पचास दिनमै पार्टीभित्रैबाट देउवालाई दनक
काठमाडौं । सरकारको सय दिनलाई ‘हनिमुन’ अवधि भनिन्छ । यो अवधिभित्र प्रतिपक्षले समेत सरकारको आलोचना नगर्ने राजनीतिक संस्कार छ । तर विडम्बना सरकार गठनको ५० दिन नपुग्दै आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा आलोचनाको शिखरमा पुगेका छन्् । हनिमुनको आधा अवधिमै पार्टीभित्रैबाट उनले असक्षमको तक्मा पाएका छन् । विगतका तीनपटक प्रधानमन्त्री हुँदा कमाएको दुर्नाम मेटाउने अवसरसहित चौथोपटक प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा हनिमून अवधि त परको कुरा प्रधानमन्त्री भएको ४७ दिनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सहकर्मीहरूका संगीन आरोपबाट घेरिए । आफूमाथि लागेका आरोेप चिर्ने क्रममा उनले इतिहासमै सम्भवतः सबैभन्दा लामो झन्डै ३० मिनेटको अभिव्यक्ति दिनुप¥यो । यतिसम्म कि पार्टी बरु भाँडमा गए जाओस्, आफूलाई असफल बनाउन लागेकाहरूलाई छाड्दिनँ भन्दै देउवा कड्किएपछि अघिल्लो दिनसम्मको वरिष्ठ नेता रामचन्द्र पौडेलको हँसिलो अनुहार एकाएक कालोमैलो भएको थियो । पौडेल र अर्का नेता खुमबहादु खड्कातर्फ इंगित गर्दै देउवाले कारबाहीको चेतावनी दिँदा पौडेलको अनुहार निचोरिएजस्तो भएको थियो भने खड्का घरमै सुतिरहेका थिए ।
शनिबारबाट सुरु भई तीन दिनसम्म बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको एजेन्डा एउटै मात्र थियो, स्थानीय तहको निर्वाचनको समीक्षा । बैठक बोलाउने, छलफल गर्नेजस्ता विषय देउवाको रुचिभित्र पर्ने कुरै भएन । पार्टीभित्रको असन्तुष्ट पौडेल समूहको दबाबका कारण देउवाले केन्द्रीय समितिको बैठक डोकेका थिए । बैठकमा नेतृत्वको चर्को आलोचना गरेर देउवाको सेखी झार्ने पौडेल समूहको तयारी थियो । मन्त्री हुने आशका कारण नेतृत्वप्रति धेरै असन्तुष्टि हुँदाहुँदै पनि केही केन्द्रीय सदस्यले कडा खालको कुनै आलोचना नगरे पनि पौडेल समूहका पौडेल आफैंले, महेश आचार्य, रामकृष्ण यादवलगायतका नेताले नेतृत्वको आलोचना गरे । तर सबैको कुरा सुनेपछि बैठकको अन्तिम दिन ३० मिनेट लामो (अवधिका हिसाबले दुर्लभ) भाषण गरेका देउवा पौडल समूहप्रति आक्रामक शैलीले खनिए । पार्टी पद्धतिभन्दा पनि हुकुमी शैलीको देउवाको प्रस्तुतिविरुद्ध बैठकमा फेरि कसैले खुलेर नबोले पनि यही तरिकाले जाने हो भने देउवाले पार्टी सिध्याउने निष्कर्षमा पौडेल समूह पुगेको बताइन्छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले बैठकमा कसैको नाम नलिई पार्टीमा आफूलाई सिध्याउन ठूलै नेताहरू लागेको बताएका थिए । आफूलाई असफल पार्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएको भन्दै देउवाले यसका कार्यकर्ताको नभएर नेताहरूकै हात रहेको बताएका थिए । उनको भनाइ थियो, ‘म अन्तर्घातीको नाइकेहरूलाई कारबाही गर्छु, यसरी पार्टी चल्दैन । बरु पार्टी सानो भए पनि होस् ।’ बैठकमा पौडेल समूहका नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टीले हार्नुको पछाडि नेतृत्वको स्वेच्छाचारी र अलोकप्रीय कदम कारक भएको बताएका थिए भने देउवाले त्यसो नभएर अन्तर्घातका कारण हारेको बताएका थिए ।
यस्ता छन् देउवामाथिका अभियोग
बैठकले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी पहिलो शक्ति बन्न नसक्नुमा पार्टी नेतृत्वको कमजोरी रहेको निष्कर्ष पनि निकालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त प्रदेश २ को निर्वाचनको उम्मेदवारी तय गर्न पार्टी संसदीय बोर्ड नै गठन गर्न पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग माग गरेका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा देउवाले आफ्ना पक्षलाई मात्रै उम्मेदवार बनाएका कारण पनि पार्टीले अपेक्षा गरेअनुसार नतिजा ल्याउन नसकेको आरोप असन्तुष्टहरूको रहेको छ । निर्वाचन हार्नुको पछाडि वरिष्ठतालाई मिचेर कनिष्ठलाई प्रहरी महानिरीक्षक बनाउन सभापति देउवाले लिएको अडान, तत्कालीन प्रधानन्यायाधीश सुशीरला कार्कीमाथि महाअभियोग प्रस्ताव लगाउने अविवेकी निर्णय, राजदूतमा मेनपावर व्यवसायी र बदनाम पात्रको सिफारिसजस्ता अभियोग देउवामाथि लगाइएको थियो । त्यस्तै पूर्वअर्थमन्त्री महेश आचार्यले प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाले आफ्नो सल्लाहकार कमिटी नबनाउनुजस्ता कुराले पनि पार्टी लज्जित हुनुपरेको प्रसंग कोट्याएका थिए । बीबीसी नेपाली सेवामा दिएको अन्र्तवार्ता, सिरहाका भाषणको कपी साटिएको प्रकरणमा प्रधानमन्त्रीले पार्टीलाई लज्जित बनाएको उनको भनाइ थियो ।
मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गरेकोमा पनि देउवाको चर्को आलोचना भएको थियो । मन्त्रिपरिषद् विस्तार गरी सरकारको काम कारबाहीलाई प्रभावकारी गराउन पर्ने बेला सरकार गठन भएको ५० दिन बितिसक्दा देशवासीका नाममा सम्बोधन गर्ने त परको कुरा मन्त्रिपरिषद्समेत विस्तार नगरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गरिएको थियो ।
मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारले आफ्नो काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ । बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ । सबै तहको निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि समयमै सक्न प्रधानमन्त्री देउवालाई सुझाव दिइएको थियो । प्रदेश २ को निर्वाचन सारेकोमा पनि पार्टीभित्रैबाट देउवाको आलोचना भएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply