22nd November 2017, Wednesday

E-budhabar

केही वर्षभित्रै सम्पदाहरू जस्ताका तस्तै बनाउँनेछौं



केही वर्षभित्रै सम्पदाहरू जस्ताका तस्तै बनाउँनेछौं

० भूकम्पले पुरातात्त्विक सम्पदामा कत्तिको क्षति पुर्‍यायो ?
– २०७२ वैशाख १२, १३ र २९ गते आएको शक्तिशाली भूकम्प र त्यसपछि आएका सानाठुला परकम्पहरूले देशका हरेक क्षेत्रमा क्षति पुर्‍याउनु स्वाभाविक थियो । त्यसमाथि पनि देशका विभिन्न मठमन्दिर, पाटीपौवा, ऐतिहासिक दरबारहरूमा प्रशस्त क्षति पुग्यो । समग्रमा देशभरि गरी ७ सय ५३ मठमन्दिरमा क्षति पुगेको हाम्रो तथ्यांक छ ।
काठमाडौं उपत्यकामा खासगरी विश्व सम्पदा सूचीमा समावेश भएका सात वटै ठाउँमा क्षति भएको छ । तीमध्ये हनुमानढोकामा सबैभन्दा बढी, त्यसपछि ललितपुर, त्यसपछि भक्तपुर, स्वयम्भू, बौद्धलगायत हरेक क्षेत्रमा क्षति पुर्‍याएको छ ।
० कुनकुन स्थानमा कतिकति क्षति भयो, विभागसँग तथ्यांक छ ?
– काठमाडौं उपत्यकामा २ सय ५० स्थान, ललितपुरमा १ सय ३०, भक्तपुरमा ७८, काभ्रेमा ४३, बारामा २, धादिङमा ३४, दोलखामा २९, गोरखामा १८, कास्कीमा २, लमजुङमा ३२, मकवानपुरमा २, मुस्ताङमा २३, नुवाकोटमा २२, पर्सामा एक, रामेछापमा १३, रसुवामा ६, सिन्धुलीमा एक, सिन्धुपाल्चोकमा १९, तनहुँमा ३३ वटा मन्दिर तथा पुरातात्त्विक सम्पदामा क्षति भएको तथ्यांक आएको छ । हाम्रा कर्मचारीहरू यसमा खटिएका छन् । यो तथ्यांक अझै बढ्न सक्छ ।
० ती सबै क्षतिलाई पुनर्निर्माण गरी पहिलेकै अवस्थामा पुर्‍याउने हाम्रो सामथ्र्य छ कि छैन र त्यसका लागि के पहल भइरहेको छ ?
–‘जस्ताको तस्तै दुरुस्तै, बलियो प्रशस्तै’ भन्ने हाम्रो नारा छ । विश्व सम्पदा सूचीमा समावेश भएका अन्तर्राष्ट्रिय सम्पदाहरू र राष्ट्रिय महत्त्वका सम्पदाहरूको स्वरूपमा हामीले परिवर्तन गर्न पाउँदैनौं । पहिले जस्ता थिए त्यस्तै बनाउनुपर्छ । जस्तो सामग्रीको प्रयोग गरिएको थियो, त्यस्तै सामग्रीको प्रयोग गर्नुपर्छ भनेर ऐनमा प्रस्ट व्यवस्था गरिएको छ । कुनैकुनै ठाउँमा आधुनिक सामग्री प्रयोग नगरी भएन भने त्यो स्थानमा विज्ञहरूको राय आयो भने मात्र नयाँ सामग्री प्रयोग गर्न सकिन्छ ।
नत्र ती मन्दिरहरको स्वरूपमा कुनै फेरबदल, परिवर्तन गर्न मिल्दैन । गरेका पनि छैनौं । त्यही रूपमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ । खासगरी प्राधिकरणको गठनमा ढिलाइ भएकाले केही समस्या भएको हो । हामीले त्योभन्दा अघि नै मन्त्रालय, योजना आयोग र अर्थ मन्त्रालयमा भत्किएका संरचनाहरूको सूची पठाइसकेको छौं । एक सय १५ मध्ये ४३ वटालाई बहुवर्षीय योजनामा पारेर यो वर्ष टेन्डर गर्ने, दोस्रो र तेस्रो वर्षमा सक्ने गरी काम सुरु गर्ने योजना बनाएका छौं ।
यो पटक यति गर्छौं भने अर्को साल फेरि अर्को बहुवर्षीय योजनामा जान्छौं । यो हिसाबले सबै कुराले साथ दिए र आवश्यक सामग्रीहरू पनि सहजै उपलब्ध हुन सके हामीले पाँचदेखि सात वर्षभित्र पुनर्निर्माणको काम सक्छौं । काठमाडौं उपत्यकामा चाहिँ तीनदेखि पाँच वर्षभित्र ९० प्रतिशत सम्पदाहरूलाई हामीले जीर्णोद्धार गरिसक्छौं भन्ने अठोटका साथ हामी अघि बढेका छौं ।
० यसका लागि नेपाल सरकारबाहेक अन्य दातृ निकायसँग पनि सहकार्य भइरहेको छ कि ?
–नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मंसिर महिनाभित्र सम्बन्धित मन्त्रालयहरूले भूकम्पबाट प्रभावित क्षेत्रका आ–आफ्ना निकायका चिजहरूलाई दातृ निकायसँग सोझै सम्झौता गर्न सक्ने भन्ने अधिकार प्रत्यायोजन गरेबमोजिम हाम्रो मन्त्रालयले पनि पुरातात्त्विक मठमन्दिर, पाटीपौवाको संरक्षणका लागि हामीलाई अधिकार प्रत्यायोजन भयो । सोअनुरूप हामीले श्रीलंका सरकारसँग बुङ्मतीको रातो मत्स्येन्द्रनाथ मन्दिर र आनन्दकुटी विहार स्वयम्भूका लागि २१ महिनाभित्र सम्पन्न गर्ने, त्यसभित्र केही गरी सम्पन्न हुन सकेन भने स्वत: २१ महिना थपिने गरी हामीले एमओयु गरिसकेका छौं । त्यस्तै नेपाल सरकार र चीन सरकारबीच वसन्तपुरको नौतले दरबार, नुवाकोटको साततले दरबार र त्यसको परिसरका मन्दिरहरू तलेजु भवानी, गारद घरलगायतका पुनर्निर्माण गर्न एमओयु गरिसकेको अवस्था छ । चिनियाँ टोली आएर हनुमानढोकामा आफैं अध्ययन गरेर फर्किएको छ र सन् २०१६ भित्र उनीहरूले काम थाल्ने गरी आउँदै छन् । त्यस्तै, चाँगुनारायणको चौघेरा सत्तल लगायतका काम एक संस्थालाई दिने गरी हामीले एमओयु गरेका छौं । उसले पनि काम सुरु गरिसकेको अवस्था छ । त्यस्तै युनेस्कोको सहयोगमा काठमाडौंका तीन वटै सहरमा सांस्कृतिक सेटोग्राफी पत्ता लगाउन विदेशका केही विश्वविद्यालय र पुरातत्त्व विभाग मिलेर उत्खनन कार्य गर्‍यो । काठमाडौं हनुमानढोकाको काष्ठमण्डपमा उत्खनन गर्दा त्यसको जग ६ फिट गहिरो र मोटो जग फेला पर्‍यो । भूकम्पले त्यो जगलाई केही असर गरेको रहेनछ । ४ सय वर्षदेखिका पर्खालका ती जगहरू जस्ताका तस्तै छन् । हाम्रा पुर्खाहरूले गरेका कामहरू भूकम्प जाने स्थान भएकाले बुद्धिमतापूर्वक गरेका रहेछन् भन्ने देखिन्छ ।
० त्यस्तो जग बलियो भएको भए काष्ठमण्डप किन भत्कियो त ?
–जग बलियो हो तर त्यसलाई समय समयमा पुनर्निर्माण गरिएन । त्यसको थामको तल्लो भाग ७० प्रतिशतसम्म कुहिएको अवस्थामा फेला परेको छ । हाम्रा सम्पदाहरू समयसमयमा मर्मत सम्भार नभएर पनि यो भूकम्पमा बढी क्षति भएका हुन् । त्यस्तै, हामीले भक्तपुरस्थित बत्सला देवीको अगाडि पनि उत्खनन गर्‍यौं । सो मन्दिर तीन पटक जीर्णोद्धार भएको पत्ता लाग्यो । दरबार क्षेत्रभित्र अझ पनि धेरै कल्चरल सिक्वायन्स छोपिएर बसेका छन् । त्यहाँ खानेपानी र ढलको काम गर्दा ती नाश हुन सक्छन् । पाटनको मन्दिरमा पनि उत्खनन गर्‍यौं । सो उत्खननबाट पनि मन्दिरको जग कमजोर भएको पत्ता लाग्यो । पुरातत्व विभागले भूकम्प गइसकेपछि सम्पदा संरक्षण गर्ने कार्यमा सम्पूर्ण स्रोत, साधन र शक्ति खर्च गरिरहेको छ ।
० उपत्यकाबाहेकका स्थानमा पनि थुप्रै पुरातात्त्विक वस्तु खोज अनुसन्धान हुन बाँकी र भएका पनि संरक्षण भएको पाइँदैन नि ?
– हामीले ७२ जिल्लाका मठमन्दिरको सूचीकरण प्रकाशित गरिसकेको अवस्था छ । पहिलो चरणमा केही छुटफुट हुन सक्छन् । तर, आगामी दिनमा हामी ती सम्पदाहरूको कसरी संरक्षण गर्ने भन्नेमै बढी ध्यान केन्द्रित गर्नेछौं । म नै विभागको महानिर्देशक भइसकेपछि दैलेखको कृति स्तम्भ घामपानी खाएर यत्तिकै रहेको थियो । त्यो चौधौं शताब्दीको खस मल्ल राजाको महत्त्वपूर्ण कृति स्तम्भ हो । त्यसलाई सेड हाल्ने काम हामीले गर्‍यौं ।
एक त हाम्रो बजेट नै कम छ । दोस्रो कुरा दक्ष जनशक्ति पनि हामीले चाहे जत्तिको छैन । अब हामी बिस्तारै त्यसलाई पनि बढाउने लक्ष्यमा छौं ।
० भूकम्पलगत्तै हाम्रा सम्पदाहरू बेवारिसेजस्ता भए, विभागले तत्काल ध्यान दिएन भन्ने गुनासो छ नि †
– हामीले भूकम्प गइसकेपछि त्यसको भोलिपल्टै फोटोग्राफी डकुमेन्टेसन गर्‍यौं । पछि ती मन्दिर बनेपछि जस्ताका तस्तै राख्नुपर्छ भनेर हामीले हनुमानढोका क्षेत्रका हनुमानढोका दरबारभित्र, भक्तपुरका भक्तपुर संग्रहालयभित्र, पाटनको पाटन दरबारभित्र र अन्य ठाउँको राष्ट्रिय संग्रहालय छाउनीमा लगेर राख्ने काम गर्‍यौं । म आफैं हाम्रो टिम लिएर बिहान ७ बजेदेखि राति ९ बजेसम्म युद्धस्तरमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग मिलेर काम गरियो ।
धरहराको शिवलिंग, त्यहाँको गजुर, महेन्द्र पुलिस क्लबमा ल्याएर प्रहरीले राख्नुभएको रहेछ । मैले राष्ट्रिय संग्रहालय छाउनीमा लगेर राखेको छु । त्रिपुरेश्वरका सयौं टुक्रा तामा र सुनको जलप लगाइएका सामग्रीहरू नेपाली सेनाको गाडीमा म आफैं राति साढे ८/९ बजेसम्म गुठी संस्थानको मान्छेसँग बसेर त्यसलाई छाउनी संग्रहालयमा राखिएको छ । हामीले प्रारम्भिक रूपमा त्यसरी काम गर्‍यौं भने सेना र प्रहरीसँग हातेमालो गर्दै युद्ध स्तरमा भत्किएका संरचना पन्छाउने, पाएका सामग्री जतन गर्ने काम गर्‍यौं । यस विषयमा जनतालाई सचेत पार्न रेडियोहरूबाट सूचना प्रवाह गर्‍यौं । कतिपय गजुरहरू विभिन्न व्यक्तिले घरघरमा लगेर राख्नुभएको रहेछ, सूचना प्रवाहपछि ल्याएर बुझाउनुभयो ।
० पुनर्निर्माणको काम व्यवस्थित गर्न केके काम भएका छन् अहिलेसम्म ?
–बनाउने चरणतिर लाग्दा अभिमुखीकरणको तालिमहरू दियौं । काठका काम गार्ने बुट्टेकर्मीहरू र ढुंगाका काम गर्ने प्रस्तरकर्मीहरूलाई तालिम दियौं । नर्वेको एउटा टिमले तालिम दियो । त्यसमा हाम्रा कर्मचारी र नगरपालिकाका कर्मचारीहरूले तालिम पाए । त्यस्तै, संग्रहालयका सामग्रीहरू संवेदनशील हुने भएकाले त्यसलाई कसरी बचाएर सुरक्षित राख्ने भन्नेबारे तालिमहरू दियौं । अहिले हनुमानढोकामा छरपस्ट राखिएका महत्त्वपूर्ण सामग्रीहरूलाई निकाल्दै विभिन्न टुँडाल, तोरण, गजुर, मूर्तिहरू राख्ने काम गरिरहेका छौं । हामीले आफ्नो स्रोत र साधनले भेटेसम्म यी काम गरिरहेका छौं । प्राविधिकका रूपमा नयाँ इन्जिनियरहरू भर्ना गर्न अन्तर्वार्तासमेत लिइसकेका छौं । आगामी दिनमा देशभरि नै छरपस्ट रहेका र भग्न अवस्थामा रहेका, भूकम्पले नोक्सान पारेका मठमन्दिरको तथ्यांक ल्याएर यसको डिजाइनिङ गरेर आगामी वर्ष बजेट मागेर अगाडि काम बढाउनेछौं र पाँचदेखि सात वर्षमा हाम्रा सम्पदाहरू जस्ताका तस्तै बनाउनेछौं ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा