24th September 2017, Sunday

E-budhabar

उपेन्द्रसँग एकता : असान्दर्भिक र अव्यावहारिक



उपेन्द्रसँग एकता : असान्दर्भिक र अव्यावहारिक

राजनीतिक सत्तामार्फत आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गरेर देश र जनताको समृद्धि र विकास गर्नु राजनीतिक सत्ताको मूल कार्य हो । त्यसका लागि पहिला राजनीतिक सत्ता चाहिन्छ । त्यसपछि मात्रै आफ्ना सबै नीति तथा कार्यक्रम सत्ताको शक्ति र संयन्त्रमार्फत कार्यान्वयन गर्ने हो । अन्यथा प्रतिपादित सिद्धान्तहरू निष्क्रिय अध्ययनका साधन मात्रै साबित हुनेछन् । राजनीतिक सत्ता कसैले चाहना राख्दैमा सहजै प्राप्त भइहाल्ने विषय होइन । सत्ता प्राप्त गर्ने विविध विधि हुन सक्छन् । सबै विधि संसारमा राजनीतिक सत्ता प्राप्तिका लागि अभ्यास भइसकेका विधि हुन् ।
जसरी पनि सत्ता प्राप्त गर्न सबैभन्दा पहिला राजनीतिक नीति र उद्देश्य सँगसँगै शक्तिको जोहो गर्नु महŒवपूर्ण हुन्छ । सत्ता प्राप्तिका लागि शक्ति नै चाहिने र सत्ताको शक्तिले आफ्ना योजना कार्यन्वयन गर्ने राजनीतिक दुनियाँको अकाट्य सत्य हो ।
लोकतन्त्रमा राजनीतिक दलहरू खोल्ने अधिकार भए तापनि सबै दलले आफूलाई प्रभावकारी रूपमा सम्पूर्ण सत्ता प्राप्त गर्नेसम्मको हैसियत निर्माण गर्न सक्दैनन् । त्यसो हुँदा उनीहरूले आफ्ना सबै योजना सत्तामार्फत पनि लागू गर्न असमर्थ हुन्छन् । अहिलेको संविधानले गरेको थ्रेसहोल्डको व्यवस्था र समानुपातिक प्रणाली हटाउने बहसले त सानातिना दलहरूको सातोपुत्लो नै उडेको छ । कम्तीमा प्रत्यक्षतर्फ एक सिट अनिवार्य जिते मात्रै राष्ट्रिय दलको मान्यता पाइने प्रावधानले अब दलहरूलाई आफ्नो आकार ठूलो बनाउने र बलियो बन्नैपर्ने दबाब परेको छ । क्षेत्रीय स्वार्थ बोकेका दलहरू बनाएर, त्यो पनि दसौं टुक्रामा फुटेर सरकारमा बार्गेनिङ गरिरहेका दलहरूका लागि अब धेरै ठूलो चुनौती बन्ने निश्चित छ । त्यसैको पराकम्पन स्वरूप अहिले विभिन्न क्षेत्रीय दल धमाधम एकीकरण गर्न थालेका छन् ।
हुन त नेपालको राजनीतिमा विगतदेखि नै विभिन्न पार्टीमा विभाजन हुने र एकता हुने गरेका घटनाहरू बाक्लै देख्न सकिन्छ । सबैभन्दा बढी फुट्ने र जुट्ने मामिलामा नेपालका कम्युनिस्ट पार्टीहरू एक नम्बरमा पर्छन् । नेपाली कांग्रेस पनि बेलाबेलामा फुट्ने र फेरि जुट्ने काम भइरहेको देखिन्छ । राप्रपामा पनि त्यो रोग छ । मधेसी दलहरूमा त यो रोग क्रोनिक नै भइसकेको आभास हुन्छ । अहिलेको अवस्थामा मधेसी नाम गरेका पार्टी कतिवटा छन् भनेर ठ्याक्कै भन्न मधेस विज्ञलाई पनि हम्मेहम्मे पर्छ ।
तर मधेसमा पनि पछिल्लो समय पार्टीहरू एकीकरण हुने क्रम बढेको छ । सत्तामा कमजोर उपस्थिति र आन्दोलनमा आएको फिक्कापनले मधेसलाई एकजुट भएर क्षेत्रीय स्वरूपबाट राष्ट्रिय पार्टी बन्ने मनोविज्ञानको विकास भएको छ । पछिल्लो समयमा मधेसका विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी निर्माण गरेका छन् । केही समय पहिला उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम, अशोक राईको संघीय समाजवादी पार्टी, राजेन्द्र श्रेष्ठको पार्टी र खस आदिवासी पार्टी मिलेर संघीय समाजवादी पार्टी बनेको थियो । विजय गच्छदारको पार्टीमा पनि विभिन्न सानातिना दल मिसिने क्रम जारी छ । अन्य ठूला दलमा पनि मिसिने क्रम जारी नै छ । यो सबै राजनीतिक सत्ता प्राप्तिका लागि मजबुत शक्ति निर्माणका लागि नै भएको देखिन्छ ।
पछिल्लो समय खुलेको नयाँ शक्ति पार्टी नेपाल निर्माण र उद्देश्यको हिसाबले नै मौजुदा पार्टीहरूभन्दा फरक पहिचानसहित आए पनि समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारालाई साकार पार्न छोटो समयमा मजबुत शक्ति निर्माण गरेर सत्ता प्राप्त गर्नु पर्ने बाध्यात्मक अवस्थामा परेको देखिन्छ । किनकि यसले नीतिगत रूपमा दिएको नारा सार्थक बनाउन पनि तत्कालै सरकारमा पुगेर त्यसलाई सरकारको नीतिका रूपमा मात्रै लागू गर्न सक्छ । कुनै पनि दलले दलको हैसियतमा मात्रै राष्ट्रिय नीतिका रूपमा आफ्नो योजना लागू गर्न सक्दैन । त्यसैले नयाँ शक्ति पार्टीलाई पनि अब जसरी पनि ठूलो र शक्तिशाली बन्ने भूतले समाएको देखिन्छ । यसैको कार्यरूप यसले विभिन्न समयमा ध्रुवीकरण अभियान सञ्चालन गरेको देखिन्छ ।
नयाँ शक्ति अभियानको सुरुवाती दिनमै उपेन्द्र यादवले नेतृत्व गरेको दलसँग एकता गर्ने बहस चलेको हो । स्थापनाको दुई वर्षको अवधिमा उपेन्द्रसँग दुईपटक एकताको सबै काम पूरा गरेर कार्यक्रमको मिति तय गरेपछि एकता भंग भएको छ । जसको प्रमुख कारण नीति, विचार र कार्यदिशाभन्दा पनि नेतृत्व, झन्डा र पार्टीको नाम हुने गरेको देखिन्छ । यसमा नजानिँदो पाराले मनोवैज्ञानिक पक्ष पनि उत्तिकै जिम्मेवार देखिन्छ । शेरबहादुर देउवाले कांग्रेस फुटाएर निर्माण गरेको प्रजातान्त्रिक कांग्रेस २०६३ सालको जनआन्दोलनले जोडिदियो । २०५४ सालमा वामदेवले एमाले फुटाएर बनाएको मालेलाई २०५६ सालको आमचुनावको सबकले मिलायो । राप्रपाका विभिन्न धारलाई कमल थापाको समानुपातिक भोटले मिलायो । तर उपेन्द्र यादवसँय नयाँ शक्ति पार्टीको एकता यसरी पटकपटक भाँडिनुमा को दोषी ? कुन तŒवले यो हुन दिइरहेको छैन भन्ने कुरा लेखाजोखा गर्न जरुरी छ ।
एकता हुन नसक्नुका केही कारण यस प्रकार हुन सक्छन् । मधेस आन्दोलनको जगमा टेकेर निर्माण भएको पार्टी हो, फोरम । २०६३ सालको जनआन्दोलन समाप्त भइसकेपछि त्यसको व्यवस्थापनको समयमा राष्ट्रिय राजनीतिका मूलधारका पार्टीहरू लागिरहेका बेला संघीयता, स्वायत्तता र आत्मनिर्णयको अधिकारजस्ता माओवादीले जनयुद्धकालमा स्थापित गरेका नारालाई टिपेर राजनीतिक तरलता र क्षेत्रीय संवेदनशीलताको फाइदा उठाएर आफूलाई मधेसीको हकअधिकारका लागि लड्ने मसिहाका रूपमा स्थापित गराउन सफल भएको दल हो, फोरम । जुन त्यसपूर्व विशुद्ध एउटा एनजीओका रूपमा काम गरिरहेको थियो । यसका अध्यक्ष थिए जयप्रकाश गुप्ता । उपेन्द्र माओवादीबाट पलायन भएपछि यही फोरमको नाममा पोस्टर टाँस्दै सार्वजनिक भएका हुन् ।
यिनको आन्दोलनले उचाइ लिन थालेपछि अन्य दलमा भएका अधिकांश मधेसी नेताहरू भटाभट माउ पार्टी त्याग्दै मधेसवादी दल खोल्न दौडिए । कांग्रेसबाट विजयकुमार गच्छदार, लक्ष्मणलाल कर्ण, महन्थ ठाकुरजस्ता राष्ट्रिय राजनीतिका हस्तीहरूलाई पनि क्षत्रीय राजनीतिको मोहले तान्यो । माओवादीका मात्रिका यादवहरू पनि मधेस छिरेर दल खोल्न भ्याएका थिए । यसैको अतिवादी रूप सीके राउतको विखण्डनकारी वितण्डाको चर्चा पनि हुने गर्दछ । प्रकारान्तरले अधिकांश मधेसी नेता भित्री रूपमा सीके राउतकै मनोविज्ञानसँग एकाकार भएजस्तो पनि देखिन्छन् । त्यसैले बेलाबेलामा उनीहरू मधेसलाई नेपालबाट टुक्र्याइदिने धम्की दिने गर्दछन् । यही उत्पीडनबाट मुक्तिको नाराले पहाडीया नेपाली जनताप्रतिको आक्रोश नै फोरमको संगठनको पहिलो आधार बन्न गएको देखिन्छ ।
माक्र्सवादका विद्यार्थी हुन उपेन्द्र यादव । पहिला एमाले त्यसपछि माओवादी हुँदै फोरमका नेता बनेका हुन् उनी । फोरमको नेता र मधेसी दलहरूको मोर्चाको संयोजक मात्रले उनको राजनीतिक प्राप्तिको प्यास तृप्त बनाउन सक्ने कुरै भएन । अरू मधेसी नेताहरूले भनेजस्तो मधेस टुक्र्याएर त्यसको प्रधानमन्त्री बन्ने वा त्यसलाई भारतमा मिसाएर भारतीय नागरिकका हैसियतमा राजनीति गर्ने चाहना पनि उनमा खासै देखिँदैन । उनमा सिंगो नेपालको राष्ट्रिय पार्टी बनाउने र त्यसको नेता बनेर देशको कार्यकारी प्रमुख बन्ने सपना यिनको आँखामा सवार भएको देखिन्छ । जुन स्वभाविक पनि देखिन्छ ।
त्यसलाई पुष्टि गर्दछ एमालेबाट विद्रोह गरेर निस्किएका एमालेका उपाध्यक्ष अशोक राइले खोलेको अर्को जातीय पार्टीको गन्ध आउने संघीय समाजवादी पार्टीसँग यिनले गरेको पार्टी एकताले । यसले उनलाई राष्ट्रिय पार्टीको नेता बन्ने दिशातर्फ उन्मुख रहेको जस्तो देखाएको थियो । तर आन्दोलनको मोर्चामा मधेसका मुद्दालाई मात्रै विशेष जोडबलका साथ उठाउने, मधेसका माग पूरा गर्न पहाडमा नाकाबन्दी गरेर पहाडका जनतालाई समस्यामा पार्ने, आन्दोलनका बेला बिहारका लालुप्रसाद यादवलाई भेटेर रणनीति तयार पार्ने र मन्त्री खान फेरि तिनै ठूला दलको पुच्छर हुन जाने चरित्रले यिनको सपना र व्यवहारबीच तामेल हुन दिएन ।
नयाँ शक्तिसँगको पार्टी एकता पटकपटक अन्तिममा पुगेर भाँडिने गरेको छ । संयोजक कसलाई बनाउने भन्ने विषयमा कुरा नमिलेरै एकता भमडिएको बताइरहँदा यहाँ नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईको नेता उपेन्द्र बन्ने वा डा. बाबुराम नेता बन्ने भन्ने विषय महŒवपूर्ण बन्यो ।
डा. बाबुराम भट्टराई आफ्नो पूरै जीवनकाल राष्ट्रिय राजनीतिको मूल प्रवाहमा उच्च नेतृत्वमा बसेर हरेक राजनीतिक परिवर्तनका मोर्चामा सफल भएका र निरन्तर राजनीतिमा लागिरहेका अन्तर्राष्ट्रिय स्तरका राजनीतिक र बौद्धिक व्यक्तित्व हुन् । नेपालको मूलधारका राजनीतिक दलहरू विकास र राष्ट्रिय समृद्धिको योजना बनाउन, त्यसलाई कार्यन्वयन गर्ने ढंगको संगठन र कार्यक्रम बनाउन उदासीन भएर भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण आफ्नो पूर्वपार्टी र सांसद पद सबै त्यागेर विशुद्ध फरक ढंगको बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र त्यसले राष्ट्रिय समृद्धिको कार्यभार पूरा पनि गर्ने र राजनीति संस्कारको अर्को नयाँ अध्याय पनि विकास गर्ने ध्येयले नयाँ शक्ति निर्माणमा लागेका हुन् । पार्टी नै फुटाएर आएको भए उनीसँग ३०÷३२ जना सांसद त्यस अवस्थामा सँगै आउन तयारै थिए । यसरी पार्टी फुटाएर सत्ता राजनीतिकै सर्कलमा गोलचक्कर लगाउने मात्रै उद्देश्य राखेको भए त त्यसैबाट पनि सम्भव थियो । उनी एकपटक प्रधानमन्त्री भइसकेको मान्छे, पार्टीको दोस्रो वरीयताका नेता हुनुका नाताले फेरि पनि पटकपटक प्रधानमन्त्री बन्न सक्ने मान्छे हुन । यी सबै कुरा यहाँ व्याख्या गर्नु जरुरी नै छैन, जुन सबैलाई थाहै छ । तर उनी सबै त्यागेर नयाँ ढंगले अघि बढ्न जिरोमा ओर्लिने हिम्मत गरे जो सामानय मानिसको हिम्मत र सोचभन्दा बाहिरको विषय हो । अहिले पनि पार्टीमा उनी अरू सबै युवा र आफ्ना उमेरसमूहका नेताहरूभन्दा सबैभन्दा बढी सक्रिय छन् । दिनरात काम गरिरहेका छन् ।
तर उपेन्द्र यादवको नेतृत्वमा विकासको इतिहास, वैचारिक र नेतृत्व गर्ने क्षमता, व्यक्तित्व विकास, प्रािप्त र सफलता सबैलाई हिसाब गर्दा सामान्यतया अरूभन्दा सफल देखिए तापनि बाबुरामको तुलनामा त्यो एक छेउ पनि हुन सक्दैन । अहिले बाबुरामको पार्टीसँग सांसद छैन, सदनमा प्रतिनिधित्व गर्दैन र उपेन्द्रसँग १४ जना सांसद छन् भन्दैमा बाबुरामले उपेन्द्रसँग पार्टी एकता गरेर उपेन्द्रलाई नेता मान्नु भनेको नयाँ शक्ति निर्माणको उद्देश्यसँग कहीँकतै मेल नखाने विषय हो । पार्टीको राजनीतिक दस्तावेज र नीतिमा राम्रा राम्रा कुरा लेख्ने तर त्यसको अपव्याख्या गरेर क्षत्रीय र जातीय अतिवादलाई मात्रै प्रश्रय दिने उपेन्द्रको शैलीले नयाँ वैकल्पिक राजनीतिक शक्ति बनाउन सक्दैन । १४ जना सांसद छन् भनेकै भरमा बाबुरामले उपेन्द्रको उपाध्यक्ष भइदिनुपर्ने र जनतामा हामी नयाँ, अरूभन्दा भिन्न र वैकल्पिक राजनीतिक शक्ति भयौं है भन्ने कुनै सन्देश नजाने भएपछि एकताको औचित्य पनि सावित गर्न गाह्रो हुन जान्छ । ८४ सांसद भएको पार्टी छोडेर बाहिरिनुको औचित्य पनि पुष्टि हुँदैन ।
उपेन्द्र यादवहरू परिवर्तनको नेतृत्व गरेका मूल शक्ति होइनन् र नयाँ ढंगले वैकल्पिक राजनीतिको संस्कार निर्माण गर्नुपर्छ भनेर पार्टी निर्माण गरेका पनि होइनन् । त्यसैले उनीहरू नयाँ शक्तिमा रूपान्तरित भएर आउनुपर्छ । एकता होइन, ध्रुवीकृत हुनुपर्छ । यहाँ नीतिभन्दा पनि पार्टीको नाम, झन्डा र नेता को हुने भनेर वादविवाद गर्नुले उनीहरू वैकल्पिक राजनीतिको मर्मलाई आत्मसात् गर्न तयार छैनन् भन्ने पुष्टि गर्छ । यसरी राजनीतिक कुण्ठा मात्रै बोकेर आउने कुण्ठाधारीहरूलाई एकताको नाममा महŒवपूर्ण स्थान दिनाले त्यो भोलि बाँदरको हातमा नरिवल साबित हुन सक्छ ।
नयाँ शक्तिको नीति र उद्देश्यसँग सहमत सबैका लागि ध्रुवीकरणका लागि बाटो खुला राखेर अहिले भएका नेता–कार्यकर्ताको जुन एउटा विशाल संरचना छ, त्यसलाई सही ढंगले परिचालन गर्ने हो भने जनताको घरघरमा पुगेर कुरा बुझाउन सक्ने र संगठन निर्माण गर्न सक्ने यथेष्ट कार्यकर्ताको पंक्ति छँदै छ । संगठक र विचारक छैनन् भनेर वा नेता कार्यकर्ता छैनन् भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन नयाँ शक्ति पार्टीलाई । १ सय ५० जना कार्यकारी सदस्य र १ हजार २ सय जना संघीय परिषद् सदस्य भएको पार्टी हो । हजरौंको संख्यामा द्रदेश र जिल्ला सदस्य छन् । लाखौं कार्यकता र सदस्य–समर्थक छन् । उपयुक्त र व्यवहारिक परिचालनको विधि बनाएर प्रभावकारी ढंगले कार्यन्वयन गर्ने हो भने शक्तिशाली हुन र सत्ता हासिल गर्न कुनै अर्को पार्टीसँग एकताको मुख ताक्नुपर्ने अवस्था छैन । एकताले बल प्राप्त हुन्छ भन्ने कुरा राम्रो हो । तर सबैखाले वा निरपेक्ष एकताले कहिलेकाहीँ पुरेतको गाईजस्तो हुन सक्छ । पार्टीमा भएका विभिन्न विशिष्टता र उमेरसमूहका, विविध मनोविज्ञानसहितका मानीसलाई उनीहरूको भावनाको सम्मान हुने तरिकाले जिम्मेवारी तय गर्न सके सबै पार्टीमा आन्तरिक जीवन सजिव र चलायमान हुन सक्छ । हामीसँग यथेष्ट निर्माण सामग्री देखिन्छ तर मिस्त्रीहरूले त्यसबाट उपयुक्त घर निर्माण गर्ने ढंग मात्रै नपु¥याएको हो । निर्माण सामग्री मात्रै धेरै किनेर घर राम्रो र मजबुत बन्ने होइन । एकता गर्नु नै पर्छ । तर एकता गर्ने पक्षले अर्कोलाई कमजोर देख्यो भने उसले हावी हुन खोज्नु पनि स्वभाविक हुन्छ । त्यो बेला योगदान र इतिहासको हिसाबकिताब हँुदैन । एकता गर्ने पनि निश्चित अवस्था र समय हुन्छ । अहिले फोरमले नयाँ शक्तिलाई स्थानीय चुनावको परिणाम हेरेर कमजोर भएको मूल्यांन गरिरहेको बेला त झन् एकता किमार्थ गर्नुहँुदैन । हरेक हिसाबले यो एकता व्यावहारिक हुनै सक्दैनथ्यो । नयाँ शक्ति पार्टीले दलको हैसियतामा संघीय वा प्रदेशको चुनावमा आफूलाई शक्तिशाली प्रमाणित गर्नुपर्छ । त्यसपछि मात्रै अर्को कुनै संसद्वाला ठूला दलहरूसँग एकतामा ध्यान दिँदा उपयुक्त देखिन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा