22nd June 2018, Friday

E-budhabar

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?



काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत रूपमा व्यापक घोटाला भएको उक्त सडक आयोजनाको ठेकेदार कम्पनी किराँतेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालिको पक्षमा काठमाडौंको चन्द्रागिरि र मकवानपुरको थाहा नगरपालिकाका प्रमुख नै लागिपरेको रहस्य खुलेको हो ।
सुरुमा यी दुवै नगरपालिकाका प्रमुखहरू सो आयोजनामा नीतिगत भ्रष्टाचार भएको भन्दै ठेकेदारले कुनै पनि हालतमा उत्खनन भएको ढुंगा बेच्न नहुने पक्षमा थिए तर घटनाक्रमले कोल्टे फेर्दै जाँदा उनीहरू आयोजनाको ठेकेदारलाई ढुंगा बेच्न दिनुपर्ने पक्षमा उभिएका छन् ।
अन्य केही वडाध्यक्षको व्यापक दबाबका कारण आइतबार सरोकारवालासँगको बैठकमा नगरपालिकाले रोक्का राखेको ढुंगा खुलाउन नसके पनि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र थाहा नगरपालिकाका मेयर बलशेर विष्टले पनि ढुंगा खुलाउनुपर्ने पक्षमा वकालत गरेका थिए ।
उनीहरूलाई उक्त ठेकेदार कम्पनीले आर्थिक प्रभावमा पारिसकेको बुझिएको छ । उक्त सडक स्तरोन्नति १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी १९ करोड ८७ लाखमा किराँतेश्वर कन्ट्रक्सनले ठेक्का लिएको हो । सो आयोजनामा त्यहाँबाट निकालिएका ढुंगा, ग्राभेल, माटोलगायतका पैदावार बिक्री गर्ने विषयले चर्चा पाएसँगै चरम विवाद भएको थियो ।
गणेशमान सिंह सडक नामकरण गरिएको उक्त सडक चौंडा पार्ने क्रममा व्यापक रूपमा ढुंगा निक्लिने निश्चित भएसँगै प्राकृतिक स्रोत र साधनमाथि गिद्देदृष्टि राखेर ठूलो कमिसनको खेल भएकाले अहिले स्थानीय जनता उक्त वनपैदावार तत्काल अन्यत्र उठाउन नदिने पक्षमा उभिएका हुन् । सडक विभागअन्तर्गतको थानकोट चित्लाङ सडक आयोजनाका निमित्त प्रमुख तथा इन्जिनियर गोपी अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटा, उक्त कन्ट्रक्सनका प्रमुख सनकसिंह राई र केही स्थानीय जनप्रतिनिधि मिलेर उक्त गोलमालको प्रयास गरेका हुन् ।
सडक निर्माणका क्रममा करोडौंको ढुंगा निक्लिने क्रम सुरु भएपछि कागजी प्रक्रिया मिलाउन ढुंगा खरिदका लागि लिलाम बढाबढको सूचना निकालिएको थियो र मिलेमतोमा किराँतेश्वर कन्ट्रक्सनलाई ७५ लाख रूपैंयामा टेन्डर दिइएको थियो । अहिलेको चलनचल्ती अनुसार सो स्थानबाट करिब ४० करोड मूल्यबराबरको ढुंगा निस्किने अनुमान गरिएको छ । सो टेन्डर प्रक्रियामा स्थानीय जनताको विरोध हुँदाहुँदै थानकोट चित्लाङ सडक आयोजना, वन विभाग, किराँतेश्वर कन्ट्रक्सन, निवर्तमान सांसद र अन्य निकायको मिलिभगतमा केहीले मात्र हेर्ने गरेको एक दैनिक पत्रिकामा सूचना गरेर टेन्डर प्रकाशित गरिएको र मिलेमतोमा रकम बोलकबोल गरिएको तथ्य खुलेको छ । करोडौंको ढुंगालाई केही व्यक्तिहरूको स्वार्थमा जम्मा ७४ लाखमा टेन्डर गरिएको भन्दै उक्त टेन्डर बदर हुनै पर्ने स्थानीय सरोकारवालाको माग छ । त्यहाँँ लिलाम भएको ढुंगा बाहिर लगेर उक्त कन्ट्रक्सनले बेच्ने हो भने उक्त कन्ट्रक्सन ढुंगा व्यापारमा लाग्ने तर बाटोचाहिँ अलपत्र पर्ने स्थान्ीय सरोकारवालाहरू बताउँछन् । त्यसैले, पहिलेको टेन्डर बदर गरी अर्को टेन्डर गर्नुपर्ने उनीहरूको माग छ । त्यहाँको ढुंगा सोही कम्पनीलाई दिए पनि पहिले बाटो निर्माण कार्य सकेर बचेको ढुंगा मात्र बेच्न दिनुपर्ने आवाज शसक्त रूपमा उठेको छ । त्यसो त उक्त ढुंगा काठमाडौंमा बेच्न लैजान नहुनेमा सो क्षेत्रका सांसद राजन केसी पनि सकारात्मक छन् । उनले भने, ‘यहाँको ढुंगा काठमाडौं जाँदैन, जान दिँदैनौं, यो बाटो बनाइसकेपछि यहाँ निर्माणमा जति खपत हुन्छ त्यसबाट बचेपछि मात्र लिलाल गरिन्छ ।’ सो उत्खननबाट आएको ढुंगाबाट बाटोको नाली, पर्खाल र तारजाली भर्नु उपयुक्त हुने विज्ञहरू बताउँछन् ।
सोही विवादका कारण सो आयोजना निर्माण कार्य अहिले अवरुद्ध छ । केही व्यक्ति र संस्था गलत नियतबाट व्यक्तिगत स्वार्थपूर्तिका लागि सक्रिय रहेकाले यो सडक निर्माण कार्यले सुस्तता पाएको बताइन्छ । चन्द्रगिरि सचेत सामुदायिक वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र पर्ने सो स्थानको ढुंगा उत्खनन तथा बिक्री–वितरण गर्दा सो समिति, नगरपालिका, स्थानीय कसैलाई जानकारी नदिई एकलौटी रूपमा जिल्ला वन कार्यालय, काठमाडौंले टेन्डर गरिरहँदा समस्या उत्पन्न भएको हो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा