जनशक्ति परीक्षण हुने वर्ष
हरेक नयाँ वर्ष सफलता, सम्भावना र समृद्धिको वर्ष बनोस् भन्ने चाहना सबैले राख्छन् । अग्रगामी सोच, चिन्तन र क्रियाशीलता देखाउनेहरूले नयाँ वर्षलाई उपलब्धिमूलक बनाउन हरेक प्रयत्न गर्दछन् । नयाँ वर्षको प्रारम्भसँगै नयाँ सम्भावनाका दैलो उघ्रिनु र चुनौतीहरूका पनि लस्कर लाग्नु स्वाभाविकै हो । त्यसो त बितेको वर्षको गहन समीक्षा गर्दै नयाँ वर्षका योजनाहरूलाई कसरी सफल कार्यान्वयन गराउने भन्ने चिन्तन सबै नागरिकमा हुन सके मात्र देशले प्रगतिका सिँढीहरू उक्लिन सक्षम ठहरिनेछ । नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा यस्तै अपेक्षा राख्नु उचित होला ।
२०७४ साल धेरै हिसाबले उपलब्धिमूलक रहने पूर्वानुमान लगाउन मुस्किल पर्दैन । खासगरी, नेपाली जनताले लामो तपस्या, संघर्ष र अड्चनहरू पन्छाएर ल्याएको संविधानलाई कार्यान्वयनको चरणमा प्रवेश गराउने वर्षका रूपमा २०७४ साल स्थापित हुने पूर्वअनुमान लगाउन सकिन्छ सहजै । पहिलो त वर्षारम्भमै स्थानीय तहको निर्वाचन हुन लागिरहेको छ । देशबाट निरंकुशतन्त्र हटेपछि स्थापित गणतन्त्रको ठूलो उपलब्धि थियो, संविधानसभा । संविधानसभाले निर्माण गरेको संविधानले देशलाई संघीय ढाँचामा अगाडि बढ्न ढोका खोलिदियो । स्थानीय तहको निर्वाचन संघीयताको कार्यान्वयन गर्ने पहिलो खुट्किला साबित हुनेछ ।
स्थानीय तहको निर्वाचनले नेपाली समाज, राजनीति र अरू क्षेत्रहरूमा वर्षौंदेखि जमेर बसेका अन्योल, नेतृत्वविहीनता र अनेक विसंगत परिदृश्यहरूलाई चिर्न सघाउ पु¥याउनेछ । कुनै सन्देह छैन, स्थानीय तहको निर्वाचनपछि जनता शक्तिशाली बन्नेछन्, स्थानीय जनताले आफ्नै घर–आँगनमा आफैंले चयन गरेको सरकार पाउनेछन् र अब अधिकार खोज्न सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य हुनेछ । एउटा शक्तिशाली निकायका रूपमा स्थानीय तहलाई स्थापित गर्न खोजिएको हुँदा त्यो जनअधिकार प्राप्ति र क्रियान्वयनका दिशामा महŒवपूर्ण फड्को साबित हुनेछ ।
करिब दुई दशकपछि स्थानीय जनताले आफैंले चुनेका शक्तिसम्पन्न जनप्रतिनिधि पाउन लागेका हुँदा त्यसले स्थानीय तहमा सम्भावनाका धेरै आयामहरू विस्तार हुने निश्चितप्रायः छ । सिंहदरबारमा वर्षौंदेखि थन्किएको अधिकार स्थानीय तहमै पुग्नुजति ठूलो उपलब्धि अरू मान्न सकिँदैन । आफ्नो गाउँबस्ती र सहरको विकास कसरी गर्ने भन्नेबारे अब केन्द्रमा रहेकाहरूको मुख ताक्नुपर्ने पनि हुँदैन । आफैंले योजना बनाएर, त्यसलाई पारित गरेर र आफ्नै स्रोत र साधनहरू परिचालित गरेर विकास, निर्माणका कार्यहरूमा जादु देखाउन सक्ने अवसर स्थानीय तहले पाएको छ । यो जनआन्दोलन २०६२÷६३ पछि देशमा भित्रिएको नयाँ राजनीतिक परिवर्तनले सार्थक र सही दिशा पक्रिएको संकेत हो, जनआन्दोलनको उपलब्धिको उत्तम नमुना हो ।
२०७४ सालमा स्थानीय जनता अधिकारसम्पन्न हुँदै छन् । यसरी नै संघीय ढाँचालाई लागू गराउने सिलसिलामा प्रदेश र केन्द्रीय तहको निर्वाचन पनि हुनेछन् । संघीय स्वरूप र प्रणालीअनुरूप प्रदेश र केन्द्रीय संसद्को निर्वाचन आगामी माघ ७ गतेभित्र गर्नैपर्ने संवैधानिक बाध्यता भएको हुँदा पनि यी सबै काम २०७४ सालभित्रै सम्पन्न हुनेछन् । अर्थात्, नेपाली जनताले एकै वर्ष स्थानीय तहदेखि केन्द्रीय तहसम्मका जनप्रतिनिधिहरूलाई चयन गर्ने अवसरका रूपमा नयाँ साल उदाउँदै छ । विगतमा नेपाली जनताले पटक–पटक मताधिकार पाए पनि अहिलेको मताधिकार भने बेग्लै सन्दर्भ र परिवेशको उपज हो । किनकि, जनताले तलदेखि माथिसम्मै आफूले रोजेका उम्मेदवारलाई चयन गर्ने, उनीहरूबाट विकास, निर्माणका अपेक्षा राख्नुका साथै आफ्ना सेवा र सुविधा प्राप्तिमा चासो राख्ने योजति सुनौलो अवसर अर्को हुन सक्दैन ।
नेपाली जनताका निम्ति त २०७४ साल ठूलो अवसरको वर्षका रूपमा रहनेछ । २०७३ साल राजनीतिक खिचातानीको वर्षका रूपमा स्थापित भए पनि २०७२ साल भने अर्को ठूलो उपलब्धिको वर्षका रूपमा रहेको थियो । त्यही वर्ष नेपाली जनताले नयाँ संविधान पाएका थिए । तर, २०७४ साल भने जनताका निम्ति यस्तो अवसरदायी वर्षका रूपमा आउँदै छ, त्यो हो– मताधिकारको प्रयोग । नायकलाई चुन्ने कि खलनायकलाई ? राष्ट्र र जनताको हितमा चिन्तनशील पार्टीलाई रोज्ने कि त्यसका विरुद्ध उभिने दललाई रोज्ने ? राष्ट्रिय एकतामा जोड दिने शक्तिलाई चयन गर्ने कि विखण्डनको मार्गमा उभिने शक्तिलाई खोज्ने ? यी सबै पक्षहरूको छिनोफानो गर्ने अधिकार जनताले पाएका छन् । तसर्थ, जनताको शक्तिको सफल परीक्षण हुने वर्षका रूपमा पनि २०७४ साल रहनेछ ।
नयाँ वर्ष २०७४ को हार्दिक शुभकामना ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply