16th August 2018, Thursday

E-budhabar

नारी संवेदनाको आसपास



नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता र हैकमको जेजस्तो रूपमा सिकार हुनुप¥यो, उत्पीडन र शोषणको साङ्लाले जेजसरी बाँधिनुप¥यो, पुँजीवादी समाजमा त नारी वर्ग उत्पीडन र शोषण झनै भयावह पर्खालहरूमुनि थिचिनुपरेका छन् । नारी स्रष्टा अनुपम रोशीका प्रायः कथाहरूले पुरुषवादी चिन्तन र मानसिकता फक्रिरहेको समाजमा नारी वर्गको स्थानलाई लिएर गम्भीर प्रश्नहरू उठाउँछन् । उनको कथाकृति ‘मध्यान्तर’भित्रका कथाहरू नारी विमर्शमा केन्द्रित छन् ।
‘इन्द्रकमल अझै जीवित छ’ बौद्धिक समाजमा नारीले भोग्नुपरेका दुर्दशाहरूबारे दस्तावेज बन्न पुगेको छ । समाजमा नारीमाथि जैविक हिंसा कति भयावह हुँदै गइरहेको छ, बौद्धिक भनिनेहरूले नै नारीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारलाई कतिसम्म साघु¥याउँदै लगेका छन् भन्ने दृष्टान्त छाम्न यो कथा काफी देखिन्छ ।
‘एेंजेरु राजा’ भने प्रचुर कल्पनाशीलताले भरिएको कथा बन्न पुगेको छ । विषालु च्याउ खाँदा बिरामी परेकी आफ्नी पत्नीको जीवनरक्षाका निम्ति भौंतारिएका एक मानिसले त्यसको औषधि हिमाली भेगमा पाउने सुइँको एक जना वैद्यबाट पाउँछन् । गन्धर्व जातिका ती मानिसले त्यो जीवनबुटी खोज्न भौंतारिँदा पाएका हन्डर र उनकी छोरी स्नोकीले ऐंजेरु राजाको कब्जाबाट आफ्ना पितालाई छुटाउन गरेकी कसरत र बठ्याइँको सेरोफेरोमा उक्त कथा घुमेको छ । तर, यो कथा पढ्दै जाँदा पाठकलाई आनन्दको अनुभूति मिले पनि यसको काल, परिवेश र विश्वसनीयतामा भने प्रश्न उठाउने प्रशस्तै ठाउँ छन् । ‘टर्निङ प्वाइन्ट’ पनि नारीलाई केन्द्रमै राखेर लेखिएको अर्को कथा हो । नारीप्रति समाजले गर्ने व्यवहारकै वरिपरि कथा घुमेको छ । लेखिका लेख्छिन्, ‘मैले माथितिर हेर्छु । आकाशमा स्त्रीलाई केन्द्र बनाएर गिद्धहरू नाचिरहेका देखिन्छन् । स्त्रीको धैर्य, मेरो सामथ्र्य, विजय जुलुस…अनि सुहागरात…छुट्छन्…पुनः टर्निङ प्वाइन्टमा ।’
नारी मनोविज्ञानलाई पछ्याएर लेख्नु रोशीको कथा लेखनको मुख्य विशेषता हो । तर, केही कथामा भावनाको उडान यति तीव्र बनेको छ कि कथातत्व नै मेटिन पुग्छन् एकाएक । ‘बूढो रूखको प्रेम विज्ञप्ति’ एक सुन्दर कथा हो । तर, उनले त्यो कथालाई यसरी बुनेका छन्, जसलाई एक पठनीय निबन्धको तहमा राख्दा केही फरक पर्दैन । कृतिभित्रका ‘मध्यान्तर’, ‘पाँच किलो मासु’, ‘राइटरको मृत्यु’, ‘ज्योर्तिलिङ्ग’ र ‘मृत सपनाको जीवनबोध’ जस्ता कथाले रोशीको लेखन धरालतलाई माथि उठाउन यथाशक्य मद्दत पु¥याएको छ ।
स्त्री–विमर्शमा उभिएका कथाहरू नै छन्, रोशीका । स्त्रीको चेतना, संवेदना, पीडा, आवाज र मर्महरूलाई केन्द्रीय तहमा राखेर उनले कथाहरू सिर्जेका छन् । तर, उनका कथाहरू सामान्य पाठकका लागि भने होइनन् । बौद्धिक तप्काका पाठकलाई पनि उनका कथाले रन्थनाउन उत्तिकै भूमिका खेल्छ । अर्थात्, उनका कथा–क्षितिज छिचोल्न हाडे ओखर फोरेजस्तै प्रयत्न गर्नुपर्ने देखिन्छ । तथापि, भाषा र शैलीगत रूपले कथाहरू समृद्ध लाग्छन् । तर, सम्पादन पक्ष भने झुरै देखिन्छ । भाषिक त्रुटिहरूका लस्करले कथाको वजनलाई ताछ्न यथेष्ट सहयोग पु¥याएको हुँदा आगामी दिनमा भने प्रकाशनपूर्व सम्पादन गर्नु बेकारको कुरा होइन भन्ने बोध हुन सके राम्रै हुन्थ्यो ।
कृति ः मध्यान्तर
विधा ः कथा
कथाकार ः अनुपम रोशी
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः २१०
मूल्य ः २९९।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र

काठमाडौं । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तीव्र दौडधुप सुरु भएको छ । चार वर्षअघि केन्द्रको कार्यकारी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब खुल्दैन ‘साहित्य संसार’को दैलो !

‘बाबा ! म त धेरै बाँच्दिनँ, डाक्टरले १० वर्षको समय दिएको छ ।’ मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलाइसिसका रहेको साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले भन्ने गर्नुहुन्थ्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सत्यापनको नजिक

आफ्नो जीवन–गाथा रच्ने इच्छा कसलाई हुँदैन र ? जीवनका अँध्यारा–उज्याला तस्बिरहरुलाई फ्रेममा टाँग्ने उत्साहले डोरिँदै समाजका प्रबुद्ध अनुहारहरुले आत्मकथा लेखिरहेका छन् । तर,- ...
पूरा पढ्नुहोस्

छोटकरीमा