22nd June 2018, Friday

E-budhabar

नाकैमुनि उब्जिएको संकट



नाकैमुनि उब्जिएको संकट

हामी जुन धर्तीमा बाँचिरहेका छौं, बसिरहेका छौं, यो धर्ती दिन–प्रतिदिन पर्यावरणीय संकट झेल्न बाध्य छ । दिन–प्रतिदिन धर्तीको क्षयीकरण हुँदै गए पनि ठूला एवं शक्तिसम्पन्न देशहरूको चासो क्रमशः कम हुँदै गइरहेका छन् । र, तेस्रो विश्वका विकासशील देशहरू मात्र बढ्दो पर्यावरणीय संकटका कारण निराश छन् र ती देशहरूले मात्र एकोहोरो रूपमा धर्तीलाई बचाउनुपर्ने राग अलापिरहेका छन् । तर, सुनुवाइ भइरहेको छैन कतै पनि । विकासशील देशहरूको आवाज एकतर्फी मात्र गुन्जिरहेका छन् ।
तेस्रो विश्वका विकासशील देशहरू आज जलवायु परिवर्तनको नकारात्मक असर झेल्न बाध्य छन् । जलवायु परिवर्तनको नकारात्मक असरको वृद्धि हुँदै जाँदा त्यसले सुन्दर धर्तीलाई क्षतविक्षत तुल्याउने यथार्थ सबैसामु मौजुद छ । ठूलाठूला प्राकृतिक प्रकोप, बढ्दो तापक्रम, भीषण आँधीबेहरी र लामा खडेरीजस्ता कारणहरू जलवायु परिवर्तनको नकारात्मक असरका परिणाम हुन् । यस्ता असरहरू जन्मिनुमा विकसित देशहरूमा पूर्वनकारात्मक भूमिका मुख्यतः जिम्मेवार रहेकोमा द्विविधा देखिँदैन । विकसित देशहरूले ग्रिनहाउस ग्याँस (कार्बनडाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड) आदिको मनपरी ढंगले उत्सर्जन गर्दा पर्यावरणका लागि जोखिम बढ्न पुगेको हो । तर, तिनै विकसित देशहरूका कारण ग्रिनहाउस ग्याँसमा जोखिम बढे पनि त्यसलाई रोकथाम गर्ने र न्यूनीकरण गर्ने दिशातिर ठोस कदम चाल्न नसक्दा पर्यावरणीय रूपले विश्वव्यापी रूपमा चाङहरू थुपिँ्रदै छन् । यो तेस्रो विश्वका देशहरूका निम्ति अत्यधिक चासो र चिन्ताका विषय हुन् ।
जलवायु परिवर्तनको नकारात्मक असरले सिंगो पृथ्वीलाई रिंग्याइरहेको त छ नै, दक्षिण एसियाका दुई देश नेपाल र माल्दिभ्स धेरैभन्दा धेरै जोखिममा रहेका छन् । जलवायु परिवर्तनको नकारात्मक असरका कारण हिमालय भेगमा ग्लेसियर पग्लिने क्रम बढिरहेको छ । नेपालको सौन्दर्यको उच्च प्रतीक वा मापन गर्ने चिज नै उच्च हिमाली शृंखलाहरू हुन् । हिमाली शृंखलाहरू नेपालको सौन्दर्यको प्रतीक मात्र होइन, राष्ट्रिय आयको भरपर्दो स्रोत पनि हो । नेपालमा बर्सेनि जति पनि विदेशी पर्यटकहरूले पाइला बिसाउँछन्, अधिकांश पर्यटकको रोजाइमा हिामालको दृश्य अवलोकन गर्ने, हिमाली भेगहरूको यात्रा गर्ने र हिमाल आरोहण गर्नेजस्ता नै पर्दछन् ।
तर, पछिल्ला वर्षहरूमा भने हिमालले आफ्नो सौन्दर्यलाई बिस्तारै गुमाउँदै गइरहेका छन् । बाह्रै महिना हिउँ जम्ने शृंखलाहरूमा विगत केही वर्षयता काला ढुंगाहरू मात्र देखिन थालेका छन् । हिमालको सौन्दर्य ताछ्नमा जलवायु परिवर्तनको नकारात्मक असर नै मुख्यतः जिम्मेवार छ । दक्षिण एसिया मात्र होइन, विश्वकै उच्च हिमशृंखला अवस्थित नेपालले एकातिर जलवायु परिवर्तनको नकारात्मक असरको पीडा झेल्दै गइरहेको छ, अर्कोतिर दक्षिण एसियाकै एउटा ससाना टापुहरूले निर्मित सुन्दर देश माल्दिभ्स पनि असर भोग्न बाध्य छ । हिमालहरू पग्लिने र समुन्द्रको जल स्तर माथि उठ्ने क्रम बढ्दो छ र जलस्तर उठ्दै जाँदा माल्दिभ्सजस्ता देश समुद्रमा विलीन हुने अवस्था सिर्जना हुँदै गइरहेको छ । केही वर्षपूर्व जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनीकरण गर्न विकसित देशहरूको आँखा खुलोस् भनेर नेपाल सरकारले विश्वकै उच्च हिमाल सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक राखेर विश्वलाई झक्झक्याउने काम गरेको थियो । त्यही समयावधिमा माल्दिभ्स सरकारले पनि समुद्रमुनि मन्त्रिपरिषद् बैठक राखेर विश्वको ध्यान आकर्षित तुल्याएको थियो । यी दुवै देशका प्रयत्न खासगरी जलवायु परिवर्तनको नकारात्मक असर वृद्धिमा नकारात्मक भूमिका खेल्ने विकसित देशहरूलाई घच्घचाउनु रहे पनि ती देशहरूले चासो लिनुको साटो टाउको अन्यत्रै फर्काएपछि कसको के लाग्छ र ?
जलवायु परिवर्तनको नकारात्मक असरका कारण तेस्रो विश्वका विकासशील देशहरू चपेटामा पर्दै गएको पक्षलाई आधार मानेर अन्यत्र भने सिर्जनाका माध्यमहरूले आवाज उठाउन थालेका छन् । त्यसबारे फिल्म, वृत्तचित्र निर्माण गर्ने, पुस्तकहरू प्रकाशन गर्ने र कला साहित्यका माध्यमद्वारा जलवायु परिवर्तनको नकारात्मक असरबारे चिन्ता र चासो प्रकट गर्ने क्रम अरू देशहरूमा हुन थालेका छन् । तर, हामीकहाँ भने योसम्बन्धी न फिल्म बन्न सकेका छन्, न कुनै गहन किताब नै प्रकाशित हुन सकेका छन् । एकाध वृत्तचित्र त बनेका छन् तर कला र साहित्यमा भने अझै आउन सकेका छैनन्, यो विषय । हामीकहाँ पनि हाम्रा स्रष्टा–सर्जकहरूले नाकैमुनि तेर्सिएको यो विकराल संकटबारे बोल्न र लेख्न अब ढिलाइ पो भयो कि ?

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा