18th November 2017, Saturday

E-budhabar

खेर गएका देउवाका सय दिन



खेर गएका देउवाका सय दिन

प्रधानमन्त्री देउवाको चौथोपटकको प्रधानमन्त्रीकालको हनिमुन अवधि भोलि पूरा हँुदै छ । विगतमा लागेको ‘असक्षमता’को दाग मेटाउने सुर्वण अवसरसहित प्रधानमन्त्री भएका देउवाले सय दिनको यो अवधिमा त्यो दाग मेटाउने कुनै काम गर्नु त परे जाओस् झन् अरू बढी असक्षम र नालायकीपनको पगरी गुथ्ने काम गरे । शेरबहादर देउवा प्रधानमन्त्री हुनेबित्तिकै मान्छेले ‘दागी प्रधानमन्त्री’ भनेर यत्रतत्र टिप्पणी गरेको सुनिएको थियो । विगतमा सरकार बनाउने बेलामा, चलाउने बेलामा धेरै गलत काम गरेकाले धेरै दाग लागेका थिए । कमसेकम यो पटक उनका लागि ती दाग मेटाउने अवसर पनि हो भनेर मान्छेहरूले अनुमान पनि लगाएका थिए । तर, यस्तो खालको उद्दण्डता देखियो कि उनलाई कसैले केही गर्न सक्दैन, उनले जे मन लाग्यो त्यही गरे हुन्छ भन्ने खालको झन्झन् गलत कामको रेकर्ड बनाउनेजस्तो गैरजिम्मेवारीको पराकाष्ठा देखाएका छन् ।

सय दिनको अवधिमा देशमा सरकार छ भन्नेसम्मको अनुभूति पनि भएन । हरेक क्षेत्रमा अस्तव्यस्तता छ । योचाहिँ राम्रो काम ग¥यो सरकारले भन्ने एउटा पनि उदाहरण देखिनु त परको कुरा, खराब कामका रेकर्डहरू भने थपिँदै गएका छन् । सरकारको मुख्य ध्यान कसरी कुर्सीमा टिकिरहने भन्ने मात्र छ । सत्ता जोगाउनकै लागि जम्बो मन्त्रिपरिषद्को विगतको आफ्नै रेकर्ड तोडेका छन् । २०५२ सालमा ५२ सदस्यीय मन्त्रिपरिषद् बनाएर जम्बो मन्त्रिपरिषद्को रेकर्ड राखेका देउवाले यसपटक मन्त्रिपरिषद् ५४ सदस्यीय बनाइसकेका छन् । सम्भवतः आजसम्मको ठूलो मन्त्रिपरिषद् हो यो । अझै कति थपिने हुन थाहा छैन । संविधानमा चाहिँ २५ जनासम्मको मन्त्रिपरिषद् बनाउने व्यवस्था गरिएको छ । संविधानको प्रावधान अक्षरशः चाहिँ अबको निर्वाचनपछि लागू होला तर संविधानको भावनाको कदर गरिनुपथ्र्यो ।

दोस्रो कुरा, प्रधानमन्त्रीले धेरै तामझामका साथ भारतको भ्रमण पनि यही हनिमुन अवधिभित्रै गरे । त्यो भ्रमणमा प्रधानमन्त्रीको जुन खालको रवैया देखियो, त्यो पुरै आत्मसमर्पणवादी र लम्पसारवादी थियो । नेपालको संसद्ले फेल गरेको संविधान संशोधनको विषयलाई छिमेकी राष्ट्रमा गएर ‘अहिले गराउन सकिनँ, अर्को चुनावपछि गराउँछु’ भनेर जुन खालको अभिव्यक्ति दिए त्यो पुरै आत्मसमर्पणवादी चरित्रको नमुना हो । कुनै पनि छिमेकी मित्रसँग समान हैसियतको डिलिङ गर्नुपर्नेमा आफ्नो संसद्ले एउटा निर्णय गर्छ, त्यहाँ गएर लम्पसारवादी लयमा अर्कै जुन कुरा गरे त्यो घातक कुरा थियो । त्यो भ्रमण कुनै उपलब्धिमूलकभन्दा पनि उपलब्धिशून्य थियो ।

स्थानीय तहअन्तर्गत प्रदेश नम्बर २ को निर्वाचन मात्र होइन, संघीय र प्रादेशिक निर्वाचनको पनि सम्मुखमा छौं हामी । ती निर्वाचनको मिति घोषणा भइसकेको छ र निर्वाचन आयोगले आचारसंहिता पनि लगाइसकेको छ । तर, सरकारले आचारसंहिता विरोधी काम गरिरहेको छ । निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारीहरूको सरुवा, बढुवा गर्नेदेखि लिएर सरकार आफैंले राहतका नाममा मतदाता प्रभावित पार्ने काम गरिरहेको छ । कतिसम्म भने एउटै जिल्लामा तीन महिना नपुग्दै दुई सीडीओ खटाइएको छ । शासकीय अराजकताको योभन्दा भद्दा नमुना अरू के हुन सक्ला ? जनताले राहत पाउने कुरा त केहि देखिँदै देखिँदैन । बाढीपहिरोपीडित, भूकम्पपीडित जनता अझै पनि राहत नपाएर छटपटाइरहेका छन् । तर, पीडित जनतालाई राहत दिने कुरा त यो सरकारको एजेन्डा नै बनेन । सरकारको पुरै ध्यान भनेको चौतर्फी लुट मच्चाउनमा मात्रै केन्द्रित देखिन्छ ।

विडम्बना ! यिनै दागी प्रधानमन्त्रीका सरकारका पालमा अब प्रदेश र संघको निर्वाचन हुँदै छ । उनको विगत मात्र होइन, वर्तमान हेर्दा पनि यी चुनावहरू निष्पक्ष, स्वच्छ र भयरहित हुने सम्भावना छैन । एउटा जिल्लामा तीन महिनामा दुइटा सीडीओ पठाउने सरकारबाट कस्तो निष्पक्षताको आशा गर्न सकिएला ? विकास र राहतका नाममा राज्यकोषको यति धेरै दुरुपयोग गरिएको छ, त्यो चुनावलाई नै प्रभावित पार्ने उद्देश्यले गरिएको छ । प्रशासनलाई दुरुपयोग गर्ने, राज्यकोष दुरुपयोग गर्ने र चौतर्फी आतंक खडा गर्ने जुन काम यो सरकारले गर्दै छ, त्यसबाट निष्पक्ष र धाँधलीरहित चुनाव हुन नसक्ने निश्चित छ । निर्वाचन आयोगलाई समेत विभिन्न ढंगले प्रभावित गर्ने काम भएको छ । स्थानीय तह निर्वाचनमा भरतपुरमा त्यस्तो नांगो नाच देखाउनेले अवको प्रदेशसभा र संघीय सभाको निर्वाचन निष्पक्ष बनाउलान् भनेर कसले अनुमान गर्न सक्ला र ? नेकपा (एमाले) लाई कर्नर गर्न अपवित्र गठबन्धन गर्ने, सत्ताको दुरुपयोग गर्ने र जनतालाई अनावश्यक र गलत आश्वासन दिएर भ्रम बाँड्ने काम भएका छन् । यी कुराका बाबजुद पनि सचेत जनताले स्थानीय तह निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गरेर उनीहरूको गठबन्धन अपवित्र थियो भन्ने कुरालाई प्रमाणित गरिदिए । हामी के कुरामा सचेत छौं भने शेरबहादुर देउवा, पुष्पकमल दाहालको भन्दा पनि जनताको चेतनास्तर माथि छ । जनता उनीहरूभन्दा सचेत र अनुशासित छन् । जनताले न्यायिक निर्णय गर्छन् र अबका चुनावमा पनि एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्छन् । देउवाका दागी गतिविधिले एमालेको पक्षमा उर्लिएको जनमतलाई कुनै हालतमा छेक्न सक्दैन । (कुराकानीमा आधारित)

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा