18th January 2018, Thursday

E-budhabar

जनवादी संगीतको अत्येष्टि ?



हामीकहाँ जनवादी गीत–संगीतले कहिल्यै केन्द्रीय धारको नेतृत्व गर्न पाएन । नेपाली समाजमा लामो समयसम्म सामन्ती, निरंकुशतावादी र एकतन्त्रीय शासन व्यवस्था तन्किएका कारण त्यही वर्ग र शक्तिको वर्चश्व कायम रह्यो र गीत–संगीतमा पनि त्यही वर्गका भावना, विचार र मनोदशा पर्गेल्ने सिर्जनाकै बाहुल्य रह्यो । पञ्चायत विरोधी भावनाहरू सल्बलाउन थालेपछि मात्रै जनवादी गीत–संगीतले नेपाली समाजलाई तरंगित तुल्याउन थाल्यो । खासगरी नेपाली समाजले भोग्नुपरेको सामन्ती उत्पीडनविरुद्ध एकाध सर्जकहरूले गीतसंगीतलाई माध्यम बनाएर मोर्चाबन्दी कसेपछि मात्रै जनवादी गीत–संगीतले आफ्नो धरातल टेक्न पाएको यथार्थ सबैसामु उपस्थित छ । तर, नेपाली गीत–संगीतको विकास–यात्रामा जनवादी संगीतले मूलधार नसमाते पनि सिंगो संगीत जगत्को विकास एवं समृद्धिमा जनवादी संगीतले पु¥याएको योगदानलाई कम भने पक्कै पनि आँक्न मिल्दैन ।
समाजलाई गतिशील, जीवन्त र प्रवाहमय तुल्याउन एवं मानव जातिको सक्रिय जीवन–मूल्यलाई प्रोत्साहित गर्न पक्कै पनि जनवादी गीत–संगीतले आफ्नो तहबाट गहकिलो योगदान पु¥याउँदै आयो । अझ हरेक राजनीतिक परिवर्तनलाई सम्पुष्ट तुल्याउन त जनवादी संगीतकै हात रहेकोमा सन्देह गर्ने ठाउँ देखिँदैन । ०३६, ०४६ र ०६२÷६३ का आन्दोलनहरूले सफलताको शिखर चुम्नका पृष्ठभूमिमा अनेक कारणहरू रहे होलान्, तर जनवादी र प्रगतिशील गीत–संगीतले ती आन्दोलनहरूलाई ऊर्जा प्रदान गर्न उपल्लो तहकै भूमिका खेलेको कुरालाई अस्वीकार गर्न सकिँदैन । ती आन्दोलनहरूलाई ऊर्जावान् तुल्याउन सडकमा उत्रिएर जनवादी सर्जकहरूले बुलन्द स्वर नगुन्जाएका भए सायदै सार्थक दिशा समात्थे होलान् ।
नेपाली जनवादी संगीतको समृद्ध र गौरवशाली विगत रहे पनि वर्तमानमा भने धुमिल परिदृश्य मौजुद देखिन्छन् । अझ भविष्य त झनै अन्धकारमय प्रतीत हुँदै छ । सामाजिक, राजनीतिक, सांस्कृतिक जागरण र परिवर्तनमा अहम् भूमिका खेल्ने जनवादी संगीतको क्षितिजमा देखिएको घुर्मैलोपनभित्र नेपालका परिवर्तनकामी शक्तिहरूको स्पष्ट अनुहार पनि सहज रूपमा हेर्न सकिन्छ । खासगरी दशकयता नेपाली जनवादी र प्रगतिशील संगीत क्षेत्रमा छाएको सुस्तता कारुणिक छ । गणतन्त्र ल्याउने बेलासम्म उत्साहित रहेका र जनतामा राजनीतिक चेतनाका उभार ल्याउने सर्जकहरू अचेल जनवादी संगीतको मैदानबाट ओझेलमा पर्नु दुःखदायी पक्ष मात्र होइन, यसले ‘के अब नेपाली जनवादी र प्रगतिशील संगीतको अन्त्येष्टि गर्न मात्र बाँकी रहेकै हो त ?’ भन्ने गम्भीर प्रश्नचिन्ह उब्जाएको छ ।
जनवादी र प्रगतिशील संगीतका अग्रज पुस्ताबाट अब नयाँ र ऊर्जावान सिर्जनाको अपेक्षा नराख्दा नै उत्तम हुने देखिन्छ । तीसको दशकमै चम्किएका रामेश, रायन, मञ्जुल, रामकृष्ण दुवाल, खुसीराम पाख्रिन र जेबी टुहुरेजस्ता कुनै बेलाका ऊर्जावान् पुस्ताबाट अब युवाकालीन सिर्जनाको अपेक्षा राख्न खोज्नु असम्भव नै देखिन्छ । ती पुस्ताका सर्जकहरूले पस्किने भनेका तिनै पञ्चायतकालीन सिर्जनाहरू नै हुन् । ती सर्जकहरूबाट एकाध नयाँ सिर्जना आए पनि वर्तमानका ज्वलन्त र सामयिक स्वरहरूलाई प्रतिनिधित्व गर्न गाह्रै पर्ने देखिन्छ ।
दोस्रो पुस्ताका जीवन शर्मा, मणि थापा, विजय सुब्बामध्ये केहीले जनवादी संगीत सिर्जनालाई छाडेर राजनीति–कर्म अपनाए । राजनीति–कर्ममा लागेका सर्जकहरूबाट जनवादी संगीतको अपेक्षा राख्नु व्यर्थ साबित हुन्छ । तर, जनवादी संगीतमै अल्झिरहेका जीवन शर्माजस्ता प्रतिभाले पनि अचेल संख्या र गुणात्मक दुवै रूपले सिर्जना गर्न छाडिसकेका छन् । नितान्त पछिल्लो पुस्ताका माइला लामा, राजेश थापालगायतले पनि संगीत सिर्जनालाई भन्दा बढी मात्रामा राजनीतिक अभियान र कर्मलाई नै पछ्याएका छन् । पछिल्लो पुस्ताबाट अल्मलिएको जनवादी संगीत क्षेत्रले गति समात्ने अपेक्षा सँगाल्नु निरर्थक हुनेछ । किनकि, सिर्जनात्मकता र गतिशीलता दुवै दृष्टिले पछिल्लो पुस्ता ऊर्जाशील देखिएको छैन, पटक्कै÷निश्चय नै ।
जनवादी र प्रगतिशील संगीत क्षेत्र घिटघिटको अवस्थाबीच गुज्रिनुमा मूलतः राजनीतिकर्मी र सर्जक दुवैका आधाआधीजस्तो कमजोरी रहेको आभास हुनु स्वाभाविक देखिन्छ । किनकि, पछिल्लो समय जनवादी सर्जकहरूको आवश्यकता केवल निर्वाचनका बेलामा मात्र देख्ने प्रवृत्ति मौलाउँदै गयो । जनवादी संगीत क्षेत्रका सर्जकहरू पनि चुनावी सभाहरूमा मात्र देखिन थाले । र, राजनीतिक दलका चुनावी अभियानलाई सघाउने कार्यमा मात्र आफ्ना सिर्जनाहरूलाई केन्द्रित तुल्याउन थाले । राजनीतिक ग्लामर्सका अघि विशुद्ध जनवादी चेतनाले भरिएका गीत–संगीतमा समय दिनु सर्जकहरूका निम्ति पनि फाल्तु कुरा साबित हुन थाले सायद । र, जनवादी संगीत पछिल्लो समय केवल चुनावी गीतहरूमा मात्र खुम्चिँदै गएको छ । सर्जकहरू पनि चुनावी गीतमा रमाउन मात्र थालेका छैनन्, राजनीतिक दल र नेतृत्वलाई रिझाएर आफ्नो दुनाटपरी गाँस्ने प्रयत्नमा जुटेको आभास हुँदै गइरहेको छ । खासगरी, जनवादी गीत–संगीतमा जमेका सर्जकहरूमा सांसद, नेता बन्ने चस्का पसेपछि यो क्षेत्र खुम्चिँदै जानु स्वाभाविक देखिएको छ । नभए सांसदको टिकट नदिएपछि जेबी टुहुरेजस्ता प्रतिभावान् जनवादी गायकले एउटा दल परित्याग गरेर अर्को दलबाट सांसद सायदै बन्थे होलान् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा