24th May 2018, Thursday

E-budhabar

चीन र भारतको समृद्धिबाट नेपाल लाभान्वित हुन सक्नुपर्दछ



चीन र भारतको समृद्धिबाट नेपाल  लाभान्वित हुन सक्नुपर्दछ

हुन त चीन र भारत दुवै विकासशील मुलुक हुन् । यद्यपि, विकास र समृद्धिको दृष्टिले भारतभन्दा चीन धेरै माथि छ । चीन विश्वको अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र हो भने भारत सातौं ठूलो अर्थतन्त्र हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार चीनको कुल गार्हस्थ्य उत्पादन सन् २०१६ मा प्रचलित मूल्यमा ११.२१८ ट्रिलिअन डलर थियो भने भारतको केवल २.२१८ ट्रिलिअन डलर मात्र थियो । तर पनि चीनको प्रतिव्यक्ति आय १० हजार डलर पनि पुगेको छैन । विश्व बैंकको तथ्यांकअनुसार चीनको प्रतिव्यक्ति आय सन् २०१६ मा ८ हजार १ सय २३ डलर थियो भने भारतको केवल १ हजार ७ सय ९ डलर मात्र थियो । तर, त्यही वर्ष नेपालको प्रतिव्यक्ति आय भने केवल ७२९.५ डलर मात्र थियो । यसरी यी दुवै देशको तुलनामा नेपालको अर्थतन्त्र त तुलना योग्य नै छैन । चीनले त एक वर्षमा विश्वका विभिन्न मुलुकहरूमा विश्व बैंकले भन्दा बढी लगानी गरिरहेको छ । चीन त यति समृद्ध भएको छ कि उसँग विश्वमा सबैभन्दा बढी विदेशी मुद्राको सञ्चिति छ र उसले १ हजार १ सय ४६ दशमलव ५ बिलियन डलरभन्दा बढी (जुन २०१७) को अमेरिकी सरकारको ऋणपत्र खरिद गरेर राखेको छ । साथै यी दुवै छिमेकी देशहरू अहिले विश्वमा सबैभन्दा तीव्र गतिमा बिकास गरिरहेका देशहरू मानिन्छन् । यी दुवै देशको तुलनामा नेपालको प्रतिव्यक्ति आय मात्र निकै कम रहेको होइन नेपालको आर्थिक वृद्धिदर पनि निकै न्यून रहँदै आएको छ । त्यसैले, यी दुवै देशसँग लामो सीमा जोडिएको देश भएकाले नेपालले यी दुवै छिमेकी देशको विकासबाट लाभको अपेक्षा गर्नु अन्यथा हुँदैन ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालको तिब्बत (चीन) तर्फको उत्तरी सिमाना १ हजार १ सय ११ दशमलव ४७ किलोमिटर छ भने भारततर्फको सिमाना १ हजार ७ सय ७८ किलोमिटर छ । चीनतर्फको सिमानाको तुलनामा भारततर्फको सिमाना झन्डै ६० प्रतिशत लामो छ । भौगोलिक बनोटको दृष्टिले उत्तरी सिमाना विकट छ भने भारतसँगको सिमाना समथर र सुगम छ । नेपाल–भारत व्यापार सम्झौताअनुसार नेपाल र भारतबीच २७ वटा नाकाबाट औपचारिक व्यापार भइरहेको छ भने चीनसँगको मुख्य नाका तातोपानी मात्र छ र त्यो नाका पनि २०७२ सालको विनाशकारी भूकम्पपछि बन्द रहेको छ । रसुवा नाका केही मात्रामा चालू छ । तर, त्यो पनि दक्षिणी सीमानाकाजस्तो सुगम पनि छैन र विभिन्न कारणले त्यो नाका पनि बेलाबेलामा बन्द हुने गर्दछ । अन्य नाका हिल्सा, कोरला, किमाथान्का आदि छन् । तर, यी नाकाहरू भौगोलिक कठिनाइका कारणले व्यापारिक प्रयोजनका लागि सक्रिय र प्रभावकारी छैनन् । मुस्ताङ जिल्लाको कोरला नाकाको विकासका लागि केही पहल भइरहेको भए तापनि त्यो नाकाले व्यापारिक दृष्टिले महŒव पाउन निकै धेरै काम गर्नुपर्नेछ । त्यसैले, चीनसँगको व्यापारमा पनि समुद्री मार्ग नै उपयोग हुने गरेको छ ।
कनेक्टिभिटी बढाउने
नेपालले चीनको विकासबाट लाभ लिने हो भने सर्वप्रथम त नेपाल र चीनबीचको कनेक्टिभिटी व्यापक मात्रामा विस्तार गर्नुपर्दछ । नेपाल र तिब्बत (चीन) को सिमानामा दुवैतर्फ सुगम र सुविधाजनक सडक र रेल यातायातको व्यापक विकास र विस्तार गर्नुपर्दछ । सामान ढुवानीलाई सहज र किफायती पार्न रेल्वे लाइनको विकास विस्तारमा विशेष जोड दिनुपर्दछ । हवाई सेवालाई पनि उत्तिकै विस्तार गर्नुपर्दछ । सञ्चार सम्पर्कको विस्तारमा पनि उत्तिकै जोड दिनुपर्दछ । यसका लागि उत्तरतर्फ धेरै नाका खुलाउनुपर्दछ । मानिसहरूको आवतजावतलाई सकेसम्म सहज र सुविधाजनक बनाउनुपर्दछ । चीनको पहलमा आएको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ । यही क्रममा नेपाल र चीनबीच भएको पारवहन सम्झौताको शीघ्र कार्यान्वयन्मा जोड दिनुपर्दछ । मुक्तिनाथ हँुदै मानसरोवर जाने बाटो पनि खुलाउनुपर्दछ । नेपालको दुवै देशसँगको सीमाक्षेत्रको विकास रणनीति बनाई त्यसको कार्यान्वयन प्राथमिकतापूर्वक गर्नुपर्दछ । साथै, भारततर्फका नाकाहरूमा पनि व्यापक सुधार गरी सुविधासम्पन्न पार्नुपर्दछ । अहिले त्यहाँका नाकाहरूमा रहेको जस्तो अस्तव्यस्तता र भद्रगोल रहन दिनुहँुदैन । साथै, ती नाकाहरूमार्फत हुने व्यापारमा अत्याधुनिक प्रविधिको उपयोग गर्नुपर्दछ ।
पर्यटन क्षेत्र
लाभ लिन सकिने अर्को महŒवपूर्ण क्षेत्र पर्यटन हो । लुम्बिनीको कारणले चीनतिरबाट र पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर आदिका कारण दक्षिणतिरबाट ठूलो संख्यामा धार्मिक पर्यटकहरूले नेपाल भ्रमण गर्ने बलियो सम्भावना छ । पछिल्लो कालमा चिनियाँ पर्यटकहरू नेपाल आउने क्रम बढि पनि रहेको छ । साथै, विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र रहेको चीनको तिब्बतको भ्रमणमा आउने विदेशी पर्यटकहरूको सानो अंश मात्र नेपाल भिœयाउन सक्ने हो भने पनि नेपाललाई ठूलो लाभ हुनेछ । त्यसैले, तिब्बत भ्रमणमा आउने पर्यटकहरूलाई नेपाल भ्रमणमा ल्याउने रणनीति बनाउनुपर्दछ । नेपालमा चिनियाँ पर्यटकहरू आउने क्रम बढ्दै गएकाले नेपालमा चिनियाँ भाषा तालिमलाई व्यवस्थित र व्यापक बनाउनुपर्दछ । त्यसैगरी, तिब्बत भ्रमणमा जाने पर्यटकहरूलाई नेपाल हुँदै जाने व्यवस्थाले पनि नेपाललाई निकै लाभ दिनेछ । त्यसको अतिरिक्त नेपालको हावापानी र वातावरण नातिशितोष्ण खालको भएकाले यहाँ खेलकुद र अन्य मनोरञ्जनका साथै ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्सिज एन्ड इभेन्ट्स) को अधिक सम्भावना छ ।
व्यापार विस्तार
नेपालले अनुकूल वातावरण र उपयुक्त रणनीति तर्जुमा गरी गम्भीरतापूर्वक अगाडि बढ्न सक्ने होे भने नेपाली उत्पादनका लागि विश्वका दुई विशालबजार उपलब्ध छन् । तर, अहिले नेपालको दुवै छिमेकी मुलुकहरूसँग ठूलो व्यापार घाटा छ । नेपालले आर्थिक वर्ष २०७३÷७४ मा भारतबाट कुल ६ खर्ब ३४ अर्ब रुपैयाँको आयात गरेकोमा ५ खर्ब ९२ अर्ब अर्थात ९३ दशमलव ४ प्रतिशत घाटा छ भने चीनबाट १ खर्ब २७ अर्बको आयात गरेकोमा १ खर्ब २६ अर्ब अर्थात् ९९ दशमलव २ प्रतिशत घाटा छ । यसरी नेपालको कुल व्यापार घाटामा यी दुई मुलुकसँगको व्यापारमा मात्र ७८.३ प्रतिशत घाटा छ । नेपालले चलनचल्तीका आधुनिक औद्योगिक उत्पादन बढाउने काममा प्रगति गर्न नसकेको र नेपालको आधुनिकीकरणसँगसँगै दैनिक आवश्यकताका वस्तुहरूसमेतमा आयातमाथिको निर्भरता बढ्दै गएकाले व्यापार घाटा यसरी फराकिलो हुदै गएको हो । चीन र भारतको बजारलाई लक्षित गरी उपयुक्त खालका वस्तुहरू उत्पादन गर्न सक्ने हो भने नेपाल शीघ्र नै समृद्ध हुन सक्ने स्थिति छ । साथै यी दुवै मुलुकमा ठूलो रुचिका साथ खपत हुन सक्ने दर्जनौं वस्तु नेपालमा उत्पादन हुन सक्दछन् । विभिन्न थरीका बहुमूल्य जडीबुटी, काठ, निर्माण सामग्री, हिमालको स्वच्छ पिउने पानी, अर्गानिक फलफूल र ताजा तरकारी, फलफूलको जुस, मह, चिया, कफी, अलैंची, दुग्ध पदार्थ आदि वस्तु दुवैतर्फ निकासी गर्न सकिने प्रचुर सम्भावना छ । यस्ता वस्तुको उत्पादनमा यी दुवै देशको लगानी लगाउन सकिने पनि सम्भावना उत्तिकै छ ।
सेवा व्यवसायमा जोड
नेपालको हावापानी, प्राकृतिक सौन्दर्य, शान्त र अतिथिप्रति अत्यधिक सद्भाव राख्ने जनता, विविध प्राचीन सभ्यता र संस्कृति आदिका कारण नेपाल विश्वको आकर्षणको केन्द्र रहिआएको छ । जबकि, हावापानीको दृष्टिले चीन र भारत दुवै चरम (एक्सट्रिम) मुलुक छन् । ती दुवै मुलुकमा गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुन्छ । त्यसैले, नेपाललाई स्वास्थ्य, शिक्षा, मनोरञ्जन, आराम आदिको क्षेत्रमा पनि आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ । विशेषगरी सेवानिवृत्त सम्पन्न ज्येष्ठ नागरिकहरूका लागि उच्चस्तरीय हेरचाह केन्द्रहरू स्थापना गरी चीन, भारतलगायत देशका नागरिकहरूलाई सेवा दिन सकिन्छ । यसका लागि ती दुवै देशको लगानी लगाउन सकिन्छ । त्यसका लागि ‘मेडी सिटी’का रूपमा विकास गर्न सकिने सम्भावना छ । शैक्षिक हबका रूपमा पनि विकास गर्न सकिन्छ, विश्वस्तरीय विश्वविद्यालय र मेडिकल कलेजहरूको स्थापना गरी विदेशी र विशेषगरी चीन र भारतका बिद्यार्थीहरूलाई आकर्षित गर्न सकिन्छ । यी क्षेत्रमा पनि ती दुवै देशको लगानी ल्याउन सकिन्छ । यस्तो लगानी लउन सरकारले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्दछ ।
लगानी
नेपालमा वैदेशिक लगानी भिœयाउने दृष्टिले चीन र भारतको समृद्धि नेपालका लागि सबैभन्दा महŒवपूर्ण छ । सीमा जोडिएका छिमेकी मित्र देशहरू भएकाले त्यसमा धेरै सहजता पनि छ । त्यस्तो लगानी केही संवेदनशील क्षेत्रलाई छोडेर बाँकी सबै क्षेत्रमा ल्याउन सकिन्छ । उनीहरूको लगानी विशेषगरी जल विद्युत्को क्षेत्रमा लगाई विद्युत निर्यात गर्ने प्रचुर सम्भावना छ । यस्तो लगानी नेपाल–चीन, नेपाल–भारत, चीन, भारत र तिनै पक्षको संंयुक्त लगानीमा हुन सके अति उत्तम हुनेछ । त्यस्तो लगानीलाई विशेष छुट दिई आकर्षित गर्नुपर्दछ । त्यसैगरी, ठुला र अत्यधुनिक शैलीका सडक, पुल, सिँचाइ, बाँध, रेल्वे लाइन, विश्वविद्यालय, मेडिकल कलेजहरू निर्माण र स्थापनाका लागि पनि यी देशको लगानी भिœयाउनुपर्र्दछ ।
उद्योग
दुई छिमेकी देशहरूको विशाल बजारबाट लाभ लिन ती देशको बजारमा माग भएका र हुने वस्तुहरू छनोट गरी देशभित्र तिनको उत्पादन गर्नुको विकल्प छैन । नेपालको सापेक्षिक लाभ भएका त्यस्ता वस्तुहरू अत्याधुनिक प्रविधिबाट गुणस्तरीय रूपमा उत्पादन गरिनुपर्दछ । चिया, कफी, मह, अदुवा, फलफूल र तिनको जुस, धातु र काठका हस्तकलाका सामान, नेपाली कागज, सुनचाँदीका गहना आदि त्यस्ता वस्तु हुन सक्दछन् । यस्ता वस्तुहरू वस्तुतः निजी क्षेत्रले उत्पादन र निर्यात गर्ने भए तापनि सरकारले तिनको उत्पादनमा उदारतापूर्वक सहयोग गर्नुपर्दछ । संकीर्ण मानसिकताबाट निर्यात बढाउन सहिँदैन । दुवै छिमेकीसँग नेपालको व्यापार घाटा धान्नै नसकिने स्तरमा पुगिसकेकाले आन्तरिक उत्पादनलाई विशेष रूपमा प्रोत्साहित गरी निर्यात बढाउनुको बिकल्प छैन । यसो गर्नमा नेपालमा धेरै ढिलो भइसकेको छ । यस सन्दर्भमा एक्सपोर्ट प्रोसेसिङ जोनको स्थापनाले महत्वपूर्ण योगदान पु¥याउन सक्दछ । त्यसैगरी, ‘इन्टरमिडियट गुड्स’ र ‘हाई भ्यालु लो वेट’ हुने वस्तुहरूको उत्पादनमा पनि विशेष जोड दिनुपर्दछ । सिमेन्ट र अन्य निर्माण सामग्रीहरूको उत्पादन र निर्यातको पनि ठूलो सम्भावना छ । यी उद्योगमा पनि बाह्य लगानीको उपयोग गरिनुपर्दछ ।
कृषि प्रविधि
नेपालको हावापानीमा उत्पादित कृषिका दर्जनौं वस्तुहरूको निर्यातको सम्भावना असीमित छ भन्दा पनि हुन्छ । आन्तरिक उपभोगकै निमित्त पनि नेपालमा कृषि उत्पादनले छलाङ मार्नु अति जरुरी भइसकेको छ । यसका निमित्त नेपालको कृषि क्षेत्रका सबै विधामा अधिकतम रूपमा व्यावसायीकरण र आधुनिकीकरण गर्न ढिलो भइसकेको छ । नेपालको कृषि क्षेत्रको आधुनिकीकरणको निमित्त चिनिया प्रबिधिको उपयोग निकै महत्वपूर्ण हुनेछ । नेपालको सम्पूर्ण कृषि भूमिमा पूर्ण रुपमा बाह्रै महिना सिंचाई सुबिधा पु¥याउनु उत्तिकै जरुरी छ । यसमा पनि दुवै छिमेकी देशको सहयोग र लगानीको उपयोग गर्न विशेष जोड दिइनुपर्दछ ।
छात्रवृत्ति
चीन र भारतले अहिले पनि ठूलो संख्यामा नेपाली विद्यार्थीलाई थुप्रै विषयमा छात्रवृत्ति उपलब्ध गराईरहेका छन् । उनिहरूको समृद्धि र शिक्षा क्षेत्रमा उनिहरूले हासिल गरेको स्तरीयताको आधारमा छात्रवृत्तिको संख्या र विषय अझ बढाउने र विस्तार गर्ने प्रस्ताव गर्न सकिन्छ । यसले पनि नेपाललाई प्रगति गर्न सघाउने छ ।
माथि उल्लिखित कुराहरू सबै आर्थिक बिषयसंग सम्बन्धित हुन् । अहिलेसम्मको अनुभवको आधारमा नेपालले चीनबाट अपेक्षा गर्ने कुराहरू प्राप्त गर्नमा कुनै कठिनाइ छैन । त्यसैले, नेपालले चीनबाट व्यापार, सरकारी ऋण र अनुदान सहयोग तथा लगानी सबै कुरा अपेक्षाअनुसार प्राप्त गर्न सक्दछ भन्ने कुरामा शंका छैन । तर, यही स्थिति भारतसँग छैन र हुँदैन । नेपाललाई सहयोग गर्ने मामिलामा भारत चीनजति उदार र निश्चल छैन । भारत नेपालमा साच्चिकै समृद्धि चाहन्छ कि चाहदैन भन्ने कुरा प्रस्ट छैन । नेपालले भारत तर्फ गर्ने निर्यात र आयात दुवैतर्फ अनगिन्ति समस्या छन् । त्यसमा भारत त्यति सहयोगि देखिइरहेको छैन । नेपालका उद्यमी तथा व्यापारीहरू त्यसका भुक्तभोगी छन् । भारतीय सहायता र लगानी पनि विशेष उद्देश्यमूलक हुन्छन् । उसको सहायतामा निर्माण हुने आयोजनाहरू कति त सुरु नै हँुदैनन् र सुरु भएका आयोजनाहरू सम्पन्न हुन निकै लामो समय लाग्ने गरेको छ । आयोजना प्राप्त गर्न हरकिसिमको प्रयास गर्ने तर प्राप्त गरिसकेपछि कार्यान्वयन गर्न कुनै चासो नदेखाउने उसको प्रवृत्ति रहिआएको छ । साथै, उसका सरकारी र निजी क्षेत्रका लगानीबाट पनि नेपाललाई कर राजस्व, रोजगारी, नाफाको पुनर्लगानी आदिमा कमै मात्र लाभ हुने गरेको छ । यस आधारमा नेपालले छिमेकी मुलुकहरूको समृद्धिबाट लाभ लिने कुरा चीनको सन्दर्भमा लागू हुन सक्ने देखिन्छ, तर भारतको सन्दर्भमा भने मिथ मात्र हुन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

उराल्दै राष्ट्रवादी आवाज

जन–गायक रायनले बीसको दशकमै एउटा सुनौलो सपना देखेका थिए । त्यो सपना थियो– देशमा जनताको सत्ता । अर्थात् देशबाट गरिबी, शोषण, अन्याय, अत्याचार हटेर जनताले सुख र समृद्धिको अनुभूति- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सघन आत्म–मन्थन

हरेक मानिससँग अनुभवका अथाह पुञ्ज हुन्छन् । जीवन भोगाइका क्रममा हरेक मानिसले गुलिया अनुभव मात्र टिपेका हुँदैनन्, तीता र टर्रा अनुभूतिहरु पनि प्रशस्तै बटुलेका हुन्छन् । सम्पूर्ण- ...
पूरा पढ्नुहोस्

छोटकरीमा