आईजीकै चलखेलले अब्बल प्रहरी बढुवामा पछाडि
काठमाडौं । नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रमुखका हिसाब दिने नम्बरलाई चलखेल गर्दा कार्यक्षेत्रमा अब्बल मानिएका प्रहरीहरू पछाडि परेका छन् । महानिरीक्षक खनालले बढुवा समिति र आफूले ध्यान नदिँदा तथा प्रधानमन्त्रीदेखि अन्य नेताहरूको अंगरक्षकहरूलाई बढुवामा पहिलो प्राथमिकतामा राख्दा अब्बल प्रहरी अधिकृतहरू पछाडि परेका हुन् ।
प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिसमा कार्यक्षेत्रमा खटिनेलाई भन्दा नेताका अंगरक्षकहरूलाई प्राथमिकतामा राखेर बढुवा गरिएको छ । बढुवा समितिले दिने नम्बर प्रहरी महानिरीक्षकले दिने नम्बरमा चलखेल हँुदा इमानदर प्रहरी अधिकृतहरूमाथि अन्याय भएको छ । उनीहरूलाई प्राथमिकतामा राखेर बढुवा गर्दा कार्यक्षेत्रमा खटिएकाहरूलाई अन्याय भएको छ । डीएसपीबाट एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त, वसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, तारादेवी थापा दीपशमशेर राणा प्रज्वल महर्जन वरीयताक्रममा पछि परेका छन् भने रमेश बस्नेत र भीम दाहाल बढुवामै छुटेका छन् । रजौरे, राठौर, खत्री, पन्त अप्रेसनमा समेत निकै अब्बल अफिसर मानिन्छन् ।
लामो सयमदेखि कर्मचारी प्रशासनमा रहेका अच्यूतमप्रसाद पुडासैनीलाई पहिलो नम्बरमा र प्रताप गुरुङ दोस्रो नम्बरमा बढुवा भएका छन् । उनीहरू दुवै जना आगामी कात्तिकमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् । पुडासैनी गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीका भाइ हुन् । एउटै ब्याचमा रहेका विश्व अधिकारीले भने तेस्रो नम्बरमा बढुवा भएका छन् । उनी सिन्धुपाल्चोकमा एकपटक मात्रै कमान्ड सम्हालेका थिए, बाँकी समय प्रहरी प्रशिक्षण प्रष्ठिानमा बसेका थिए । सिन्धुपाल्चोकमा रहँदा पनि नेविसंघकी एक जना नेतृको अश्लील भिडियो खिचेर विवादमा आएका थिए । पोखरेल सीआईबीले ३३ किलो सुन बरामद गरेको बेला अनुसन्धान अधिकृत रहेका थिए । आभूषण तिमिल्सेनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचारधीन छ भने बेलबहादुर पाण्डे कीर्तिपुर, नवलपरासी र काठमाडौं परिसरमा बस्दा छवि सुधार्न नसक्ने प्रहरी अधिकृतका रूपमा चिनिएका भए पनि उनी बढुवा सिफारिसमा परेका छन् । तिब्बतीहरूसँग पैसा लिएको आरोपमा बौद्धबाट पाँच बर्षअघि प्रहरी प्रधान कार्यालय तानिएका प्रताप गुरुङलाई दोस्रो नम्बरमा बढुवा दिएर पुरस्कृत गरिएको छ । पुडासैनी पनि बौद्ध र कर्मचारी प्रशासनमा रहँदा उनको रेकर्ड राम्रो छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा खटिएका सानुराम भट्टराईले चौथो नम्बरमा बढुवा हुन अवसर पाएका छन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि सुरक्षाका गार्डको प्रमुखका रूपमा खटिएका थिए । भट्टराई अवसरवादी प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । त्यसैगरी, अभिनारायण काफ्ले पनि माधव नेपाल प्रधानमन्त्री हँुदा सुरक्षा गार्डका प्रमुखका रूपमा खटिएका थिए । उनी पनि बढुवाको आठौं नम्बरमा सिफारिस भएका छन् । बढुवा समितिले कार्यक्षेत्रमा खटिएका भन्दा नेताका पीएसओका रूपमा खटिएका प्रहरीलाई अग्रस्थानमा राखेर बढुवा सिफारिस गरेको छ । डीएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छन् । सो ब्याचका रमेश बस्नेत भीम दाहाललगायत केही क्षमतावान् अधिकृत बढुवामा छुटेका छन् । दाहाल रानीबारी हत्याकाण्डको सफल अनुसन्धान अधिकृत हुन् । उनलाई गृह मन्त्रालयले पुरस्कारसमेत दिएको थियो ।
प्रहरी निरीक्षकबाट डीएसपी बढुवा पनि उस्तै देखिएको छ । पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री वामदेव गौतमको पीएसओ बसेका मिमबहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन् । अपेक्षाकृत राम्रा मानिएका रेवतीरमण पोखरेल ३५ नम्बरमा पुगेका छन् भने दिप्ती कार्की आठौ, रोशन खड्कालाई ५०औं, कौशल बुढाथोकी २३औं, भीष्म हुमागाईं १४औं नम्बरमा बढुवा भएका छन् । हुमागार्इं हाल सरकारले गठन गरेको ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डको उच्चस्तरीय छानबिन समितिमा समेत रहेका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन वर्षको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा कोही अघि कोही पछि परेका हुन् । ‘प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्यांकनलाई बढुवाको आधार बनाएको छ, त्यही नियमावलीअनुसार बढुवा सिफारिस भएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो । सो नियमावलीअनुसार १०० नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन, २० नम्बर ज्येष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, साढे सात नम्बर शैक्षिक योग्यता तथा २ नम्बर सरकारको विभूषणका आधारमा दिइन्छ ।
बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत भनेर प्रहरी महानिरीक्षकले दिन्छन् । यही १२.५ नम्बरमा राजनीतिक पहुँचका आधारमा बढुवाको प्रतिस्पर्धीहरूले चलखेल गर्ने गरेका छन् । ‘प्रहरी महानिरीक्षकलाई पनि सबैको कार्यक्षमताबारे जानकारी हुँदैन, तर उनले दिने नम्बरमै कोहीकसैले चलखेल गरिदिन सक्छन्, त्यसकारण राम्रा मानिएका अफिसरहरू बढुवामा पछि पर्दे आएका हुन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply