क्यानडामा मस्तीपछि लुम्बिनीमा नियुक्ति
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएपछि पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरूको नियुक्ति खारेज गर्ने निर्णय गरेको २२ दिनपछि नै वर्तमान सरकारले देउवा सरकारले नियुक्त गरेको एक जना ‘भाग्यमानी’लाई पुनः नियुक्ति दिइएको छ । त्यस्तो भाग्यमानी लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी हुन् ।
गएको ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा केही दिनअघि मात्रै तत्कालीन देउवा सरकारले त्रिपाठीलाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र प्रधानमन्त्री देउवानिकटका व्यक्तिहरूलाई रिझाएर उनी उपाध्यक्ष बनेका थिए । रूपन्देही–५ का स्थायी बासिन्दासमेत रहेका त्रिपाठीले निर्वाचनको बेला नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आर्थिक सहयोग गर्नुका साथै प्रचारमा समेत हिँडेका थिए । त्रिपाठी रूपन्देही–५ का कांग्रेस उम्मेदवार भरत शाह र रूपन्देही–५ ‘ख’का प्रदेशसभाका उम्मेदवार ठकरुद्दिन मुसलमानलाई जिताउन चुनावी प्रचारमा समेत हिँडेका थिए ।
उपाध्यक्ष त्रिपाठीलाई कोषको उपाध्यक्ष बनाउन राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित दुर्गाप्रसाद उपाध्यायले भूमिका खेलेका थिए । कोषको सदस्यसमेत रहेका शउपाध्यायमार्फत् नै त्रिपाठीले कांग्रेसको माथिल्लो तहका नेताहरूलाई रिझाएर उपाध्यक्ष उम्काउन सफल भएका थिए ।
तर, चुनावको बेला कांग्रेसका उम्मेदवारको प्रचारमा हिँडेका र आर्थिक सहयोगसमेत गरेका त्रिपाठीलाई कोषको उपाध्यक्षबाट हटाएको केही दिनपछि नै पुनः सोही पदमा नियुक्ति गरिएको छ । पछिल्लो समय त्रिपाठीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई राम्रैसँगले रिझाएका कारण उनले पुनः उपाध्यक्ष बन्ने मौका पाएको बताइन्छ । सूत्रका अनुसार उपाध्यक्ष त्रिपाठीले मन्त्री अधिकारीलाई केही समयअघि क्यानडाको भ्रमण गराउनु र अघिलो उनको नियुक्ति हुनुलाई जोडेर हेर्न थालिएको छ ।
लुम्बिनी क्षेत्रभित्र अवस्थित क्यानेडियन बुद्ध विहारको नेपालको सर्वेसर्वासमेत रहेका उपाध्यक्ष त्रिपाठी केही समयअघि क्यानडाको भ्रमणमा गएका थिए । निर्माणाधीन विहारको निम्ति सहयोग जुटाउन उनी क्यानडा गएका थिए । आफू क्यानडा गएको केही दिनपछि नै त्रिपाठीले मन्त्री अधिकारीलाई समेत क्यानडा भ्रमणको प्रबन्ध मिलाएका थिए । मन्त्री अधिकारी केही दिन क्यानडा घुम्दा त्रिपाठीले उनलाई राम्ररी नै रिझाएको बताइन्छ ।
यसैगरी, कोषको सदस्य–सचिवमा नियुक्त विष्णुप्रसाद ढकाललाई चयन गर्ने क्रममा भने नियमावली मिचिएको पाइएको छ । पूर्ववर्ती सरकारले कोषको सदस्य–सचिव खुला प्रतिस्पर्धाद्वारा नियुक्त गर्ने भनी आवेदन माग गरेको थियो । आवेदन माग गरेपछि २२ जनाले आवेदन दिएर उनीहरूसँग अन्तर्वार्तासमेत लिइएको थियो । तर, निर्वाचन आचारसंहिताका कारण सो प्रक्रिया रोकिन पुगेको थियो । तर, अहिले भने रोकिएको सो प्रक्रियाबारे कुनै टुंगो नलगाई आवेदन दिएका २२ जनाभन्दा बाहिरबाट सदस्य–सचिव नियुक्त गरिएको छ । कोषको सदस्य–सचिव नियुक्ति प्रक्रिया त्रुटिपूर्ण रहेकोले आवेदन दिएका २२ जनाले अदालतको ढोका ढक्ढक्याउने थाहा हुन आएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply