18th November 2017, Saturday

E-budhabar

कांग्रेस नेता प्रदीप पौडेललाई खुलापत्र – अझै कहाँ छ कांग्रेस ?



कांग्रेस नेता प्रदीप पौडेललाई खुलापत्र  –  अझै कहाँ छ कांग्रेस ?

आदरणीय प्रदीप पौडेलजी !

तपाईं वयोवृद्ध पार्टीका युवा नेता हुनुहुन्छ । मजस्ताले उति धेरै आशा नगरेको पार्टी नेपाली कांग्रेसभित्रका आशा गरिएका नेता हुनुहुन्छ । मेरो कुनै आस्था, सपना र आशा तपाईंको पार्टी नेपाली कांग्रेससँग जोडिएनन्, जोडिएका छैनन् । तर तपार्इंजस्ता युवा नेताहरूसँग भने अवश्य पनि आशा जोडिएका हुन्छन्, छन् । धेरै युवाले तपाईंहरूको उज्यालो अनुहारमा आफ्नो सुखद भविष्य देखिरहेका छन् । तपार्इंको पदचापमा धेरै युवाहरूले आफ्नो जीवनको गति देखिरहेका होलान् । तपाईं राजनीतिमा हुनुहुन्छ । तपाईंको राजनीति कांग्रेसमा छ । कांग्रेसको उज्यालो भविष्यसँग तपाईंको भविष्य पनि जोडिएको छ । कांग्रेस छ, र त तपाईं पनि हुनुहुन्छ ।
मलाई यस्तो लाग्थ्यो, पछिल्ला दिनहरूमा तपाईंको पार्टी कांग्रेस र नेतृत्वले जे गरिरहेको छ, त्यसले तपाईंजस्ता युवा नेतालाई विक्षिप्त तुल्याएको छ । तपार्इंहरूको मनस्थितिलाई बेजोडले खलबल्याइदिएको छ । बेहद चिन्तामा हुनुहुन्छ । आहत बनाएको छ, पार्टीप्रतिकोे विश्वास धर्मराएको छ । नेतृत्वप्रतिको आस्था टुट्दै गएको छ । मन अशान्त छ । चिन्तित छ । आक्रोशित छ । डराउनुभएको, हडबडाउनुभएको छ । कतै हीनताबोध छ । तर जब तपाईंले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई लेखेको खुलापत्र पढें । मेरो अनुमानले पुरै फेल खायो । आज कांग्रेसले जे गरिरहेको छ, तपार्इंलाई हीनताबोध होइन, गौरवबोध रहेछ । कांग्रेस जुन बाटोमा हिँडिरहेको छ, त्यसले तपार्इंलाई आहत होइन, उत्साह प्रदान गरेको रहेछ । आक्रोश होइन, खुसी दिएको रहेछ । यही कारणले तपाईंलाई यो खुलापत्र लेख्ने जाँगर पलाएको हो ।
प्रदीपजी ! केपी ओलीले ‘अझै कहाँ छ कांग्रेस ?’ भन्ने प्रश्न गर्नुभएकाले तपार्इंमा ठुलै आक्रोश रहेछ । यो प्रश्नको उत्तरमा तपाईंले कांग्रेसको विगतको गौरवगान लेख्नुभएको रहेछ । दिवंगत नेताहरूको स्तुति गान गाउनुभएको रहेछ । तर केपी ओलीले कांग्रेस कहाँ थियो ? कांग्रेसमा को थियो ? भनेर सोध्नुभएको होइन । ‘अझै छ ?’ भनेर प्रश्न गर्नुभएको हो अर्थात् वर्तमानको कुरा गर्नुभएको हो । म अलिकति तपाईंलाई सम्झाऊँ, पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा धमाधम आइरहेको बेला ८ जेठ २०७४ मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको अनामनगरमा बसेको बैठकमा नेता पौडेलले नै सोधेका थिए, ‘साथीहरू आज कहाँ छ नेपाली कांग्रेस, के हामीले बनाउन खोजिरहेको कांग्रेस यही हो ?’ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ दरबारको आवश्यकता पूरा गर्न र तुच्छ सत्ता स्वार्थ पूरा गर्न अभिषप्त रहेको नेता पौडेलेको निष्कर्ष छ । त्यो बैठकको निष्कर्ष थियो, ‘परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हा¥यो । नेतृत्वको गलत कदमका कारण सचेत जनता र पुस्ताबाट कांग्रेस क्रमशः टाढिँदै छ ।’ यो मेरो निचोड होइन, कांग्रेसकै नेताहरूको निचोड हो ।
प्रदीपजी ! यहाँनिर म तपार्इंको पार्टी कांग्रेसको विगततिर धेरै जान्न । हो, यो मुलुकको सर्वाधिक समय तपार्इंकै पार्टीले लिएको छ, नेतृत्व गरेको छ । त्यति लामो समय नेतृत्व गर्न पाउँदा कांग्रेसले जे ग¥यो, तपाईंलाई हीनताबोध छ या गौरवबोध, त्यो तपार्इंकै जिम्मा । मातृकाप्रसाद कोइरालाले दिल्ली सम्झौताको गुुण तिर्दै सत्ता टिकाइराख्न २०११ वैशाख १२ गते भारतलाई कोसी सुम्पिएको कथा अहिले हाल्नु जरुरी छैन । २०१६ सालमा गण्डक बेचेको या २०४८ सालमा भारतलाई टनकपुर सुम्पिएको जस्ता दर्जनौं कथा हालेर श्रद्धेय नेताहरूप्रति अपमान गर्न पनि जरुरी ठान्दिनँ । अबको समय इतिहासको भत्र्सना गरेर बस्ने हुँदै होइन । तर अहिले तपाईंको पार्टी कांग्रेस र उसको नेतृत्वले जे गरिरहेको छ । के तपाईलाई त्यस्तो लाग्छ, तपार्इंको कांग्रेस त्यही हो ? उसको मूल्यमान्यता र आर्दश यही हो ? पार्टी निर्वाचनमा हारेकोमा तपाईंको हृदय उद्वेलित भएको होला । तर एकपटक केही महिनायता कांग्रेसले जे गरिरहेको छ, जे गर्न खोजिरहेको छ । त्यो ठीक छ ? आफ्नै विवेकलाई प्रश्न गर्नुहोस् । हृदयलाई होइन, दिमागलाई सोध्नुहोस् ।
प्रदीपजी ! हावादारी सपनाले देश नबन्ने तपार्इंको दलिल रहेछ । तपाईंजस्तो युवाले यस्तो निरस कुरा गर्दा असाध्यै टिठ लागेर आयो । मान्छेले सपना नदेखेको भए आज हामी यहाँसम्म आइपुगेका हुन्थ्यौं ? के हामी नेपालीहरूले समृद्धिका सपना देख्न अझै हतारो हुन्छ ? सहरमा रेल गुड्छ, पहाडमा गाडी गुड्छ । लोडसेडिङ हुँदैन, सधैं उज्यालो हुन्छ । गरिब मान्छेहरू पनि धनी हुन्छन् । युवा–विद्याथीहरूले रोजगार पाउनेछन् । वृद्धवृद्धाको भत्ता बढ्छ । नेपालको आफ्नै बन्दरगाहा हुनेछ । एमालेले देखाएको सपना यही हो । के यो हावादारी सपना हो ? तपाईंले आफ्नो पार्टीको घोषणापत्र त पढ्नुभएकै होला ? महानगर र नगरका तपार्इंका उम्मेदवारहरूले जारी गरेका प्रतिबद्धतापत्र हेर्नुभएकै हुनुपर्छ । ती घोषणपत्र दोहो¥याएर पढ्नुहोस् । त्यहाँ पनि रेलको कुरा छ, उज्यालोको सपना छ । के तपाईंको बुझाइमा ती पनि सबै हावादारी भए ? अरूको सपनाले घचेटेर हो या आफैंले देखेर लेखिएका हुन् । तर ती पत्रहरूमा कांग्रेसले पनि सपना देखाएका छन् । युवा त एक कदम अघि हुनुपर्ने तर तपार्इं पार्टी र तलका नेताहरूभन्दा पनि धेरै कदम पछाडि पो देखिनुभयो । भगतसिंहले भनेका थिए, ‘यदि कुनै आत्मत्यागी वीरको चाहना भए युवाहरूसँग मागे हुन्छ, रसिकता उसकै साथ हुन्छ । भावुकता उसकै सम्पत्ति हो । ऊ निश्चित छ, असावधान छ । अद्भूत छ, उसको साहस । अमोध छ, उसको उत्साह । सपनाको खडेरी कतै लाग्यो भने उसैसँग मागे हुन्छ । सपना पनि उसैसँग छ ।’ सायद अब तपाईंसँग सपना माग्नु वा देख्नु पनि हावादारी अपेक्षा हुन जाला ?
तपाईले आफ्नो आलेखको सुरुवात मधेसको समस्यादेखि सुरु गर्नुभएको छ । हो, कसैले पनि कुनै समुदायको अपमान हुने गरी बोल्नुहुँदैन । तर आज मधेसी मोर्चाले जे माग राखिरहेका छन् । त्यसमा तपाईं सहमत हुनहुन्छ ? उसको नागरिकताको मागको विषयमा तपाईंको सहमति हो ? कुन देशमा त्यस्तो कानुन छ कि अंगीकृत नागरिक देशको सर्वोच्च पदमा पुग्न पाउँछ । विदेशीहरूले नेपाली नागरिकता लिएको केही थान दिनहरूमा देशको प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने मागमा तपाईंको सहमति छ ? केवल जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र र स्थानीय तहहरूको संख्या निर्धारण गर्नुपर्छ भन्नेमा तपार्इंको सहमति छ हो ? वा पहाड र मधेसलाई छुट्ट्याएर संघीयता कामय गर्नुपर्छ भन्ने मागमा तपार्इंको सहमति छ ? तपाईंको सहमति यो या असहमति त्यो, तपाईंसँगै राख्नुहोस् । तर सत्ता र शक्ति आर्जनको नाममा तपाईंको पार्टी नेपाली कांग्रेलले मधेसी मोर्चालाई निरन्तर धाप मारिरहेकै छ । उक्साइरहेकै छ । माग जेसुकै होस् वा मोर्चाको मागले देशलाई जहाँसुकै लैजाओस्, मोर्चालाई धाप मारेर मधेसमा भोट बचाराख्नुपर्छ भनेर लागिरहेको नेतृत्वसँग तपाईंको सहमति हो ? कहिलेकाहीँ भोट माया मारेर पनि देशलाई माया गर्नुपर्दैन र ?
एउटा घटना सम्झन्छु, जतिबेला सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा थियो । भारतीय नाकाबन्दीमा थियो । इन्धन थिएन । अस्पतालमा औषधि थिएन । सुत्केरी आमा मरिरहेका थिए । भारतीय नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा थियो । जनता भोकै थिए तर भारतीय हस्तक्षेप मुर्दावाद भन्दै जनता सडकमा आएका थिए । त्यो बेला तपार्इंको पार्टीले नाकाबन्दी होइन भनेर दलिल पेस ग¥यो । त्यो बेला कहाँ थियो, बीपी कोइरालाको कांग्रेस ? अर्को घटना सम्झन्छु, जतिबेला एमाले मेची–महाकाली राष्ट्रिय अभियानको लिएर सप्तरी पुग्यो । मोर्चाले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दा मधेसी जनताले ज्यान गुमाए । तर त्यही बेला कांग्रेसले मोर्चालाई धाप मारिरहेको थियो । शान्तिपूर्ण कार्यक्रममाथिको आक्रमण लोकतान्त्रिक मूल्य–मान्यता र आर्दशविरुद्धको आक्रमण थियो । तर कांग्रेस ताली बजाएर बस्यो । के कांग्रेसको आर्दश यही हो ? कुनै शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप र आक्रमण गर्दा कांग्रेस बोल्दैन, बरु रमिते भएर विपक्षीलाई उकास्छ । के बीपी कोइरालाको कांग्रेसको मूल्य–मान्यता र आदर्श यही हो ? अनि यस्तो बेला ‘अझै कहाँ छ, कांग्रेस ?’ भनेर नसोधेर कांग्रेसले पञ्चायतविरुद्ध लडेको थियो भनेर गौरवगाथा नै गाइरहने ?
पछिल्लो घटना हेरौं, चितवनको भरतपुरमा मतगणना जारी रहेकै बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्याते । एमालेले मतगणना गरी पाऊँ भनेर अनुरोध गरिरह्यो । यो विषय केवल एमालेको मात्रै थिएन । मतपत्र च्यातिनु लोकतान्त्रिक मूल्य–मान्यता र आर्दश च्यातिनु हो । आजसम्म लडेर प्राप्त भएको यही मतपत्र होइन र ? लोकतान्त्रिक मूल्य–मान्यता र आदर्श च्यातिँदा किन बोलेन कांग्रेस ? माओवादीले पुनः मतदानको माग गरेको छ । पुनः मतदान हँुदा एमाले र माओवादीमा एउटाले जित्लान् ? तर पुनः मतदान गरिँदा लोकतन्त्र त हार्नेछ । लोकतन्त्र हार्दै गर्दा किन बोल्दैन कांग्रेस ? म दोहो¥याएर सोध्छु प्रदीपजी, ‘अझै कहाँ छ कांग्रेस ?’
प्रदीपजी ! कांग्रसले अविचलित रूपमा लोकतन्त्र धुनी जगाएको उल्लेख गर्नुभएको रहेछ । के तपाईंलाई त्यस्तो लाग्दैन, ‘विगतमा लोकतन्त्रको धुनी जगाएको कांग्रेसले अहिले लोकतन्त्रमाथि आगो सल्काइरहेको छ ।’ पछिल्लो समयमा तपाईंको पार्टी र नेतृत्वले गरेका कामका सूची उल्लेख गर्दा निकै लामो हुन जान्छ । त्यो इतिहासले सुरक्षित गरेकै छ । सामुन्नेका दुई घटना सम्झन्छु, यतिका वर्ष लडेर प्राप्त आएको लोकतन्त्र र तिनको सारथि राजनीतिक दलहरूमाथि खुलेआम धावा बोल्दै हिँडेका थिए तत्कालीन अख्यिार प्रमुख लोकमानसिंह कार्की । तिनी वर्तमान सबै खालका संरचनाविरुद्ध उभिएका थिए । हो, त्यही कार्कीविरुद्ध महाअभियोग लगाउँदा कांग्रेस चुपचाप बस्यो । बरु उल्टै असन्तोष जनायो । तर त्यही कांग्रेस इमान र निष्ठाका साथ काम गरिरहेकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध उभियो । प्रहरी महानिरीक्षक नियुक्तिको स्वार्थ पूरा नहँुदा स्वतन्त्र न्यायालयमाथि उभियो कांग्रेस । लोकतन्त्रको चीरहरण हुने गरी स्वतन्त्र न्यायपालिकाविरुद्ध कांग्रेसले धावा बोल्यो । तपाईंलाई लाग्न सक्छ, यही हो कांग्रेस । तर कांग्रेसलाई फर्केर हेर्नुहोस्, बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईलाई फर्केर पढ्नुहोस् । यो कांग्रेस होइन । जरुर प्रश्न खडा हुन्छ, ‘अझै कहाँ छ कांग्रेस ?’ आज एमालेले होइन कांग्रेसप्रति सहनुभूति राख्ने सयौं बुद्धिजीवीहरूले, कांग्रेसकै हजारौं कार्यकर्ताहरूले प्रश्न सोधिरहेका छन्, ‘कहाँ छ कांग्रेस ?’ प्रदीप गिरी, कृष्ण खनाल, कृष्ण पहाडी, केदारभक्त माथेमा, डा. गोविन्द केसीदेखि नीलाम्बर आचार्यसम्मले सोधिरहेका छन् । कांग्रेसलाई माया गर्ने धेरै सम्पादकहरूले समेत लेख लेखेरै सोधेका छन्, ‘कहाँ छ कांग्रेस ?’
प्रदीपजी ! अन्त्यमा मेरो एउटा स्पष्टीकरण छ, मैले यो पत्र मेरो एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नुभयो भनेर उहाँप्रतिको अगाध मायाले लेखेको हुँदै होइन । मैले आशा गरेको युवा नेताको अनन्त मायाले लेखेको हुँ । म चाहन्छु, मेरो अध्यक्षले भन्दा एक कदम अघि बढेर समृद्धिका सपना देख्नुहोस्, देखाउनुहोस् । फेरि म भगत सिंहकै भनाइ राख्न चाहन्छु, ‘ए युवा ! तिमी किन बेहोस निद्रामा परेर बेखबर सुतिरहन्छौं । उठ, आँखा खोल, हेर, प्राचीको दिशा ललाट सिन्दुर रञ्जित भइसक्यो, अब धेरै नसुत । सुत्ने नै हो भने अनन्त निद्राको काखमा गएर सुतिराख । काँतरताको क्रोड (कोख) मा किन सुत्छौ ? मायामोह र ममता त्यागेर गर्जी उठ ।’ प्रदीपजी ! आँखा खोलेर हेर्नुहोस् । भारतीय चर्चित कवि अवतारसिंह पाशले भनेका छन्, ‘सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु ।’ कांग्रेसभित्र देउवाले जे गरिरहेका छन्, त्यो लोकतन्त्रका लागि खतरा छ । कांग्रेसको उज्यालो भबिष्यको लागि खतरा छ । आज कांग्रेसले जे गरिरहेको छ, त्यसमै तपाईंलाई गौरवबोध रहेछ, सबैभन्दा खतरनाकचाहिँ यो हो । तपाईंजस्तो युवाले पनि सपनाहरूलाई हावादारी भन्नुहुन्छ, त्यो खतरानक हो । प्रदीपजी ! के कांग्रेसका तपाईंजस्ता युवाको सपनाहरूको मृत्यु भएको हो र ?

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा