22nd November 2017, Wednesday

E-budhabar

नेकपा (एमाले)को पहिलो केन्द्रीय कमिटी



नेकपा (एमाले)को पहिलो केन्द्रीय कमिटी

नदीहरू र राजनीतिक दलहरूमाझ मलाई कैयौं पटक समानता लाग्दछ । कोसी नदी स्वयम् अरुण, बरुण, तमोर, सुनकोसी, दूधकोसी, तामाकोसी, इन्द्रावतीजस्ता सात ठूला नदी मिसिएर सप्तकोसीको आकार विशाल बनाउँछ । स्वयम् ती अरुण, बरुण, तमोर, इन्द्रावती इत्यादिमा हजारौं छहरा, छाँगा, झर्ना, खोला समाहित भएर ठूला बनेका हुन्छन् । काठमाडौं उपत्यकामा बाग्मती, विष्णुमती, इच्छुमती, टुकुचा, भक्तपुरको हनुमन्ते, काठमाडौं र भक्तपुरको बीचमा पर्ने मनहरा, धोबीखोला इत्यादि सबै चोभारबाट निस्कनुअघि मिलिसकेर बाग्मती बनिसक्दछन् । पछि बाग्मती छोडी पहाडबाट झर्दा अरू नदीको नाम रहँदैन । नेकपा (एमाले) पनि कैयौं ठूला, साना पार्टीहरू मिल्दै बनेको ठूलो पार्टी हो । नेकपा (एमाले)को पहिलो केन्द्रीय कमिटी बनेपछि त्यसमा पहिलो केन्द्रीय कमिटीमै पनि पाँचौं महाधिवेशन नहुँदै पनि परिवर्तनहरू सुरु भए । नेपाल कम्युनिस्ट पार्टीको पहिलो, दोस्रो र तेस्रो महाधिवेशनहरूले १७ मा नबढाई केन्द्रीय कमिटी बनाएको थियो भने पछि–पछि केन्द्रीय कमिटीको आकार ठूलो पारिँदै गयो । नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) बनेपछि सर्वप्रथम केन्द्रीय कमिटीका सदस्यहरू दुवै पार्टीका १४+१४ गरी २८ जनाको केन्द्रीय कमिटी बनाइएको थियो । मनमोहन अधिकारी अध्यक्ष (माक्र्सवादली), मदन भण्डारी महासचिव (माले), स्थायी कमिटीमा सहाना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय, सिद्धिलाल सिंह (माक्र्सवादी)बाट हुनुहुन्थ्यो भने माधवकुमार नेपाल, जीवराज आश्रित, सीपी मैनाली, मोहनचन्द्र अधिकारी (माले)बाट हुनुहुन्थ्यो । माक्र्सवादीबाट अरू थप ९ केन्द्रीय कमिटी सदस्यहरूमा कमल कोइराला, केशरमणि पोखरेल, तिलक पराजुली, माधव ज्ञवाली (मधु गुरु), बोधराज काफ्ले, दु:खी चौधरी, भीम सेढाईं र एकराज पाण्डे थिए । नेकपा (माले)बाट स्थायी कमिटीमा माथि उल्लिखित नामहरूका साथै केन्द्रीय कमिटीमा केपी शर्मा ओली, झलनाथ खनाल, वामदेव गौतम, अमृतकुमार बोहरा, विष्णु पौडेल, मुुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली र अशोक राई हुनुहुन्थ्यो । तर, यो पहिलो केन्द्रीय कमिटीमा तुरुन्तैदेखि परिवर्तन आउन प्रारम्भ भयो । एकराज पाण्डेले २०४६ को जनआन्दोलनताका औषधिको पसल बन्द नगरेको कुरो उठ्यो । एकराज पाण्डे बैठकमा स्पष्टीकरण दिन नआउँदा र बैठकहरूमा सामेल हुन नआउँदा त्यो स्थान रिक्त भयो । त्यसपछि पनेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकहरूको कुरो पत्रपत्रिकामा आउँदा केशरमणिको काम हो भन्ने चर्चा केन्द्रीय कमिटीमा आयो । तर, केन्द्रीय कमिटीले कुनै छानबिन वा निर्णय गर्नुअगाडि नै केशरमणि पोखरेलले पार्टी छाडेर नेपाली कांग्ेरसमा सामेल भएको खबर आयो । त्यो स्थान पनि रिक्त भयो । भीम सेढार्इं पनि मिटिङहरूमा नआउँदा त्यो स्थान पनि रिक्त भयो । पछि–पछि अरू ठाउँ पनि रिक्त हुँदै गएर मालेकै तर्फका कमरेडहरूलाई ल्याउँदै गइयो । पाँचौं महाधिवेशन आउनुभन्दा अगाडि नेकपा (एमाले)ले चुनाव आयोगमा दलका रूपमा दर्ता गराउनुपर्ने थियो । त्यसैले एउटा विधान र पार्टीको केन्द्रीय कमिटीको नामावली पेस गरिएको थियो । दल दर्ता गर्न चुनाव आयोगको अफिस बहादुर भवनमा हामीहरू बागबजारबाट एउटा सानो जुलुसको रूपमा हिँड्दै गयौं । झलनाथ खनाल सबैभन्दा अगाडि हुनुहुन्थ्यो । र, पार्टी दर्ता गर्न भित्र जाँदा चार/पाँच जना मात्रै जानुभयो । फर्केर आई झलनाथ खनालले भन्नुभयो– ‘हाम्रो पार्टीको नाम नेपाली कांग्ेरसभन्दा पहिले दर्ता भयो । र, हाम्रो पार्टीको दर्ता नम्बर १७ पर्‍यो । अनि हाँसेर अर्काे कुनै कमरेडले भन्नुभयो– ‘ए सत्रै परेछ ।’ सत्रको तास खेलमा सत्र पर्नु सबैभन्दा जित्ने बाजी मानिन्छ । चुनाव आयोगमा दर्ता भएको केही समयपछि हामीहरूले चुनावी घोषणापत्र मस्यौदा गर्न केन्द्रीय कमिटीको बैठक बस्यो । त्यस चुनावी घोषणापत्रमा पाँचौं महाधिवेशनभन्दा धेरै अगाडि नै नेकपा (एमाले) बहुदलवादप्रति र बहुलवाद दुवैप्रति प्रतिबद्ध रहेको कुरा परेको थियो । र, यो चुनावी घोषणापत्र त्यसबखत सर्वसम्मत रूपले पारित भएको थियो । यसप्रकार ०४८ को चुनावताकासम्म कसैले वैचारिक रूपले फरक मत सार्वजनिक गरेको थिएन । यद्यपि, मदन भण्डारीसँग सीपी मैनालीले फरक मत नयाँ जनवाद नै कार्यक्रम हुनुुपर्छ भन्दै आएको हुनुहुन्थ्यो । ०४८ को आम चुनावमा मलाई मदन भण्डारीले धनकुटाबाट चुनाव लड्नुस्, तपाईं जित्नुहुन्छ भनी एक्लै सम्झाउनुभयो । त्यो मिटिङ त्रिभुवन विश्वविद्यालयको एउटा हलमा आयोजित थियो । मैले मदन भण्डारीलाई भनें– ‘मैले धनकुटामा कहिले काम गरेको छैन । मलाई त्यहाँको स्थितिबारे राम्रो जानकारी पनि छैन ।’ मदन भण्डारीले  भन्नुभयो– ‘मलाई त्यताको संगठनको जानकारी छ । तपाईं सूर्यबहादुर थापाको विरोधमा लड्नूस्, तपार्इंले चुनाव जित्नुहुन्छ ।’ म धनकुटा गएँ । र, धनकुटाको टुँडिखेलमा आयोजित आमसभामा मैले गोपाल गुरागाईं र अन्य कमरेडहरूको सामुन्ने त्यहाँ उपस्थित जनतालाई ‘म यहाँबाट उम्मेदवार हुन्छु र सूर्यबहादुर थापालाई हराउँछु’ भनी सम्बोधन पनि गरें । तर, विराटनगर आएपछि मनमोहनजी र अन्य साथीहरूले ‘कहाँ त्यो जान्दै नजानेको ठाउँबाट चुनाव लड्ने ?’ भन्न थाल्नुभयो । मनमोहनजीले केही खाली नामांकन पत्रको फर्म पनि लग्नुभएको थियो । म पनि पहिलेदेखि नै दोमनमा थिएँ । मैले हुन्छ त मोरङकै कुनै क्षेत्रबाट चुनाव लड्छु भनें । ०४८ को आम चुनावमा मोरङको क्षेत्र नं. ५ बाट नेपाली कांग्ेरसको शैलजा आचार्यसँग मेरो चुनावी प्रतिस्पर्धा हुने भयो । तर, सुरुदेखि नै त्यो नेपाली कांग्ेरसको बलियो पकड भएको चुनाव क्षेत्र थियो । र, मलाई मेरा परिवारजन र नातागोताले हार हुन्छ भनी भनिसकेका थिए । तर, अब मेरो नामांकन पत्र दाखिल भइसकेको थियो । र, हारे पनि जिते पनि मैले लड्नैपर्ने मेरो कर्तव्य थियो । त्यस चुनावताका भारतमा बीबीसीका प्रसिद्ध संवाददाता मार्कटेली कता–कताबाट विराटनगर पुगेका थिए । उनीसँग कुरा हुँदा मैले ०४७ को संविधान अरू रूपले त ठिकै छ तर यसमा धर्मनिरपेक्षता नरहेर हिन्दू राज्यजस्ता शब्द परेकोमा हाम्रो पार्टीको गुनासो छ । त्यस कुरालाई लिएर म र मोहनचन्द्रको साथ चिया खाँदै मार्कटेलीले भने– ‘राम्रो भयो । नत्र भए नेपालमा हिन्दू राज्य हुनुपर्छ भन्ने एउटा पार्टी अगाडि आउने थियो ।’ ०४८ को आम चुनावमा मैले शैलजा आचार्यपछि दोस्रो संख्याको मत पाए पनि त्यो चुनावमा मेरो हार भयो । त्यसैगरी, मोरङको अर्को चुनाव क्षेत्रबाट मोहनचन्द्र अधिकारीको पनि हार भयो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा