22nd June 2018, Friday

E-budhabar

दलित सौन्दर्य–बोध बुझ्न उपयोगी



दलित सौन्दर्य–बोध बुझ्न उपयोगी

हामीकहाँ दलित आन्दोलनको जग बसेको सात दशक बितिसकेको छ । विगतका निरंकुश कालखण्डमा दलित आन्दोलनले सार्थक दिशा समात्न नसके पनि बहुदलीय व्यवस्थाको पुनःस्थापना भएयताका करिब अढाइ दशकको अवधिमा भने दलित आन्दोलनले गति लिएको मात्र छैन, जातीय छुवाछुत र भेदभावका बाक्ला धर्साहरू पनि क्रमशः मेटिँदै गएका छन् । चेतनाको पातलो स्पर्श पाएका ग्रामीण भेगहरूमा छुवाछूत र भेदभावका घटनाहरू यदाकदा हुने गरे पनि समग्रतामा भने जातीय विभेदका पर्खालहरू ढल्दै गइरहेका छन् ।
यद्यपि, जातीय विभेदका क्रूर र नग्न तस्बिरहरूलाई सिर्जनाका माध्यमहरू साहित्य, कला, सिनेमाबाट सतहमा ल्याउने कार्य भने नभएका होइनन् । यस्तो कार्यमा दलित र गैरदलित दुवै वृत्तका सर्जकहरूले अग्रसरता देखाउँदै आएका छन् । त्यसो त नेपाली साहित्यमा दलित साहित्य र सौन्दर्यबारे गहन रूपमा एकाध बहस मात्र भएका छन् । तर, गैरदलित लेखक र चिन्तकहरूले थालेका दलित साहित्य र सौन्दर्य विषयक बहस केही वर्षपूर्व एउटा गहन कृतिमार्फत बाहिर आएको थियो । कृतिको नाम थियो, ‘दलित सौन्दर्य–बोध’ । यद्यपि, उक्त गहन कृतिले पर्याप्त चर्चा–परिचर्चा भने बटुल्न पाएन ।
अधिकांश प्रगतिशील लेखक–चिन्तक र एकाध मात्र प्रजातन्त्रवादी चिन्तकको विचार र दृष्टिकोण समेटिएको उक्त पुस्तकमा एमाले नेता एवं साहित्यकार प्रदीप ज्ञवालीले यस्ता विचार पस्किएका थिए, ‘दलितहरूले लेखेको साहित्य मात्रै दलित साहित्य हुने र गैरदलितले दलित सवालमा लेखेका साहित्य गैरदलित साहित्य हुने परिभाषा ग¥यौं भने दलित साहित्यलाई हामीले धेरै संकुचित गर्नेछौं । वास्तवमा दलित विषयमा रचिएका सबै साहित्य र सिर्जनालाई दलित साहित्यको कोटीमा राख्नुपर्दछ ।’
माक्र्सवादी सौन्दर्य–चिन्तक मोहन वैद्यको तर्क भने यस्तो छ, ‘वर्गीय समाजमा सौन्दर्यशास्त्रको वर्गीय चरित्र हुन्छ । त्यसो हुँदाहुँदै पनि दलित सौन्दर्यशास्त्र र माक्र्सवादी सौन्दर्यशास्त्रबीच के कस्तो सम्बन्ध हुन्छ भन्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्छ । उत्पीडित वर्गका हकहितको प्रतिनिधित्व गर्ने हिसाबले आज पनि माक्र्सवादी सौन्दर्यशास्त्र नै सबैभन्दा उच्च किसिमको छ । सबै जातजाति पनि उत्पीडित वर्गकै विभिन्न समुदाय भएकाले तिनको समस्या समाधान गर्न माक्र्सवादी सौन्दर्यशास्त्र उपयोगी हुन्छ ।’
डा. तुलसी भट्टराईको कथन भने यस्तो छ, ‘अहिलेसम्म हामीले राष्ट्रिय स्तरमा कसले राम्रो कोदालो बनायो, कसले हँसिया अथवा खुकुरी राम्रो बनायो भनेर राष्ट्रिय पुरस्कार दिने कार्यक्रम गर्न सकेका छैनौं । हामी कृषिप्रधान देशका बासिन्दा तर कृषिका महŒवपूर्ण औजार बनाउनेहरूलाई हामीले सम्मान गर्न सकेका छैनांै । राष्ट्रभरिका कपडा वा जुत्ता सिलाउने परम्परागत श्रमिकलाई पनि सम्मान गर्न नसकेकाले अब नयाँ परम्पराको थालनी गर्नुपर्छ ।’ सो कृतिमा अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, नेता गोपाल किराती, लेखक आहूति र गायक खुसीराम पाख्रिनका दृष्टिकोणहरू समेटिएका छन् ।
साथै, डा. ताराकान्त पाण्डेयको ‘समसामयिक प्रगतिशील कवितामा दलित–चेतना’, ईश्वरचन्द्र ज्ञवालीको ‘साहित्यमा दलित सौन्दर्य र सौन्दर्य–बोध’, रमेशप्रसाद भट्टराईको ‘दलित परिप्रेक्ष्य ः प्रगतिशील आख्यानका सन्दर्भमा’, घनश्याम ढकालको ‘दलित सौन्दर्यशास्त्र ः सम्भावना र स्वरूप’, भोलानाथ ओझाको ‘नेपाली भाषाको साहित्यमा दलित चेतना’ र संगीतश्रोताको ‘दलित सौन्दर्यशास्त्रका आधार’जस्ता गहन अनुसन्धानमूलक सामग्रीहरूले कृतिको उचाइ बढाउन यथेष्ट भूमिका निर्वाह गरेका छन् ।
कृति ः दलित सौन्दर्य–बोध
विधा ः सौन्दर्यशास्त्र
सम्पादक ः राजेन्द्र महर्जन
प्रकाशक ः समता फाउन्डेसन
पृष्ठ ः ३०४
मूल्य ः ४००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा