22nd June 2018, Friday

E-budhabar

कलिला दिमागलाई भूकम्प–जानकारी



कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न सकिन्छ । ग्रामीण बस्तीका कतिपय जनता टहरामै रात गुजार्न बाध्य छन् । पुनर्निर्माणको काम समयमै नहुँदा भौतिक संरचनाहरू अझै ठडिन सकेका छैनन् ।
राजनीतिकर्मी त्रिलोचन ढकालकृत बालउपन्यास ‘भुइँचालो आयो’ २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले निम्त्याएको अपूरणीय क्षति र त्यसले मानव जीवनमा पु¥याएका गहिरा असरहरूको सेरोफेरोमा घुमेको छ । वैशाख १२ को भूकम्पले गरेका क्षतिहरू, उद्धार, राहत र पुनर्निर्माणका क्रममा भएका प्रयत्नहरू, भूकम्प आउनुका कारण, नेपालका प्रमुख भूकम्पहरूका साथै भूकम्पबाट जोगिन केकस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्नेजस्ता विषयमा एउटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरूले विज्ञहरूलाई निम्त्याएर चलाएको गहन विमर्शको वरिपरि घुमेको उक्त बालउपन्यासमा वैशाख १२ को भूकम्पका विविध पक्षहरूलाई कथात्मक शैलीमा वाचन गर्ने कार्य भएको छ । साहित्य लेखनबाट भूकम्पका यथातथ्य जानकारी दिने काम ढकालले लघुआयामको उक्त औपन्यासिक कृतिमार्फत गरेका छन् ।
भूकम्प आएपछि विद्यालयका पालेले क्षमापूजा गर्न सुझाउँछन् । पालेको तर्क हुन्छ, ‘क्षमापूजा नगरेका कारण भूकम्पले दुःख दिएको हो ।’ तर, प्रधानाध्यापकले सो कुराको सोझै प्रतिवाद गर्दै भूकम्प आउनुका वैज्ञानिक पक्षहरू खोतल्ने र विद्यार्थीहरूलाई त्यसबारे जानकारी दिने उद्देश्य सँगाल्छन् । भूकम्प किन आउँछ ? त्यसका वैज्ञानिक पाटा खोतल्न भूगर्भविद्हरूलाई विद्यालयमै निम्त्याएर विद्यार्थीहरूका जिज्ञासालाई प्रश्नोत्तर शैलीमार्फत मेट्न लगाउँछन् । तर, भूगर्भविद्को कुरालाई भने त्यही विद्यालयका एक शिक्षकले भने शास्त्रको कुरा निकाल्दै शेषनागले टाउको हल्लाउँदा भूकम्प जाने कुरा उप्काएपछि ती भूगर्भविद् भन्छन्, ‘नागले काँध फेर्दा भूकम्प आउने होइन । त्यसो भए त संसारमा एकैचोटि भुइँचालो जानुपथ्र्यो । त्यस्तो त भएको छैन । नेपालको बीच भागमा मात्र आयो, २०७२ वैशाख १२ गते भूकम्प । काँध फेर्दा त पृथ्वीको सबै भाग हल्लन्थ्यो ।’
ढकालले भूकम्प आउनुका प्राविधिक पक्षहरूबारे मात्र विज्ञहरूलाई निम्त्याएर विद्यालयले छलफल चलाएको केन्द्रित भएका छैनन् । भूकम्पपछि विदेशीहरूले गरेका सहयोग, मुनाफा कमाउन पल्केका व्यापारीहरूले महँगोमा जस्तापाता र पालहरू बेचेका प्रसंग, भूकम्पपीडितहरूलाई राहत वितरण गर्ने क्रममा धर्मसम्बन्धी पुस्तकहरू बाँडेका कुराजस्ता भूकम्पपछि भएका राजनीतिक, धार्मिकलगायतका चलखेलहरूबारे पनि उल्लेख गरेका छन् । भूकम्पको आडमा फस्टाएको गलत धन्दाहरूको चिरफार गर्ने काममा पनि उपन्यास अग्रसर रहेको देखिएको छ ।
भूकम्पबाट जोगिन, त्यसलाई प्रतिकार गर्न भौतिक संरचनाहरू बलिया बनाउनुपर्छ भन्ने सन्देश पनि बाँडेको छ, उपन्यासले । मानव जातिले लाखौं वर्षदेखि प्राकृतिक विपत्ति बेहोर्दै आएको प्रसंग उठाउँदै ढकाल लेख्छन्, ‘पहाडमा पैराहरू जान्छन् । समथरमा बाढीले डुबाउँछ । कतै जमिन भासिन्छ । कहिले हुरी चल्छ । कहिले कतै ज्वालामुखी फुट्छ । यी कहिले भूकम्प आउँछ । मानिसलाई विभिन्न रोगले आक्रमण गरिरहेका छन् । कहिले महामारी फैलिन्छ । शत्रु जीवहरूले हमला गरिरहेका छन् । यी सबै कुराहरूको प्रतिकार गर्न सक्नुपर्छ ।’
बालबालिकाहरूका निम्ति उपन्यास लेखिएको हुँदा सरल लेखनलाई ढकालले पछ्याएका छन् । सरल र सरस शैलीमा भूकम्पबारे जानकारी दिने उद्देश्यले लेखिएको उक्त उपन्यास बालबालिकाहरूलाई साहित्यमार्फत २०७२ वैशाख १२ को भूकम्पबारे गहिराइमै पुगेर जानकारी दिन सक्षम देखिएको छ ।
कृति : भुइँचालो आयो
विधा : बालउपन्यास
उपन्यासकार : त्रिलोचन ढकाल
प्रकाशक : कलर्स इन्टरनेसनल पब्लिकेसन
पृष्ठ : ७६
मूल्य : १००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा