16th July 2018, Monday

E-budhabar

आधा मागेर माओवादीले किन निहुँ खोजेको ?



आधा मागेर माओवादीले किन निहुँ खोजेको ?

एमाले र माओवादी केन्द्रबीचको एकताको सन्दर्भमा अहिले प्रतिशतको चर्चा भइरहेको छ । कुन अनुपातमा दुई पार्टीबीच एकता हुने भन्ने यो विषयमा माओवादी पक्षले एकीकृत पार्टीमा आफ्नो भाग आधा हुनुपर्ने अडान राखेको उसकै नेताहरूले बताइरहेका छन् । आफ्नो पक्षले ५० प्रतिशत भाग नपाए एकता सम्मानजनक नहुने उनीहरूको तर्क छ । यी र यस्ता तर्कलाई बल पु¥याउन माओवादी नेताहरूले कुनैबेला एमालेभन्दा माओवादी ठूलो रहेको सम्झाइरहेका छन् ।
पार्टी एकतामा संख्याभन्दा विचार, दृष्टिकोण, नीति, भावी बाटो महŒवपूर्ण हुन्छन् । ती विषय मिल्दा पार्टीहरू मिल्छन् भने नमिल्दा फुट्छन् । अहिले, इतिहासलाई हेर्ने विषयमा कैयौं मतभेद भए पनि भावी बाटोबारे दुई पार्टीबीच आधारभूत मतभेद नरहेको दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन् । त्यही कारण दुवै पार्टी एकता गर्ने निष्कर्षमा पुगेका हुुन् । एकता गर्ने उद्देश्यअनुसार, दुई तहको चुनाव उनीहरूले मिलेर लडे तथा पार्टी एकतालाई टुंगोमा पु¥याउन अहिले उनीहरू घनीभूत छलफलमा छन् ।
राजनीतिमा संख्या ठूलो होइन, हुँदैन भन्ने गरिन्छ । विचारको सहीपनाले संख्या र आकार फेरबदल भइरहने हुँदा यसो भनिएको हो । राजनीतिमा संख्या र आकारभन्दा विचार र नीतिहरू महŒवपूर्ण हुन्छन् भनिनुको कारण पनि यही हो । तर, लोकतन्त्रमा राजनीति संख्याकै आधारमा विजय हुन्छ भन्ने अर्काे सत्य हो । सरकार संख्याकै आधारमा निर्माण हुन्छ । निर्णयहरू संख्याकै आधारमा गरिन्छन् । कुन विचार सही हो भन्ने विषयमा सहमति बनेन भने अन्तिम टुंगो संख्याबाटै लाग्छ । त्यसैले, राजनीतिमा संख्या कम महŒवको विषय होइन ।
अहिले मुलुकको सबैभन्दा ठूलो पार्टी एमाले हो, यो संख्याले नै निर्धारण गरेको हो । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी बनेको पनि संख्याले नै हो । संविधानसभाको दोस्रो चुनाव र भर्खरै सकिएका तीनवटै तहका निर्वाचनमा माओवादी तेस्रो पार्टी बन्यो, यसको कारण पनि संख्या नै हो । कुनैबेला माओवादी नेपालको पहिलो ठूलो पार्टी थियो, अहिले तेस्रो ठूलो पार्टी छ, यो यथार्थ संख्याबाटै तय भएको हो ।
यसकारण, अहिले दुई पार्टीबीचको एकताको सन्दर्भमा संख्याको विषय विवाद बन्नु अनौठो होइन । तर, संख्या, अनुपात र प्रतिशत कसरी तय गरिनुपर्छ भन्नेचाहिँ अहिले देखिएको विवादमा अनौठो छ । माओवादी भन्छ– प्रतिशतको निर्धारण १० वर्षअघिको चुनाव र अहिलेको चुनावको मध्यबिन्दु अर्थात् १० वर्षअघि आफू ठूलो रहेको र अहिले एमाले ठूलो भएको बीचबाट गरौं । अर्थात्, आधाआधा गरौं । एमाले भन्छ, अहिलेको जनमतका आधारमा अनुपात टुंगो लगाऔं ।
अहिले वाम गठवन्धनको सरकार छ, यो भर्खरै सकिएको चुनावको मतका आधारमा निर्माण भएको हो । पुराना चुनावहरूलाई आधार बनाउने हो भने अहिले यो सरकार बन्न पनि सक्थ्यो, नबन्न पनि सक्थ्यो । दुई तहका चुनावहरूमा एमाले र माओवादीले ६०–४० को अनुपातमा उम्मेदवार उठाउन सहमत भएको त्यसबेला भएको स्थानीय तहको निर्वाचन परिणामका आधारमा थियो । स्थानीय तहको चुनावमा कैयौं ठाउँमा कांग्रेस र माओवादी मिल्दा समेत एमाले मुलुकको पहिलो ठूलो पार्टी बनेको थियो, जसलाई त्यसबेला माओवादीले स्वीकारेर कम प्रतिशत सिट लिन तयार भयो । प्रदेश र संघको चुनावको परिणामलाई आधार बनाएर प्रदेश र केन्द्र सरकार निर्माण तथा राष्ट्रिय सभाको चुनावमा एमालेको अनुपात अरू बढाउन र माओवादीको घटाउन पनि दुवै दलले सहमति गरे ।
यसरी, यसअघिका सबै शक्ति बाँडफाँटमा पछिल्लो जनमतलाई आधार बनाउन मानेको माओवादी पार्टी एकतामा चाहिँ पछिल्लो जनमतअनुसार चल्न अस्वीकार गर्नु अनौठो छ । अस्वीकारका लागि उसका तर्कहरू कमजोर छन्, त्यसैले उसका नेताहरूबाट भावनात्मक कुराहरू बढी आइरहेका छन् । आफ्नो कमजोर तर्कहरूलाई बलियो बनाउन र छलफलमा आफूलाई माथि पार्न एमाले नेतृत्वमाथि गलत र नाजायज आरोपहरू पनि लगाउन थालिएको छ । राजनीतिमा आमरूपमा आरोपहरू तर्कहरू कमजोर भएपछि नै लगाउने गरिन्छ ।
पार्टी एकतामा पनि शक्तिको बाँडफाँट शक्तिका आधारमा नै हुन्छ । एमालेको गत महाधिवेशनमा केही दर्जन मत बढी नआएको भए अहिले एमालेको अध्यक्ष केपी ओली होइन, माधव नेपाल हुन्थे । कार्यकर्ताको मत बढि आएरै ओली अध्यक्ष बनेका हुन् र अहिले एमालेलाई उनले नेतृत्व गरेर अघि बढाइरहेको कारण अरु नभएर त्यही मत हो । मत कम आएपछि माधव नेपालले ओलीलाई अध्यक्ष स्विकार्नुको विकल्प थिएन, स्विकारिरहेका छन् । यसमा, नेपालले भावनात्मक विषय मिसाएर हुँदैन, अर्काे अधिवेशनसम्मका लागि उनी मुख्य नेतृत्वमा नरहेको स्विकार्नैपर्छ ।
पछिल्लो जनमतले एमाले माओवादीभन्दा निकै ठूलो रहेको यस्तै सत्य हो । यसमा भावनात्मक विषय वा शब्द जञ्जाल मिसाउनुको कुनै अर्थ छैन । राजकीय सत्ताजस्तै पार्टी सत्ता पनि शक्तिकै आधारमा निर्माण हुने हो । हामी लोकतान्त्रिक विधिअनुसार चलिरहेको हुनाले शक्ति निर्माण मतबाट हुन्छ । त्यसैले, पछिल्लो जनमत शक्ति मापनको आधार हुन्छ÷हुनुपर्छ । यसमा अन्यथा गर्न खोज्नु भनेको एकतामा व्यवधान पार्नुभन्दा अरू मानिँदैन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा