16th July 2018, Monday

E-budhabar

किन हुन सकिरहेको छैन पार्टी एकता ?



किन हुन सकिरहेको छैन पार्टी एकता ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच अप्रिल २२ अर्थात् वैशाख ९ गते नै पार्टी एकता हुने कुरा बाहिर धेरै चर्चामा आएको थियो । पत्रपत्रिमामार्फत मैले पनि सुनेको थिएँ । तर, उक्त मितिमा पार्टी एकता भएन । पार्टी एकता किन भएन, कहिले हुन्छ ? भन्नेजस्ता विषय अहिले यी दुवै पार्टीको खासगरी कार्यकर्ता पंक्तिमा निकै जोडतोडका साथ उठेको छ । यो प्रश्नको ठोस जवाफ हामीसँग पनि छैन । उहाँहरू गत हप्ता पनि कहिले दुई घण्टा, कहिले तीन घण्टा दिनहुँ भेटघाटमै हुनुहुन्छ । समस्या कहाँनिर छ, एकतालाई किन टुंगो लगाउन सकिरहनुभएको छैन, त्यो अरू कसैले भन्न सक्दैन । यसको जवाफ कि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होला वा माओवादी अध्यक्ष प्रचण्डले भन्न सक्नुहुन्छ ।
पार्टी एकताका निम्ति हामीले संकल्प जाहेर गर्नुपर्ने हो, त्यो संकल्प असोज १७ गते जाहेर गरेका छौं । असोज १४ गते हामी पार्टी एकता गर्ने निष्कर्षमा पुग्यौं, त्यसै दिन दुवै नेताले हस्ताक्षर गरेर पार्टी एकताको घोषणा हाम्रो बीचमा गर्नुभयो । १७ गते हामीले घोषणा गरिहाल्यौं । जनताका बीचामा जाँदा हामीले भन्यौं, यो वाम गठबन्धन निर्वाचनका निम्ति मात्र होइन, यो हाम्रो पार्टी एकताको पहिलो चरण हो भन्यौं । हाम्रो साझा घोषणामा त्यही लेखेको छ । पछिल्लो निर्वाचन सम्पन्न भएको मंसिर २१ गतेपछि आज ६ महिना बितिसकेको छ । ६÷६ महिनासम्म हामीले पार्टी एकता गर्न सकिरहेका छैनौं । के छ त्यस्तो समस्या ? समस्या केही छैन । कुन नेतालाई कुन पद दिने भन्ने समस्या होइन अब । हामीले दुईटा अध्यक्ष राख्ने भन्यौं । संसारमा यो चलनचल्ती छ, ‘कोचेयर’ राख्ने व्यवस्था छ, त्यसैले हामीले दुईटा अध्यक्ष राख्ने भन्यौं । पार्टी कमिटीको बैठक बस्दा अध्यक्षले पालैपालो अध्यक्षता गर्ने, जसले अध्यक्षता गर्छ, त्योबेला त्यही व्यक्ति प्रमुख हुन्छ । सम्मान र मर्यादा पनि त्यसरी नै पाउँछ । त्यसकारण, यसमा हामीमा कुनै समस्या छैन, हामी उपाध्यक्ष, महासचिव, सचिवजस्ता अरू कुनै पद राख्दैनौं । यो निर्णय भइसकेको छ ।
हाम्रा दस्तावेज कमिटी बने । ती दस्तावेज कमिटीले दस्तावेज तयार गरेर पठाइसकेका छन् । अन्तिम विधानको मस्यौदा पनि तयार भइसकेको छ । अब बाँकी रहेको के होला त्यस्तो ? पार्टी एकीकरण गरिसकेपछि हुने एकीकृत कमिटीमा एमालेबाट कति सदस्य संख्या रहने र माओवादी केन्द्रबाट कति रहने भन्ने विषय प्रमुख बनेको छ भन्ने सुनिएको छ । त्यस्तो विषय पनि प्रमुख बन्नुहुन्छ ? एकीकरण गर्ने हो । आकाश र पातालजस्तो फरक निश्चय पनि हुनेछैन । केही फरक होला । १०, १५, २०, ५० संख्याको फरक होला, तर पार्टी त एउटै हो नि । एकीकृत भइसकेपछि यो माओवादीको, यो एमालेको भन्ने हुन्छ र ? त्यसकारण, यो ठूलो समस्या होइन । तर, समस्या नभएको भए एकता त भइसक्ने थियो । एकता नहुनुको अर्थ समस्या रहेछ । नेकपा (एमाले) आजको मितिसम्म आइपुग्दा हामीले ४५औं पार्टी एकता गरिसकेका रहेछौं, माले र माक्र्सवादीबीच पार्टी एकता गर्दा । यसपटक हाम्रो तर्फबाट हिसाब गर्दा एमाले र माओवादी केन्द्र मिले भने यो ४६औं पार्टी एकता हुन्छ । एमालेसँग एकता भएपछि माओवादी केन्द्रका तर्फबाट यो १६औं पार्टी एकता हुन्छ । म एमालेभित्र ४५ वटा पार्टी एकतामध्ये अधिकांश पार्टी एकतामा संलग्न छु । आज अगाडिका पार्टी एकतामा यस्तो समस्या कहिले पनि भएन । पार्टी एकतामा आउने घट वा समूहभित्र केन्द्रीय कमिटीमा आउन जति लायक छन्, त्यति आएका छन् । जति प्रमुख नेता हुन लायक छन्, ती प्रमुख नेतामा आएका छन् । माले र माक्र्सवादीबीचको पार्टी एकता गर्दा हामीले बराबरी ग¥यौं । एमालेको २५ जनाको केन्द्रीय कमिटी थियो । माक्र्सवादीको कति जनाको केन्द्रीय कमिटी थियो कुन्नि तर उहाँहरूले बढाएर भन्नुभएको थियो । तर, हामीले दुवै पार्टीबाट १७÷१७ जना राखेर ३४ जनाको केन्द्रीय कमिटी बनायौं । त्यसैगरी हरेक जिल्लामा आधाआधा गरेर बनायौं । यसले केहीकेही समस्या उत्पन्न भयो । जब हामीले सचिव बनाउनुपर्ने भयो, त्योबेला समस्या भएको थियो । तर पनि हामीले निकास निकाल्यौं । पुसमा केन्द्रीय स्तर एकता गरेका थियौं चैतसम्म तल्लो तहसम्म सबै एकता सम्पन्न गरेर एकीकृत पार्टी निर्माण सम्पन्न गरेका थियौं । आज नेपालको राजनीतिमा सबैभन्दा महŒवपूर्ण महŒव राख्ने, यो देशको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा एउटा आमूल परिर्वतन गर्न सक्ने शक्ति भएका दुइटा ठूला पार्टी एमाले र माओवादी केन्द्र नै हुन् । नेपालको पुँजीपति वर्गका पार्टी भनेको नेपाली कांग्रेस हो । यता कांग्रेसको वरपर बस्ने अरू साना पार्टी छन् । आखिरमा जसले आफूलाई कम्युनिस्ट समूह भन्ने गर्दछन्, जसले आफूलाई प्रगतिशील ठान्दछन्, तिनीहरू सबै यी दुई पार्टी एकीकृत भइसकेपछि त्यही पार्टीमा एकीकृत हुन आउनैपर्ने स्थिति छ । अलग बस्न सक्ने अवस्था रहनेछैन । अरू पनि नेपाली कांग्रेसभित्रै जानुपर्ने वा कांग्रेसकै छत्रछायामा रहनुपर्ने अवस्था बन्दै छ, यो देशमा ।
यति ठूलो शक्ति हामीले यसपटकको निर्वाचनमा देखाएका छौं । निर्वाचन परिणामले हामी शक्तिशाली छौ भन्ने देखाएको छ । हामीले आगामी पाँच वर्षमा हाम्रो देशमा युरोपियन स्ट्न्डर्डका सम्पूर्ण पूर्वाधारहरू निर्माण गरेर, अर्को पाँच वर्षमा धनी कसरी बन्छौं भन्ने स्पष्ट योजनाका साथ आएका छौं । अर्को पाँच वर्ष पछि कोही व्यक्ति, कोही परिवार गरिब नहुने समाज हामी बनाउँदै छौं । हामी हाम्रो देशमा पाँच वर्षभित्र समाजवादका आधारभूत काम सम्पन्न गर्नेछौं । आगामी १५ वर्षमा सुदृढ समाजवाद निर्माण गरेर दुनियाँका अगाडि देखाउनेछौं नयाँ बाटोबाट । संसारमा यो बाटो कोही हिँडेको छैन, आज हामी हिँडिरहेका छौं । जसले देख्छ, सबैभन्दा पहिले उसैले हिँड्नुपर्छ । एक्काइसौं शताब्दीमा पहिलेपहिलेजस्तो गरी क्रान्ति सम्पन्न हुने अवस्था छैन । नयाँ किसिमले क्रान्ति सम्पन्न ग¥यौं । अब समाजवादको निर्माण पनि पहिलेजस्तो गरेर हुँदैन, नयाँ किसिमले हुन्छ । पुँजीपति वर्गसँग आमनेसामने टक्कर लिएर, प्रतिस्पर्धा गरेर नेपाली श्रमजीवी जनताको नेपाल निर्माण गरेर आजसम्मको गरिबीको अवस्थाबाट जनतालाई मुक्त गर्छौं । राष्ट्रलाई समृद्ध बनाउँछौं र नेपाली जनतालाई सुसी बनाउँछौं । हामी यहि संकल्प लिएर आएका छौं । जनताले हाम्रो विचारलाई, हाम्रा नीतिहरूलाई समर्थन गरिसको छ । हाम्रो पार्टी एकतालाई पनि अनुमोदन गरिसकेको छ । जनताले पार्टी एकतालाई अनुमोदन गर्ने, हाम्रा कार्यक्रमलाई अनुमोदन गर्ने, अनि हामी नमिलेर छुट्टै बस्न सक्छौं ? यदि यसपटकको पार्टी एकता हुन सकेन भने हामी फेरि उठ्न सक्नेछैनौं । हामी पछारिन्छौं । नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक एकीकृत भएका छन् तर जनताका बीचमा हामीले पार्टी एकता गर्छौं भनेर आफ्ना विचारहरू लिएर गएको यो पहिलोपटक हो । जनताले त्यसलाई समर्थन गरे । त्यही भएर हामीले बहुमत प्राप्त गरेका छौं । झन्डै दुई तिहाइ बहुमत हामीले प्राप्त गरेका छौं । यस्तो अवस्थामा पुगेको हाम्रो यो शक्ति एकीकृत नभई त रहनै सक्दैन । एकीकृत नहुनुको अर्थ दुवै पार्टी धराशायी हुनु हो ।
हामीलाई संसारभरिका कम्युनिस्ट पार्टीले हेरिरहेका छन् । निर्वाचनको माध्यमबाट श्रमजीवी जनताको राज्य निर्माण गर्दै समाजवाद निर्माण गरेर जाने काम नेपालबाट सुरु हँुदै छ । नेपालमा हामीले समाजवाद निर्माण गरिसकेपछि यही बाटोबाट हिन्दुस्थानमा पनि समाजवाद आउनेछ । यही बाटोबाट बंगालादेश, पाकिस्तानमा पनि समाजवाद आउनेछ । एक दिन यही बाटोबाट अमेरिकामा पनि समाजवाद आउनेछ, साम्राज्यवाद ढल्नेछ । त्यो सुरुवात नेपालमा हँुदै छ । नेपालको ज्योति सारा संसारभर फैलने ज्योति हो । यो प्रकाश सारा संसारभर नयाँ किसिमले जाँदै छ । हिजो रुसमा सोभियत संघको उदयबाट सारा संसारभरि प्रकाश फैलिएको थियो, नेपालमा निर्माण हुने समाजवादको प्रकाश सारा संसारभरि पैmलनेवाला छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा