24th June 2018, Sunday

E-budhabar

किशोर मनोविज्ञान छाम्ने प्रयत्न



किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव बटुलिन् । मूलतः सृष्टिका ती अनुभवहरू नेपाली समाजमा छोरीलाई हेर्ने दृष्टिकोण, उनीहरूमाथि गरिने कटु व्यवहार र त्यसले निम्त्याउने परिघटनाहरूकै वरिपरि छन् । अञ्जना राजवंशीद्वारा लिखित किशोर–उपन्यास ‘सृष्टिको कथा’ले टिनएजर्स युवतीहरूमा बानीबेहोरा, उनीहरूका मनोविज्ञान र समाजसँग उनीहरूले लड्नुपर्ने जायज–नाजायज संघर्षहरूको टिपोट हो ।
उपन्यासकी मूलपात्र सृष्टि बानेश्वरमा फोर सिस्टर्स क्याफे सञ्चालन गरेर बसेकी छन् । त्यही क्याफेमा ग्राहकका रूपमा प्रवेश गरेकी एउटा पात्र सृष्टिको कथा उघिन्न थाल्छन् । सृष्टिका कथामा उनका कथा त आउँछन् नै, उनीसँगै चारवटी त्यस्ती युवतीहरूका जीवन–कथा बुनिन्छन्, जसले पारिवारिक, सामाजिक, सांस्कृतिक उत्पीडनको सिकार बन्नुपर्ने अवस्था सिर्जित हुन्छ, जसमा पहिलो नम्बरमा आउँछिन् सुधा । चिकित्सक बाबु–आमाकी एक्ली छोरी सुधालाई बुवाले चिकित्सक नै बनाउने योजना बनाउँछन् भने आमाचाहिँ एमबीएस पढाउन चाहन्छिन् । छोरीलाई के पढाउने भन्नेमा उनको बुवा र आमाबीच अविछिन्न द्वन्द्व चलिरहन्छ । तर, सुधामा भने यी दुवैभन्दा लेखक बन्ने चाहना हुन्छ । बुबा र आमाको द्वन्द्व र आफ्नो रुचि नमिल्ने कारण कमजोर पढाइ र तनावले एसएलसीमा कम प्राप्तांक ल्याउँछिन् । अन्ततः त्यही कारण नै सुधाले आत्महत्याको बाटो रोज्छिन् ।
सुधाको जीवनको अन्त्य आत्महत्यामा टुंगिएपछि सृष्टिले स्कुले जीवनदेखिकै साथी ओजश्वीको कथा भन्न थाल्छिन् । दमकमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंमा एउटै कोठामा बसेर पढेकी ओजश्वीमा पढाइमा भन्दा मोडलिङमा मन जान्छ । मोडलिङ बन्ने क्रममा ओजश्वी खराब आचरण भएका एक विवाहित केटाको चंगुलमा फस्छिन् । र, त्यही केटासँगको शारीरिक सम्पर्कका कारण गर्भवतीसमेत बन्न पुग्छिन् । गर्भवती भएपछि कोठाबाट बेपत्ता भएकी ओजश्वीको अवस्था रहस्यमय नै बन्न पुग्छ ।
सृष्टिको कथाको अर्की पात्रा हुन् रक्षा । १६ वर्षकै उमेरमा बिहे भएका रक्षाले एसएलसीमा ८२ प्रतिशत ल्याए पनि अध्ययनलाई विश्राम लगाउनुपर्दछ । बिहे भएपछि अध्ययनलाई अघि बढाउने उनको आग्रहलाई परिवारले बारम्बार अस्वीकार गर्दै आउँछ । दाइजोको प्रलोभनमा रक्षालाई बिहे गरिएको हुँदा परिवारमा उनको हैसियत निकै नै गएगुज्रेको देखिन्छ । अझ छोरी जन्मिने कुरा थाहा पाएपछि त आफ्नै पतिले पहिली छोरीको गर्भ तुहाउन भूमिका खेल्छ भने दोस्रोपटक पनि छोरी नै हुने थाहा पाएपछि गर्भ तुहाउने प्रयत्न गरिन्छ । तर दुर्भाग्य ! दोस्रोपटक भने प्रसूतिका क्रममा रक्षाको निधन हुन पुग्छ ।
अरूका कथा भन्ने सृष्टिको भोगाइ पनि कम पीडादायी छैन । गगन नामक एक पात्रसँग पवित्र प्रेममा डुबे पनि उनले आफूलाई आत्मीय प्रेम गर्ने पात्रसँगको सम्बन्ध टुटाउन बाध्य हुनुपर्छ । कारण बन्छ जातीय रेखा । किनकि, सृष्टि क्षत्री समुदायकी हुन् भने गगन नेवार समुदायका । सृष्टि र गगनको सम्बन्ध परिवारले थाहा पाएपछि परिवारले उक्त सम्बन्धको अन्त्य गर्न दबाब दिन्छन् । बुवाआमाले सिधै ‘राँगाको मासु खाने परिवारमा छोरी दिन नसक्ने’ उद्घोष गर्छन् । पवित्र प्रेम सम्बन्धलाई जातीय पर्खालले कसरी छेकेको छ भन्ने कुरा सृष्टिको कथामा उतारिएको छ ।
उपन्यासको अन्त्य भने सुखद् छ । हराएकी ओजश्वी दुई वर्षपछि छोरी बोकेर सृष्टिकहाँ आइपुग्छिन् र उनकै पहलमा आफ्ना अन्य चार साथीको सम्झनालाई दिगो राख्न फोर सिस्टर्स क्याफे खोल्न प्रस्ताव गर्छिन् । अन्ततः ओजश्वी र सृष्टि मिलेर क्याफे सञ्चालन गर्छिन् । त्यसो त नेपाली साहित्यमा किशोर उपन्यास कमै लेखिएका छन् । अझ किशोरकिशोरीले नै आफूहरूले भोगेका समस्यालाई नियालेर त उपन्यास लेखेकै छैनन् भन्दा पनि हुन्छ । राजवंशीले भने नेपाली समाजमा किशोरीहरूले भोग्नुपरिरहेका अनेकखाले उत्पीडन, मानसिक पीडा र तनाव एवं त्यसले निम्त्याउने दुःखद र तीता प्रसंगहरूलाई उपन्यासको विषय बनाएर साहित्य जगत्मा एक उम्दा किशोर उपन्यास दिएकी छन् ।
कृति : सृष्टिको कथा
विधा : किशोर उपन्यास
उपन्यासकार : अञ्जना राजवंशी
प्रकाशक : बुकआर्ट नेपाल
पृष्ठ : २०७
मूल्य : ३०५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा