24th June 2018, Sunday

E-budhabar

नेपाल–भारत सम्बन्धमा पुनर्नवीकरण



प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण सकिएसँगै भ्रमणका उपलब्धिहरू केलाइन थालिएको छ । दुई देशबीच आपसी सद्भाव बढाउने उद्देश्यले प्रधानमन्त्री ओलीको भ्रमण केन्द्रित भएको भए पनि केही महŒवपूर्ण विषयहरूमा समेत सहमतिको रेखा कोरिएका छन् । तथापि, प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतीय पक्षले जुन महŒव र स्थान दिन उपयुक्त ठान्यो, अहिले त्यही विषय नै प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई चासोपूर्वक नियालिरहेका दुवै देशका नागरिकबीच चर्चा र बहसको विषय बन्न पुगेका छन् । केही वर्षअघि चिसिएको छिमेकीसँगको सम्बन्धलाई पुनर्नवीकरण गर्ने दिशामा भारत अग्रसर भएको अर्थका रूपमा पनि प्रधानमन्त्री ओलीले दिल्लीमा पाएको न्यानो स्वागत र आतिथ्यलाई लिएर अनुमान लगाउन थालिएको छ ।
प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै भारत भ्रमणको निम्तो दिँदा नै भारतीय समकक्षी नरेन्द्र मोदीले केही कुराको स्पष्ट संकेत गरिसकेका थिए । अझ विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर ओलीलाई बधाई तथा शुभकामना दिन भारतीय पक्षले जुन हतार देखाए, त्यसले पनि ओली नेतृत्वको सरकारसँग हार्दिक सम्बन्ध विस्तार गर्न भारतीय पक्ष लालायित छ भन्ने देखाएको थियो । तिनै संकेतहरूबीच नै नेपालसँगको सम्बन्धलाई नयाँ आयाम र उचाइमा विस्तार गर्ने भारतीय चाहना छिपेर बसेको प्रस्टै देखिन्थ्यो । हुन पनि नेपालमा संविधान जारी भएपछि नेपाल र भारतबीचको सम्बन्धमा गतिलै दरार आएको थियो । पहिलोपटक प्रधानमन्त्री भएका बेला ओलीले भारतको भ्रमण गरे पनि त्यो ‘मुटुमाथि ढुंगा राखेर हाँस्नुपर्ने’ खालको थियो । त्यतिबेला दुई देशबीचको सम्बन्ध निश्चय नै कृत्रिम र बनावटी थियो । त्यसपछि गठन भएका सरकारहरूसँग पनि दिल्लीको रवैया न्यायोचित थिएन । दुई देशबीचको सम्बन्ध घिस्रिएर नै अगाडि बढिरहेको स्थिति थियो । शेरबहादुर देउवाले भारतको भ्रमण गर्दा पनि नेपालको संविधानप्रति भारतीय पक्ष उत्साहित थिएनन् ।
तर, प्रधानमन्त्री ओलीको दोस्रोपटकको भ्रमणका क्रममा भने भारतीय पक्षले विगतमा भन्दा आफूलाई केही खुलस्त र विश्वासयोग्य व्यवहार प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले ‘संविधान कार्यान्वयनको चरणमा भएका तीनै तहका निर्वाचनको सफलताले नेपालमा स्वर्णिम अध्याय सुरु भएको’ अभिव्यक्ति दिनुको पछाडि बनावटी कुरा गरेर आफ्ना समकक्षीलाई खुसी पार्ने नियत मात्र पक्कै लुकेको छैन होला । भारतीय प्रधानमन्त्रीको यस्तो भनाइले संविधान, तीनै तहको निर्वाचन र त्यसपछि बनेको वामपन्थी नेतृत्वको सरकारलाई घुमाउरो रूपले अनुमोदन गरेको सिधै छनक पाइन्छ । यसबाट भारतले अढाइ वर्षअघि नेपालसँग बिग्रिएको सम्बन्धलाई सुधार्ने, सपार्ने र नयाँ वामपन्थी प्रधानमन्त्रीसँग हातेमालो गरेर अगाडि बढ्ने स्पष्ट संकेत गरेको छ । सम्बन्धलाई नयाँ आयाम दिन भारतीय पक्ष मञ्जुर रहेको प्रस्टै देखिएको छ ।
सम्बन्धमा सुधार र सुदृढ तुल्याउने हिसाबमा प्रधानमन्त्री ओलीको तीन दिवसीय भारत भ्रमण केन्द्रित रहे पनि प्रधानमन्त्री ओलीको इच्छालाई साकार रूप दिने गरी केही समझदारी पनि भएका छन् । प्रधानमन्त्री ओलीले केही वर्षपूर्व नेपालका नदीहरूमा पानीजहाज चलाउने कुरा उठाउँदा त्यसलाई परिहासको विषय बनाइएको थियो । कतिपयले त प्रधानमन्त्री ओलीको भनाइलाई हावादारी कुरासमेत भनेका थिए । तर, भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो त्यो सपनालाई साकार पार्ने गरी समझदारी बनाएर फर्किएका छन् । भारतको प्रख्यात नदी गंगाको बाटो हुँदै नेपालसम्म पानीजहाज सञ्चालन गर्ने विषयमा भारतीय पक्षसँग समझदारी गरी त्यसका निम्ति सम्भाव्यता अध्ययन गर्ने विषय टुंगो लागेको छ । त्यस्तै, रक्सोलबाट काठमाडौंसम्म रेल सञ्चालन गर्ने, कृषि अनुसन्धान र आधुनिकीकरणमा सहयोग गर्नेजस्ता विषयमा पनि समझदारी भएको छ । जल र रेलमार्गको विकासका साथै कृषि क्षेत्रको आधुनिकीकरणमा भारतीय पक्षले चासो राख्नु र समझदारी बन्नु प्रधानमन्त्री ओलीको भारत भ्रमणको उपलब्धिका रूपमा लिनुपर्छ । यद्यपि, आगामी दिनमा यससम्बन्धी कामहरूले गति लिँदा मात्र उपलब्धिको नापजोख गर्न सकिएला ।
त्यसो त नेपाल र भारतजस्ता धेरै कुरामा समानता भएको दुई देशबीचको सम्बन्धमा न्यानोपन रहे मात्र द्विपक्षीय हित र विकासका ढोकाहरू खुल्नेछन् । चिसोपना कायम रह्यो भने त्यसले सम्बन्धमा दरार मात्र उत्पन्न गराउँदैन, सबै कार्यहरू अवरुद्ध हुनेछन् । सम्भवतः यही पक्षलाई आत्मसा्त गरेर नै भारतीय पक्षले नेपालसँगको सम्बन्धलाई न्यानोपन दिने र आगामी दिनहरूमा द्विपक्षीय हितका लागि कदम बढाउने प्रयत्नको थालनी गरेको हुनुपर्छ । प्रधानमन्त्री ओलीले दिल्लीमा पाएका न्यानो स्वागत र आतिथ्यको अन्तर्यमा यिनै पक्षहरू छिपेर बसेका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा