आचार्यले पारे रेलवे विभाग अस्तव्यस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणमा काठमाडौंसम्म रेलवे जोड्ने सम्झौता भइसक्दा पनि नेपाल सरकारअन्तर्गत रहेको रेलवे विभाग भने अस्तव्यवस्त भएर कुनै गृहकार्य नगरी बसेको छ । भारत र चीन दुवै देशबाट रेलमार्गमार्फत नेपाललाई जोडेर समृद्धि ल्याउने उद्घोष गरिरहँदा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको एक मात्र सरकारी विभाग भने सुस्ताएर सरकारको स्प्रिटअनुसार प्रस्तुत हुन नसकेको भन्दै गुनासो बढेको छ ।
यसरी विभागप्रति गुनासो बढ्दै जानुमा विभागको नेतृत्वको नालायकीपन रहेको विभागकै कर्मचारीहरू बताउँछन् । अहिले विभागमा महानिर्देशकका रूपमा अनन्त आचार्य कार्यरत छन् । उनी हृदयेश त्रिपाठी, विजय गच्छदार, विमलेन्द्र निधिलगायत सबैलाई रिझाएर सिन्कोसमेत नभाँची त्यहाँ टिकिरहेको र विभाग स्थापना भएदेखि उनले नै सो विभाग एकछत्र हाँकिरहेको बताइन्छ । पहिले रेलवेको काम महाशाखाअन्तर्गत रहेका हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माणमन्त्री भएपछि आचार्यलाई नै महानिर्देशक बनाउने उद्देश्यले महाशाखालाई विभागमा रूपान्तरण गरिएको बताइन्छ । त्यसयता चार वर्षदेखि लगातार विभागमा रहेका आचार्यले प्रधानमन्त्रीको स्पिरिटअनुसार काम गर्न नसकेको र उल्टो विभिन्न सर्भे र टेन्डरको नाममा अर्बौं बजेट सकाएको आरोप लागेको छ ।
चार वर्षअघि विभागको नेतृत्वमा आएका उनले नेपालमा रेलवेसम्बन्धी कुनै योजना बनाउन नसकेको र उल्टो संस्थागत भ्रष्टाचारलाई मलजल गरेका कारण उनलाई हटाउनुपर्ने आवाज उठेको छ । तर, उनले आफ्नो थमौतीका लागि भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलाई भने भेटिसकेको स्रोतको दाबी छ । मन्त्री सकारात्मक भए सिधै प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि आचार्यलाई हटाउनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतिर चर्चा चल्न थालेको छ ।
त्यसो त आचार्य विवादास्पद कर्मचारीका रूपमा चिनिन्छन् । उनले २०७१ सालमा ८ अर्बको एक टेन्डरमा ठूलो घोटाला गरेको भन्दै उजुरी परेको थियो । उक्त टेन्डर आफ्नो मान्छेलाई दिइएको र गलत सर्भे गरेको भन्दै उनको विरुद्ध अख्तियारमा उजुरी परे पनि उनले सो उजुरी पैसाको चलखेल गरी मिलाउन सफल भएका थिए । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सेटिङ मिलाएर उन्मुक्ति पाएका आचार्यले पुनः रेलवेको क्षेत्रमा ठूलो बजेट आउने र लामो हात गर्न पाइने भन्दै नेता तथा मन्त्रीहरूको घरदौडाहा थालेको बुझिएको छ ।
त्यसो त अहिले पनि एउटा ३ अर्बको ठेक्कामा आचार्यले धेरै गुनासा सिर्जना गरेको बताइन्छ । कमिसनका लागि ठूलै खेलेमेलोमा लाग्ने आचार्यले विभागलाई चार वर्षसम्म अस्तव्यस्त बनाएकोमा अझै सोही विभागमा टिकेर राम्रो रकम कुम्ल्याउने दाउ पालेको उनीनिकट स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारत र चीनसँग रेलवेको माध्यमबाट जोड्ने सपना साँचेर काम सुरु गरेसँगै भविष्यमा त्यहाँबाट राम्रो आर्जन गर्न सकिने आशा लिएर सो नछोड्न आचार्यले दौडधुपमा लागेका हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply