18th January 2018, Thursday

E-budhabar

उन्माद र कुण्ठा बोकेर नहोस् एकता



उन्माद र कुण्ठा बोकेर नहोस् एकता

यसपालि प्रतिनिधि सभाको चुनाव असाध्यै रोचक र महत्वपूर्ण रह्यो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच अभुतपूर्व चुनावी गठबन्धन बन्यो । जसका कारण केही झिनो मत अन्तरले हार व्यहोर्नु परेका थुप्रै क्षेत्रमा दुबै पार्टीका उम्मेदवारलाई सफलता हात परेको छ । एमालेले प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा ८० सिट जित्न सफल भएको छ भने प्रदेश सभामा १६७ सिट । माओवादी केन्द्रले पनि प्रतिनिधिसभाको प्रत्यक्षमा छत्तीस सिट जितेको छ भने प्रदेश तर्फ त्रिहत्तर सिट जितेको छ । नेपाली कांग्रेस २३ सिटमा समेटिएको छ । संघीय समाजवादी १२ र राजपा जम्मा १० सिटमा सिमित भयो । बाँकि अरु सबै सयौंको संख्यामा रहेका पार्टीहरुको जमानत जफत हुनुको साथै राष्ट्रिय र क्षेत्रीय पार्टी समेत बन्न सकेनन् । राप्रपाका अध्यक्ष कमल थापा हारे । उनको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । राष्ट्रिय राजनीतिमा उनको पत्तासाफ भएको अनुमान गरिएको छ । नयाँ जन्मिएका आफूलाई वैकल्पिक ठान्ने दलहरुमध्य बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीले प्रतिनिधिसभामा बाबुरामको पुरानो बिरासतका कारण एक सिट जित्न सफल भएको छ भने गोरखाबाट र रसुवाबाट एक–एक सिट प्रदेशसभा सदस्यमा पनि जित हात लागेको छ । यी दुबै पूर्वमाओवादी युवा नेताहरु हुन् । रसुवाबाट जितेका प्रेम तामाङले २०६४ सालको चुनावमा पनि सोही जिल्लाबाट सभासद जितेका थिए माओवादी उम्मेदवारको रुपमा । चार नम्बर प्रदेशमा डेढ प्रतिसत थ्रेसहोल्ड कटाएका कारण नयाँ शक्ति पार्टी चार नम्बर प्रदेशको क्षेत्रीय पार्टी बन्न सफल भयो । तर रविन्द्र मिश्रले नेतृत्व गरेको साझा विवेकशील नामको सुकिलो पार्टी भने राष्ट्रिय वा क्षेत्रीय कुनै पार्टी बन्न सकेन । उसले प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश कतै पनि एक सिट पनि जित्न सकेन । संसदमा उसको हैसियत अब दलको रुपमा रहने छैन । यसो त नयाँ शक्ति पार्टीका प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराई पनि स्वतन्त्र सांसदको रुपमा हलको पछिल्लो रोहमा बस्नुपर्ने छ । समानुपातिकमा एक–दुई सिट पाएका र समानुपातिकमा थ्रेसहोल्ड नकटाएका सांसदहरु सबै स्वतन्त्र सांसदको रुपमा पछिल्लो रोहमा बस्नुपर्ने छ ।
राजनीतिक परिवर्तनसँगै संविधानमा आएको परिवर्तनले राज्यको शासकीय स्वरुप र शासन व्यवस्थामा परिवर्तन ल्यायो । जसका कारण विकास भएको चुनावी प्रणालीका कारण च्याउझैं उम्रिएका दलहरु पत्तासाफ भएका छन् । ठूला भनिएका धेरै दलहरुलाई पनि यही रुपमा आफ्नो अस्तित्व लामो समयसम्म धान्न मुस्किल देखिएको छ । त्यसैले पनि विचार र स्वर्थ मिल्ने दलहरु धमाधम एकीकरणको दिशामा अघि बढेका छन् ।
चुनावअघि नै एमाले र माओवादी केन्द्रंबीच भएको चुनावी एकताले सानोतिनो भुइचालो ल्याइदियो । झन अब यी दुई बीच पार्टी एकता समेत हुने हल्लाले नेपाली कांग्रेसमा हलचल नै ल्याइदिएको छ । यस परिघटनाले नेपाली कांग्रेस र राप्रपा लगायत यथास्थितिवादी शक्तिहरुलाई जबरजस्ती नजिक ल्याइदिने सम्भावना रहेको छ ।
चुनावको यो परिणामले नेपाली काँग्रेसभित्र पार्टी संचालन विधि र नेतृत्वबारे जमेर बहस सुरु भएको छ । पुराना, निराश र अलोकप्रिय बुढापुस्ता दशकौंदेखि पार्टी, संसद र सरकारको नेतृत्वमा पटक पटक दोहोरिरहेका छन् । यिनबाट पार्टी र मुलुकले विकास, समृद्धि र अग्रगामन कहिल्यै देख्न नपाउने नियति बनिरह्यो । जसका कारण पार्टीले नकारात्मक चुनावी परिणामको सामना गर्नु परेको युवा पुस्ताले ठहर गरेको छ । चन्द्र भण्डारी, गगन थापा, बालकृष्ण खाँण लगायत युवा कांग्रेसले छुट्टै भेला गरेर अब युवापुस्ताले नेतृत्व नलिए नेपाली काँग्रेसले आगामी दिनमा झनै खराब परिणामको सामना गर्नुपर्ने निश्कर्ष निकालेका छन् । यसपटक नेपाली कांग्रेसका पटक पटक मन्त्री र उपप्रधानमन्त्री भैसकेका धेरैजना ठूला नेताले चुनावमा हार व्यहोर्नु परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि शेखर कोइराला, कृष्ण सिटौला, डा.रामशरण महत, डा.प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, चन्द्र भण्डारी, आरजु देउवा, विमलेन्द्र निधी, बल बहादुर केसी लगायत दर्जनौंले चुनाव हारेका छन् । यसरी हारको परिणामबाट कांग्रेसी युवाहरु नेतृत्व सिफ्टको बहसमा उत्रिएका छन् ।
२०७० सालको चुनावमा तेस्रो स्थानमा रहन पुगेको माओवादी यस पटक पनि तेस्रो स्तानमा नै पुगेको छ । प्रत्यक्षमा कांग्रेसभन्दा १३ सिटले अघि भएको भएता पनि समानुपातिक सिट जोड्दा कांग्रेसभन्दा ११ सिटले पछि परेको छ । जसका कारण माओवादी तेस्रो स्थानमा पुगेको छ । एमाले र कांग्रेसले ३१ लाखको हाराहारीमा समानुपातिक मत ल्याएका छन् भने माओवादीले जम्मा १३ लाखको हाराहारीमा मात्रै मत ल्याएको छ । यसरी भोट र मतदाताको रेसियो हेर्दा एमालेभन्दा कांग्रेसको जनमत खासै कम नरहेको देखिन्छ । माओवादीको भने झनझन घट्दोक्रममा देखिन्छ । समानुपातिक निर्वाचन प्रणालीको एकमात्र पक्षधर माओवादीलाई नै अहिले यो अफाप सिद्ध भएको छ । पार्टी नेतृत्वको चरित्र र कार्यशैलीप्रति जनताको तीब्र असन्तुष्टि नै समानुपातिक मत घट्नुको एउटा मूल कारण हो । अर्को भनेको समानुपातिकमा पैसाको लागि खराब आचरण भएका गैरराजनीतिक मानिसहरुलाई सिफरिस गर्ने तर राजनीतिमा लामो समय त्याग र काम गरेका नेता कार्यकर्तालाई नजरअन्दाज गर्ने परिपाटीका कारण पनि माओवादीप्रति जनताको आकर्षण घट्दै गएको हो । ल्यार्केल लामा, बाबा बस्नेत, रविन्द्र प्रताप शाह आदि जस्ता मानिसहरु समानुपातिकमा सांसद हुने, मन्त्री हुने तर त्यागी, कर्मठ र क्षमतावान राजनीतिज्ञ सांस्द नहुने कुरा जनताले निरन्तर नजिकबाट नियालिरहेका कारण पनि माओवादी जनताको अघि नाङ्गियो र समानुपातिकमा उसको आकार हैसियत जनताले सीमित बनाइदिए । यसबाट डराएर, पार्टीमा भाइरसको रुपमा व्याप्त रोग उपचार गर्न नसकेर एमालेतिर संक्रमित हुन खोजेको हो भने यो माओवादीका निम्ति भयंकर ठूलो आत्मघाति हुने छ । आफू सुध्रिएर बलियो भएर पार्टी एकता गर्न जानु र कमजोर भएर केही उपाय नलागेर लत्रिएर पार्टी एकताको नाममा अर्को शक्तिशाली पार्टीमा बिलय हुनु फरक कुरा हो । अहिले माओवादी कुन अवस्था र मनोदशामा एकताको दिशामा लम्कीएको छ भन्ने कुरा छुट्याउन गा¥हो छैन ।
नेपाली कांग्रेसको जनमत बिग्रिएको छैन । तर नेता खराब र निकम्मा भएकोले नेतृत्व मात्रै परिवर्तन खोजेको छ । उसले पार्टीको विधि, नीति र नेतृत्वमा थोरै रुपान्तरण गर्ने बित्तिकै फेरि बामहरुको लागि ठूलो चुनौति बन्न सक्ने ल्याकत उसमा रहेको देखिन्छ । तर बामहरु आफूमा आएको खराबी सुधार्ने भन्दा पनि भाग्ने दिशामा उन्मुख देखिन्छन् । भागेर समस्याको समाधान हुने भए नेपालमा कम्युनिष्ट नामका यति धेरै पार्टी हामीले देख्न पाउनु थिएनौं । नभागेर डटेर नै समस्याको समाधान हुने हो । त्यसैले बामहरु एकैठाउँमा हुन जरुरी छ । तर एकले अर्काको अगाडी आत्मसम्मान डगाएर हुने एकता झन ठूलो बिग्रहको कारण बन्न सक्छ । एकता भनेको विचार सिद्धान्तका कुरा धेरै भएता पनि मुख्य कुरा संगठन र पं्राविधिक विषयवस्तु नै हुने गर्दछ । विचार र हैसियत जिम्मेवारीका कुरा, संगठनमा पहुँचका कुराहरुलाई सही ढंगले नमिलाएर एउटा पक्ष हेपिएको र अर्को खोसिएको महसुुस गर्ने अवस्था आयो भने त्यो एकता नभएर बिगठन हुने छ । त्यसैले दुबै पार्टी आफ्नो पार्टीको आन्तरिक जीवन मजबुत बनाएर मात्रै बराबरीको सम्मानजनक हैसियतमा एकता गर्दा सबैको आत्मसम्मामनको रक्षा हुन्छ । आत्मसम्मानको रक्षा भयोभने मात्रै सन्तुष्ट मनोविज्ञानका साथ काम गर्ने जाँगर चल्छ र परिणमुखी काम हुन्छ । नत्र परिणाम नकारात्मक आउन पनि सक्छ । त्यसका केही संकेत देखिएका छन् ।
दुईटा बामदलको सिट संख्या जोड्दा आउने जोडलाई हेरेर मख्ख पर्ने र घमण्ड पाल्ने भयो भने त्यो कांग्रेसको लागि फाइदाको कुरा हुनेछ । किन कि सबैलाई थाहा छ, घमण्डले बिनास निम्त्याउछ । बाममा क्षयीकरण हुनु भनेको कांग्रेसलाई फाइदा हो ।
दुई ठूला र अरु केही बामदल मिलेर चुनावमा राम्रो परिणाम ल्याएका छन् । ‘ढुङ्गाको भर माटोलाई, माटोको भर ढुङ्गालाई’ भनेझैं एकअर्काको आडमा सबैले राम्रो परिणाम हात पारेका छन् । तर त्यसले उनीहरुमा घमण्ड उत्पन्न गरेको हो कि भन्ने देखिन थालेको छ । एमालेका महासचिव ईश्वर पोखरेललगायत केही जिम्मेवार नेता एकीकृत पार्टीको अध्यक्ष, दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । एमाले ससफोरमलाई लिएर सरकार बनाउने, माओवादीलाई वाइपास गर्ने दिशामा छलफल चलाईरहेको हल्ला आउने गरेको छ । उता गोपाल किराती, आहुति, अनन्त, मातृका यादव, कृष्णबहादुर महरा लगायत नेताहरु वैचारिक एकताबिना पार्टी एकता हुदैन भन्दै निरपेक्ष एकताको विरोध गरिरहेका छन् । विरोध मात्रै होइन, जसरी पनि जुनसुकै मूल्यमा पनि एकता हुनै पर्छ, नभए पहाडै खस्छ भनेर रोइकराई गर्ने नेताहरु पनि प्रसस्तै छन् दुबैतिर । यसरी हेर्दा जितको उन्माद र हारको कुण्ठा प्रस्टै देख्न सकिन्छ । यस्तो उन्माद र कुण्ठाबीचको एकता र फ्युजन कस्तो होला र समृद्धिको नेतृत्व कसरी गर्ला भनेर तमाम युवाहरुले चिन्ता गरिरहेका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा