20th February 2018, Tuesday

E-budhabar

एमाले–माओवादी केन्द्रको एकताका आधारहरू



एमाले–माओवादी केन्द्रको एकताका आधारहरू

एमाले र माओवादीबीचको पार्टी एकताको सहमतिलाई भाँड्न विभिन्न प्रयत्नहरू भइरहेका छन् । पार्टी एकता हुन नदिने मात्र होइन, सकेसम्म वामपन्थी गठबन्धनको सरकार नै बन्न नदिने खेल सुरु भएको छ । देउवाको काम चलाउ सरकारले भटाभट अनुचित निर्णयहरू गरेर केही समयपछि बन्ने वामपन्थी सरकारलाई अप्ठेरोमा पार्ने र दीर्घकालीन रूपमा मुलुकको भविष्यलाई प्रभावित गर्ने प्रयत्न गर्दै छ । निर्वाचन सम्पन्न भएपछि सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्नुपर्ने काम चलाउ सरकारले मार्ग प्रशस्त नगर्नु र एकपछि अर्को अनुचित निर्णयहरू गर्दै जानुलाई सामान्य रूपमा हेर्न सकिन्न । पार्टी एकता र वामपन्थी गठबन्धन सरकारलाई प्रभावित गर्ने योजनाबद्ध सोचाइ अनुसार नै सरकारले यी सबै कार्य गरिरहेको छ । तथाकथित लोकप्रिय निर्णयहरू गरेर सरकार र कांगे्रस पार्टीले आफ्नो बिग्रँदो छवि र कमजोर हुँदो साखलाई सुधार्न मात्र चाहेको छैन, वामपन्थी सरकारको अघिल्तिरको यात्रामा अजङको पर्खाल पनि खडा गर्न चाहेको छ ।
‘रात रहे अग्राख पलाउँछ’ भन्ने नेपाली उखान छ । देउवा सरकार अहिले यसै अनुरूप चलेको देखिन्छ । जति ढिलो गर्न सकियो उति नै पार्टी एकतालाई भाँड्न र वामपन्थी गठबन्धन सरकार बन्न दिन परिस्थिति निर्माण गर्न सकिन्छ भन्ने उसको विश्लेषण पाइन्छ । ‘फुटाउ र राज गर’को पुरानो नीतिलाई गम्भीरतापूर्वक लागू गर्न खोजिएको छ । अतिमुखी, यथास्थितिवादी, परिवर्तनविरोधी शक्तिहरू सबै एकता प्रयासलाई टुङ्गोमा पुग्न नदिन र वामपन्थीहरूको सरकार बन्न नदिन सक्रियतापूर्वक लागिपरेका छन् ।
पार्टी एकता र सरकार गठनलाई भाँड्न आन्तरिक तŒवहरू मात्र होइन, बाह्य तŒवहरू पनि सक्रिय छन् । नेपालमा वामपन्थको बढ्दो प्रभावलाई कमजोर बनाउन, यसलाई गलत दिशा दिन र समाप्त गर्न बाह्य शक्तिहरू धेरै पहिलेदेखि नै सक्रिय रहँदै आएका छन् । उनीहरूको सक्रियता कसैबाट छिपेको पनि छैन । आज यो सक्रियता अझ बढेको छ । दुई ठूला वामपन्थी पार्टीहरू एउटै हुनु र पूर्ण बहुमतको सरकार बनाउनु चानचुने कुरा पनि होइन । यसलाई उनीहरूले नेपालको राजनीतिक इतिहासको सामान्य घटनाका रूपमा लिएका छैनन् र लिने कुरा पनि भएन । यसले नेपाली राजनीतिलाई दूरगामी रूपमा प्रभावित त गर्छ नै, यसको कमबेसी प्रभाव बाहिर र हाम्रा स्वार्थहरूमा पनि पर्छ भन्ने विश्लेषण उनीहरूको रहेको पाइन्छ ।
कम्युनिस्ट विरोधी बाह्य शक्ति र आन्तरिक शक्ति आपसमा मिलेर वामपन्थी शक्ति एवम् सरकारलाई समाप्त गर्ने खेल संसारमा धेरै भएका छन् । नेपाल यसको अपवाद हुन सक्दैन । नेपालको वामपन्थी आन्दोलनको इतिहासमा मात्र होइन, समग्र राजनीतिक इतिहासका दुई ठूला वामपन्थी पार्टीहरू जसरी एकीकृत भएर अघि बढ्ने प्रयत्न गर्दै छन्, यो ऐतिहासिक रहेको छ । आज दुनियाँमा वामपन्थी पार्टी र आन्दोलनहरू रक्षात्मक स्थितिमा छन् । वामपन्थी पार्टी, आन्दोलन र यसको भविष्यलाई लिएर कयौंमा सघन निराशा पाइन्छ । भूमण्डलीकृत पुँजीवादको दिग्विजय जस्तै भएको आजको विश्वमा नेपालमा चुनावबाट निर्वाचित भएर वामपन्थीहरूको बहुमतको सरकार बन्दै छ । एकीकृत पार्टीको निर्माण गरेर यसलाई निरन्तरता दिने प्रयत्न गरिँदै छ । यसबाट धेरैको निद्रा भंग भएको छ र भोक, तिर्खा हराएको छ ।
चुनावबाट बहुमत प्राप्त गरेर वामपन्थीहरूले सरकार बनाएका र अघिल्तिर प्रस्थान गरेका दृष्टान्तहरू संसारमा निकै कम छन् । निर्वाचनमार्फत सत्तामा आउने वामपन्थी शक्तिहरूबाट कम्युनिस्ट विरोधी शक्तिहरू निकै तर्सने गरेका छन् । निर्वाचनको वैधतालाई अस्वीकार गर्न गाह्रो हुने र यसो गरे आफैंले महŒव प्रदान गरेको लोकतन्त्रको चिरहरण हुने भयले उनीहरूलाई सबैभन्दा बढी तर्साउने गरेको छ । यस स्थितिमा वामपन्थीहरूमाथि सीधा हमलाभन्दा पनि अनेक दाउपेचका माध्यमबाट उनीहरूलाई कमजोर बनाउने र किनारा लगाउने प्रयत्न गरिन्छ । यसबाट अभीष्ट पूरा भएन भने मात्र अन्य बाटाहरू प्रयोग गरिन्छन् र गरिएका छन् । नेपालको वर्तमान राजनीतिक घटनाक्रमहरूमा पनि यसलाई नियाल्न सकिन्छ ।
भारतमा आजभन्दा ६१ वर्ष पहिले सन् १९५७ मा नम्बुदिरीपादको नेतृत्वमा राज्यस्तरमा केरलमा पहिले कम्युनिस्ट सरकारको गठन भएको थियो । केरल विधानसभाका १२६ सिटमध्ये कम्युनिस्ट पार्टी र उसले समर्थन गरेका निर्दलीय सदस्यहरू गरेर ६५ जनाले विजय प्राप्त गरेका थिए । यो भरतीय इतिहासमा मात्र होइन, दुनियाँकै इतिहासमा नयाँ घटना थियो । त्यसबेलासम्म अन्यत्र यस्तो स्थिति निर्माण भएको थिएन । सन् १९४५ मा इटलीको उत्तरपूर्वमा रहेको सानो मुलुक सान मारिनोमा कम्युनिस्ट र सोसलिस्ट पार्टीको गठबन्धनमा सरकार निर्माण भएको थियो । यो गठबन्धन सरकार थियो र सान मारिनोको जनसंख्या ३० हजार मात्र थियो । केरलको सरकार कम्युनिस्ट सरकार थियो । यसले कम्युनिस्ट सरकारको विरोधमा भारतभित्रका कम्युनिस्टविरोधी बुर्जुवा शक्ति र बाहिरका शक्तिहरूलाई एक ठाउँमा उभ्यायो । तत्कालीन भारतीय सत्तारूढ पार्टी र सीआईएको बीचमा कम्युनिस्ट सरकारलाई समाप्त गर्न सहकार्य नै भयो । सन् १९५७ मा बनेको सरकारलाई १९५९ मा केन्द्र सरकारद्वारा अपदस्त गरियो ।
कम्युनिस्ट सरकार बनेपछि केरलमा व्यापक रूपमा सुधार र परिवर्तनका कार्यक्रमहरूलाई अघि बढाइएको थियो । यी कार्यक्रमहरू सामन्तवादको अन्त्य गर्ने र सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्ने उद्देश्यले निकै महŒवपूर्ण थिए । सरकारले गर्न चाहेको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिक सुधार र परिवर्तनले समाजमा द्वन्द्व र अशान्ति बढाएको भन्दै कम्युनिस्ट सरकारलाई भङ्ग गरिएको थियो । केरल मात्र होइन, पश्चिम बङ्गालमा पनि यस्तो प्रयासलाई अघि बढाइएको थियो । नेपालमा यो प्रयास सुरुमै पार्टी एकता हुन र सरकार बन्न नदिने कुरामा केन्द्रित रहेको छ ।
फेरि पनि पार्टी एकता र सरकार गठनका निर्णायक पक्ष भने एमाले र माओवादी केन्द्र नै हुन् । सरकार गठन र पार्टी एकतामा रहेका जटिलताहरूप्रति अपेक्षित गम्भीरता, सुझबुझ, दूरदर्शिता रहन नसके पार्टी एकता आफ्नै कारणले भाँडिनेछ र वामपन्थी सरकार पनि बन्नेछैन । प्रमुख बाह्य होइन, आन्तरिक कारणहरू हुन्छन् भन्ने सामान्य सत्यलाई यसबेला अझ बढी हेक्का राख्न आवश्यक छ । आन्तरिक कारणहरूले सिर्जना गर्ने समस्याहरूमै बाह्य तŒवहरू खेल्छन् । आन्तरिक रूपले सबै ठीकठाक चलेको छ भने बाह्य तŒवहरूले चाहेर पनि केही गर्न सक्तैनन् ।
पार्टी एकतालाई सुरुमै तुरुन्तातुरुन्तैको विषय बनाइयो । यसबाट कार्यकर्ता र आमजनतामा उत्साह त जन्मियो तर पार्टी एकता जटिल हुन्छ, यसका आफ्ना पद्धति र प्रक्रिया हुन्छन्, यसले अपेक्षा गरेभन्दा लामो समय लिन सक्छ भन्ने कुरा ओझेलमा प¥यो । पार्टी एकताका निम्ति भएको सहमति आज केही महिना बितिसक्दा पनि टुंगोमा पुगेको छैन । यसबाट कतिपय मानिसमा सन्देहको विकास हुन थालेको छ । धमिलो पानीमा माछा मार्नेहरू यसमै खेल्न थालेका छन् ।
पार्टी एकताको मूल आधार सिद्धान्त र विचार नै हो । यसबाटै बलियो एकताको आधार निर्माण हुन्छ । एमाले र माओवादीका बीचमा कतिपय महŒवपूर्ण विषयहरूमा गम्भीर मतभेदहरू छन् । गम्भीर विमर्शको प्रक्रियाबाटै सैद्धान्तिक र वैचारिक विषयहरूमा स्पष्ट हुँदै एउटै ठाउँमा उभिएर अघि बढ्ने स्थिति निर्माण हुनेछ । न एमालेले माओवादीका कतिपय सैद्धान्तिक, वैचारिक कुराहरू स्विकार्न सक्छ न त माओवादीले नै एमालेका कतिपय सैद्धान्तिक वैचारिक विषयहरूलाई मान्न सक्छ । बेलाबखत जेजस्तो भाषाशैलीमा हाम्रा बीचमा खास मतभेदहरू छैनन् भनेर भन्ने गरिन्छ, त्यो धेरै बनावटी लाग्छ । जनताको बहुदलीय जनवाद र माओवाद एवं एक्काइसौं शताब्दीको जनवादका बीचमा धेरै अन्तरहरू छन् । यस्ता अन्तरहरू अरू पनि धेरै विषयमा छन् । जनताको बहुदलीय जनवाद मानेर माओवादी केन्द्र एकतामा आउँछ भन्ने कसैले सोचेको छ भने त्यो सोचाइ मात्र हो । माओवादी केन्द्रमा सिद्धान्त र विचारको प्रश्नलाई लिएर अहिले नै क्रमशः पहिरो जान थाल्दै छ । यो स्थिति अझ बढ्न सक्छ । जनताको बहुदलीय जनवादलाई छोड्न एमाले पंक्ति तयार छैन । जनताको बहुदलीय जनवादलाई छोड्न खोजे एमालेभित्र पनि भुइँचालो जानेछ । यस स्थितिले पार्टी एकता प्रक्रियाले केही समय लिने देखाउँछ र यो स्वभाविक पनि छ ।
माथिदेखि तलसम्म पार्टी एकताका पद्धति र प्रक्रियाभित्र रहेर दस्तावेजहरूसहित छलफल चलाएर अघि बढ्दा नै सैद्धान्तिक, वैचारिक सहमतिका बिन्दुहरू पहिल्याउन सकिन्छ र त्यसमा सहमति पनि कायम गर्न सकिन्छ । अहिलेसम्म यसको थालनी नै भएको छैन । आ–आफ्ना पार्टीहरूमै यस विषयमा पद्धति र प्रक्रियासङ्गत ढङ्गले छलफल सुरु भएको छैन । पार्टी एकता एउटै भएर अघि बढ्ने कुरा हो । यो सरकार बनाउने कुरा जस्तो होइन । पार्टी एकता नगरेर पनि वामपन्थी गठबन्धनको सरकार बनाउन र टिकाउन सकिन्छ । पार्टी एकतालाई गठबन्धन सरकार निर्माणसँग जोड्न सकिन्न र हुन्न । एकता सिद्धान्त र विचार आधारित रणनीतिक महŒवको विषय हो । एकतामा सैद्धान्तिक, वैचारिक एवम् राजनीतिक विषयहरूमा गम्भीरतापूर्वक ध्यान दिइएन भने प्रथमतः एकता नै हुँदैन, भइहाले पनि त्यो टिक्दैन । एमाले र माओवादी केन्द्रले सघन विमर्शका आधारमा परिवर्तित परिस्थिति, यस परिस्थितिअनुरूप निर्माण गरिनुपर्ने नयाँ वैचारिक, राजनीतिक दृष्टिकोण र दिशाका बारेमा स्पष्ट भएर नै एकताका आधारहरू तयार गर्न सक्छन् । आ–आफ्नो ठाउँमा अडिएर त एकता नै सम्भव छैन ।
पार्टी एकताका सन्दर्भमा दुर्व पार्टीका नेता–कार्यकर्ताहरूको समुचित व्यवस्थापन अर्को अत्यन्त महŒवपूर्ण विषय हो । व्यवस्थापनको विषय कहिलेकाहीँ सिद्धान्तको प्रश्नभन्दा पनि महŒवपूर्ण बन्छ र बनेको छ । व्यवस्थापनको विषयले पनि रचनात्मक समाधान खोज्छ । यसलाई पूर्णतः गणितको मातहत राखेर मात्र समाधान गर्न खोजियो भने पनि समाधान हुन्न । एक हुनु भनेको आरम्भमा लिनुदिनु पनि हो तर यो वैचारिक एवम् भावनात्मक रूपमा एक भएर अघि बढ्ने प्रक्रिया पनि हो । एक हुन सकिएन भने एउटा पार्टीभित्र दुई वा त्योभन्दा धेरै पार्टीहरू हुन्छन् । ती जतिबेला पनि दायाँबायाँ लाग्न सक्छन् । व्यवस्थापनको आधार पार्टी आन्दोलनको व्यापक लक्ष्यहरूसँग जोडिनुपर्छ र परिआउँदा सबैले कतिपय कुरामा त्याग गर्न पनि तयार हुनुपर्छ । कैयौं कुरामा त्याग नगरीकन एकता जस्तो एकता सम्भव पनि हुन्न । असाध्यै संवेदनशील मानिने व्यवस्थापनको कुरालाई यान्त्रिक ढंगले मात्र समाधान गर्न खोजियो भने पार पाइनेछैन ।
एकता र वामपन्थी सरकार निर्माणको उद्देश्य परिवर्तनका बाँकी कार्यभारहरूलाई पूरा गर्न नै हो । मुलुकको समृद्धि पनि यसैसँग गाँसिएको छ । समाजवादतर्फको यात्रा भन्नलाई मात्र सजिलो छ । आजको पुँजीवाद, मुलुकभित्रको यथास्थितिवाद एवम् पुरातन शक्तिसँग संघर्ष नगरी अघि बढ्न सकिने छैन । यसो गरेर अघि बढ्दा टिकीखान दिइने छैन । बलियो पार्टी, मजबूत जनाधार र सुस्पष्ट वैचारिक, राजनीतिक दृष्टिकोण र दिशाका आधारमा मात्र यसको प्रतिवाद गर्न सकिनेछ । होइन, केही नगर्ने र सामान्य सुधारमै खुम्चने हो भने प्रहारको तारो पनि बन्नुपर्ने छैन । हामी बुर्जुवा लोककल्याणकारी अवधारणामा रमाउने हौं कि त्योभन्दा माथि जाने हौं भन्नेमा धेरै कुरा निर्भर रहने छन् । पार्टी एकतालाई भाँडिनबाट जोगाउनु र अघिल्तिर प्रस्थान गर्नु यतिबेलाको ऐतिहासिक आवश्यकता हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा