देउवाविरुद्ध अविश्वासको प्रस्तावको दबाब
काठमाडौं । सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पार्टीभित्रैबाट दबाब सुरु भएको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाउनुपर्ने भन्दै रामचन्द्र पौडेल समूहका नेताहरूले शीर्ष नेताहरूलाई दबाब दिन थालेका छन् ।
देउवा प्रधानमन्त्री बन्नुअघि नै पार्टीभित्र स्वेच्छाचारिता मौलाएको, नियुक्तिमा एकलौटी गरिएको, बदनाम व्यक्तिहरूलाई मन्त्री, राजदूतमा सिफारिस गरेर पार्टीको छवि धमिल्याएको भन्दै पौडेल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थियो । तर स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अविश्वासको प्रस्तावको खेलमा लाग्दा पार्टीले शर्मनाक हार बेहोर्न सक्ने भन्दै निर्वाचनअघि त्यो विषय नउठाउने गरी पौडेल समूहले यसलाई थामथुम पारेको थियो । तर अहिले दुई चरणको निर्वाचन भइसक्दा पहिलो स्थानमा रहेको पार्टी दोस्रोमा झरेपछि कांग्रेसभित्र अविश्वासको प्रस्तावको विषयले अनौपचारिक छलफलमा प्रवेश पाएको छ ।
दोस्रो चरणको निर्वाचनमा पनि अपेक्षित परिणाम नआएपछि चुनावको समीक्षा गर्ने भन्दै गत शनिबार डा. रामशरण महतको निवासमा पौडेल समूहका नेताहरूको गोप्य बैठक बसेको थियो । सो बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, दिलेन्द्र बडू, डा. मीनेन्द्र रिजाललगायतका नेताहरू सहभागी थिए । सो बैठकमा पनि अविश्वासको प्रस्तावको सामान्य कुरा उठेको स्रोतले बतायो । सो बैठकमा सहभागी नेताहरूले देउवाले आफूहरूलाई गन्दै नगनेको, मन्त्रिमण्डलको भागबन्डामा पनि मतलब नदिएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्ने कुरा राखेकोे बताइन्छ ।
त्यसो त देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ पौडेल समूहको अलग्गै बैठक बसेर सम्मानजनक हैसियत नपाए मन्त्रिपरिषद्मा नै नजाने निर्णय गरेको थियो । पहिलो चरणमा मन्त्री चयनप्रति असन्तुष्टि देखाउँदै पौडेलले प्रधानमन्त्री देउवाको शपथग्रहण समारोह नै बहिष्कार गरेका थिए । तर त्यसले नराम्रो सन्देश जाने भन्दै देउवाले फकाएपछि उनी अन्तिम समयमा देउवाको शपथ समारोहमा उपस्थित भएका थिए ।
पौडले समूहले देउवा पार्टी सञ्चालनमा पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ । महाधिवेशन भएको अढाइ वर्ष बितिसक्दा पनि ६ महिनाभित्रै गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मनोनयन देउवाले अझै गर्न सकेका छैनन् । त्यस्तै पार्टीका विभागहरूको गठनको काम पनि अलपत्र नै छ । पार्टीको नेतृत्व सम्हालेपछि उनले लिएका निर्णयले पार्टी नै बदनाम हँुदै आएको छ । चाहे त्यो प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण होस् चाहे राजदूत नियुक्ति, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको अविश्वासको प्रस्ताव नै किन नहोस्, त्यसमा देउवाले गरेको निर्णय र लिएका अडानले कांग्रेसको छवि रसातलमा पु¥याएको कांग्रेस कार्यकर्ताहरूकै बुझाइ छ । त्यसो त चौथोपटक प्रधानमन्त्री भएर विगतमा बिग्रिएको छवि सुधार्ने मौका पाएका देउवाले यस बीचमा त्यो मौकाको पनि सदुपयोग गर्न सकेनन् । प्रदेश नम्बर २ को निर्वाचनको मिति असोज २ गतेलाई सारेर ‘असक्षम’को पगरी गुथिसकेका उनले अरू त अरू प्रधानमन्त्री भएको एक महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिने त परको कुरा, आफ्नै सक्रिय सचिवालयसमेत बनाउन सकेका छैनन् ।
अहिल्यैबाट अर्कमण्यताको भारी बोकिसकेका देउवाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पौडेल समूहले गरेको तयारीमा पौडेल समूहभित्र कोइराला समूहको बलियो साथ नभएका कारण सशक्त ढंगले अघि बढ्ने नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार महामन्त्री शशांक कोइरालाले यो प्रस्तावप्रति बलियो समर्थन जनाएका छैनन् । देउवाविरुद्ध मोर्चाबन्दी गर्न बस्ने पौडेल समूहका बैठकमा उपस्थित हुने गरे पनि महामन्त्री कोइराला भने देउवासँग मिलेरै आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा रहेको स्रोतको दाबी छ । सुशील कोइराला प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईलाई नै देउवाले पनि परराष्ट्र सल्लाहकार बनाउनुपछाडि शशांकको यही सूत्रले काम गरेको बताइन्छ । भट्टराई शशांकनिकट मानिन्छन् ।
आरजु हावी
काठमाडौं । शेरबहादुर देउवा सभापति बनेयता कांग्रेसभित्र उनकी पत्नी आरजु राणा हावी भएकी छन् । पार्टीका आरजुको अस्वाभाविक हस्तक्षेपका कारण पनि रामचन्द्र पौडेल समूह देउवासँग थप चिढिएको बताइन्छ । अहिले आरजुले आफंैलाई मन्त्री बनाउनसमेत पतिलाई दबाब दिने गरेको बताइन्छ ।
प्रधानमन्त्री भएको एक महिनापछि सोमबार गरिएको प्रेस संयोजककोे नियुक्ति हेर्दा पनि आरजु हावी भएको प्रस्ट बुझ्न सकिने कांग्रेसकै नेता–कार्यकर्ता बताउँछन् । प्रेस संयोजक बनाइएका गोविन्द परियार आरजुका विश्वासपात्र हुन् । कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि आरजु नै हावी हुने गरेको बताइन्छ । त्यसो त देउवा पार्टी सभापति भएपछि भएका पार्टीका भ्रातृ संगठनका अधिवेशनमा पनि आरजुको मनोमानी चलेको थियो । आफूले नचाहँदानचाहँदै देउवाले आरजुकै दबाब थेग्न नसक्दा उनले नेपाल विद्यार्थी संघको अध्यक्ष नैनसिंह महरलाई बनाउन बाध्य भएको चर्चा नेविसंघभित्र अझै सेलाएको छैन ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply