18th January 2018, Thursday

E-budhabar

निर्वाचनपछि बढ्दो जनअपेक्षा र समृद्धिको सपना



निर्वाचनपछि बढ्दो जनअपेक्षा र समृद्धिको सपना

हाम्रा प्रतिनिधिहरूले निर्माण गरेको संविधानका आधारमा तय भएका राजनीतिक संरचनाहरूले लगभग पूर्णता पाएका छन् । स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्का प्रतिनिधिहरू मूलतः चयन भएका छन् । हाम्रा केही प्रतिनिधिले छान्ने राष्ट्रिय सभा र प्रदेशसभाका प्रतिनिधिहरू छानिने क्रममै छन् । मूलतः देशले निर्वाचन सम्पन्न गरेको छ । यसका निम्ति सरकार र त्यसको संयन्त्र स्वाभाविक रूपमा धन्यवादको पात्र बनेका छन् ।
हाम्रा जनप्रतिनिधिहरूले आगामी ५ वर्षका लागि जनम्यान्डेट प्राप्त गरेका छन् । उनीहरूले जनताका बीचमा गरेका नयाँ वाचा पूरा गर्दा मात्र देश समृद्ध बन्न सक्दछ र समृद्धिको दिशातिर अगाडि बढ्न सक्दछ । तसर्थ पनि हामी नयाँ नेपालको संघारमा उभिएका छौ यतिबेला ।
देशमा विद्यमान राजनीतिक समीकरण र कतिपय नेताहरूका व्यवहारका कारण निर्वाचनप्रति थुप्रै आशंका र अप्ठ्याराहरू उत्पन्न भएका थिए । तिनै अवस्थाका बीचबाट निर्वाचन सम्पन्न हुन पुग्यो । यिनै कारण प्रत्येक निर्वाचनका निर्णय र प्रक्रियाहरू शंकाका घेराभित्र परेका थिए । तर पनि पट्यारलाग्दो संक्रमणकालबाट देशले लगभग मुक्ति पाउने अवस्था तयार भएको छ, यो सन्तोषप्रद पक्ष हो ।
यो निर्वाचन ऐतिहासिक थियो भन्ने कुरा बताइरहनु आवश्यक छैन । किनभने, नयाँ ंसंविधानको आधारमा हुने यो पहिलो आमनिर्वाचन हो । यसले एकातिर सयौं युवालाई नेतृत्वमा स्थापित गर्दै छ भने अर्कोतिर ठूलो संख्यामा महिला, दलित र अन्य समुदायबाट समेत नीति निर्माणको तहमा पु¥याउँदै छ । सबै राजनीतिक निकाय पूर्ण बन्दै छन् । यसर्थ, भावी नेपालका निर्माणका लागि यो ऐतिहासिक कार्य पनि हो ।
उत्साहजनक परिणाम
निर्वाचनको परिणामका हिसाबले यो निर्वाचन वाम गठबन्धनका लागि र खासगरी नेकपा (एमाले) का लागि उत्साहप्रद रह्यो । निर्वाचनमा एमाले पहिलो शक्तिका रूपमा उदाएको छ । इतिहासमा दोस्रोपटक एमालेले यो दर्जा पाएको छ । तर, अघिल्लोपटकभन्दा बढी उत्साह र अप्ठ्यारो परिस्थितिको व्यवस्थापन गरेर पार्टीले यो दर्जा पाएको हो भन्ने कुरा बिर्सिनुहुँदैन । त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी अडान, वाक्पटुताको छवि र विकासका लागि कोरिएका सपना प्रमुख कारण हुन् भन्ने कुरा प्रस्ट छन् । किनकि, नेपाली जनता आर्थिक समृद्धि चाहन्छन् र त्यसका लागि केपी ओलीका विकासका सपना अरू नेताका भन्दा उन्नत, नवीन र व्यवस्थित रहेकोमा द्विविधा देखिँदैन ।
हो, यसमा एमालेका अन्य नेतागण, माओवादी केन्द्रका अध्यक्ष र नेतागणको पनि उल्लेख्य भूमिका छ । कार्यकर्ताहरूको व्यवस्थापकीय क्षमता पनि बढ्दै गएको देखिन्छ । यद्यपि, समग्र कमिटीहरू जसरी परिचालन हुनुपर्ने हो, त्यसरी हुन सकेनन् । त्यसो हुन दुवै पार्टीका स्थानीय नेता–कार्यकर्तालाई केही समय स्वाभाविक रूपमा लाग्दथ्यो तर त्यो समय थिएन । त्यसरी जान सकेको भए सजिलै दुई तिहाइ पुग्न सक्ने अवस्था विद्यमान रहेको आँकलन गर्न सकिन्छ ।
प्रत्यक्ष निर्वाचनमा त एमाले पहिलो मात्र भएन, गठबन्धनको सहयात्री माओवादी केन्द्र देशको ठूलो दल बन्न सफल भयो । यसले गठबन्धनप्रतिको जनविश्वास प्रस्टै देखियो । यसो हुँदाहुँदै पनि नेपाली कांग्रेस समानुपातिक मतबाट दोस्रो ठूलो दल बन्न सफल भयो । समग्रमा परिणामलाई उत्साहजनक मान्नुपर्दछ र अबको नेताहरूको जिम्मेवारी भनेको यो उत्साहलाई मर्न नदिने नै हो ।
गठबन्धनलाई शिक्षा
नेपालका वामपन्थीहरू मिल्न सकेका भए यो परिणाम आज होइन, बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो वा दोस्रो आमनिर्वाचनबाटै आउन सक्थ्यो । जनताले आज मात्र होइन, धेरै पहिलेदेखि कम्युनिस्ट पार्टीहरू सके एक होऊन्, नभए निर्वाचनमा गठबन्धन गरेर भए पनि जाऊन् भन्ने चाहन्थे, तर पार्टीहरूले त्यो बुझ्न सकेनन् । त्यसका लागि उनीहरूसँग पश्चात्तापबाहेक अरू विकल्प थिएन । तर, यसबाट लिन सक्ने शिक्षा भने महŒवपूर्ण रहेको छ ।
निर्वाचनका दौरान धेरै तप्का, तह र वर्गका मानिसहरूसँग साक्षात्कार गर्ने मौका मिलेको थियो । वाम गठबन्धनमा आस्था राख्नेहरू त भन्ने नै भए तर कांगे्रस समर्थक या राजाका शुभचिन्तकहरूले पनि वामपन्थीहरूले मात्र लोककल्याणकारी काम गर्दछन् भन्ने कुरामा विश्वास राखेका थिए, छन् । त्यसैको परिणामस्वरूप प्रत्यक्ष निर्वाचनमा वाम गठबन्धनलाई भोट दिए र समानुपातिकमा भने आफ्नो पार्टीलाई छाडेनन् । त्यसैले, यसको पहिलो शिक्षा भनेको वाम गठबन्धनलाई मिलेको सफलता यसका लोककल्याणकारी कामहरूले निम्त्याएको जनप्रियता नै हो । यसलाई अबका नीतिहरूमा ध्यान दिनु आवश्यक छ । वामप्रति आस्था राख्नेहरूका लागि त यो त्यसै पनि उत्साहजनक थियो । किनकि, वामपन्थीहरूले जित्दा मात्र विगतका कुशासनबाट मुक्त हुन सकिन्छ र समृद्धिका लागि बाटो खुल्न सक्दछ भन्ने विश्वास थियो ।
यो परिणामबाट मूलतः दुईवटा कुरा शिक्षाका रूपमा लिन सक्नुपर्दछ । पहिलो, अझै पनि वाम गठबन्धनप्रति ढुक्क भएर कांग्रेसजनले भोट हालेका छैनन् । प्रत्यक्षमा सज्जन कांग्रेसजनको भोट अधिकांश ठाउँमा वामलाई परेको छ, तर समानुपातिकको भोट पनि हामीले उनीहरूबाट पाउन थप मेहनत गरेर विश्वास जित्नुपर्दछ । त्यो हाम्रो कामबाट नै जित्दै जाने हो । नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैले हाराहारीमा भोट पाउनुले यही कुराको संकेत गरेको छ ।
दोस्रो, अझै पनि नेपाली जनले दुईवटा कुरामा शंकास्पद ढंगले वाम गठबन्धनलाई हेरेको सत्य हो । एक, नेकपा (एमाले) र माओवादी केन्द्र एक हुन्छन् भन्ने आशा रहे पनि ढुक्कैले विश्वास भने गर्न सकेनन् । त्यसो हुँदा परिणाम अझै राम्रो बन्न सक्थ्यो । दुई, उनीहरूले वामपन्थीहरूले दुई तिहाइ पु¥याउँदा निरंकुश बन्छन् कि भन्ने त्रास छ, पार्टीहरूले यसलाई हटाउन सक्नुपर्दछ र त्यो उनीहरूको व्यवहारले नै प्रस्ट्याउँदै लानुपर्नेछ ।
जनअपेक्षाको प्रतिफल
नेपालीहरूले चाहेको आर्थिक विकास र समृद्धि नै हो । चाहे त्यो बामगठबन्धनले गरोस् वा त्यो अरू कसैले गरोस् । उनीहरू आर्थिक विकासका अभावमा रोजगारका लागि आफ्ना सन्तान विदेश पठाउन नपरोस् भन्ने चाहन्छन् । सुव्यवस्थित प्रणालीको अभावमा जतिसुकै फराकिला बाटा भए पनि त्यसले विकास ल्याउन सक्दैन भन्ने कुरा बुझेका छन् । सन् ९० को दशकपछि प्रत्येक टोलबाट युवाहरू रोजगारीका निम्ति बिदेसिने क्रम बढेको छ र यसबाट धेरथोर विकासबारे बिदेसिएका आफ्नै सन्तान वा छिमेकीका सन्तानबाटै भए पनि केही बुझेका छन् । सामाजिक सञ्जालको प्रभाव पहाडी भेगका ख¥यान र पाखाहरूमा समेत पुगेको छ । तर, युवाहरू बाहिरिएका कारण गाउँघर शून्य बनेबाट ग्लानि छ र वाम गठबन्धनले ती सबै ठाउँमा ढिलोचाँडो चहलपहल बढ्नेछ भन्ने अपेक्षा छ । स्वास्थ्य, शिक्षा र समग्र प्रणाली सुध्रियोस् भन्ने चाहन्छन् । मूल्य तिर्दा पनि भनेको अनुसार सामान नपाउने प्रणाली हटोस् भन्ने चाहन्छन् । उनीहरू मागेर खान नपरोस भन्ने चाहन्छन् अर्थात् मेहनत गरेर खान सक्ने वातावरण बनोस् भन्ने चाहन्छन् । विदेशबाट ल्याएको सामान होइन, त्योभन्दा राम्रो सामान नेपालमै बनोस् र गर्वसाथ उपभोग गर्न पाइयोस् भन्ने चाहन्छन् । अर्थात् समाजका सबै समस्याको समाधान वाम गठबन्धनले गर्दछ भन्ने विश्वास छ । त्यसैले, उनीहरूको अपेक्षामा वाम गठबन्धनका पार्टीहरूलाई अप्ठ्यारै चुनौतीहरू छन् ।
सुशासन–समृद्धिको हतियार
चुनौतीहरू धेरै छन् । यस्ता चुनौतीहरू एउटा चरणमा हरेक देशमा हुन्छन् । आजभन्दा २० वर्षअगाडिसम्म भारतका पार्टीहरूले यहीँ समस्या झेल्दै थिए । बिस्तारै आज परिस्थिति बदलिएको छ । अफ्रिकाका धेरै देशहरू झन्डै दुई दशकजसो ‘नेगेटिभ ग्रोथ’बाट गुज्रिएर पनि आज धेरै अगाडि बढिरहेका छन् । त्यसैले, नेतृत्व इमानदार बन्ने र उसले विकासप्रतिको सपना देख्दा जनअपेक्षा पूरा गर्न सकिन्छ । मात्र खाँचो छ जे बोलिन्छ, त्यो गर्ने परिपाटीको थालनी गर्नु हो ।
अल्पकालमा साधन र स्रोतको व्यवस्थापनका हिसाबले माथि उल्लिखित अपेक्षाबारे केन्द्रित बनेर दीर्घकालीन रूपमा नै योजनाहरू बनाएर अगाडि बढ्नुपर्दछ । सरकारले कसरी लगानी भिœयाउने, कसरी देशमा रोजगारी सिर्जना गर्ने, आफ्ना जिम्मेवारी के कारणले र कसरी अरूभन्दा पृथक र पारदर्शी तहले सम्पन्न गर्न सकिन्छ भनेर योजना बनाउन सके भने र एउटा सुशासित तह बनाउन सक्दा मात्र उनीहरूको दीर्घकालीन विकास सम्भव छ र अपेक्षा समेट्न सकिन्छ तर त्यसका लागि अहिलेको अवस्थामा पहिलो सर्त हो, सुशासन । सुशासनबिना सबै परिकल्पना असम्भव हुन्छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा