18th February 2018, Sunday

E-budhabar

डडेल्धुरामा देउवाको विकल्प तयार भएकै हो त ?



डडेल्धुरामा देउवाको विकल्प तयार भएकै हो त ?

२०४६ सालमा बहुदल आएपछि चुनाव लड्न जिल्ला फर्किएका शेरबहादुर देउवाले त्यसयता भएका पाँचवटा चुनावमा पराजय बेहोर्नुपरेको छैन । तर यसपटकको स्थानीय तहको निर्वाचन उनका लागि ती सबै विजयलाई बिर्साउने गरी नमीठो बनेको छ । त्यसका मुख्य दुई कारण छन् ः पहिलो, उनको मुख्य आधारका रूपमा रहेको सदरमुकामस्थित अमरगढी नगरपालिकामा एमालेको विजय र दोस्रो जिल्लाभरमा एमालेले बढाएको मत । र, उनलाई त्यसरी चुनौती खडा गर्ने एमालेको नेतृत्व गरिहेका छन् डा. तारा जोशीले ।
सात तह रहेको डडेल्धुरामा कांग्रेसले चार, एमालेले दुई र माओवादीले एक तह जितेका छन् । तर कूल जनप्रतिनिधिमा चाहिँ एमाले पहिलो बनेको छ । वडाध्यक्षमा एमालेले १९, कांग्रेसले १७ र माओवादीले १६ स्थान जितेका छन् । आखिर एमालेले डडेल्धुरामा कांग्रेसलाई कसरी पछाडि पा¥यो त ? एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशी भन्छन्, ‘हामीले डडेल्धुरामा विकल्प छ भन्ने मनोविज्ञान तयार गरेका छौं । विगतमा शेरबहादुरजीको विकल्प नै छैन भन्ने गरी जुन छाप निर्माण गरिएको थियो, त्यो क्रमशः भत्किँदै छ ।’
२०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरामा एमालेभन्दा कांग्रेस १६ हजार मतले अगाडि थियो । त्यतिबेला कांग्रेसका तर्फबाट देउवाले २३ हजार मत प्राप्त गरेका थिए भने एमालेका जोशीले ७ हजारमा चित्त बुझाउनुपरेको थियो । तर अहिले त्यो मतान्तर निकै घटेको छ । सात तहमा तीन पार्टीले प्रमुख पदमा पाएको मतलाई आधार बनाउँदा कांग्रेसले १९ हजार ७ सय ५२ मत ल्याएको छ भने एमालेले १५ हजार ६ सय ६८ मत ल्याएको छ । अर्थात् यी दुई पार्टीबीच जम्मा ४ हजार ८४ मत फरक छ । २०७० सालमा १३ हजार मत ल्याएर दोस्रो भएको माओवादीले यसपटक ११ हजार ९५ मत ल्याएको छ ।
डडेल्धुरामा कांग्रेसको जति पुरानो इतिहास एमालेको छैन । पञ्चायतकालमै ३० को दशकमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका शेरबहादुर देउवाको नाम डडेल्धुरामा त्यतिबेलादेखि नै नफैलिने कुरा भएन । तर एमालेले भने बहुदल आउने आसपास मात्रै त्यहाँ संगठन बनाउन सुरु गरेको हो । अहिले एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य रहेका डडेल्धुराको आलिताल निवासी गोविन्दप्रसाद कलौनीको नेतृत्वमा एमालेले २०४६ सालतिर त्यहाँ औपचारिक संगठन सुरु गरेको हो । त्यसयता कलौनीका साथै पठानसिंह बोहरा, विक्रमबहादुर शाही हुँदै तारा जोशीको नेतृत्वमा अहिले एमाले छ ।
२०४८ सालमा तिनै गोविन्द कलौनी देउवासँग लडेका थिए भने २०५१ मा आफू लड्नुको साटो एमालेले रामराजाप्रसाद सिंहको जनवादी मोर्चाका खेमराज भट्ट ‘मायालु’लाई समर्थन गरेको थियो । मायालु पछि कांग्रेसमा प्रवेश गरे र २०५६ मा बर्दिया–३ बाट चुनाव जितेर मन्त्रीसमेत बने । २०५६ सालको निर्वाचनमा एमालेले सेवानिवृत्त प्रशासक बागेश्वरीदत्त (बीडी) चटौतलाई उम्मेदवार बनाए पनि देउवाका सामु केही लागेन । २०६४ सालमा तत्कालीन जिल्ला अध्यक्ष विक्रमबहादुर शाही देउवासँग भिडे तर स्थितिमा पहिलेभन्दा परिवर्तन आएन ।
अब के होला त ? अध्यक्ष डा. जोशी भन्छन्, ‘डडेल्धुरा धेरै कुरामा पछि परेको छ । हामीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन ‘भिजन डडेल्धुरा’ बनाएका छौं । स्वास्थ्य, शिक्षा र सरसफाइमा समेत ध्यान दिएका छौं । राजनीतिक चेतना बदलिएको छ र जनता विकल्पका लागि तयार देखिएका छन् ।’ ७२ वर्षीय शेरबहादुर देउवाले पहाडको डडेल्धुराका साथै विगतका दुई चुनावमा क्रमशः कञ्चनपुर र कैलालीका सहज क्षेत्र पनि रोजेका थिए । यसपटक एक ठाउँबाट मात्र चुनाव लड्न पाइने संवैधानिक प्रावधान भएका कारण उनले त्यो सुविधा पाउनेछैनन् । यसको मतलब उनी पहाडको साटो तराईमै चुनाव लड्न सक्ने आँकलन गरिँदै छ । डडेल्धुराको आफ्नै पार्टी राजनीतिप्रति देउवाको मन भाँचिएको छ । विगतदेखि नै उनी पक्षधरहरूको मात्रै बोलवाला हुँदा पनि कांग्रेसमा मेलमिलाप छैन । पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल समूहबीचको लडाइँले डडेल्धुरामा कांग्रेसलाई धराशायी बनाइरहेको टिप्पणी पार्टीभित्रैबाट भइरहेको छ । यस्तो अवस्थामा देउवा डडेल्धुरा फर्किने सम्भावना कम देखा परेको छ ।
एमालेमा युवा नेताहरूको बाहुल्य छ । विगतमा पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या विधानसम्मत रूपमा समाधान गरेर एकताबद्ध रूपमा चुनावमा लागेका कारण एमालेले अपेक्षित सफलता हासिल गरेको बुझाइ कार्यकर्तामा छ । वैकल्पिक केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले अहिले कञ्चनपुर जिल्ला हेरिरहेका छन् भने अर्की वैकल्पिक केन्द्रीय सदस्य निरा जैरु अमरगढीको चुनावमा सक्रिय थिइन् । गजेन्द्रबहादुर शाही, तुलाराम बोहराजस्ता नेताहरू आ–आफ्नो ठाउँमा सक्रियतापूर्वक लागेका छन् ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेर राजनीति गर्न सिधै डडेल्धुरा फर्किएका तारा जोशी भन्छन्, ‘हामीले मसिनो गरी जनताका बीचमा काम गरिरहेका छौं । जनताले हामीलाई रेस्पोन्स गरिरहेका छन् । आशावादी छौं, हामी पक्कै उनीहरूको मन जित्न सफल हुनेछौं ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा