ध्वाँस दिने सहसचिव कर्मचारीको घानमा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितकै शैलीमा दुई जना सहसचिवले कर्मचारीहरूलाई निर्देशन दिएपछि उल्टै कर्मचारीहरूको घानमा परेका छन् । निजामती कर्मचारीहरूलाई प्रशिक्षण दिन गएका दुई सहसचिवहरूलाई कर्मचारीहरूले उल्लीबिल्ली खेलाएर पठाएका छन् ।
शनिबारको दिन प्रदेश ३ को कर्मचारीहरूको उपत्यका भेला आयोजना गरिएको थियो । सो भेलामा कर्मचारीहरूले मन्त्री पण्डितलाई नबोलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टलाई बोलाएका थिए । र, सोही भेलामा कर्मचारीहरूलाई प्रशिक्षण दिन एमालेनिकट मानिने प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई निम्त्याइएको थियो ।
प्रशिक्षण दिने क्रममा सहसचिव कुँवरले लालबाबुकै शैलीमा भने, ‘अब कर्मचारीहरूको एकल संगठन बनाउनुपर्छ । एउटा मात्रै टे«ड युनियन बनाउनुपर्छ । हरेक दलको टे«ड युनियन हुनुहुँदैन ।’ तर, कर्मचारीहरूलाई उनको कुरा चित्त बुझेन । एकजना कर्मचारीले प्रश्न गरिहाले, ‘अहिले हामीकहाँ विभिन्न राजनीतिक दल छन् र विभिन्न दलकै आधारमा चुनाव लड्छन् । चुनाव लडेर संसद् बनेपछि दलहरू किन चाहियो र भनेजस्तो कुरा भयो यो । विभिन्न राजनीतिक दल हुन्छन् भने कर्मचारीहरूको चाहिँ किन विभिन्न संगठन नहुने ?’
कर्मचारीहरूले सहसचिव कुँवरको कुराको प्रतिवाद गर्दै बहुसंगठनको आवश्यकता रहेको बताए । कर्मचारीहरूले बहुसंगठनको कुरा उठाएपछि कुँवरले एकल संगठन हुनुपर्नेमा नै जोड दिए । कर्मचारीहरूको कुरा सुनेपछि कुँवरले झोक्किँदै भने, ‘आफूलाई शक्तिशाली बताउने राजालाई त पार्टीहरूले फ्याँके भने कर्मचारी संगठनलाई फ्याँक्न, खारेज गर्न कुनै समस्या छैन ।’ कुँवरले राजाको उदाहरण दिएर ध्वाँस दिएपछि कर्मचारीहरू झनै रुष्ट बन्न पुगेका थिए ।
कर्मचारीहरूले उच्च तहका प्रशासकहरूले ४० हजार जनप्रतिनिधिलाई तलब र सेवा सुविधा दिनुपर्ने मस्यौदा ल्याएकोमा पनि आपत्ति जनाएका थिए । उनीहरूले संघीयतालाई असफल तुल्याउने नियतले जनप्रतिनिधिलाई तलब दिने व्यवस्था गरिएको बताए । कर्मचारीले प्रश्न उठाउँदै भने, ‘कर्मचारीहरूलाई स्वैच्छिक अवकाश दिन सरकारले आफूसँग पैसा नभएको कुरा बतायो । तर, ४० हजार जनप्रतिनिधिलाई तलब खुवाउनचाहिँ कहाँबाट पैसा आयो । यदि जनप्रतिनिधिहरूलाई तलबको व्यवस्था हुन्छ भने उनीहरूले पनि कर्मचारीले जस्तै १० देखि ५ बजेसम्म काम गर्नुपर्छ ।’
कर्मचारीहरूको पेलाइमा परेपछि सामान्य प्रशासनका सहसचिव अधिकारीले मन्त्रालयमा गएर आफूनिकटस्थहरूसँग गुनासो गरेको बताइन्छ । उनले कर्मचारीहरूले आफूलाई भेलामा प्रशिक्षण दिन बोलाएर ‘नराम्रो व्यवहार’ गरेकोमा खिन्नता प्रकट गरेको बताइन्छ । मन्त्री विष्टले चाहिँ स्वैच्छिक अवकाशको विषयलाई आफूले गम्भीरतापूर्वक उठाउने वचन कर्मचारीहरूलाई दिएका थिए । कर्मचारी र मन्त्री पण्डितबीच पछिल्लो समय दूरी बढ्दै गएको हुँदा मन्त्रीलाई बोलाउन कर्मचारीहरूले उपयुक्त नठानेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply