18th November 2017, Saturday

E-budhabar

कता हराइन् मोहनविक्रमको ‘कमरेड जलजला’ ?



कता हराइन् मोहनविक्रमको ‘कमरेड जलजला’ ?

डेढ दशकअघि, नेपाली वामपन्थी आन्दोलनका उच्च–व्यक्तित्व मोहनविक्रम सिंहले एउटा उपन्यास लेख्न थालेका थिए । राजनीतिक चिन्तक र विश्लेषकका रूपमा मात्र होइन, साहित्य लेखनमा समेत राम्रो दखल राख्ने सिंहले एक दशकअघि प्रस्टै भनेका थिए, ‘म एउटा उपन्यास लेखनमा लागिपरेको छु । मैले त्यो उपन्यास लेख्न थालेको पनि ५÷६ वर्ष भइसक्यो । अहिलेसम्म दुई भाग लेखेर सिध्याएको छु । अरू लेख्न समयले साथ दिइरहेको छैन । बेलाबखत आउने पार्टीका समस्याहरूले गर्दा पनि त्यसलाई पूरा गर्न सकिरहेको छैन ।’
१० वर्षअघि साहित्यिक मासिक ‘शब्द–संयोजन’ लाई अन्तर्वार्ता दिने क्रममा सिंहले यस्तो खुलासा गरेका थिए । उनले त्यतिबेलै भनेका थिए, ‘एक वर्षमा सिध्याउनेछु ।’ उनले उपन्यासको विषयवस्तुबारे प्रस्ट पार्दै भनेका थिए, ‘पञ्चायतकालकै बेलाको कुरा हो, त्यतिबेला मैले विद्यावारिधि गर्न लागेको थिएँ । कृषि विषयमा मैले विद्यावारिधि गर्न खोजेको थिएँ । मेरो विद्यावारिधिको क्षेत्र पश्चिम नेपालको प्युठानदेखि कर्णाली क्षेत्र र गढवाल–कुमाउका पहाडी क्षेत्रहरू थिए । चार÷पाँच वर्ष प्रयत्न गरिरहेकै बेला पार्टीको काममा समय दिनुप¥यो र मैले पूरा गर्न सकिनँ । त्यही क्षेत्रलाई आधार बनाएर सामाजिक, राजनीतिक, सांस्कृतिक गतिविधिहरूलाई मिलाएर उपन्यास लेख्ने कोसिस गरिरहेको छु ।’
डेढ दशकदेखि प्रयत्न गरे पनि अहिलेसम्म पूर्ण हुन नसकेको सिंहको उपन्यासको शीर्षक हो– ‘कमरेड जलजला’ । हुन पनि कुनै बेला सिंह जलजलाको प्रेममा लट्ठै परेका थिए । उनले भनेका छन्, ‘जलजला हाम्रो पार्टीको एउटी कार्यकर्ता थिइन् । पार्टी कामकै सिलसिलामा नयाँ दिल्ली जाँदा बस दुर्घटना भयो र त्यहीँ दुर्घटनामा उनको मृत्यु भयो । उपन्यासको पात्र जलजला भए पनि मैले त्यससँगै गढवाल, कुमाउ र नेपालका अन्य ठाउँको पात्रहरू पनि लिएको छु ।’
तर, सिंहले आफ्नो अपुरो उपन्यासमा अरू पात्रहरूलाई उभ्याए पनि केन्द्रीय पात्र भने जलजला नै रहेकी खुलासा गरेका थिए, ‘कमरेड जलजला नै उपन्यासकी केन्द्रीय पात्र हुन् । कमरेड जलजलाले भूमिगत कालमा रोल्पाको थवाङ गएर एक वर्षजति पार्टीको काम गरिन् । थवाङलाई आधार क्षेत्र बनाउनमा उनको मुख्य भूमिका रह्यो । त्यही वरिपरि कथा घुमेको छ । कमरेड जलजला वास्तविक पात्र पनि हुन् । उनको पार्टीमा महŒवपूर्ण भूमिका थियो । मैले सो उपन्यासमा अर्को रूपले पनि प्रस्तुत गर्न खोजेको छु । हेगेलको दर्शनले भन्छ, संसारका प्रत्येक चिज आपसमा जोडिएका हुन्छन् । एउटा व्यक्तिमा विश्व समाहित भएको हुन्छ र विश्वमा एक व्यक्ति समाहित भएको हुन्छ । अर्थात् यसमा अन्तरसम्बन्ध हुन्छ । जलजलालाई हेर्ने सवालमा, यहाँका सामाजिक, आर्थिक स्थिति र विश्व कम्युनिस्ट आन्दोलन पनि देखिन्छ । त्यो उपन्यासको स्वरूप वैश्विक हुनेछ ।’
सिंहले सो उपन्यासको कालावधि पनि तोकेका थिए । सन् १९६० बाट सुरु भएर २४ वर्षको घटनाक्रम टिप्दै १९८४ मा सकिने उद्घोष गरेका थिए उनले । उनले अझ खुल्दै भनेका थिए, ‘जलजलासित मेरो भावनात्मक सम्बन्ध थियो । तर, उनको दुःखद मृत्यु भयो । उनको मृत्यु नभएको भए हामीबीच सम्भवतः बिहे पनि हुन्थ्यो होला । यिनै पक्षहरूलाई आधार बनाएको छु मैले उपन्यासमा । मैले व्यक्तिगत प्रसंगहरूलाई भन्दा पनि जलजलालाई आधार बनाएर नेपालको राजनीतिक, सामाजिक आन्दोलनको चित्रण गर्न खोजेको छु ।’
जलजलासँगको गहिरो प्रेम, त्यसलाई बिहेमा बदल्ने सोच हुँदाहुँदै जलजलाले मृत्युवरण गरेपछि सिंहमा केही समय विक्षिप्तपन उत्पन्न भएको बताइन्छ । त्यही पीडाबोधलाई टाल्न आफूले उपन्यास लेखिरहेको सिंहले स्वीकार गरेका थिए, ‘उपन्यासमा पात्रका रूपमा त म कतै देखा परेको छैन, तर पनि मेरो पीडा बोध त्यहाँ व्यक्त हुन्छ । उनको मृत्युपछि पैदा भएका पीडाहरू उपन्यासमा व्यक्त हुन्छन् ।’
त्यसो त, राजनीतिक विषयवस्तुमा टेको लगाएर उभिएका उपन्यासहरू नेपाली साहित्य वृत्तमा नदेखिएका होइनन् । राणाकालीन दमनात्मक परिवेशदेखि पञ्चायत, बहुदलीय व्यवस्था, १० वर्षे माओवादी युद्ध र गणतन्त्र स्थापनापछिका दिनहरूलाई समेत विषयवस्तुमा उनेर उपन्यास लेखिएका छन् । राजनीतिक विषयका उपन्यासहरूमध्ये कतिपयले राम्रै चर्चा बटुलेका छन् भने कतिपय उपन्यासहरूले खासै चर्चा कमाउन सकेनन् । तर, नेपाली वामपन्थी राजनीतिका धुरन्धर व्यक्तित्व सिंहका उपन्यास भने वामपन्थी वृत्तमा मात्र होइन, इतरवृत्तमा पनि पठनीय र चर्चायोग्य हुनेमा कुनै दुईमत देखिँदैन । अझ, एकजना वामपन्थी राजनीतिक व्यक्तित्वले आफ्नो प्रेम प्रसंगलाई उपन्यासमा ढाल्नु भनेको त्यसले अझै चासो र चर्चा बटुल्नु पनि हो ।
तर, पछिल्लो समय अर्धभूमिगतपन त्यागेका सिंहले आफैंले उद्घोष गरेका ‘कमरेड जलजला’ कता हराइन् ? जलजलालाई थवाङको जनतासँग घुलमिल गराउने उनको योजना कता पुग्यो ? एक दशकपछि अहिले सिंहसामु यस्ता प्रश्न राख्नु अन्यथा नहोला ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा