24th May 2018, Thursday

E-budhabar

एकताको शुभ–सन्देश



नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको प्रक्रिया आरम्भ भएसँगै वामपन्थीहरू विभाजनमा मात्र होइन, एकतामा पनि उत्तिकै दृढ हुन्छन् भन्ने यथार्थ साबित हुन पुगेको छ । करिब सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनलाई नियाल्ने हो भने फुट र विभाजनका अनेक शृंखलाहरूको दृश्यपान गर्न सकिन्छ । विचारमा मतभेद हुनेबित्तिकै विभाजनको बाटो समात्ने रोगबाट नेपाली कम्युनिस्टहरू सदैव पीडित रहँदै आए । हरेक राजनीतिक घटनाक्रममा कम्युनिस्टहरूले विभाजनको बाटो अँगाले र कम्युनिस्टहरू फुट र विभाजनमा रमाउने शक्ति हुन् भन्ने मान्यता स्थापित रहँदै आयो । चाहे संसदीय राजनीतिमा भिजेको एमाले होस् वा जनयुद्ध लडेर शान्ति प्रक्रियामा आएको माओवादी नै किन नहोस्, फुटको पीडाबाट गुज्रिँदै आए ।
अब एमाले र माओवादी केन्द्रबीच एकता हुने भएसँगै कम्युनिस्टहरूले विभाजनको मार्गबाट पछ्याउँदैनन्, एकतामा पनि उत्तिकै रुचि राख्छन् भन्ने मान्यता स्थापित हुने देखिन्छ । अझ, अबका दिन वैचारिक मतभेदलाई अघि सारेर सानासाना चुल्हा–चम्काहरूमा कम्युनिस्टहरू रमाउने होइनन्, बृहत् एकतामा जानुपर्छ भन्ने गहन सन्देश पनि एमाले–माओवादी केन्द्रबीचको एकताले दिने निश्चित छ । देशका दुई ठूला वामपन्थी शक्ति एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले गति समाते पनि अझै देशमा साना वामपन्थी समूहहरू बग्रेल्ती छन् । एउटा सीमित इलाकामा खुम्चिएकादेखि देशका विभिन्न भागमा न्यून संख्यामा छरिएर रहेका कम्युनिस्टहरूका समूह अझै विद्यमान छन् र त्यस्ता समूहहरूले आ–आफ्नै डम्फू बजाइरहेका छन् । लाग्छ, एमाले र माओवादी केन्द्रबीचको एकताले त्यस्ता कम्युनिस्ट समूहहरूको घैंटामा घाम लाग्नेछ र सानातिना समूहमा रमाएर बस्नुभन्दा एउटै वृहत् कम्युनिस्ट पार्टी आजको आवश्यकता हो भन्ने बोध त्यस्ता समूह सञ्चालन गरेर बस्ने नेतृत्वमा अवश्य नै पलाउनेछ ।
तर, सानातिना कम्युनिस्ट समूहहरूलाई अहिले नै एमाले–माओवादी केन्द्रबीचको बृहत् एकता प्रक्रियामा सामेल तुल्याउन नसके पनि आगामी दिनहरूमा भने त्यस्ता समूहहरूलाई पनि समेट्ने कार्य हुनु जरुरी छ र त्यसको नेतृत्व अब बन्ने नेपाल कम्युनिस्ट पार्टीले लिनुपर्दछ । खासगरी, चुनावी राजनीतिमा भाग लिने र प्रतिस्पर्धामा विश्वास गर्ने सानातिना कम्युनिस्ट समूहहरूलाई एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बन्ने नयाँ पार्टीका नेतृत्वले समेट्नु राम्रो हुनेछ । कतिपय कम्युनिस्ट समूहहरूले वैचारिक मतभिन्नतालाई आधार बनाएर एकता कार्यमा पन्छिँदै आएका छन् । तर, अब त्यस्ता समूहहरूले पनि के कुरा बुझ्न आवश्यक छ भने देशमा बहुदलीय व्यवस्था अन्त्य भएपछि संसदीय अभ्यासमा रमाउँदै आएको एमाले र संसदीय व्यवस्थाको औचित्य नदेख्ने माओवादी केन्द्रबीच वैचारिक मतभिन्नतालाई मिलाउँदै एकता हुन सक्छ भने संसदीय अभ्यासमा नै भिजेका अरू साना वामपन्थी समूहले अब वैचारिक मतभिन्नतालाई आधार बनाएर अलग बसिरहनु औचित्यपूर्ण देखिँदैन ।
एमाले र माओवादी केन्द्रबीचको एकताले दह्रो, मजबुत र शक्तिशाली राजनीतिक शक्तिको परिचय दिनेछ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यी दुई शक्तिबीच भएको चुनावी तालमेल र त्यसपछिको परिणामले स्पष्ट गरिसकेको छ, वामपन्थी शक्तिबीच तालमेल र एकता हुने हो भने अरू राजनीतिक शक्तिहरूले अपेक्षा नगरे पनि हुन्छ । जनताको रोजाइमा सदैव वामपन्थी शक्तिहरू रहे पनि विभिन्न समूहमा बाँडिने गरेको हुँदा र अलगअलग मोर्चाबाट चुनाव लड्ने गरेको हुँदा देशमा बहुदलीय व्यवस्था स्थापना भएयताका अधिकांश निर्वाचनमा नेपाली कांग्रेसले बाजी मार्दै आयो । वामपन्थी दलहरूको मत ६० प्रतिशतभन्दा माथि हुने र ४० प्रतिशत जनाधार भएको कांग्रेसले निर्वाचनमा सफलता हात पारेर सत्ताको बागडोर चलाउने अवस्था रहँदै आयो । यो क्रम पछिल्लो समय स्थानीय तहको निर्वाचनसम्मै तन्किन पुग्यो । वामपन्थी दलहरूको पक्षमा बलियो जनाधार हुँदाहुँदै पनि एउटै मोर्चाबाट चुनाव नलडेका कारण अरू नै शक्तिले फाइदा उठाउँदै आए ।
तर, अब भने वामपन्थी शक्तिहरूलाई फुटाएर र जुधाएर आफ्नो अभीष्ट पूरा गर्न चाहने शक्तिहरूको सपनाको अन्त्य हुन पुगेको छ । देशका दुई ठूला वामपन्थी शक्तिबीचको एकताप्रति देशका बहुसंख्यक जनताले ल्याप्चे ठोक्ने त निश्चित नै छ, यो एकता देश र जनताको हित र भलोका निम्ति पनि फलदायी साबित हुनेछ । जनताले चाहेकै कुरा थियो, वामपन्थी शक्तिहरू मिलून् र देशको समृद्धिको नेतृत्व लिऊन् । अब जनताको अपेक्षा पूरा हुने समय आउँदै छ । तर, निर्माणाधीन अवस्थामा रहेको नेपाल कम्युनिस्ट पार्टीले पनि देश र जनताको अपेक्षालाई पूरा गर्ने दिशातिर गम्भीर रूपले पाइला चाल्नु पनि उत्तिकै आवश्यक छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

उराल्दै राष्ट्रवादी आवाज

जन–गायक रायनले बीसको दशकमै एउटा सुनौलो सपना देखेका थिए । त्यो सपना थियो– देशमा जनताको सत्ता । अर्थात् देशबाट गरिबी, शोषण, अन्याय, अत्याचार हटेर जनताले सुख र समृद्धिको अनुभूति- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सघन आत्म–मन्थन

हरेक मानिससँग अनुभवका अथाह पुञ्ज हुन्छन् । जीवन भोगाइका क्रममा हरेक मानिसले गुलिया अनुभव मात्र टिपेका हुँदैनन्, तीता र टर्रा अनुभूतिहरु पनि प्रशस्तै बटुलेका हुन्छन् । सम्पूर्ण- ...
पूरा पढ्नुहोस्

छोटकरीमा