16th July 2018, Monday

E-budhabar

देउवा सरकारमा यसरी फसें



देउवा सरकारमा यसरी फसें

२०६१ सालको प्रारम्भ मेरो जीवनको ६८औं वर्षको पनि प्रारम्भ थियो । म बिरामी परें । सामान्य औषधि खानुबाहेक त्यसबेलासम्म मलाई त्यति साह्रो बिरामी भएर बस्नुपरेको थिएन । वैशाखको सुरुतिरबाट मलाई कमलपित्त (जन्डिस) रोगले समातेछ । वैशाखको अन्तिमतिर त बढी नै च्याप्यो । डाक्टरलाई देखाउन गएँ । डाक्टरले अस्पतालमै भर्ना हुन सल्लाह दिए । तर, मैले भनें, ‘मलाई अस्पतालमा बस्न त्यति मन लाग्दैन । डाक्टर साब, औषधि लेखिदिनुहोस्, घरमै बसेर आराम गर्छु र औषधि खान्छु ।’ म घरमै बसेर आराम गर्दै औषधि खान थालें । मसँग डाक्टर असन्तुष्ट भएछन् । डाक्टरले महासचिव माधव नेपालसँग मेरो अवस्थाबारे बताएछन्, ‘भरतमोहनजीलाई निकै गाह्रो छ । एकदुई दिन अस्पताल बस्नुभन्दा पनि नमानीकन हिँड्नुभयो ।’ पछि, महासचिव नेपालले मलाई भन्नुभयो, ‘तपाईं यस्तो बिरामी हँुदा पनि अस्पताल भर्ना हुने डाक्टरको सल्लाह किन नमान्नुभएको ?’
मैले आफूलाई अस्पताल बस्न खासै मन नलाग्ने कुरा बताएँ । म मात्र नभएर त्यतिबेला मेरी पत्नी सविता पनि जन्डिसबाट थला परेकी थिइन् । हामी दुवै बिरामी । अहो, जन्डिस रोग लागेपछि त खानपिनमा धेरै ध्यान दिनुपर्ने रहेछ । हामी दुवै घरमै बसिरहन्थ्यौं । हामी दुवैको लागि ‘यो वर्ष कस्तो नराम्रो रहेछ’ भन्ने मनमा लागिरहन्थ्यो । कहिलेकाहीं त पूरै वर्ष यस्तै नराम्रो पो हुने हो कि भन्ने सोच पनि आउँथ्यो । बिहान उठेदेखि साँझसम्म पार्टी काममा व्यस्त हुँदा दिन बितेको पत्तो नहुने मान्छे बिरामी परेर दिनभरि ओछ्यानमै पर्दा त दिन काट्न पनि साह्रै मुस्किल पर्दो रहेछ । मलाई जन्डिस भएको थाहा पाएपछि मोरङका शुभचिन्तक साथीहरूले उतैबाट काँचो नरिवल र उखु हप्ता÷हप्ता दिनमा ल्याइदिनुहुन्थ्यो । काँचो नरिवल र उखु जन्डिस रोगीको लागि निकै लाभदायक रहेछ । नियमित रूपमा डाक्टरको सल्लाहबमोजिम औषधि सेवन गरी खानेकुरामा असाध्यै ध्यान दिएकाले जेठको आखिरीतिर जन्डिस रोग धेरै कम भयो ।
अली ठीक भएपछि म पार्टी बैठकमा जान थालें । त्यतिबेलासम्म हाम्रो पार्टी एमालेको सहकार्यमा देउवाजी प्रधानमन्त्री भइसक्नुभएको थियो । खासमा राजा ज्ञानेन्द्रले यसअघि अक्षमको आरोप लगाएर प्रधानमन्त्री देउवाजीलाई पदबाट बर्खास्त गर्नु संविधानको ठाडो उल्लंघन थियो । राजाको प्रतिगमन त्यहींबाट सुरु भएको थियो । पाँच पार्टीहरूको आन्दोलनमा देउवाजीले नेतृत्व गरेको नेपाली कांगे्रस (प्रजातान्त्रिक) लाई पनि समावेश गर्नुपर्छ भन्ने हाम्रो पार्टीको प्रस्तावलाई गिरिजाबाबुले नेतृत्व गरेको कांगेसले मानिरहेको थिएन । देउवाको पार्टी नेपाली कांगे्रस (प्रजातान्त्रिक) पनि प्रतिगमनको विरोधमा एक्लै सडक आन्दोलनमा थियो । प्रतिगमनविरुद्ध आन्दोलनरत पार्टीका नेता एवं आफैंले अपदस्थ गरेका व्यक्तिलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेको राजा एक कदम पछि हटेकै हो । पाँच पार्टीहरूले प्रधानमन्त्रीको साझा उम्मेदवार छान्न नसकेको बेला कम्तीमा अपदस्थ नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुलाई हामीले सकारात्मक रूपमा लिएका थियौं । राजालाई संविधानको परिधिभित्र समेट्ने हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ हाम्रो पार्टीले देउवालाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने निर्णय गरेको थियो ।
देउवा प्रधानमन्त्री भएपछि ‘प्रतिगमन आधा सच्चिन्छ’ भन्यौं । खासमा त्यो गलत सोच थियो । यस्तै गलत सोचमा पार्टी फस्यो । र, म पनि फसें । ती दिनहरूमा पार्टीका केन्द्रीय कमिटीका अधिकांश सदस्यहरू ‘एमाले पनि देउवा सरकारमा सामेल हुनुपर्छ’ भन्नेमा जोड दिइरहनुभएको थियो । अन्ततः २०६१ साल जेठ २२ देखि २८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको छैटौं बैठकले ‘न्यूनतम कार्यक्रम तय गरी सहमतिका आधारमा सरकारमा सहभागी हुने’ निर्णय ग¥यो । विशिष्ट परिस्थितिमा गठन हुने सरकारलाई मार्गनिर्देशनका लागि साझा सहमतिको न्यूनतम कार्यक्रम निर्माण गर्ने कुरामा जोड दिइयो । न्यूनतम साझा कार्यक्रम बनाउन देउवाजीको तर्फबाट नेताहरू विमलेन्द्र निधि, दीपकुमार उपाध्याय, डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महत संलग्न टोली बनाइएको थियो । हाम्रो पार्टीको तर्फबाट वामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ र भीम रावलको टिम बनाइयो ।
न्यूनतम साझा कार्यक्रम निर्माण गर्ने कुरामा कांगे्रस (प्रजातान्त्रिक) का नेताहरूले धेरै किचलो गरे । विशेष परिस्थितिमा गठन हुने सरकारको दायित्व राजाको प्रतिगमन सच्याई जननिर्वाचित निकाय सक्रिय गराउने, शान्तिपूर्ण वार्ताको माध्यमद्वारा माओवादीलाई राजनीतिक मूलधारमा ल्याई शान्तिसुरक्षा कायम गर्दै नयाँ निर्वाचन गराउने र संविधानलाई पुनः क्रियाशील गर्नु थियो । यिनै कुरा कार्यान्वयन गर्न न्यूनतम सहमतिको कार्यक्रम बन्नुपथ्र्यो । तर, सरकार दुई पार्टीको मात्र नभई चार पार्टीको बनाउन राप्रपा र बद्री मण्डलको सद्भावना पार्टीलाई पनि चित्त बुझाउने खालको कार्यक्रम बनाइयो । त्यसैले, त्यो कार्यक्रमको स्वरूप सामान्य परिस्थितिमा कार्यान्वयन हुने खालको बन्यो । ४३ बँुदे साझा सहमतिको न्यूनतम कार्यक्रममा सबै किसिमका राम्रा कुरा समेटिएको प्रतिबद्धतापत्रजस्तो बन्न पुग्यो ।
सरकारमा पार्टीका तर्फबाट पठाउने टिमको चयन स्थायी कमिटीले गर्ने निर्णय पनि केन्द्रीय कमिटीले गरिसकेको थियो । त्यस सम्बन्धमा पार्टीमा निकै छलफल भइरहेको थियो । यसै क्रममा एक दिन महासचिव माधव नेपाल मेरो डेरामा आउनुभयो ।
‘भरतमोहनजी यसपटकको सरकारमा तपाईं नजानुहोस्’, महासचिवले भन्नुभयो । महासचिवको त्यस्तो सल्लाहपछि सरकारमा जानुनपर्ने कुरामा ढुक्कै थिएँ । तर, परिस्थिति कस्तो बन्यो भने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर म जानुपर्ने भयो । स्थायी कमिटीमा सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा ठूलै विवाद भएछ । केपी ओली, वामदेव गौतम सायद सरकारमा पार्टीको तर्फबाट आफैं नेतृत्व गर्न चाहनुहुन्थ्यो । माधव नेपालले मेरो प्रस्ताव गरेपछि उहाँहरूले निकै विरोध गर्नुभयो । विरोध मात्रै होइन, उहाँहरूले ‘नोट अफ डिसेन्ट’ पनि लेख्नुभयो । पछि उहाँहरूले सार्वजनिक रूपमै ‘सडकछाप मान्छेहरू उपप्रधानमन्त्री र मन्त्रीहरू भए’ भन्ने आरोप पनि लगाउनुभयो ।
म आश्चर्यतकित परें । मेरो डेरामा आएर ‘तपाईं यसपटक सरकारमा नजानुहोस्’ भन्ने महासचिव नेपालले आफैं स्थायी समितिमा मेरो नाम किन प्रस्ताव गर्नुभयो ? त्यसका पछाडि खास कारण रहेछ । महासचिव नेपालको सुरुको सोच मलाई सरकारमा नपठाउने नै रहेछ । उहाँले करिब–करिब सबै केन्द्रीय सदस्यहरूसँग कसको नेतृत्वमा सरकारमा पठाउने भनी राय–सुझाव लिनुभएछ । त्यसमा झन्डै ९० प्रतिशत साथीहरूले ‘यसपालि सरकारमा जाने टिमको नेतृत्व भरतमोहनजीले गर्नुपर्छ’ भन्ने सुझाव दिनुभएछ ।
साथीहरूले त्यसरी मेरो नाम सिफारिस गर्नुको पछाडि खास कारण थियो । प्रतिगमनविरुद्धको आन्दोलनमा म नियमित रूपमा सहभागी हुन्थें र प्रत्येक दिन पक्राउ पर्थें । म, कांगे्रेसका सुशील कोइराला र रामचन्द्र पौडेल आन्दोलनको अग्रपंक्तिमा हुन्थ्यौं । त्यसबेला साथीहरू मलाई ‘तपाईं आन्दोलनमा नजानुहोस्’ भन्नुहुन्थ्यो, तर म मान्दिनथें ।
म दमको बिरामी थिएँ । सरकार नांगो रूपमा दमनमा उत्रिएको थियो । एक दिन त कस्तो भयो भने हामी भद्रकालीमा सरकारी घेरा तोड्दै थियौं । प्रहरीले अश्रुग्याँस फ्याँक्यो । अश्रुग्याँसको टाढाको गन्धको अनुभव मलाई थियो, तर छेउमै फालेको अश्रुग्याँसको अनुभव थिएन । त्यसले त मुटु नै छेडेजस्तो हुँदो रहेछ । स्वास नै रोक्दोरहेछ । एकपटक मनमोहन अधिकारी र मदन भण्डारीको नेतृत्वमा हामीले सिंहदरबारको गेटमा जुलुस निकालेर भित्र पस्न खोज्दा प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यो बेला मलाई के सिकाइएको थियो भने अश्रुग्याँसबाट बच्न प्याज खानुपर्छ र रुमाल चिसो पारेर आँखा पुछ्नुपर्छ । आन्दोलनमा हिँडेको बेला त्यो सबै कहाँ सम्भव हुन्छ र ? त्यो पनि दिनैपिच्छे । छेउमै फालिएको अश्रुग्याँसका कारण म बेहोस भएर ढलेछु । साथीहरूले बोकेर भृकुटीमण्डपमा लैजानुभएछ र पानी छ्याप्नुभएछ । म होसमा आएँ । अर्को दिन सरकारी घेरा तोड्न भनेर हिँडियो । म, सुशील कोइराला र रामचन्द्र पौडेल अग्रपंक्तिमा नै थियौं । काँडेतार तोडेर जान लाग्दा प्रहरीले नराम्रोसँग लाठीचार्ज ग¥यो । मेरा त हातखुट्टा पनि भाँचिए, टाउको पनि फुट्यो भन्ने लागेको थियो । तर संयोग, दुईजना युवा साथीहरू आएर मलाई छोप्नुभयो । उहाँहरू निर्घात पिटिनुभयो मलाई बचाउन खोज्दा । साथीहरूले मप्रति गरेको यति ठूलो स्नेह मैले प्रत्यक्ष देखें । आन्दोलनका बेला नचिनेका युवा साथीहरू मलाई आड दिनुहुन्थ्यो । आफू घाइते भएर पनि मलाई जोगाउनुहुन्थ्यो । सधैं अग्रपंक्तिमा बस्ने मलाई ठूलो चोटपटक लाग्नबाट युवा साथीहरू जोगाउनुहुन्थ्यो । आन्दोलनमा जाँदा ज्यादै स्नेह र माया पाइँदो रहेछ ।
यी सबै घटनाले मलाई सरकारमा पठाउने परिस्थिति बनेको रहेछ । ‘लाठी र अश्रुग्याँसको पर्वाह नगरी सडक आन्दोलनमा होमिने बूढो मान्छेले नै सरकारमा जाने टिमको नेतृत्व गर्नुपर्छ’ भन्ने आवाज उठेछ । स्थायी कमिटीको बैठकमा माधव नेपालले त्यही कुरा राख्नुभएछ । ‘मैले नै भरतमोहनजीलाई यसपटक तपाईं सरकारमा नजानुहोस् भनेर सल्लाह दिएको हुँ । उहाँ पनि सरकारमा नजान सहमत हुनुभएकै थियो । तर, केन्द्रीय सदस्य र कार्यकर्ताहरूका भावना तपाईंहरू नै बुझ्नुहोस्,’ महासचिव नेपालले बैठकमा भन्नुभएछ । अनि त बैठकमा सहभागी सबैजना चुप लाग्नुभएछ । त्यसपछि मेरो नाम पास भएको रहेछ । मलाई माधव नेपालले ‘तपाईं उपप्रधानमन्त्री नहुनुहोस्, तपाईं त पार्टीका तर्फबाट पटक–पटक मन्त्री भइरहनुपर्छ । सधैं उपप्रधानमन्त्री नपाउन सकिन्छ’ भन्ने सल्लाह पनि दिनुभएको थियो । तर, अमृत बोहोराले मान्नुभएन । ‘उहाँ उपप्रधानमन्त्री नै हुनुपर्छ । अरूबेला जानुपरे उपप्रधानमन्त्री भएरै जानुहुन्छ, नत्र भने जानुहुन्न’, बोहोराले भन्नुभयो । यसरी अमृत बोहोराको अडानले म पहिलोपटक उपप्रधानमन्त्री भएँ ।
अर्थमन्त्री त पहिले पनि भएकै थिएँ । म अर्थमन्त्री भएपछि कृष्णगोपाल श्रेष्ठलाई अर्थराज्यमन्त्रीका लागि पार्टीले सिफारिस गरेको थियो । मैले त्यही नाम प्रधानमन्त्रीलाई दिएँ । तर, प्रधानमन्त्री देउवाजीले पटक्कै मान्नुभएन । ‘तपाईं भएको हुनाले मात्र मैले एमालेलाई अर्थमन्त्री दिन सहमत भएको हुँ । अर्थ मन्त्रालयमा अरूलाई म मान्दिनँ’, प्रधानमन्त्री देउवाले मलाई भन्नुभयो । अब यो ठूलो समस्या बन्यो । त्यसबेला माधव नेपाललाई पार्टीको सिफारिस कार्यान्वयन गर्न मैले पहल नगरेको भन्ने बुझाइ परेछ । विष्णु पौडेललाई सबै कुरा थाहा थियो । ‘भरतमोहनजीको कुनै दोष छैन, उहाँले धेरै बल गर्नुभएको हो, तर प्रधानमन्त्रीले कसैगरी मान्नुभएन,’ पौडेलले महासचिवलाई प्रस्ट पारिदिनुभयो । पछि कृष्णगोपालजी स्थानीय विकास राज्यमन्त्री हुनुभयो । सरकारमा एमालेका तर्फबाट ईश्वर पोखरेल, अशोक राई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र वाचस्पती देवकोटा मन्त्री हुनुभयो ।
४३ बँुदे साझा कार्यक्रमको आधारमा चार पार्टीहरूको सरकार बन्यो । प्रधानमन्त्रीलगायत नेपाली कांगेस (प्रजातान्त्रिक) का सात मन्त्री, तीन राज्यमन्त्री र तीन सहायक मन्त्री गरी १३ जना, एमालेका उपप्रधानमन्त्रीसहित सात मन्त्री, तीन राज्यमन्त्री र एक सहायक मन्त्री गरी ११ जना, राप्रपाका दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना र सद्भावनाका एक मन्त्री तथा स्वतन्त्रका नाममा दरबारका दुई मन्त्री गरी ३१ जनाको मन्त्रिपरिषद् बन्यो । संयुक्त सरकारका प्रधानमन्त्री देउवाजीले दरबारका प्रतिनिधिहरू मोहम्मद मोहसिन र कृष्णलाल थकालीलाई क्रमशः सूचना तथा सञ्चार र सामान्य प्रशासन मन्त्रालय दिनुभयो । यी महŒवपूर्ण मन्त्रालय हुन् । पार्टीको स्थायी समितिले निर्णय गरी सिफारिस गरेपछि २०६१ असार २१ गते राति ८ बजे हामीले शपथ ग्रहण ग¥यौं । शपथ ग्रहणलगत्तै म अर्थ मन्त्रालय गएँ । अर्थ मन्त्रालय मेरा निम्ति नयाँ थिएन । मन्त्रालय रहेको भवनचाहिँ नयाँ थियो । यसअघि अर्थ मन्त्रालय बागदरबारमा थियो, अबचाहिँ सिंहदरबारभित्रै अलग बनेको नयाँ भवनमा सरेको थियो । एमालेका हामी ११ मन्त्रीहरूको बैठक बस्यो । हामीले क्याबिनेटस्तरका मन्त्रीहरूको क्याबिनेट बैठकभन्दा एक दिनअगाडि हप्तामा दुईपटक र सबै मन्त्रीहरूको हप्तामा एकपटक अनिवार्य बैठक गर्ने निर्णय ग¥यौं । हामीले त्यो बैठकबाट एमालेको सामूहिक धारणा बनाएर क्याबिनेटमा पेस गर्ने, आ–आफ्नो मन्त्रालयमा लागू गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराउन सामूहिक प्रयत्न गर्ने निर्णय पनि ग¥यौं । स्थायी कमिटीमा रहेका चारजना मन्त्रीहरूको सानो कमिटी पनि बनायौं । यो कमिटीको बैठक आवश्यकताअनुसार जहिले पनि बस्न सक्ने व्यवस्था मिलायौं । सरकारमा रहेको सात महिनाको अवधिमा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू माइन्युटसमेत राखी नियमित बैठक गथ्र्यौं । प्रधानमन्त्री देउवाजी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जोगमेहर श्रेष्ठ, बालाराम घर्तीमगर, सद्भावनाका बद्री मण्डल, दरबारका मोहम्मद मोहसिन र कृष्णलाल थकाली भएको मन्त्रिमण्डल हेर्दा यसले गर्ने काम र यसका सीमाहरू जोसुकैले सहजै अनुमान लगाउँथे ।
सरकारलाई मार्गनिर्देश गर्न कांगे्रस (प्रजातान्त्रिक) का नेता तथा प्रधानमन्त्री देउवाजी, हाम्रो पार्टीका महासचिव माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबरा र सद्भावनाका अध्यक्ष बद्रीप्रसाद मण्डल रहेको एउटा बहुदलीय संयन्त्र बनेको थियो । यसको कार्यालय नेकपा एमालेको संसदीय दलको कार्यालयमा राखिएको थियो । यो सरकारको प्रमुख दायित्व माओवादीसँग शान्तिवार्ता गर्ने र उनीहरूलाई राजनीतिक मूलधारमा समाहित गर्ने, शान्तिसुरक्षा कायम गर्ने, माओवादीसमेतको संलग्नतामा आमनिर्वाचन गराउने र जनप्रतिनिधिमूलक व्यवस्था पुनःस्थापना गर्ने थियो । यस्तो गहन जिम्मेवारी पूरा गर्न चार पार्टीका प्रमुख नेताहरू र दरबारका प्रतिनिधि डा. मोहम्मद मोहसिन रहेको उच्चस्तरीय शान्ति समिति पनि बनेको थियो । सिंहदरबारभित्रै उच्चस्तरीय शान्ति समितिको कार्यालय राख्ने व्यवस्था मिलाइएको थियो । अघिअघिका सरकारभन्दा भिन्न यसपटकको सरकारमा बहुदलीय संयन्त्र र उच्चस्तरीय शान्ति समिति बनाइएको थियो । देउवा सरकारलाई हेर्दा यी दुई निकायलाई पनि सँगै राखेर हेर्नुपर्छ ।
(शनिबार विमोचित अधिकारीको पुस्तक ‘संसद्देखि संविधानसभासम्म’को एक अंश)

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा