डोलिन्द्रले मच्चाउन थाले उत्पात
काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका नेताकी छोरी एवं श्रीमतीको करार अवधि थप गरेर ती नेतालाई रिझाउन खोजेका छन् । आफू अध्यक्ष तथा महाप्रबन्धक नभएका बेला शर्माले करार अवधि सकिइसकेका एक जना कर्मचारीलाई पुरानै मितिमा म्याद थपेका हुन् । अध्यक्ष शर्माले प्रकाशनको अधिकृत तृतीय तहकी कर्मचारी रत्नज्योति हमालमाथि यस्तो गुन लगाएका हुन् । सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएपछि कात्तिक १६ गतेदेखि प्रकाशनमा आउन थालेका अध्यक्ष शर्माले कात्तिक २२ गते हमाललाई करारको म्याद थप गरिएको पत्र दिए । सो पत्रमा उल्लेख गरिएको छ, ‘साझा प्रकाशन र तपाईंबीच भएको करारनामाको म्याद समाप्त भएकाले मिति २०७४÷७÷११ देखि ६ महिनाका लागि म्याद थप गरिएको छ ।’ शिक्षा मन्त्रालयले पदमुक्त गरेपछि अदालतको अन्तरिम आदेश ल्याएर पुनः बहाली भएका अध्यक्ष शर्मालाई करार अवधि समाप्त भइसकेका कर्मचारीको म्याद थप्ने अधिकार नरहेको स्वतः देखिन्छ । कात्तिक १ गतेदेखि नै प्रकाशनमा हाजिर नभएका हमालको करार अवधि कात्तिक ११ गते सकिएको थियो । अध्यक्ष शर्माले भने सर्वोच्च अदालतको कात्तिक १४ गतेको फैसलापछि १६ गते अन्तरिम आदेशको प्रतिलिपि बुझेका थिए । १६ गते प्रतिलिपि बुझेर प्रकाशनमा आएका शर्माले कात्तिक २२ गते मात्र हमालको म्याद थप गरेका छन् । करारको अवधि नसकिँदै म्याद थप गर्नुपर्नेमा शर्माले भने करार अवधि सकिएको ११ दिनपछि म्याद थप गरेको देखिन्छ । अध्यक्ष शर्माले हमालको म्याद थप्नुमा नेताको चाकडी नै रहेको देखिएको छ । म्याद थप गरिएको हमाल नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेविसंघको महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार मनोजमणि आचार्यकी पत्नी हुन् । आचार्य अहिले प्रतिनिधिसभामा समानुपातिकको तर्फबाट उम्मेदवार रहेका छन् । त्यस्तै, कर्मचारी हमाल रोल्पा जिल्लाको प्रदेशसभा (ख) का कांग्रेसका उम्मेदवार खगेन्द्रप्रकाश हमालकी छोरी हुन् । अहिले कर्मचारी हमाल २२ गते प्रकाशनमा हाजिर भएर पिता हमालको निर्वाचन प्रचारका लागि रोल्पामै सक्रिय रहेकी छन् । उनी कात्तिक ३० गतेदेखि १५ दिनको बेतलबी बिदा लिएर रोल्पा गएकी हुन् । यस्तै, अध्यक्ष शर्माले अन्तरिम आदेश लिएर प्रकाशनमा आएपछि पुरानै शैली अपनाउन थालेका छन् । उनले संस्थाका वरिष्ठ अधिकृतहरू हुँदाहुँदै प्रशासन र लेखा विभागहरूमा कनिष्ठ कर्मचारीलाई जिम्मा दिएका छन् । उनले प्रशासन विभागमा ६ महिनाको करारमा नियुक्त गरेका कनिष्ठ कर्मचारीलाई जिम्मा दिएपछि सो प्रकाशनमा वरिष्ठ कर्मचारीहरू शर्माको स्वेच्छाचारी निर्णयविरुद्ध उभिएका छन् । संस्थाका कर्मचारीहरूले कात्तिक २२ गतेको करार थपको नाममा गरिएको कर्मचारी नियुक्ति र २४ गतेको कर्मचारी सरुवासम्बन्धी निर्णय यथाशीघ्र सच्याउन अध्यक्ष शर्मासमक्ष अनुरोध गरेका छन् र त्यस्तो निर्णय आफूहरूलाई मान्य नहुने कर्मचारीहरूले बताएका छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply