पार्टी एकता कुम जोडेर गर्ने कि ठोकेर ?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको सुनिँदै छ । द्विअध्यक्षात्मक प्रणालीमा करिब सहमति जुटिसेकको समाचार आएको छ । दुई पार्टीका शीर्ष दुई नेताबीच ठ्याक्कै के कुरा भयो भन्ने जानकारी छैन । पार्टी एकता हुने कुरा ज्यादै सकारात्मक हो । मैले पहिल्यैदेखि यो एकताका लागि भएका प्रयासहरूको प्रशंसा पनि गर्दै आएको छु । तर, कुन धारमा पार्टी एकीकरण हुँदै छ भन्ने कुनै भरपर्दो कुरा बाहिर आएको छैन । बाहिर समाचार आएजस्तो, एउटै पदमा कुम ठोकेर गरिने एकता कति दिगो होला ? यो एउटा महŒवपूर्ण प्रश्न हो ।
नेताहरूको व्यवस्थापनका लागि विभिन्न पद बाँडेर जाने कुरा स्वाभाविक नै हो । सामूहिक रूपले सोच्ने, सामूहिक रूपले निर्णय लिने पनि स्वाभाविक कुरा हो । तर, अहिलेसम्म केपी ओलीजीले आफ्नो पार्टीमा आफूखुसी निर्णय गर्ने र प्रचण्डजीले पनि आफ्नो पार्टीमा आफूखुसी निर्णय गर्ने परम्परालाई छाडेर दुई नेताले सामूहिक रूपमा सोच्ने र निर्णय लिने प्रक्रियामा जाने भन्ने कुरा राम्रो हो, त्यो गर्नु पनि पर्छ । तर, त्यसो गर्ने नाममा प्रधानमन्त्री पनि समय आधाआधा गर्ने पार्टी अध्यक्ष पनि समय आधाआधा गर्ने कुरा त्यति उचित हो जस्तो लाग्दैन । यो त एकै पदमा कुम जोडेर होइन, कुम ठोकेर गरिने एकता भयो । कुम ठोकेर गर्ने एकता कति स्थायी हुन्छ ? कुम ठोकेर गरिने एकता भनेको सकसपूर्ण एकता हो । मलाई के लाग्छ भने यी दुवै पार्टीका नेता महŒवाकांक्षी छन्, उत्तिकै दाउपेज पनि जान्दछन् । यसकारण पनि कुम ठोकेर गरिने एकता यति चिरस्थायी हुँदैन । कुनै एउटा नेताको टिम सन्तुलन बिग्रनासाथ एकतामा समस्या आउँछ । दुवै नेता सोझासोझा भए राम्रो हुन्थ्यो । दुवै नेता इमान्दार भएका भए पनि केही बिग्रने थिएन । तर, दुवै नेता दाउपेचमा पनि निपुण भएकाले यो प्रणालीबाट गरिने एकता दीर्घायु नहोला । हाम्रो चाहना त्यस्तो नहोस् भन्ने हो ।
पार्टी एकतालाई दिगो बनाउने हो भने नेतृत्वका लागि अध्यक्ष मण्डल बनाएर जाने मोडल उपयुक्त हुन्छ । दुवै पार्टीका चार÷पाँच नेताहरू रहेको एउटा अध्यक्ष मण्डल बनाउने र एकजनालाई संयोजक तोकेरे जाने विधि उपयुक्त हुन्छ । यसो गर्दा त्यो एक जना संयोजकले आफूखुसी एकल निर्णय गर्न सक्दैन, सामूहिक निर्णयको उचित अभ्यास हुन्छ । प्रधानमन्त्री पनि आधाआधा गर्नेजस्तो कुराले स्वयं प्रधानमन्त्री आफैंमा उत्साह रहँदैन । निश्चित समयपछि अर्को आइहाल्छ । एउटाले एउटा अवधारणा अघि सारेको हुन्छ, लागू नहँुदै अर्को आउँदा आममान्छेका बीचमा पनि त्यसले अस्थिरता सिर्जना गरेको सन्देश प्रवाह गर्छ । यसो गर्नुभन्दा प्रधानमन्त्री पुरै कार्यकाल एउटै व्यक्ति हुने, पार्टी अध्यक्ष पनि एउटै व्यक्ति हुने, पे्रसिडेन्सियल प्रणालीमा जानु सबैभन्दा उपयुक्त हुन्छ । प्रेसिडेन्सियल प्रणालीमा जाँदा पार्टी एकल ढंगले चलाएर आफूलाई सिध्याउने भयो भन्ने शंंकाको सुविधा अर्कोलाई हँुदैन पनि ।
सैद्धान्तिक विषयमा पनि मेरो गोरुको बाह्रै टक्का भनेर गयो भने एकता हँुदैन । झापा आन्दोलनपछि एमालेलाई शान्तिपूर्ण बाटोमा हिँडाउने कुरामा जनताको बहुदलीय जनवादले महŒवपूर्ण भूमिका खेलेकै हो । हिंसात्मक बाटोमा हिँडेको माओवादीलाई शान्तिपूर्ण बाटोमा बदलिने कुरामा आशा जगाउने कुरामा जानेर नजानेर जबजले पनि भूमिका खेलेकै हो । यो कुराको व्याख्या स्वयं प्रचण्डले गरेको मैले सुनेको छु । यदि एमाले शान्तिपूर्ण मार्गमा आएर जबजको कार्यक्रमलाई बोकेर नहिँडेको भए माओवादी आन्दोलन यति सजिलै शात्तिपूर्ण मार्गमा अवतरण हुँदैनथ्यो होला भनेर प्रचण्डले नै भनेका छन् । यसको अर्थ एउटा मागर्दशन माओवादीहरूलाई जबजले दिएको छ । तर, यसो भन्दैमा माओवादीलाई जबज मानेरै एकतामा आइज भन्दा कति उपयुक्त होला ? माओवादीमा पनि प्रचण्ड मात्र त छैनन् । त्यो पनि एउटा पार्टी हो, त्यहाँ पनि नेता, कार्यकर्ता छन् । सोझा, इमानदार, बांगा सबै खालका मान्छे त्यहाँ पनि छन् । भोलिको एकीकृत पार्टी भनेको त आजभन्दा बलियो पार्टी बनाउने कुरा हो । त्यसका लागि ती सबैलाई समेट्नुप¥यो । जबजलाई मानेर मात्र पार्टी बनाइयो भने त्यहाँबाट निचोरिएर मात्र मान्छे आउने भए । पार्टीमा धेरै योगदान दिएका, सिद्धान्त बुझेका मान्छे अर्कैतिर जाने भए । जतिसुकै राम्रो भए पनि निचोरिएर गरिएको एकताको पक्षमा धेरै मान्छे आउदैनन् । २०५४ सालमा महाकालीको विवादले एमालेमा विभाजन भयो । त्यसपछि एमाले र मालेबीच एकता हुँदा नेतृत्वले विवेक नपु¥याएकै कारण मालेका धेरै कार्यकर्र्ता माओवादीमा गए । त्यसपछि एकीकृत एमाले त्यति बलियो हुन सकेन । यसबाट पनि शिक्षा लिनुपर्छ । निचोर्नकै निम्ति निचोर्ने कुराले एकता बलियो हुँदैन । यसबारे दुई जना नेता बसेर मात्र हँुदैन । एकता संयोजनका सबै नेता बसेर ठन्डा दिमागले सोचेर कसरी हुन्छ पार्टी एकतालाई अझ बलियो र चिरस्थायी बनाउनुपर्छ । जनयुद्धलाई ससम्मान सम्बोधनका कुरा पनि होलान् । त्यसो गरिएन भने सबै मान्छे नआउलान् । एउटा शक्ति निष्क्रिय बस्यो वा अर्को विपक्षी पार्टीमा गएर सक्रिय भयो भने पनि त्यसले वाम एकतालाई फाइदा गर्दैन । कसरी हुन्छ, त्यो सबै शक्ति एकीकृत पार्टीमै सक्रिय हुने वातावरण बनाउनुपर्छ । यसलाई जबजको जितका रूपमा भन्दा एकीकृत पार्टीको जितका रूपमा लिनुपर्छ । कुनै एक पार्टीले आफ्नो सिद्धान्तमा ढालेर गरिएको एकता पनि त्यति दिगो हुँदैन ।
कतिपयले हतारिएर पार्टी एकता गर्नुहँुदैन भनेको पनि सुनिन्छ । सैद्धान्तिक रूपमा भन्दा यो सोह्रै आना सही कुरा हो । तर, यहाँ समस्या के हो भने नेता दुवै चलाख छन् । दुवै चलाख नेताले दाउपेच खेल्छन् भन्ने कुराबाट सशंकित हुनेहरू पनि छन् । एकथरी दाउपेच खेल्नेछन्, अर्काथरी दाउपेच खेलाउँछन् भन्नेबाट सशंकित हुनेहरू छन् । यो अवस्थामा एकतालाई लम्ब्याउने कुरा खतरनाक नै हुने देखिन्छ । एकताअघि मूलभूत सैद्धान्तिक खाका बनाएर बहस, छलफललाई चाहिँ अधिवेशन अघिसम्म लैजानु नै उपयुक्त होला । यहाँ त एकता भाड्ने पक्ष पनि क्रियाशील छ, भाँड्ने हुन् कि भनेर सशंकित हुने पक्ष पनि क्रियाशील छ । एकता होस् भन्ने र नहोस् भन्ने दुवै खालका राष्ट्रिय दबाब पनि छ, अन्तर्राष्ट्रिय दबाब पनि छन् । भाका राख्ने तर भाका पूरा नगर्ने कुरामा दुवै नेताले कमाएका छन् । त्यसैले, एकताको भाका राख्नु पनि राम्रो होइन । सबै पक्षलाई विचार गरेर एकतालाई सार्थक र दिगो बनाउनमा सबैको ध्यान जाओस् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply