनका प्रणयरूपी गजलका विशेषता हुन् । शृंगारिक ढाँचाका उनका गजलहरूमा निमग्न रहँदा एउटा के कुरा प्रष्ट हुन्छ भने, नेपाली गजल लेखनकै परम्परालाई उनले पनि पछ्याएका छन् । मोतीराम भट्ट, भीमनिधि तिवारीले बसालिदिएको जगमा नै उनी गारो लगाउन उद्यत देखिन्छन् । यी हरफहरूले पनि त्यसलाई स्वतः पुष्टि गर्दछ–
‘म तिम्रो जवानी, पिएरै अघाएँ
तिमी चाह गथ्र्यौ, दिएरै अघाएँ
थियो एक धोको, मनैमा गढेको
खुबै मस्ती मैले, लिएरै अघाएँ ।’
प्रणयबाहेक उनका गजलहरू राजनीति र राष्ट्रप्रेमको सेरोफेरोमा पनि घुमेका छन् । राष्ट्रियताका विषयलाई लिएर हामीकहाँ बेलाबखत अनेक प्रसंगहरू उठ्ने गर्दछन् । छिमेकीहरूको हेपाहा र मिचाहा प्रवृत्ति देख्दा राष्ट्रलाई प्रेम गर्ने नागरिकहरूको मन कटक्क काटिँदै आएको छ । सिमानाहरूमा देखिने हेपाहा प्रवृत्तिले कुनै पनि नेपालीलाई असह्य हुनु स्वाभाविक हो । अझ, स्रष्टाहरूलाई त राष्ट्रियतामाथि अरूले प्रश्नचिह्न उठाउँदा चित्त दुख्नु सामान्य पक्ष हो । उनी लेख्छन्,
‘टनकपुर रोयो मेरो, सुस्ता पनि रोयो
मेची महाकाली हुँदै, गण्डकी नै धोयो
प्रताडित कोसी रोयो, कालापानी रोयो
लुटिएर जताततै, दुख–पीडा फोयो’
दाहालले आफ्नो गजल लेखनको विषय राजनीतिलाई पनि बनाएका छन् । विगतमा एक दशकसम्म नेपाली भूमि युद्धका नगराहरूले घन्किए । धेरै नेपालीले ज्यान गुमाए, धेरै विधवा भए । र, कैयौं युद्धका पीडालाई अहिलेसम्म बोकेर बाँचेका छन् । युद्धको त्रासदीलाई खोतल्दै उनी लेख्छन्,
‘के को लागि सहिद भए, सत्रौं हजार यो देशमा
लाग्न थाल्यो मनभित्र, भए बेकार यो देशमा
कहाली नै लाग्छ देख्दा, विधुवा र अपांगको
वियोगको थिएन क्यै, दरकार यो देशमा ।’
कृति ः धर्तीको सूर्य
विधा ः गजलसंग्रह
गजलकार ः जगन्नाथ दाहाल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १११
मूल्य ः १५०।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा