तस्करीका अनौठा तरिका ः यस्तो छ सुन तस्करीको भित्री पाटो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय किलो सुन तस्करीको अनुसन्धानका क्रममा फरार रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एसएसपी श्याम खत्रीले अदालतसमक्ष आत्मसर्मपण गरेपछि उनलाई बयान लिदैं पुर्पक्षका लागि थुनामा पठाएको छ । केही दिनअघि मात्र खत्रीले आत्मसमपैण गरेपछि यसका थप रहश्यहरू खुल्ने अनुमान गएिको छ । तर, अभियुक्तहरूसँगको बयानका क्रममा तस्करीका अनौठा तरिकाहरूसमेत खुलेका छन् ।
यसअघिका अनुसन्धानले भन्सारका कर्मचारीहरूसमेतको सेटिङमा भन्सार हुँदै सुन तस्करी भएको देखिएको थियो भने यसपटक भन्सारलाई छल्दै विमानबाट सीधै विमान कम्पनीका स्थानीय कर्मचारीहरूको मद्दतबाट विमानस्थलबाट सुन सुरक्षित रूपमा बाहिरिएको देखिएको छ ।
३३ किलो सुन हराएपछि तानिएको लहरोले ३ हजार ८ सय किलो सुनको तस्करीसम्मको पहरो गर्जिए पनि यो सब काण्ड मच्चिने गरी १६ करोड रुपैयाँबराबरको सुन कसले लुट्यो अहिलेसम्म खुल्न सकेको छैन ।
यस प्रकरणमा जोडिएका तीन जनाको मृत्यु भइसकेको छ । यही सुन हराएपछि नै चूडामणि उप्रेती ‘गोरे’ले यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो । र, यही हत्यापछि नै यो प्रकरण सतहमा आएको थियो ।
सुन कसले लुट्यो भन्नेतर्फ अनुसन्धान प्रवेश नै गरेको छैन । तैपनि अभियुक्तहरूको बयानबाट सुन कसरी काठमाडौं भित्रिएको थियो र अन्तिमपटक कहाँ देखिएको थियो भन्नेसम्म खुल्छ ।
सुन विमानस्थलबाट निकालेर तस्करकोमा पु¥याउन जाने दुई पात्र थिए, थाई एयरलाइन्सका सिनियर प्राविधिक सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ । सानुको विमानस्थलमै भएको ‘दुर्घटना’मा मृत्यु भइसकेको छ । तक्लेको बयानका आधारमा सुन कसरी हराएको थियो भन्नेसम्म झलक बुझ्न सकिन्छ ।
ट्वाइलेटको डस्बिनबाट आउँथ्यो सुन
२०७४ माघ ९ गते थाई एयरको टिजी ३१९ बाट सुन आउँदै गरेको खबर सेटिङवाला सबैकोमा पुगिसकेको थियो । दिउँसो १२ र १ बजे विमान ल्यान्ड भएपछि पहिलेजस्तै गरी सुन ट्वाइलेटको डस्टबिनबाट निकालेर भ¥याङको प्वालसम्म आइपुग्यो ।
भ¥याङबाट झिकेपछि १२ पिस सुन रहेको तक्लेलाई पनि थाहा भयो । साँझ अन्दाजी ५ बजे सानु बनले सुन पु¥याउन जानुपर्छ भनेपछि सुन लुकाएको ज्याकेट उनले लगाए । तस्करीका लागि १० वटा गोजी भएको ज्याकेट बनाउने गरेको अरूहरूको बयानबाट खुल्छ ।
ज्याकेट लगाएका तक्ले र सानु दुई छुट्टाछुट्टै मोटरसाइकलमा बसी सानुको घरमा पुग्छन् । तक्लेले आफ्नो ज्याकेटबाट सुन निकाली सानुको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाउँछन् । सुन पु¥याउनुपर्ने ठाउँ चूडामणि उप्रेतीको अनामनगरस्थित भाडामा लिएको घरमा थियो । दुवै त्यहाँ आ–आफ्नै मोटरसाइकलमा जान्छन् ।
अनामनगरमा लुटिएको सुन
बयानमा तक्लेले भनेका छन्, ‘अनामनगरमा सुन दिन मोटरसाइकल छिराउने सटर अगाडि दुईवटा जति मोटरसाइकल र तीनचार जना मानिस भेला भएको देखें । त्यसपछि सानु बन सर अगाडिअगाडि र म पछिपछि मोटरसाइकल चलाई उक्त सटर क्रस गरेर ग¥यौं ।’
केही अगाडि पुगेपछि सानुले मोटरसाइकल रोक्छन् । उनी भने क्रस गरेर १० र १५ मिटर अगाडि गई मोटरसाइकल रोकी सानुलाई फोन गरी सोध्छन्, ‘किन के भयो ? किन मोटरसाइकल रोक्नुभएको ?’
‘यहाँ खतरा छ जस्तो छ । तिमी यहाँबाट गइहाल,’ सानुले अह्राए । त्यसपछि उनी मोटरसाइकलबाटै झन्डै ५ सय मिटरजति अगाडि एउटा चोकमा पुगे । के गर्ने भनेर अन्योल भएपछि मोटरसाइकल रोकी पुनः सानुलाई फोन गर्छन् । तर, फोन लाग्दैन । उनले बयानमा भनेका छन्, ‘यहीबेला भित्रको गल्लीबाट एउटा स्कुटीमा सानु बन सर पछाडि बसी मैले मोटरसाइकल रोकेको ठाउँबाट क्रस गरेर देब्रे मोडी पुरानो बानेश्वरतिर गए ।’
सानु चढेको मोटरसाइकलमा सुन थियो । तर, सानु अरूले चलाएको स्कुटीमा पछाडि बसी निस्कन्छन् । यहीबीचको अवधिमा मोटरसाइकलसहित सुन हराएको देखिन्छ ।
स्कुटीमा पछाडि बसेर सानु गएको देखेपछि तक्लेले बयानमा भनेका छन्, ‘मैले फेरि सानु बन सरलाई फोन सम्पर्क गर्ने प्रयास गरें । फोन लागेन । मैले मोटरसाइकलबाट पिछा गर्ने प्रयास गरें । तर, मेरो मोटरसाइकल स्टार्ट गरी अगाडि बढेर हेर्दा कुन गल्लीबाट कतातिर छिरे, मलाई थाहा भएन । त्यसपछि सम्बिरप्रसाद तोलाङलाई फोन गरेर ‘सानु सरको फोन लागेन, सानु बन सर एक जना मान्छेको स्कुटीमा बसेर जानुभएको छ, के भएको बुझ’ भन्छन् ।
तर, उनी अफिस जाँदै गर्दा सानु बन आफैंले उनलाई फोन गरेर तिमी कहाँ हो भनेर सोध्छन् ।
‘सिनामंगल पुलमा छु’
‘त्यसो भए अफिसतिर जाऊ,’ यति भनेर सानुले फोन राख्छन् ।
उनले बयानमा अगाडि भनेका छन्, ‘म अफिसको सिनामंगलपट्टि गेटमा पुग्ने बेलामा सानु बन सरले फेरि फोन गरेर तिमी अफिसमा छिर भित्र सेभ हुन्छ भन्नुभयो ।‘
साढे ७ बजे एयरपोर्टको अफिसमा पुग्दा बल्ल उनी सुन लुटिएको चाल पाउँछन् । यसबारे उनले बयानमा भनेका छन्, ‘म साढे ७ बजेको समयमा अफिसमा पुग्दा गोपालकुमार श्रेष्ठ सरले मलाई सानु बनले भनेको सुन त लुटियो रे त ? बाटोमा के–के भयो भनेर सोध्नुभयो । मैले बाटोमा भएको कुरा सुनाएँ, अनि म आफ्नो काममा लागें ।’
त्यसपछि सुरु भयो सुन मगाउने चूडामणि उप्रेती गोरेले दिने यातनाको क्रम । ‘सानु बन सरले हामीलाई सुन भुजुङ गुरुङको मान्छेले लगेको हो भन्नू भनी सिकाएका थिए र सोधपुछ गर्दा हामीले सुन भुजुङ गुरुङले लगेको छ भन्यौं र गोरे भन्ने चूडामणि उप्रेतीका मानिसहरूले सो कुराको भिडियो रेकर्डसमेत गरेका थिए,’ उनले भनेका छन् ।
पात्रहरूको रहस्यमय मुत्यु
भुजुङ गुरुङ पनि सुन तस्करीको सेटिङ मिलाउनेमध्येका एक हुन् । उनी राप्रपाका नेतासमेत हुन् । घटनापछि सानु बिदामा बस्छन् । २०७४ माघ २२ गतेको दिन बिदा थप्न सानु एयरपोर्ट आउँदा सुनको कुरा हुन्छ । ‘कुरा गर्दा मलाई भोलिदेखि तिमीहरूलाई सन्चो हुन्छ, अब केही हुँदैन भन्नुभएको थियो,’ उनले भनेका छन् । त्यही दिन अबुधाबीबाट आउने बिमान इत्तिहाद एयरवेजको टेक्निकल हेन्डलिङका लागि तयारी हुँदै गर्दा बाहिर अफिस अगाडि रोडमा फ्युल ट्यांकरले सानु बनलाई किच्यो र त्यहीँ उनको मृत्यु भयो ।
तस्करीका नौला तरिका
सानु बनको मृत्युपछि भने गोरेका मान्छेहरूले उनलाई फोन गर्न र बोलाउन छाड्छन् । सानुको मृत्यु भएको करिब १ हप्तापछि गोपालकुमार श्रेष्ठले ड्युटी गएको समयमा उनलाई भेटी गोरे भन्ने चूडामणि उप्रेतीलाई पैसा आवश्यकता परेको छ रे, पछि फिर्ता दिन्छ, कति सक्छौ सापटी देऊ भनेपछि उनले ९ लाख रुपैयाँ दिएको बयानमा उल्लेख छ । तर, पछि फेरि उनलाई यातना दिने काम सुरु हुन्छ । फागुन १६ गते उनलाई सिरहाको जंगलमा लगेर यातना दिइन्छ । पछि फेरि यत्तिकै घर जान बसको टिकट काटिदिएको बयान उनले दिएका छन् ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिन प्रतिवेदनसमेतका आधारमा मोरङ जिल्ला अदालतमा बुझाइएको मिसिलमा विभिन्न प्रतिवादीहरूको बयानबाट सुन तस्करीको नौलो तरिका खुलेको छ ।
के हो त तरिका ?
अनुसन्धानका क्रममा सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटको डस्टबिनमा राख्ने, विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्ने, त्यो सुन विमानमा यात्रुहरू ओर्लन लगिने भ¥याङमा विशेष किसिमको बनाइएको प्वालमा छिराउने गरेको खुलेको छ । जहाजमा यात्रुहरू चढ्ने र ओर्लने इन्जिनसहितको भ¥याङ हुने गर्छ । त्यसको मेन च्यानलमा रहेको प्वालमा बोल्ट लगाई बीचमा सुन अड्किने ठाउँ बनाइएको हुन्छ । यात्रुहरू चढ्ने र ओर्लने काम सकिएपछि भ¥याङलाई सुरक्षित रूपमा विमानस्थलको ग्यारेजमा राख्ने र राति भएपछि भ¥याङको प्वालबाट सुन निकाल्ने अनि निकालिएको सुन शरीरमा लुकाई आयल निगमको गेट हुँदै एयरपोर्टबाट बाहिरिने गरेको तथ्य आएको छ । त्यसपछि मोटरसाइकलमा सुन राखी तस्करले भनेको ठाउँमा सुन पु¥याउने र विमानका कर्मचारीको मात्र सेटिङले विमानस्थलमा भन्सारलगायतका अन्य सुरक्षा निकायसितको सम्पर्कमै नरही सुन यसरी सजिलै तस्करी हुने देखिएको छ ।
अनुसन्धानमा थाई एयरवेजको दुबई हुँदै आउने उडानबाट धेरै सुन तस्करी भएको देखिएको छ ।
थाई एयरको हेल्पर टेक्निसियनका रूपमा काम गर्ने तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले कसको जिम्मेवारी के हुन्थ्यो भनी बयानमा खुलाएका छन् ।
अभियोगपत्रमा विभिन्न प्रतिवादीहरूका बयान छन् । तीमध्ये केही प्रमुख प्रतिवादीले आफूले पाउने रकम खुलाएका छन् । थाइ एयरवेजमा ३० वर्षदेखि काम गरिरहेका दोराम खत्रीको काम ट्वाइलेटबाट सुन निकाल्ने र भ¥याङको प्वालमा छिराउने थियो । उनलाई सुरुमा एक केजीको ३५ हजार दिने भनिएको थियो ।
बयानमा उनले भनेका छन्, ‘एक पटकमा मैले कम्तीमा ५० हजारदेखि बढीमा २ लाख ५० हजार रुपैयाँसम्म बुझ्ने गर्थे । कहिलेकाहीँ महिनामा १०÷१५ चोटिसम्म सुन आउँथ्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरलाइन्सको अपरेटरको काम गर्ने एलबी भन्ने लालबहादुर मगरका अनुसार उनको काम थाई एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि यात्रुहरू उत्रने भ¥याङ जडान गर्ने थियो, जसमा प्वाल पारिएको हुन्थ्यो ।
त्यसपछि भ¥याङ निकाली पार्किङ स्थलमा लगी उक्त सुनको पोकाहरू निकाली त्यहीँ फोहोर फाल्न राखेको बाल्टिनमा राख्ने उनको काम थियो । उनले एकपटकमा ४७ हजार रूपैयाँसम्म पाएको र ९०÷१०० पटक गरेको बयान दिएका छन् ।
थाई एयरको हेल्पर टेक्निसियनका रूपमा काम गर्ने तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले सुरुमा थाहै नभई यसमा संलग्न हुँदा ६ हजार रुपैयाँ पाएको र पछि एकपटकको ६५ हजार रुपैयाँसम्म पाएको बयान दिएका छन् ।
विमानस्थलमा २०४० सालदेखि स्थायी जागिर खाइरहेका वीरेन्द्रमान श्रेष्ठलाई सुरुमा थाइ एयरका सुपरभाइजरले ५ हजारसम्म मात्र दिन्थे । त्यतिबेलासम्म उनलाई तस्करीको प्रक्रिया थाहा थिएन । पछि भुजुङ गुरुङको घरसम्म सुन पु¥याउने काममा लागेका उनले एकपटकमा २ लाख ७५ हजार रूपैयाँसम्म पाएको र रकमबाट विभिन्न ठाउँमा घरजग्गा किनेकोसम्म बयान दिएका छन् ।
विगत ४० वर्षदेखि थाई एयरलाइन्समा टेक्निसियनका रूपमा काम गर्ने गोपालकुमार श्रेष्ठ सुन मगाउनेहरूसित नजिकमा रहेर सेटिङ मिलाउँथे । कहिलेकाहीँ उनले सुन पु¥याउने कामसमेत गर्थे ।
९०÷१०० पटक यस्तो काम गरेको भन्ने उनले बढीमा १२ पोका सुन पु¥याउँदा १२ लाख ५५ हजार रुपैयाँसम्म पाएको बयान दिएका छन् ।
३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाएको छ ।
पाँच वर्षमा ४ सय २१ पटक सुन तस्करी
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सुनका मालिक गोरे भनिने चूडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा ४२१ पटक सुन तस्करी गरेको उल्लेख छ । अभियोगपत्रअनुसार पाँच वर्षमा ३ हजार ७ सय ९९ किलो ५ सय ५९ ग्राम (नेपाली मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ बराबरको) सुन तस्करीका लागि विमानस्थल प्रयोग भएको छ ।
कोको थिए तस्करमा संलग्न र कति रकम पाए तिनले ?
जसमा गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वांगेल घले, कपिलराज पुरीलगायत ६० जनाले तस्करी सफल बनाएका थिए ।
गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरूलाई २ करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेला परेको छ । गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्वडीआईजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई १ करोड १२ लाख ९२ हजार, एसपी खनाललाई ५ लाख, डीएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।
उक्त तथ्य छानबिन समितिबाट बयान लिइएका अभियुक्तले समेत पुष्टि गरेका छन् । समितिकै सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङमार्फत जिल्ला सरकारी वकिल कार्यालयले मोरङ अदालतमा बुझाएको आरोपपत्रअनुसार गोरेका सहयोगी मोहन काफ्लेले २०७२ देखि एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतले सुन तस्करीमा सहयोगी बनाउँदै आएको उल्लेख छ ।
जुन कुराको पुष्टि फरार एसएसपी खत्रीका चालक जवान खड्काले बयानमा उल्लेख गरेका छन् । निरौला विमानस्थलको सुरक्षा प्रमुख रहँदा काफ्लेले सुन ल्याएपछि सीधै उनको कोठामा लैजाने र एसएसपी खत्रीसँगै एसपी खनालले आफैं स्कर्ट गराएर सुन विमानस्थल बाहिर कटाउँदै आएको बयान जवान खड्काले दिएका छन् । यस्तो घटनाले सुन तस्करीको जालो कतिसम्म दह्रो रहेछ र कस्ताकस्ता तरिका प्रयोग गरेर सुन तस्करी हुँदो रहेछ भन्ने पुष्टि भएको छ ।
पूर्वअधिकारीहरूको बचाउ
यता, सुन तसकरीको घटना छानबिनले लहरो तान्दा पहरो गर्जिएपछि त्यसले अन्तै मोड लिएको छ । प्रहरीका केही पूर्वअधिकारीहरूले आरोपीहरूको बचाउने प्रयास गरे । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीद्वय हेमन्त मल्ल र रमेश खरेलले एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल काबिल प्रहरी अधिकारी भएको र उनीहरूमाथि अभियोग लगाउनु त्रुटि भएको भन्दै मिडियाका सम्पादकहरूसँग गुनासोसमेत गरे । उनीहरूले गृह मन्त्रालयको छानबिन समिति संयोजक ईश्वराज पौडेल नै अनुभवहीन भएको आरोप लगाए । पूर्वडीआईजी रमेश खरेलले चरेशको गिरोह समात्न कुनै बेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै यो प्रकरणले नेपाल प्रहरीका लोहनीजस्ता क्षमतावान् र इमानदार अनुसन्धानकर्ताहरूको शिर निहुरिएको उल्लेख गरेका थिए । तर, यहाँ यस्ता तथ्यहरू छन्, जसले उनीहरूको आरोप र तर्कको कुनै अर्थ राख्दैन । अदालतले एसएसपी लोहनीले गलत मनशायले काम गरेको भन्दै थुनामा पठाएको थियो । अदालतको आदेशमा भनिएको छ, ‘सनम शाक्यको हत्या भएको जानकारी पाएलगत्तै सम्बन्धित इलाका प्रहरीलाई घटनाको जानकारी नगराई दोषीलाई तुरुन्तै पक्राउ गराउनुपर्ने कानुनी कर्तव्य रहेकोमा एसएसपी लोहनीले सो कार्य नगरी आफ्ना प्रहरी अधिकृतलाई खटाएको देखिन्छ । त्यसरी खटाउँदा आफूले माथिल्लो तहबाट निर्देशन लिएको भन्ने निजको भनाइतर्फ विचार गर्दा माथिल्लो निकायबाट पनि गैरकानुनी कार्य गर्न निजलाई निर्देशन भएको भन्ने सम्झन पनि मिल्दैन ।’ त्यस्तै, अदालतले डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलले हत्या र तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरेसँग फोन सम्पर्क गरी केस मिलाउने सन्दर्भमा वार्ता गर्दै धरानमा मृतकको लास मगाएको र लासलाई मोरङ पु¥याइ रातभर होटेलमा राखेर शंकास्पद कार्य गरेको जनाएको छ । ‘चालक टेकराज मल्ल ठकुरीसँग निज प्रहरीको धरानमा भेट भई सो ठाउँबाट लास विभिन्न ठाउँमा घुमाउँदै इटहरीबाट धरान लगिएको र पुनः इटहरीबाट विराटनगर लगेर मात्र लास बरामद गरेको देखाइ जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको देखिन्छ । उक्त लास विभिन्न ठाँउमा घुमाइरहेको समयमा गोरेसमेतका मुख्य अभियक्तहरूले भाग्नेउम्कने मौका पाएको देखिन्छ भने उर्लावारीको लास धरान इटहरी हुँदै मोरङ ल्याउनुपर्ने त्यस्तो के गम्भीर परिस्थित परेको हो भन्ने कुरा मिसिलबाट खुल्दैन,’ आदेशमा थप उल्लेख छ ।
अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेको भन्नेसमेत सई बालकृष्ण सन्जेल र डीएसपी प्रजित केसीको बयानबाट देखिएको छ । अदालतको दृष्टिमा उनीहरूको भनाइबमोजिम न त मुख्य अभियुक्तहरू पक्राउ परे, न त उनीहरूले कानुन अनुकूलको कार्य गरेको देखियो,’ अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलले बयानमा उल्लेख गरेका छन् । तर, खरेलले अपराधी पक्राउ गर्न चरेसको प्रसंग गरेजस्तो न त हत्या र तस्करीका नाइके गोरे पक्राउ परे, न त सुन नै बरामद भयो । यो कुरालाई अदालतले गम्भीर त्रुटिका रूपमा लिएको छ । लोहनी र केसीले गरेको अर्को गम्भीर गल्ती हो, हत्याका योजनाकार गोरेलाई अभियुक्त नबनाउनु । गोरे, केसी र सन्जेलबीचको बार्तालापमा पनि गोरेलाई अभियुक्त अर्थात् प्रतिवादी नबनाउने सम्झौता भएको छ, जुन कुराको अडियो नै बाहिर आएको छ । अनि यो पनि अभियुक्त समात्ने नाटक हो र ? प्रश्न गम्भीर बनेको छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply