20th February 2018, Tuesday

E-budhabar

एकताको ऐंजेरु झाँगिन नदिऔं



एकताको ऐंजेरु झाँगिन नदिऔं

१७ असोजमा राष्ट्रिय सभागृहमा दुई ध्रुवमा देखिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी सहकार्य घोषणाले गराएको रक्तसञ्चारमा दुई तिहाइ वामजनकै मुटु स्वस्थ राख्न मदत पुगेको थियो । यसरी नै स्वस्थ रक्तसञ्चार भए मान्छे मात्र बाँच्दैन, सकारात्मक सोचसहित परिवर्तनकारी घोषणाले विकास र पूर्वाधारको बेलुन अरू उचाइमा पु¥याउँदै समृद्धिको विमान उडाउन छिमेकी गुहार्नुपर्दैन । जनता यही पक्षमा छन् भन्ने सन्देश १० र २१ मंसिरमा भएका प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आएको परिणामले पनि पुष्टि गरेकै थियो ।
निर्वाचन भएको दुई महिना बित्दा पनि सरकार गठनका विषयमा कामचलाउ सरकार मौन छ । विल रोजरले भनेझैं राजनीति र नैतिकताको भेट हतपती हुँदैन पनि । त्यसैले, राष्ट्रिय सभा निर्वाचन देखाउँदै र राष्ट्रिय सभामा कतै ३३ प्रतिशत महिला पुग्दैनन् कि भन्ने शंकाको डोरी बाटेर हालिइएको संकटको पिङ मच्चिँदा वाम गठबन्धनको सरकार बनाउने तयारी प्रदेशतिर ओर्लिएको छ । वाम गठबन्धन भने पार्टी एकताका आधार बनाउने गृहकार्यमा जुटेका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका कारण यसपटक एकताको पिङ मच्चिन नसक्ने होइन । उनीहरूले राज्यको उपल्लो ओहोदा र पार्टीको माथिल्लो भूमिका यति कुशलतापूर्वक निभाएका छन् कि, चिरकालसम्म उनीहरूको प्रशंसा भइरहनेछ । कम्युनिस्ट पार्टीका इतिहासमा पहिलो वरीयताका नेता व्यवस्थापनले विभाजनको बाढी पटकपटक गएको देखिन्छ । त्यसको पुनरावृत्ति यसपटक नहुनेमा स्वयं ओली र दाहाल विश्वस्त हुँदै कार्यकर्तालाई आश्वस्त रहन पुल्पुल्याइरहँदा कुन छिद्रबाट पसेको मुसाले एकताको टालोमा जालो पारिरहेको छ ? कार्यकर्ता तहसम्म यस्ता कुरा आउन बाँकी नै छ ।
२१ माघमा प्रेस चौतारी नेपालको स्थापना दिवसमा एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकरण नभए कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा पर्ने बताएपछि साँच्चै भित्रभित्रै कतै एकीकरण नचाहनेहरूको बहुमत जुट्दै हो कि भन्ने संशयको घाम सिकुवासम्म आइपुगेको छ । यो घामले कतै एकतामा खडेरीकै रूप लिन्छ कि भनेर कार्यकर्तामा चिन्ता परेको छ । जुन स्वाभाविक हो । अहिले केन्द्रमा दुई अध्यक्ष र वरिष्ठ नेताहरू तथा स्थानीय तहकामा दुई पार्टीका साधारण शुभेच्छुकसमेत एकताका पक्षमा छन् । एकताबाटै समृद्धिको खोजीमा छन् ।
शेरबहादुर देउवा सरकारले सरकार गठनको मेलो ढिलो सुरु गरेपछि नेताहरूको व्यवस्थापनमा शीर्ष नेतृत्वबीच लगभग सहमति भएको खबर प्रवाह भइसकेको छ । नेताहरू कुनै पनि हालतमा एकताका पक्षमा छन् । तर, फेरि पनि एकता रोकिने आलाप गाउने मञ्च कसले खडा गरिरहेको छ र को–को यसमा राग निकालेर बाधकको मेडल लिन तयार भइरहेका हुन्, त्योबारे पनि ढिलोचाँडो नेताहरूले बोल्नेछन् ।
सकिन्थ्यो भने त मंसिर १० र २१ मा भएका निर्वाचनमा एउटै चुनाव चिह्न लिएर उठेका भए करिब १० लाख मत बदर घटेर सिट संख्या अरू बढ्थ्यो । त्यहाँ पनि केही नेताको चाहनाले शंखनाद गर्दा एउटै चुनाव चिह्नमा नेताहरू अटाउन सकेनन् । शीर्ष नेतृत्वले बेलैमा यस्ता सानातिना ऐंजेरु पन्छाउन सकिरहेको छैन । अहिले त्यही ऐंजेरु कतै झाँगिएको हो कि भन्ने देखिन्छ । दोस्रो वरीयताका होइनन्, आफूलाई अब एमाले र माओवादीको पहिलो वरीयतामै राख्न चाहने, व्यवहारतः दोस्रो वरीयतामा रहेका र तेस्रो वरीयतासँग पनि डराइरहेका केही नेता आफ्नो नाम तल पर्छ कि भनेर निकै त्रसित देखिन्छन् । उनीहरू कहिले जबजको शंख बजाउन प्रचण्ड नमानेको नारदगान गर्दै कोटेश्वर पुग्छन् त कोही अध्यक्षको जामा हजुरले नलगाए कम्युनिस्ट आन्दोलनको गरिमा घट्छ भन्दै दाहाल निवास धाइरहेका छन् ।
कामचलाउ सरकार र दाहिना हुन चाहने तर सधैं दच्काएर मात्र सम्बन्ध रहन्छ भन्ने मान्यताका दक्षिण शक्तिहरू यसपटक एकता भाँड्न कामयावी नहुने किरिया पटकपटक ओली र दाहालले खाइसकेका छन् । यसको अर्थ दुवै नेतामा अब मोह, लोभ, लाभको भोक देखिन्न । तर, जनताको बहुदलीय जनवाद र जनयुद्धको बलमा टेकेर एकले अर्कालाई पेल्दै, मेरो नाम माथि हुनुपर्छ भनेर दोस्रो वरीयतापछिका दुवै पार्टीका नेताहरूले अहिले ओली र दाहाललाई टाढै राख्ने प्रयास गरिरहेका छन् । त्यति मात्रै होइन, यसको जरा जोडिएको छ सरकार निर्माणमा । सरकारमा थोरै मन्त्री हुने, त्यसपछि दुई दलको भागबन्डा । त्यसैले सरकारमा रोजेको मन्त्रालयमा जान पनि केही नेताले एकतालाई भ¥याङ बनाएका छन् ।
यो भ¥याङ एकता भएन भने घरबिनाको भ¥याङ हुनेछ । हावामा भ¥याङ ठडिएको इतिहास छैन । यस्तो भ¥याङ चढेर आफ्नाले मात्रै सत्ताको स्वाद चाखून् भन्ने चाह राख्ने नेता–कार्यकर्तालाई गाउँमा छोइछिटो मात्र होइन, मोसो दलेर कार्यकर्ता र गाउँलेले लखेट्नेमा शंका छैन । त्यसैले, दक्षिण र अन्य शक्तिले नसकेको काममा पार्टीभित्रैका केही शक्ति किन गानो जाने गरी दुई अध्यक्षलाई धम्काइरहेका छन् ?
प्रसंग प्रदेश सरकार गठनको पनि छ । प्रदेश सरकार गठनमा दलहरूबीच सहमति हुने, मुख्यमन्त्री र सभामुखमा सहमति बन्ने तर आफूलाई गणितको आडमा वरिष्ठ नेताहरूलाई घोक्र्याइमुन्ट्याइ किन गरिरहेका छन् नेताहरू ? वरिष्ठ नेताहरूले चाहेका बेला वरीयताका आधारमा पनि सम्मान गर्नु पर्ने परिपाटीमा आगो लगाउँदै केही गणितको बलमा उनीहरूले देखाएको अभिमान कम्युनिस्टपन हुनै सक्दैन । सादगी चरित्रमा हुर्किएका नेताहरूले पछिल्लो समय अर्को पार्टीसँग गला मिलाएको र आफ्ना सहकर्मीहरूको घाँटी रेटेको हेर्नलाई पनि कार्यकर्ताहरूले एकता रोजेका होइनन् । यो कुरा नेताहरूले नबुझेका होलान्, पार्टी उपाध्यक्ष वामदेव गौतम पराजयको पीडा भुल्दै एकताका पक्षमा उभिएर हिँडिरहँदा, अपमानको कालकुट विष पिएर माधवकुमार नेपाल एकताका पक्षमा अटल रहँदा केही नेताहरूको वाणी यति दूषितसँग बगिरहेको छ कि, त्यसले राजनीतिको बाग्मतीमा कम्युनिस्टचैं नबन है भन्ने संकेत गरिरहेको छ ।
बल, घमण्ड, पैसा र गणितका आडमा सिद्धान्त, वरीयता, नैतिकता पनि मिच्न पाइने हो भने किन यो पार्टीमा लगातार घरपरिवार छाडेर लागिरहने ? एमाले र माओवादीका कार्यकर्ताले चियापसलमा यस्तै गुनासो गरेको सुनिन्छ । उनीहरूको गुनासो पार्टी कार्यालयमा सुनिन्न, त्यसैले चियापसलमा रमितेहरूलाई निःशुल्क खुराक र भद्दा मजाक बन्छ कम्युनिस्टहरूको एकता र वरिष्ठ नेताहरूको हविगतका कथा । तिनका दुःख, त्याग, संघर्ष किचीमिची नपारी राजनीतिमा सफल नै भइन्न भन्ने भूतले घर गरिरहेको देखिन्छ ।
एकताका आडमा अनेक प्रलोभनको हाँगाबिँगाहरू नेताहरूमा पलाएर कतै नेताहरू उँटजस्तो देखिने हुन् कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा देखिन्छ । त्यो चिन्ता दुई अध्यक्षमा पनि छ । स्थानीय तहका नेता र केन्द्रका नेतामा एउटै चाह हुँदाहुँदै पनि केही एकाध नेताहरूले आफूलाई कमा, कोष्ठ, तर्कुलेमा भाग नपर्ला भनेर जबज र जनयुद्धको रापतापको गलत व्याख्या गरिरहेका छन् । तिनलाई बेलैमा खबरदारी गरौं । बाँकी खबरदारी जनताले गरिरहनेछन् । अबका भेलाहरू यस्तै वैचारिक बहसमा केन्द्रित गर्दै, त्यसैको आलोकमा यथाशीघ्र पार्टी एक होस् भन्ने दबाब दिनु नै एकतामा अवरोध खडा गर्न चाहनेहरूलाई गतिलो बज्रदनक हुनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा