कसरी लड्दैछ आईएसआईएस ?
आइसिस अर्थात इस्लामिक स्टेट इन इराक एन्ड सिरिया विश्वका लागि आतंकको पर्याय बनेको छ । विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य विश्वव्यापी आतंकवादी संगठनभन्दा निकै छिटो आफ्नो संगठन बढाउन सफल यो अहिले पनि अझै विस्तार हुँदैछ । तालिवान र अलकायदा जस्तै उद्देश्य भए पनि यो संगठन अन्य संगठनभन्दा निकै चुस्त, सांगठनिक र आर्थिक रूपले बलियो र कट्टर देखिएको छ । हुन त आतंकवादी संगठन जति नै बलियो र चुस्त देखिए पनि यसको आयु लामो रहँदैन तर यस्ता संगठनको निर्मूल पनि भई हाल्दैन, लगातार दु:ख दिइरहन्छन् विश्वलाई । कुनै बेलाको तालिवान त्यसपछिको अलकाइदा अहिले विषर्जनको संघारमा छन् तर आइसिस चल्दैछ । आखिर कसरी चल्दैछ ? यसको आयस्रोत के छ ?
कुनै बेला अमेरिकी सेनाको जेलमा रहेका तर पछि खास मह अत्त्व नभएको भनी छुटेका र आफूलाई पैगम्बर मोहमदका असली सन्तानका रूपमा चिनाउने र इस्लामिक विषयमा पीएचडी गरेका अबु वकर अल बग्दादीको नेतृत्वमा छ, अहिले आइसिस । उनी यस संगठनको तेस्रो नेता हुन् । २०१० मा अबु ओमार अल बग्दादीको मृत्युपछि संगठनको नेतृत्वमा आएका हुन् । इराक र सिरियालगायत वरपरका क्षेत्रहरूमा ‘सुन्नी इस्लामिक’ खडा गर्ने उद्देश्यको यस संगठन मूलत: इस्लामभित्रकै सबैभन्दा कट्टरवादी समूह ‘वाहहावी’ पुरातनवादी समूहको उग्र धार्मिक विचारबाट प्रेरित छ र मुस्लिमकै ‘सिया’ समूहलाई समेत आफ्नो ‘मित्र’ मान्दैन । आइसिसले लक्ष्य राखेको इराक, सिरिया र वरपरको क्षेत्रमा ‘सुन्नी’ राज्य बनाउने भने पनि त्यो क्षेत्र मूलत: सियाबाहुल्य क्षेत्र हो, त्यसमा पनि ‘वाहहावी’ त निकै कम छन् । तर, यो संगठनको अझै बलियो स्थिति रहँदैछ । औपचारिक रूपमा २००६ अक्टोबरमा स्थापना भएपछि यो संगठन खासै चर्चामा थिएन तर २०१४ मध्यतिर इराकको दोस्रो ठूलो सहर मोसुल कब्जा गरेपछि र अहिले पेरिसमा आतंकवादी आक्रमण गरेपछि चर्चाको शिखरमा छ । आतंकको पर्याय बनेको यस संगठनलाई ‘मृत्युको मेसिन’ पनि भनिन्छ ।
‘हामी मृत्युलाई माया गर्छौं तर पश्चिमाहरू (अमेरिकन)हरू जीवनलाई माया गर्छन्, त्यसकारण युद्ध हामी जित्छौं’ यस्तो भन्थे ओसमा विन लादेन । तर, अलकाइदाले लडाइँ जितेन बरु मृत्यु जित्यो । यही सिद्धान्त र पथलाई पछ्याउँदै छन् ‘आइसिस’ले र संसारभरका १०० भन्दा बढी देशबाट आफ्नो सेनामा लडाकुहरू भर्ना गरेका छन् र थप रिक्रुट गर्दैछन् । सार्वजनिक मिडियालाई बखुबी प्रयोग गरेर युवाहरूलाई लोभ्याउँदैछन् र आफ्नो सेनामा १० हजारको हाराहारीमा विशेष लडाकु (५ हजार पश्चिमा देशका) भर्ना गरेका छन् । इस्लामलाई हतियार बनाएर आफ्नो सपना साकार गर्ने सुरमा छ, आइसिस । आज २५ हजारदेखि ३२ हजारसम्म सेना भएको आँकलन गरिए पनि आफ्नो सेना ४० हजार भएको दाबा आइसिसले गरिरहेको छ भने ८० लाखसम्म जनता भएको र २,१०,००० वर्ग किमि (विइन जत्रो) क्षेत्रफल कब्जा गरेर बसेको छ । यो क्षेत्रफल घटबढ भइरहन्छ तर इराकको पश्चिमी उत्तर र सिरियाको उत्तरी पूर्वी क्षेत्र पूरै यसले नियन्त्रणमा राखेको छ । इराकको दोस्रो ठूलो सहर मोसुल त पूरै कब्जामा छ भने सिरियाको सबैभन्दा ठूलो सहर ‘अलेपो’ पनि प्रभावित क्षेत्रमा पर्दछ । हालको १ वर्षभित्र १० हजारभन्दा बढी लडाकु मारिए पनि यसको शक्तिमा कमी देखिँदैन । ‘सदाहत प्राप्त गर्ने र स्वर्गमा पुग्ने सबैभन्दा छोटो बाटो नै जिहाद हो’ भन्ने मन्त्रमा मुग्ध बनाएर हजारौं सेना परिचालन गरेका छन् ।
अहिले आइसिस एउटा संगठन मात्र नभएर एउटा विचार भएको छ, त्यसकारण पनि सोचे जस्तो यसलाई खत्तम गर्न सजिलो छैन । एक जना विज्ञको भनाइमा केही सत्यता देखिन्छ त्यसकारण यो खतरापूर्ण छ । हुन त भनिन्छ– २५ देखि ३० प्रतिशत लडाकु मात्र सैद्धान्तिक रूपले लागेका छन्, बाँकी कुनै शक्तिका लागि, कुनै पैसाका लागि र कुनै जोर जबर्जस्ती भर्ना गराइएका छन् । तर पनि यो सेनालाई चुस्त ढंगबाट परिचालित गरिएको छ । यसमा बढी इराकीहरूको बाहुल्य र नेतृत्वमा पनि इराकीहरू नै छन् तर सिरियनहरू पनि निकै छन् । जे–जस्तो कारणले भए पनि यी लडाकुहरू मूलत: पश्चिम नीतिका विरोधी छन् । यसमा सद्दाम हुसेनको पतनपछि उनीप्रति वफादार सैनिकहरूको ठूलो हिस्सा रहेको छ । अमेरिकीहरूको इराकमा अन्यायपूर्ण हमला पनि यसको विस्तारका लागि सहायक भएको देखिन्छ । यति मात्र होइन, यसको हतियारको स्रोत पनि मुख्य रूपले इराकका पूर्वशासक सद्दाम हुसेनप्रति वफादारले लगेका साना हतियार हुन् भने २००३ देखि ००७ सम्म अमेरिकी गठबन्धनले १० लाखभन्दा बढी संख्यामा इराकी सेनालाई दिएका हतियार कुनै लुटेर कुनै दलालमार्फत किनेर यिनीहरूसँगै पुगेका छन् । इराकी सेनासँग हतियार जोगाउने राम्रो व्यवस्था नहुनुका कारण यिनीहरूले हात पार्न सफल भए भने लडाइँमा कब्जा गरेर पाएका हतियार पनि अर्को स्रोत छँदै थियो । आज यिनीहरूसँग संसारका सबैभन्दा आधुनिक हतियार छन् । रसियन एके ४७, अमेरिकन १६, चाइनिज सी–१, जर्मन कग्लर एन्ड कोच, बेल्जियम हेरस्टल एयूएएल राइफललगायत एन्टी ट्यांक र अत्याधुनिक मिसाएलहरूसमेत सबैखालका हतियारले भरिपूर्ण छ । जमिनबाट हावामा हान्ने मिसाइललगायत आवश्यक विस्फोटक पदार्थले भरिपूर्ण छन् । यस्ता हतियार दलालमार्फत कालोबजारमा किनिरहेका पनि छन् । आखिर पैसा प्रसस्त छ भने हतियारको के कमि ? इराकी सेनाले पाउने अमेरिकन हतियार यिनीहरूले भन्दा पहिला कालोबजारबाट किन्छन् । यसरी हतियारका लागि प्रसस्त पैसा खर्च गर्दछन् । हतियारका लागि सेना प्रयोग गर्दछन् भने पैसाका लागि बैंैक प्रयोग गरिरहेका छन् र अहिलेको प्रविधि, प्रणालीलाई प्रयोग गरेर पुरातन सिद्धान्तका लागि आइसिस लडदैछन् । अहिले तालिवान जस्तो गुफामा होइन, अलकाइदा जस्तो मरुभूमिमा होइन, आइसिस अहिले प्रविधिमार्फत पैसामार्फत लड्दैछ ।
आखिर कसरी पैसा बनाउँदैछ त यस संगठनले ? यसको आयस्रोत धेरै प्रकारको देखिन्छ । आज संसारमा सबैभन्दा बढी सम्पत्ति (२ अर्ब अमेरिकन डलरभन्दा बढी) भएको जिहादी संगठन बनेको छ यो । अझ अनौपचारिक रूपमा ५ अर्ब रहेको मानिन्छ । जबकि खर्च भनेको प्रत्येक लडाकुलाई प्रतिदिन १०–१५ यूएसडी मात्र छ । खर्चमा किफायत हुनुको कारण सैद्धान्तिक रूपले ‘मुस्लिम’ भएकाले पनि हो । आज पनि दैनिक १५ देखि २५ लाख अमेरिकन डलर आम्दानी तेलबाट मात्र छ । अन्य आम्दानीको स्रोत त छँदैछ । यसको आम्दानीको मूल स्रोत भनेको इराक र सिरियाको आफूले कब्जा गरेको क्षेत्रको ३०० भन्दा बढी तेलको कुवा नै हो । जहाँबाट दैनिक ५० देखि ६० हजार ब्यारेलसम्म तेल निस्कन्छ र प्रतिब्यारेल २० देखि ४० यूएसडीसम्म कालोबजारमा बिक्री गरिन्छ । यो तेल टर्की भएर विदेशी बजारमा जान्छ । यसले कब्जा गरेको क्षेत्रमा पूरै टर्कीसँग जोडिन्छ भने केही जोर्डन र इरानसम्म पनि प्रभावित क्षेत्रले छुन्छ । यस रुटबाट दलालमार्फत विश्व बजारमा तेल निर्यात भइरहेको छ । अहिले पनि हजारौं इरानीहरू तेल बोकेर टर्की गइरहेका छन् र निर्वाध रूपले आइसिसले व्यापार गर्दैछ । तेल किन्नेहरू दलालमार्फत धेरै जना छन्, कतिसम्म भने केही तेल त सिरिया, अमेरिका र इराकले पनि किन्ने गरेको ठट्टा गर्छन् विज्ञहरू । सस्तोमा गएको तेल (लुटिएको भएर) बजारमा सस्तोमा बिक्ने भएपछि आइसिसकै विरोधी पनि यस्तो तेल किन्न पछि पर्दैनन् । तेल किन्नेहरूमा कुनै धर्म, देश, जात, पेसाको बन्देज देखिँदैन । ‘यो युद्ध पैसाका लागि हो, तेल यसमा प्रमुख छ’ आमिर अल डान्डाल एक जना ३३ वर्षीय यूवकको यो भनाइमा सत्यता देखिन्छ । पैसाको प्रयोग नितान्त युद्धका लागि गरिएको छ र युद्धको प्रयोग पैसा प्राप्तिका भन्ने यो राम्रो उद्धाहरण हो । ‘अर्थ सबैभन्दा महत्त्वपूर्ण छ, हतियार र विष्फोटकभन्दा पनि’ खालिफ इब्राहिम भनेर जानिने सर्वोच्व नेता बग्दादी पनि यस विचारबाट सहमत छन् र युद्धलाई यही ढंगबाट अगाडि बढाउँदै छन् । आर्थिक स्रोतको परिचालन गर्ने क्रममा पनि अलकाइदा र तालिवानभन्दा निकै फरक देखिन्छ आइसिस । अलकाइदा र तालिवानहरू संगठन चलाउन केवल दान, चन्दामा निर्भर रहेका थिए भने आइसिस भने स्थानीय सबै स्रोत परिचालन गरेर संगठन चलाउँदै छन् । जसको कारणले पनि संगठन मजबुत र स्थायी देखिन्छ । मोसुल सहर कब्जा गर्दा मात्र ४२ करोड अमेरिकन डलर नगद हात पारेको यसले अन्य सहर कब्जा गर्दाको त हिसाबै नगन्य छ । सहर कब्जा गरेपछि फेरि बैंक चल्न दिने र त्यही बैंकबाट अन्तर्राष्ट्रिय नेटवर्कबाट पैसा ल्याउने, लैजाने गरी आफ्नो युद्धलाई सघाउँदैछ । संसारभरि आफ्ना समर्थक (मूलत: साउदी अरब कुवेत, कतार)बाट दान, चन्दा गरी अर्बांै डलरको जोहो गर्दैछ भने सामाजिक सञ्जालमार्फत पनि समर्थकहरूबाट (क्रेडिटकार्ड, फोनकार्ड आदिबाट) पैसा असुल्दैछ । सामाजिक सञ्जाल, मिडियाका (फेसबुक, ट्वीटर, ह्वाट एप्स, किक) प्रयोग गरेर आफ्नो प्रचार गर्ने सञ्जाल बनाउने, संगठन गर्ने गरेर सम्भव सबै साधन प्रयोग गर्न खप्पिस देखिएको छ । पैसा ल्याउन बैंक, हतियार ल्याउन सेना प्रयोग पनि गरेको यसले आफ्नो क्षेत्रमा काम गर्ने सम्पूर्ण रोजगारवालासँग पैसा असुल्छ र काम गर्न अनुमति दिन्छ जुन वार्षिक रूपमा नवीकरण गर्नुपर्छ । सुरुमा ड्राइभरहरूसँग पैसा असुलेर एउटा गुन्डाको स्तरबाट उठेको संगठन आज यो तहमा पुगेको छ । पैसावाला, टुरिस्ट, जनतालाई अपहरण गरी गत साल मात्र ४ अर्ब डलरभन्दा बढी कमायो भने, यसरी नै उनीहरूको क्षेत्रमा भएको बिजुली सरकारलाई नै बेचेर अर्बौं कमाउँदैछ । यसका साथै विदेशी लडाकुलाई प्रयोग गरी स्मग्लिङ समेत गरिरहेको यस संगठनले अफगानिस्तानबाट कोकिन, टर्की भएर सुन चाँदी, पत्थरसमेत स्मग्लिङ गरेर ‘धर्म युद्ध’ गरिरहेको देखिन्छ । सिरियाको पुरानो सहर पालमेराका प्राचीन वस्तुहरू नष्ट गर्छ तर अर्कोतिर त्यस्तै ‘एन्टिक’ पुरातात्विक वस्तुहरू बिक्री गरी अर्बाैं डलर पनि कमाउँदैछ । आखिर जसरी भए पनि पैसा जम्मा गर्न कुशल देखिएको आइसिसले आखिर मानव सभ्यताकै खिल्ली उडाएर कुन ‘धर्म’ का लागि लडेको हो ? यो भन्न पुरै विश्वलाई गाह्रो भएको छ । सिद्धान्त र नशामा फरक छुट्याउन गाह्रो हुने हो भने विश्व यही ‘आफ्नो धर्म’ को नशामा कट्टरता थप्दै गए यस्तै हुने देखिन्छ ।
आज विश्व धार्मिक आतंकवादमा फसेको छ तर यसमा राजनीतिक हस्तक्षेप नै यस्तो आतंकवाद उत्पन्न हुनुमा प्रमुख कारण देखिएको छ । कम्युनिस्टलाई समाप्त पार्न लगाइएको ‘विष’ले मुजाहिद्दिन हुँदै तालिवान जन्मायो, त्यसैको अर्को संस्करण अलकाइदा र त्यसैको जगमा आइसिस जन्मेको जगजाहेर छ । तालिवानलाई खतम गर्न अफगानिस्तान पुगेका अमेरिकी सेना आफ्नो काम पूरा नगरेर फर्कनुपर्यो भने आफ्नो, आफंैले खडा गरेको सद्दाम हुसेनले भनेको नमानेर ‘ठीक’ पार्न इराकमा उतारेको आफ्नो सेनाले सद्दामलाई मारे पनि आजसम्म न त अफगानिस्तान, न त इराक, न त लिबिया, न त सिरिया शान्त हुन सक्यो बरु यसले अमेरिकन र पश्चिमाहरू नै असुरक्षित हुने गरी यस्ता आतंकवादी संगठन जन्मेका छन् । आज फ्रेन्चहरू फ्रान्समा नै सुरक्षित छैनन्, न त अमेरिकनहरू अमेरिकामा सुरक्षित छन् । यसरी गलत साम्राज्यवादी नीति अँगालेकाले सम्पूर्ण विश्व नै असुरक्षित बन्दैछ । आज अहम र भ्रममा बाँचेर ‘स्वर्ग’ जाने नशामा युवाहरू ‘आत्मघाती’ बम बोक्दैछन् भने सबै मुस्लिम आतंकवादी हुन भन्ने भ्रम पश्चिमाहरूमा बढ्दैछ । यी दुवै विचार गलत हुन् भन्ने धारणा विश्वमा बढ्दैछ । यस्ता समस्याको समाधान मूलत: राजनीतिक र जनस्तरबाट खोज्नुपर्दछ । सैनिक हस्तक्षेपले एउटा संगठन त नष्ट गर्ला तर विचारधारालाई मार्न सक्दैन भन्ने कुरा इजरायली, अरब द्वन्द्वले पनि देखाइसकेको छ । यस्तो नियति दोहोरिनुहुँदैन सम्बन्धित जनताको भावलाई सम्मान दिने निर्णय हुनुपर्छ । यस्तो नभएमा केही मान्छे मूल बाटो छोडेर आतंकवादी बाटो रोज्छन् जुन झन् गलत छ ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply