21st May 2018, Monday

E-budhabar

एआईजी बढुवामा प्रहरी र मन्त्रालयबीच लफडा



काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधानकार्यालयबीच दरबन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) को बढुवा प्रक्रिया लम्बिएको छ । गत चैत २८ गतेदेखि नेपाल प्रहरीमा एआईजीको १५ वटा दरबन्दी रिक्त रहेका छन् । गृह मन्त्रालयले सात वटै प्रदेशमा प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा डीआईजी (नायब महानिरीक्षक) खटाउने भएपछि एआईजीको दरबन्दी संख्या घटाउनुपर्ने अवस्था रहेको छ । घटाउँदा अब एआईजीको दरबन्दी सातमा झर्नेछ । तर, सरकारले एआईजीको दरबन्दी त्योभन्दा पनि तल राख्न खोजेको छ ।
प्रधान कार्यालयले प्रदेश प्रमुखमा एआईजी नै पठाउनुपर्ने अडान राखेको छ । मन्त्रालयले एआईजीको संख्या घटाएर पाँचदेखि सातसम्म राख्न सकिने जिकिर गरेको छ । तर, प्रहरी प्रधान कार्यालयले संघीय प्रहरीको अवधारणाअनुसार प्रहरी जनशक्ति थप गर्नुका साथै दरबन्दी घटाउन नमिल्ने बताएको छ । अहिलेको अवस्थामा प्रहरी संगठनलाई २२ देखि २५ हजार जनशक्तिको आवश्यकता छ । प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा एआईजी पठाउँदा शान्ति सुरक्षा व्यवस्थापन र चेन अफ कमान्डमा कुनै समस्या नआउने प्रहरीको सुझाव छ ।
प्रदेश प्रहरी प्रमुख सिधै प्रदेश सरकारअन्तर्गत हुन्छ भने निजामती सेवाअन्तर्गत प्रदेश प्रशासन प्रमुखमा कुन तहको व्यक्ति खटेको छ, त्यसको कुनै अर्थ नरहने भन्दै जसरी पनि देश र जनताको शान्तिसुरक्षा र सेवा गर्ने भनेर प्रहरी प्रधान कार्यालयका अधिकारीहरू १५ एआईजी बनाउने लबिङ गरिरहेका छन् । तर, गृह मन्त्रालयले भने एआईजीको दरबन्दी घटाएर मात्र बढुवा प्रक्रिया अघि बढाउने संकेत गरिसकेको छ । एआईजी कति संख्या राख्ने त्यो सरकारले गर्ने निर्णय गर्ने भन्दै प्रहरीलाई यो विषयमा अनावश्यक लबिङ नगर्न आग्रहसमेत गरिसकेको छ । अघिल्लो सरकारले प्रदेशबाट एआईजी तहको प्रहरी अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि सात प्रदेशमा सात एआईजी, तालिम केन्द्रमा एक, मेट्रो प्रहरी कार्यालयमा एक र अन्य प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभागमा एआईजीहरू खटाएका थिए ।
नेपाल प्रहरीको रिक्त एआईजीको १५ वटा दरबन्दीका लागि १० जना डीआईजीहरू प्रतिस्पर्धामा रहेका छन् । एआईजीको बढुवामा एक नम्बरमा पुष्कर कार्की, दुईमा उत्तमकुमार कार्की, तीनमा छविलाल जोशी, त्यसपछि धीरु बस्नेत, ज्ञान विक्रमशाह, शरद चन्द, मनोज न्यौपाने, पवनप्रसाद खरेल, सुरेशविक्रम शाह र ठूले राई रहेका छन् । तर, साउन मसान्तसम्ममा संघीय प्रहरी ऐन लागू नभइ ३० वर्षे सेवा अवधि नहटेको खण्डमा डीआईजी उत्तम कार्की, जोशी, चन्द, खरेल र शाह साउन मसान्तमा नै अवकाश पाउनेछन् ।
बढुवा समितिले एसएसपीहरूको भने सोमबार राति बढुवाका लागि सिफारिस गरेको छ । २४ जना एसएसपी डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेकोमा १६ जना बढुवाको सिफारिसमा परेका छन् । पहिलो नम्बरमा केदार रिजाल सिफारिसमा परेका छन् । बढुवाका लागि सिफारिस भएका अन्य एसएसपीहरूमा शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, दीपककुमार थापा, दीपक अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् ।
डीआईजी बढुवाको सिफारिसमा परेका सबै जना एसएएपी वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै ब्याची हुन् । संगठनमा ब्याचीहरूको वर्चस्व नेपाल प्रहरीको डीआईजीदेखि आईजीसम्म एउटै ब्याची समूहका उच्च प्रहरी अधिकारीहरूको जमघट हुने भएको छ । नेपाल प्रहरी संगठनमा यस्तो अवस्थामा आएको यो दुर्लभ घटना हो ।
२०४६ साल माघ २९ गते प्रहरी निरीक्षकबाट सेवाप्रवेश गरेका आईजीपी सर्वेन्द्र खनालदेखि हरिभक्त प्रजापति एउटै ब्याची हुन् । डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेका मोहनराज जोशी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी, ठाकुरप्रसाद ज्ञवाली, तारिणी लम्साल, हरिभक्त प्रजापति, विक्रम गुरुङ, सूर्यप्रसाद उपाध्याय बढुवा सिफारिसमा परेनन् । प्रहरी महानिरीक्षक नियुक्त भई एआईजीहरूको दरबन्दी रिक्त रहेको महिना दिन पुग्दा पनि सरकारले दरबन्दी थप घट गर्ने विषयमा निर्णय लिन सकेको छैन । एआईजीको लागि नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गनुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले बढुवा लागि सरकारलाई अनुरोध गरेको भए पनि संघीय प्रहरी ऐन ढिला भएका कारण बढुवामा पनि ढिला हुने संकेत देखिएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा