22nd November 2017, Wednesday

E-budhabar

तीव्र गतिका धावक मदन भण्डारी



तीव्र गतिका धावक मदन भण्डारी

चलचित्रको सुरुमै आमदर्शकको ध्यान खिच्न सफल नायकसँगै अन्त्यमा पनि सुखान्त अनुभूति गर्न चाहन्थे दर्शक † तर, त्यस्तो भएन । फिल्म त सकियो, तर आफ्नो प्रिय नायकलाई बीचैमा गुमाउनुपर्दा दर्शकहरू खिन्न भए । हो, नेपाली राजनीतिमा यस्तै एउटा चामत्कारिक नायकको बीचैमा अवसान भयो । यो राजनीति हो, कथा टुंगिँदैन, अन्त्यहीन छ । तर, सवाल यही हो कि कथाले कस्तो मोड लिन्छ ? पात्रहरूले कस्तो भूमिका निर्वाह गर्दछन् ? उनीहरूले आमदर्शक तथा पाठकलाई आनन्दानुभूति दिइरहन सक्छन् कि सक्दैनन् ? हो, यस्तै नेपाली राजनीतिका एक नायक, जसले सबैलाई तानिरह्यो, सबैको मन मस्तिष्कलाई उद्वेलित गरिरह्यो, पक्ष वा विपक्षमा उसैका बारेमा बहस भइरह्यो, कथालाई सही ढङ्गले उठायो, तर अवतरण गर्न पाएन अर्थात् मदन भण्डारी ।
यसपटक २४औं स्मृति दिवसका अवसरमा फेरि एकपटक हामी सबैले मदन भण्डारीलाई सम्झना ग¥यौं ।
लामो दूरीका धावकका रूपमा हेर्न चाहेको थियो नेपाली समाजले मदन भण्डारीलाई, तर उहाँ छोटो दूरीका तीव्र धावक बनेर विश्राम लिन पुग्नुभयो । तीसको मध्यतिर पार्टीको केन्द्रीय भूमिकामा उक्लनुभएका मदन भण्डारीले चालीसको मध्यतिर आइपुग्दा निर्णायक स्थान ओगट्न सफल हुनुभयो । २०४६ भदौमा तत्कालीन नेकपा (माले)को महासचिव चुनिनुभएका मदन भण्डारी २०४९ माघमा सम्पन्न नेकपा (एमाले)को पाँचौं महाधिवेशनबाट पुनः महासचिव चुनिनुभयो र त्यही राजनीतिक परिचय बोकेर २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको षड्यन्त्रमूलक जिप दुर्घटनामार्फत आफ्ना प्रिय सहयोद्धा कमरेड जीवराज आश्रितसँगै महाविश्राम लिन पुग्नुभयो ।

madan
विश्व कम्युनिस्ट आन्दोलनमा अनेकौं उतारचढावहरू प्रकट भइरहेका थिए । चिनियाँ र सोभियत धुरीको प्रभावका रूपमा देशदेशको कम्युनिस्ट आन्दोलन विभाजित थियो । नब्बेको दशकमा आएको महाप्रलयले सोभियत युनियनलगायत पूर्वी युरोपबाट कम्युनिस्ट पार्टीका सत्ताहरू एकपछि अर्को गरी ढल्दै थिए । देशहरू टुक्रिरहेका थिए । त्यसको प्रभावले सबै महादेशमा कम्युनिस्टहरू कि त अझै कठोर बनेर दुस्साहसी बाटो समात्न खोज्दै थिए कि पलायनका लागि भागदौड गर्दै थिए । त्यस्तो बेलामा उल्लिखित घटनाहरूलाई समीक्षा गरेर सही शिक्षा लिँदै देशको माटोमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्दै कम्युनिस्ट पार्टीलाई जनसमक्ष स्थापित गर्ने गम्भीर चुनौती खडा भएको थियो । मदन भण्डारीले विश्वलाई नजिकबाट अध्ययन गर्नुभयो । माक्र्सवादको झन्डा फालेर विसर्जनवादको बाटो समाउन उहाँले मञ्जुर गर्नुभएन । बरु, माक्र्सवादलाई एउटा विज्ञानका रूपमा बुझ्नुभयो र ढल्कँदै गरेको त्यही माक्र्सवादको झन्डालाई नेपाली धर्तीबाट माथि उठाउने संकल्प गर्नुभयो । तब त अमेरिकाबाट प्रकाशित हुने पत्रिका ‘न्युजविक’ले लेख्यो, ‘नेपालमा कार्ल माक्र्स जीवित छन् †’
पूर्वीय सभ्यता र यहाँको समाजको विकास तथा बनावट, शान्ति र अहिंसाको मुख्य भावसहितको बुद्ध दर्शनको उद्गमस्थल, ससाना बाइसे–चौबिसे राज्यलाई एकीकृत गर्दै बनेको नेपाल राष्ट्र । अनकौं जाति, भाषा, धर्म र संस्कृतिको सङ्गमस्थल नेपाल । ब्रिटिस र तिब्बतसँगको लडाइँबाट जोगिएको नेपाल राष्ट्रको सिमाना । उत्तरी र दक्षिणी दुवै देशमा भएका स्वतन्त्रता संग्राम र मुक्ति आन्दोलनको प्रभावबाट बिस्तारै राजनीतिक चेतना प्राप्त गर्दै गरेको नेपाली समाज । तीव्र रूपमा धु्रवीकृत भइरहेको विश्व र फैलिँदै गएको अन्तर्राष्ट्रिय बजार र स्वयं नेपाली समाजको रूपान्तरणका क्रममा जन्मँदै गएको मध्यमवर्ग र त्यसको छटपटी । राणाशाहीविरोधी आन्दोलनहरूका दौरानमा देखा पर्न थालेको प्रजातन्त्र तथा स्वतन्त्रताको राष्ट्रिय संकल्प । सामन्तवादविरुद्ध स्थानीय तथा राष्ट्रिय स्तरबाट उठिरहेको प्रतिरोधी संघर्ष । यिनै वस्तुगत आधारमा उभिएर कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
गणतन्त्र नेपालको रणनीतिक नाराका साथ स्थापित भएको कम्युनिस्ट पार्टीले अनेकौं कार्यनीतिक खुट्किलाहरू पार गर्दै आयो । २०१५ सालको संसदीय निर्वाचनमा भाग लिएको कम्युनिस्ट पार्टीले आफ्ना चारजना प्रतिनिधि संसद्मा पठाउन सफल भयो । चाखलाग्दो विषय त यो भयो कि ०१७ सालमा प्रजातन्त्रलाई ‘कु’ गरेर पञ्चायती व्यवस्था लागू गर्दा विघटित संसद्मा दुई तिहाइ बहुमत भएको नेपाली कांग्रेसले भन्दा चार सिट मात्रै भएको नेपाल कम्युनिस्ट पार्टीले पुष्पलालको नेतृत्वमा उच्च स्वरमा विघटित संसद्को पुनःस्थापनाको नारा अघि सा¥यो । कमरेड पुष्पलालले पञ्चायतविरुद्ध वामपन्थी शक्ति र नेपाली कांग्रेससहितको संयुक्त मोर्चामार्फत शान्तिपूर्ण संयुक्त जनआन्दोलनको नीति अघि सार्नुभयो । तर, नेपाली कांग्रेसको उग्र कम्युनिस्टविरोधी भावनाका कारण त्यो कार्यान्वयन हुन सकेन ।
विभाजित र छरपस्ट भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने सन्दर्भमा २०२७÷२८ को झापा विद्रोहले चुम्बकीय भूमिका निर्वाह ग¥यो । तर, त्यसले अंगीकार गरेका सिद्धान्त, संघर्ष र संगठनमा उग्रवामपन्थी दुस्साहसवाद हावी थियो । त्यसलाई सैद्धान्तिक रूपले नै नसच्याउँदासम्म त्यसको अवसान अनिवार्य हुन्थ्यो । पार्टीमा सैद्धान्तिक पुनःसंरचनाको काम सुरु भएको थियो । ठीक त्यहीबेला कमरेड मदन भण्डारी आफ्ना सहकर्मीहरूसहित नेकपा (माले) को धारमा समाहित हुनुभयो । पुष्पलालको स्कुलिङबाट हुर्किनुभएका मदन भण्डारीको आगमनले नेकपा (माले) को स्थापना र त्यसको सैद्धान्तिक रूपान्तरणको अभियानले थप बल प्राप्त ग¥यो ।
पार्टीले जनसंगठन निर्माण गर्ने नीति लियो । संगठनात्मक ढाँचा परिवर्तन ग¥यो । आन्तरिक तयारीका साथसाथै उठिरहेका शान्तिपूर्ण आन्दोलनमा पार्टीले आफूलाई समाहित गर्दै लग्यो । विद्यार्थी, शिक्षक र मजदुर आन्दोलनबाट पार्टीले राम्रो सफलता हासिल ग¥यो । पार्टीले पञ्चायती चुनावमा भाग लिने र भण्डाफोर गर्ने नीति लियो, जुन सर्वाधिक सफल रह्यो । यसैक्रममा अनेरास्ववियुको पहलमा नेविसंघसहितको संयुक्त विद्यार्थी आन्दोलनको क्रम अघि बढ्यो । त्यस आन्दोलनले ‘आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका निम्ति पञ्चायतको अन्त्य’ भन्ने नारा अघि सा¥यो, जुन अत्यन्तै लोकप्रिय बन्यो । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिले पञ्चायतविरुद्ध संयुक्त जनआन्दोलनको वस्तुगत अवस्था सिर्जना ग¥यो । ठीक त्यहीबेला २०४६ साल भदौ महिनामा सिरहामा नेकपा (माले)को चौथो महाधिवेशन आयोजना गरियो । पार्टीका तत्कालीन महासचिव जेएन खनालले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेजमा अन्य कुराका अतिरिक्त दुईवटा सवाल ज्यादै महŒवपूर्ण रूपमा प्रस्तुत भए– पहिलो, २०१८ सालमा पुष्पलालले उठाउनुभएको संयुक्त जनआन्दोलनको नीतिलाई नयाँ सन्दर्भसहित पुनः अघि सारियो । दोस्रो, क्रान्तिपछि पनि बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अवलम्बन गर्ने सैद्धान्तिक प्रतिबद्धता प्रकट गरियो । यी नीतिहरूको निर्माणमा सामूहिक भूमिका निर्वाह गर्नुभएका मदन भण्डारी महाधिवेशनपछि महासचिवका रूपमा त्यसको थप विकास र कार्यान्वयन गर्ने जिम्मेवारीमा स्थापित हुनुभयो । उहाँको नेतृत्वमा पञ्चायतविरुद्धको संयुक्त जनआन्दोलनमा नेकपा (माले) ले एक्लै र वाममोर्चामार्फत भाग लियो र नेतृत्व ग¥यो । पञ्चायत ढल्यो । यो नीति सफल भयो । कमरेड मदन भण्डारीले आफूलाई कमरेड पुष्पलालको सच्चा उत्तराधिकारी प्रमाणित गर्नुभयो ।
२०४६ सालको परिवर्तनसँगै मदन भण्डारीको नेतृत्व खुला रूपमा प्रकट भयो । अन्तर्राष्ट्रिय रूपमा धक्का खाइरहेको कम्युनिस्ट आन्दोलनबाट निराश बनिरहेको नेपालको श्रमजीवी वर्ग, दलाल पुँजीवादको आक्रमणबाट छटपटाइरहेको मध्यमवर्ग, माक्र्सवादी पहिचानसहितको वैकल्पिक बाटो खोजिरहेका बुद्धिजीवी समुदायका लागि क्रान्तिकारी आशावादका रूपमा मदन भण्डारी प्रकट हुनुभयो । उहाँले तिनै वर्ग र समुदायको आवाज बोल्नुभयो । सामन्ती पुनरुत्थानवादीलाई ललकार्नुभयो । देशभक्तिको झन्डा उठाउनुभयो । नवउदारवादको पतन र वामपन्थी शक्तिको विजयको सपना दिनुभयो । भुइँ तहका मानिसहरूले आफ्नो आवाज बोल्ने नेता खोजिरहेका थिए । उनीहरूले मदन भण्डारीलाई पाए । यसरी, लाखौं अँगालोमा बाँधिनुभयो मदन भण्डारी । आफू र आफ्नाका लागि होइन, उनीहरूका लागि काम गर्नुभयो मदन भण्डारीले ।
२०४६ सालको चौथो महाधिवेशनमा भ्रूणका रूपमा देखा परेको सैद्धान्तिक पक्षलाई मदन भण्डारीले राम्ररी ठम्याउनुभयो, त्यसको रेखदेख गर्नुभयो, त्यसलाई जन्माउनुभयो, पालनपोषण गर्नुभयो, त्यसलाई पहिचान दिनुभयो, अन्ततः एउटा अविभावकका रूपमा त्यसको नामकरण गर्नुभयो, ‘जनताको बहुदलीय जनवाद ।’ हो, २०४९ साल माघमा सम्पन्न नेकपा (एमाले) को पाँचौं महाधिवेशनले ‘विसर्जनवाद र जडसूत्रवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं †’ भन्ने नारासहित कमरेड मदन भण्डारीको नेतृत्वमा प्रस्तुत भएको ‘जनताको बहुदलीय जनवाद’लाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा पारित ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक भण्डारमा मदन भण्डारीले अतुलनीय योगदान गर्नुभयो । उहाँले अघि सार्नुभएको सैद्धान्तिक प्रस्थापनालाई अझ विस्तार र विकसित गर्ने क्रममा कमरेड माधवकुमार नेपाल र जेएन खनाललाई नेतृत्वमा पछिल्ला महाधिवेशनहरूबाट नेकपा (एमाले)ले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा माथि उठाएको छ भने कमरेड केपी शर्मा ओलीको नेतृत्वमा त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने क्रम अघि बढिरहेको छ । आज हामी सगर्व भन्दछौं, ‘माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिलाई मार्गनिर्देश गर्ने सिद्धान्त हो ।’
मदन भण्डारी कुनै अलौकिक अवतार नभएर एक सर्वसाधारण मानिस हुनुहुन्थ्यो । केही मानवीय र केही सामाजिक परिवेशबाट उत्पन्न कमीकमजोरीका बाबजुद उहाँसँग अद्भूत क्षमताहरू थिए । त्यही कारणले जुनीजुनीसम्म नेपाली समाजले उहाँलाई सम्झिरहनेछ । जनताको बहुदलीय जनवाद कुनै गीता, कुरान वा बाइबलका उपदेशका रूपमा विकसित भएको सिद्धान्त होइन । यो त नेपाली धर्तीको माक्र्सवाद हो । यो मुक्तिको सिद्धान्त हो । राष्ट्रियताको झन्डा हो । देशभक्तिपूर्ण संघर्षको पे्ररणा स्रोत हो । नेपाली समाजको समृद्धिको सपना हो । आजसम्मका मानवीय मूल्य र मान्यताको उच्चतम सम्मान हो । सारमा शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गर्ने र त्यही आधारमा समाजवादी लक्ष्य हासिल गर्ने माक्र्सवादी सिद्धान्त हो । यसरी हामी मदन भण्डारीलाई एकजना कुशल राजनेता र सिद्धान्तकारका रूपमा सम्झिरहनेछौं । चुनौती र परीक्षा यही छ कि के हामी उहाँले भनेको सही बाटोमा हिँडिरहेका छौं वा हिँड्छौं ? के हामी उहाँका सही उत्तराधिकारी हुन सक्छौं ? यसका लागि बलियो साहस, विवेक, सामूहिक प्रतिबद्धता र एकताबद्ध प्रयत्नको खाँचो छ ।
२४औं स्मृति दिवसका अवसरमा पुनः एकपटक हार्दिक श्रद्धाञ्जली जननेता भण्डारीलाई

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा