22nd November 2017, Wednesday

E-budhabar

एमालेबाट सिक



स्थानीय तहको दोस्रो चरणको निर्वाचनको परिणाम आउने क्रम जारी छ । प्रदेश १, ५ र ७ का ३ सय ३४ तहमा सम्पन्न निर्वाचनको अधिकांश तहको परिणाम आइसकेको छ । तराई–मधेसका ११ सहित पहाडी र हिमाली जिल्लाहरूमा समेत भएको दोस्रो चरणको निर्वाचनका परिणामहरू आउने क्रममा अहिलेसम्म नेकपा (एमाले) ले नै अधिकांश तहमा विजय हासिल गरेको छ भने धेरै तहमा अग्रता लिएको छ । एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसलाई पछ्याउनेमा माओवादी केन्द्र परेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेलाई जनताले देशको पहिलो र प्रमुख शक्तिको मान्यता दिएको थियो । पहिलो चरणमा एमालेले करिब ४० प्रतिशत तहमा विजयी हासिल गरेर पहिलो स्थान कायम गरेको थियो । दोस्रो चरणको निर्वाचनमा पनि जनताले एमालेलाई नै पहिलो शक्तिको मान्यतामा राखेका छन् । पहिलो चरणको निर्वाचनजस्तै कांग्रेसलाई दोस्रो र माओवादी केन्द्रलाई तेस्रो हैसियतमा राख्न मतदाताहरूले रुचि दर्साएका छन् । यद्यपि पहिलो चरणमा शून्य परिणाम ल्याएका केही साना दल संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र राजमोले भने दोस्रो चरणमा केही तहमा खाता खोलेका छन् । वर्षौंदेखि आफ्नो पकड रहँदै आएका क्षेत्रहरूमा ती साना दलहरूले जनताको मन जित्न सकेका हुन् ।
एमालेले दोस्रो चरणमा पनि सफलता बटुलेपछि अरू राजनीतिक दलहरू अचम्मित हुनु स्वाभाविकै हो । खासगरी कांग्रेस भने धेरै नै तिल्मिलाएको छ । पहिलो चरणमा जनताले दोस्रो स्थानमा खुम्च्याइदिएको कांग्रेसले दोस्रो चरणमा भने एमालेलाई उछिन्ने रणनीति नै बनाएको थियो । त्यसका निम्ति कांग्रेसले आन्तरिक तयारीसमेत गरेको थियो । प्रदेश ७ मा पहिलो हुने र अरू दुई प्रदेशमा पनि पहिलो बन्ने आँकलन गर्दै कांग्रेसले दोस्रो चरणमा पहिलो स्थान ल्याउने सोच उमारेको थियो । तर जनताले नरुचाएपछि कुनै पनि दलको केही नलाग्दो रहेछ भन्ने कुरा निर्वाचन परिणामले देखाएको छ । तुलनात्मक रूपमा प्रदेश ७ मा कांग्रेस एमालेभन्दा केही तहमा अगाडि रहे पनि प्रदेश १ र ५ मा भने कांग्रेसले सोचेअनुरूप नतिजा ल्याउन सकेको देखिएन ।
पहिलो चरणको निर्वाचनमा तेस्रो हैसियतमा उभिन पुगेको माओवादी केन्द्रलाई भने दोस्रो चरण पनि फापेको देखिएको छ । पश्चिम भूभागमा माओवादी केन्द्रको पकड राम्रै रहे पनि पूर्वी भेगमा भने माओवादी केन्द्रले खासै चुनावी सफलता हात नपार्ने आँकलन गरिएको थियो । तर त्यस्तो आँकलनलाई मेट्दै माओवादी केन्द्रले पूर्वका पहाडी जिल्लाहरूमा सम्मानजनक स्थान प्राप्त गरेको छ । संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीका केही स्थानमा विजय प्राप्त गरेको हुँदा ती दलहरूले चुनावमा भाग लिनुको सार्थकता प्राप्त गरेको छ । राजमोले पनि प्युठानका दुई तहमा जितेर आफ्नो पुरानो वर्चस्व कायम राखेको छ । समग्रमा हेर्दा दोस्रो चरणको निर्वाचनले एमालेलाई पहिलो शक्तिकै रूपमा स्थापित गरे पनि अरू राजनीतिक दलले पनि सम्मानजनक स्थान पाएको हुँदा कसैले पनि असन्तुष्टि व्यक्त गर्ने ठाउँ देखिँदैन ।
एउटा राजनीतिक शक्तिले चुनावमा सफलता पायो भनेर अरू राजनीतिक शक्तिहरू बर्बराउनुको कुनै अर्थ रहँदैन । किनकि राजनीतिक दलले चुनावी सफलता प्राप्त गर्ने आधार भनेकै उसले बोकेको राजनीतिक एजेन्डा नै हो । कुन राजनीतिक दलले कस्तो एजेन्डा बोकेको छ ? उसले बोकेको एजेन्डाप्रति जनता सहमत छन् कि छैनन् ? विगतमा ती दलले जनताका लागि के–कति योगदान अर्पण गरेका छन् ? आखिर चुनाव जित्ने कसी भनेकै यिनै पक्षहरू हुन् । एमालेले पहिलो र दोस्रो चरणको निर्वाचनमा जनताबाट पाएको स्नेह, विश्वास र सद्भावको मुख्य आधार भनेकै उसले बोकेको राजनीतिक, सामाजिक, आर्थिकलगायत एजेन्डाहरू नै हुन् । एमालेले जनताको हित र समृद्धिका लागि समयानुकूल र उपयोगी एजेन्डा बोेकेको हुँदा नै जनताको नजरमा प्रिय बन्न पुग्यो र दुवै चरणको निर्वाचनमा सफलता पाउन सक्यो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसको भने खासै एजेन्डा थिएन । उही पुरानै कुरा उठाउँदा अब जनताले विश्वास गर्नेवाला छैनन् भन्ने कुरा दुवै चरणको परिणामले स्पष्ट देखाएको छ । माओवादी केन्द्रले पनि जनतालाई अपिल गर्न सक्ने कुनै एजेन्डा राख्न सकेन । तर पनि दुवै चरणमा माओवादी केन्द्रले जुन सफलता पाएको छ, त्यसलाई कम भने ठान्न मिल्दैन । तर एमालेले भने चुनावमा स्पष्ट एजेन्डा अगाडि सारेको थियो । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने कार्यमा दत्तचित्तपूर्वक जुटेको एमालेले जनताका बीच विकास, सामाजिक सेवा एवं अन्य जनमुखी र अग्रगामी कार्यक्रमहरू लिएर गयो । विगतदेखि नै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू लिएर जनताबीच पुगेको एमालेलाई यसपटक पनि जनताले विश्वास गरे र निर्वाचनमा पत्याए । अरू राजनीतिक दलहरूले पनि एमालेबाट सिक्न जरुरी देखिन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा