किन पछारिए ईश्वर पोखरेल ?
काठमाडौं । ‘म महासचिवको हैसियतले भन्न चाहन्छु….’
सार्वजनिक सभा–समारोहमा, रेडियो, टेलिभिजन तथा पत्रपत्रिकासँगको अन्तर्वार्तामा बाक्लै सुनिने यो वाक्यांश अब बिरलै सुन्न पाइनेछ । किनभने, कदले भन्दा पदले महŒवपूर्ण भूमिका प्रदर्शन गर्दै आएका पूर्वएमाले महासचिव ईश्वर पोखरेल एमाले र माओवादी केन्द्रबीचको एकतासँगै नराम्ररी पछारिएका छन् ।
महाधिवेशनबाट निर्वाचित उनको महासचिव पद पार्टी एकतासँगै खोसिएको छ । पार्टी एकतापछि नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव विष्णु पौडेल भएका छन् । उनको निर्वाचित पद अरू कसैका कारण नभएर उनकै व्यवहारका कारण खोसिन पुगेको चर्चा पूर्वएमाले वृत्तमा व्याप्त छ । विडम्बना, पद खोसिँदा उनीप्रति सहानुभूति प्रकट हुनुको साटो खुच्चिङ गर्ने कार्यकर्ताको पंक्ति ठूलो छ । बरु, कार्यकर्ताकै मुखबाट ‘व्यहोरै थिएन, ठिकै भयो’ भन्ने अभिव्यक्ति प्रकट हुने गरेका छन् । उनले प्रहरी वा सेनाको हाकिमले तलका जवानहरूलाई गर्नेजस्तो कार्यकर्तालाई गरेकै कारण यस्तो बेलामा पनि उनले कार्यकर्ताको सहानुभूति प्राप्त गर्न सकेका छैनन् । कसैप्रति पूर्वाग्रह छ भने तथ्यमा नगई सार्वजनिक स्थलमै होच्याएर व्यवहार गर्ने उनको शैली यतिबेला उनकै लागि पासो बनेको छ ।
ईश्वर पोखरेलको पद गुम्नुको कारण चाहिँ यति मात्रै होइन, मुख्य कुरा त उनको पछिल्लो छवि नै पार्टी एकताविरोधीका रूपमा चित्रित भएको छ । दुई पार्टीबीच पार्टी एकताको कोर्स अघि बढिसकेको अवस्थामा एकतामा सहयोग पु¥याउनेभन्दा पनि दरार उत्पन्न गर्ने खालका अभिव्यक्ति दिएर उनी विवादमा आएका थिए । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन एमाले अध्यक्ष केपी ओलीलाई भेटेरै पोखरेलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । त्यहीँबाट पोखरेलप्रति प्रचण्ड सकारात्मक नभएको बताइन्छ । प्रचण्ड मात्र होइन, पछिल्लो समय उनका गतिविधिबाट अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सन्तुष्ट नभएको स्रोतले बतायो । एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालको टिमबाट महासचिव बनेका पोखरेल नवौं महाधिवेशनमा ओली टिमबाट महासचिव निर्वाचित भएका थिए । जता काफल पाक्यो, त्यतै चरी नाच्यो भनेझैं कता लाग्दा पद पाइन्छ, त्यसको पूर्वानुमान गरेर क्याम्प परिवर्तन गर्ने पोखरेल दसौं महाधिवेशनबाट एमालेको अध्यक्ष हुने लालसमा ओली समूहमा लागेका थिए । तर, पार्टी एकता नहँुदै अध्यक्ष ओलीले ‘ईश्वरले भाका टिप्नै सकेनन्’ भन्न थालिसकेका थिए ।
नयाँ सरकार निर्माणको प्रक्रियादेखि पोखरेलसँग प्रधानमन्त्री ओली धेरै असन्तुष्ट रहेको बुझिएको छ । एउटै मन्त्रिपरिषद्मा भएर पनि प्रधानमन्त्रीले कुनै पनि नियुक्ति, सरुवा, बढुवा गर्दा पोखरेलले थाहै नदिने गरेका छन् । विश्वस्त स्रोतका अनुसार ओली सकेसम्म पोखरेललाई मन्त्री नै नबनाउने पक्षमा थिए । आफूले नबनाउनेभन्दा पनि उनी आफंैले अनिच्छा जाहेर गरून् भन्ने प्रधानमन्त्री ओलीको चाहना थियो । अघिल्लो क्याबिनेटमा ६ जना उपप्रधानमन्त्री बनाएका ओलीले पोखरेलले मन्त्री बन्ने इच्छा गर्दैनन् कि भनेरै उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय पनि पहिल्यै सुनाए । पहिले उपप्रधानमन्त्री भइसकेको व्यक्ति अब मन्त्री मात्र त के खालान् भन्ने ओलीलाई लागेको थियो । तर, उनी बद्री मण्डलको पथ पछ्याउँदै मन्त्री हुन तयार भएपछि ओलीले भइहाल्यो नि त भनेर मन्त्री बनाएका थिए ।
जगजाहेर भइसकेको छ, यो सरकारमा पोखरेल अर्थमन्त्री हुन चाहन्थे । त्यही भएर उनले प्रधानमन्त्री ओलीले समेत थाहा नपाई पहिल्यै अर्थका केही कर्मचारीलाई बोलाएर ब्रिफिङ लिन भ्याइसकेका थिए । उनको यो क्रियाकलाप पनि प्रधानमन्त्री ओलीले रुचाएका थिएनन् । तर, अर्थ नपाएपछि उनले आफ्ना निटस्थहरू प्रयोग गरेर प्रधानमनत्रीलाई नै भारतपरस्तको बिल्ला भिराउने प्रयत्न गरेपछि प्रधानमन्त्री ओली उनीसँग रुष्ट भएको बताइन्छ । स्रोतका अनुसार डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि पोखरेलले आफूलाई भारतले अर्थमन्त्री हुन दिएन भनेर प्रचार गराए । भारतीय योजनामा ओलीले आफूलाई अर्थमन्त्री नबनाएको भन्ने प्रचार गराएपछि त्यो कुराले ओलीलाई निकै बिझाएको बुझिएको छ ।
त्यसो त पार्टीभित्र पनि उनीे जे कामको पनि जिम्मा लिने तर जिम्मा लिएको काम पूरा नगर्ने नेताका रूपमा चिनिन्छन् । यस्तो त दर्जनौं दृष्टान्त छन् । उदाहरणका लागि नवौं महाधिवेशनपछि उनकै नेतृत्वमा सचिवालय गठन भयो । हरेक हप्ता सचिवालयको बैठक बस्नुपर्ने व्यवस्था थियो, तर उनले सचिवालयलाई नै अस्तव्यस्त बनाए । उनलाई अनुकूल हुँदाबाहेक उनले कहिल्यै सचिवालय डाक्ने र छलफल चलाउने काम नगरेको उनको सचिवालयका सदस्यहरू अझै स्मरण गर्छन् । उनकै नेतृत्वमा पार्टीले कार्यकर्ता संरक्षण कोष बनाउने निर्णय ग¥यो तर त्यसको काम नै अगाडि बढेन । २०७२ को महाभूकम्म जानुअघि नै बल्खुमै पार्टीको आधुनिक संरचनासहितको केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरियो । पोखरेलकै चाहनाअनुसार त्यसको जिम्मा पनि उनैलाई दिइयो । केही दिनसम्म पार्टी कार्यलयमा भवनको नक्सा झुन्ड्याइयो पनि तर त्यो काम पनि उनले पार लगाएनन् । स्रोत भन्छ, ‘परिस्थिति यसरी नै विकसित हुँदै गयो भने अब कुनै दिन पोखरेललाई अध्यक्ष ओलीले नेकपाको सदस्यबाटै हटाए भने पनि अचम्म नमाने हुन्छ ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply