18th July 2018, Wednesday

E-budhabar

इजरायलका अनुभूतिहरू



इजरायलका अनुभूतिहरू

विदेशी भूमिमा पसिनाको मूल्य निर्धारण भइरहेको छ, केही दशकयता । देशभित्रै रोजगारीको स्थिति सिर्जना हुन सकेको भए पराई भूमिमा श्रम पोख्न जानेहरूको लस्कर सायदै लाग्थ्यो होला । देशमा रोजगारीका सुगम बाटाहरू नखोलिएपछि खाडी मुलुक, मलेसिया, जापान, इजरायललगायत अधिकांश देशहरूमा श्रम र सीप प्रदर्शन गर्न जानेहरू बर्सेनि बढ्दो छ । पछिल्लो समय भने इजरायलमा श्रम पोख्न जानेहरू पनि उल्लेख्य संख्यामा वृद्धि हुँदै छ । खासगरी, इजरायलका अशक्त, वृद्ध र मानसिक रुपले असम्पन्न व्यक्तिहरूका हेरचाह गर्न जाने महिला र इजरायलको कृषि क्षेत्रमा काम गर्न जाने पुरुषहरू बर्सेनि थपिँदै छन् ।
कतिपयले विदेशी भूमिमा श्रम गर्न जाँदा बटुलेका तीता–टर्रा अनुभूतिहरूलाई सतहमा ल्याउन चाहँदैनन् । तर, इजरायलका अशक्त वृद्धवृद्धाको हेरचाहमा गएका केही नेपाली महिलाले भने इजरायल बसाइका क्रममा देखेभोगेका अनुभूतिहरूलाई आफैंभित्र गुम्याएर राख्न चाहेनन् र त्यसलाई शब्दमा उन्न उचित ठाने । तिनै महिलाका बेग्लाबेग्लै अनुभूतिहरूका शब्दबुनाइबाट बुनिएको एउटा सुन्दर माला हो– ‘मृत सागरको सुस्केरा’ । यो अनुभूति–सँगालोमा इजरायलमा वर्षौं बिताएका १७ जना नेपाली नारीको कथाव्यथा समेटिएका छन् ।
इजरायल एक नयाँ देश हो । विश्वयुद्धका बेला हिटलरको ज्यादतीबाट बचेका यहुदीहरूले बसाएको देश । हिटलरकालीन समयमा उनका सेनाहरूद्वारा पीडित बनेका नागरिक अझै पनि इजरायलमा छन् र त्यस्ता नागरिकको हेरचाह गर्ने काममा नेपालीलगायत अरू देशका महिलाहरू लागिरहेका छन् । अधिकांश लेखिकाहरूले इजरायलमा केयरगिभरका रूपमा काम गर्दा आफूले पाएका हैरानी र दुःखका कथा त उनेका छन् नै, युद्धताका सिंगो परिवार गुमाएर पछि विभिन्न देशबाट इजरायल आई नयाँ जीवन सुरु गरेका नारी पात्रहरूदेखि अरू कैयांै पात्रहरूका हृदयविदारक कथा पनि उनीहरूले आफ्नो अनुभूति बिसाउने क्रममा पस्किएका छन् । कतिपय लेखिकाले भने युद्धका बाछिटाबाट बेलाबेला भिज्ने इजरायलको पीडा पनि उतारेका छन् । इजरायली र हमासबीच हुने युद्धका समयमा कति डर र त्रास झेल्नुपर्छ भन्ने पीडासमेत उतारिएको छ ।
भौतिक पूर्वाधारका हिसाबले सम्पन्न इजरायलमा आकर्षक तलब पाएर श्रम बेचिरहेका नारी–लेखिकाहरूले इजरायलको सम्पन्नता, भव्यताको बयान गरेका छन् नै, त्यत्ति नै देशमा रहेका सन्तान, नातागोतालाई सम्झिएर तड्पिएका पनि छन् । सन्तानको सम्झनामा उब्जिएका तड्पाइ र विदेशको आकर्षक तलबबीचको तालमेल मिलाउने क्रममा मानसिक तनावमा फस्नुपर्ने अवस्थालाई पनि लेखिकाहरूले शब्दबद्ध गरेका छन् । यसरी आफ्ना अनुभूति बिसाउने ती १७ लेखिकाहरूमा लक्ष्मी अनुरागी, भगवती बस्नेत, दीपिका भुसाल, दीया चापागाई, कल्पना सञ्जेल, कमला भण्डारी, मनीषा प्रसार्इं, निशा अर्याल, निशा क्षेत्री कटवाल, नुतन भुसाल, सावित्रा लुइँटेल घिमिरे, संगीता आचार्य, सानु खतिवडा, सीता अधिकारी, सुमित्रा घिमिरे दवाडी, सुनीता राई सुब्बा र बुद्धदेवी लिम्बू रहेका छन् ।
कृति ः मृत सागरको सुस्केरा
विधा ः अनुभूति–सँगालो
संयोजन ः भगवती बस्नेत
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः १९६
मूल्य ः ३००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा