22nd June 2018, Friday

E-budhabar

प्रचण्ड ‘पाण्डव’ हुन खोजेका कि ‘द्रौपदी’



प्रचण्ड ‘पाण्डव’ हुन खोजेका कि ‘द्रौपदी’

बन्दुकको नालबाट राज्यसत्ता कब्जा अभियानमा २६ वर्ष भूमिगत जीवन बिताएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक जीवनमा पनि प्रचण्ड साबित छन् । भूमिगत छँदा प्रचण्डपथमै दुनियाँ हिँडाउन सफल प्रचण्डलाई अहिले दुईवटा अवसर आइलागेको छ । पहिलो, प्रत्यक्ष निर्वाचनमा पहिलो हुँदै तेस्रोमा झरेको पार्टी दोस्रोमा पुगेको छ । दोस्रो, संसदीय भासको राजनीतिमा हाम्फाल्दा ८३ सिटसरह अर्थात् एमालेसरह हुँदै निर्वाचनमा तेस्रो पारिएको एमाले पहिलो हुँदा त्यही पार्टीमा अध्यक्ष र प्रधानमन्त्री हुने मौका मिल्दै छ । एमाले अध्यक्ष केपी ओली पक्षधर केही नेताको तित्रे बकबक सुरु भइसकेको छ कि अहिले केपी ओली प्रधानमन्त्री, त्यसपछि अध्यक्ष प्रचण्ड । हिजो यिनै सबैभन्दा बढी माओवादीप्रति क्रूर थिए, नैतिकताका आधारमा माधवकुमार नेपालले राजीनामा दिएपछि शक्तिको पछि लाग्ने पुस्ता अहिले पनि त्यही यात्रामा छन् । अब शक्तिमा प्रचण्डलाई स्थापित गर्न पाइयो भने बाँकी १०–१५ वर्षको राजनीतिमा पहिला ओली देखाएर अब प्रचण्ड देखाएर पार हुन्छ भन्ने भ्रमले पनि होला, एमाले अध्यक्ष प्रचण्ड भन्दै टोलछिमेकमा हल्ला गरिरहेका छन् । प्रचण्ड एमाले अध्यक्ष हुने होइनन्, नयाँ बन्ने पार्टीमा अध्यक्षका बलिया दाबेदार हुन् ।
मूलमुद्दा सरकार गठनको हो, अबको कम्युनिस्ट पार्टी कस्तो भन्ने हो ? माधवकुमार नेपालबारे टिकाटिप्पणीमा समय खेर फाल्ने ऊर्जाशील युवा नेताले यसबारे सोचेका छैनन् । भित्री कुरा, यति भनेपछि २५ सदस्यीय मन्त्रिमण्डलमा परिहालिन्छ कि भन्ने हो । परे प्रचण्डले पनि ठीक छ भन्लान् भन्ने हो । बाँकीको राजनीतिक औकात आमजनताले बुझेकै छन् । औसत औकातमा परेकाले जिताउनैपर्ने बाध्यता छँदै छ ।
तर, प्रचण्डलाई अर्को एउटा जिम्मेवारी दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आकुलव्याकुल छन् । अस्पताल लैजानुपर्ने गरी देखिएको उनको छटपटाहट हेर्दा लाग्छ, प्रचण्ड नगईकन त्यो पार्टीको केन्द्रीय समिति विस्तारमा समेत समस्या छ । जनवर्गीय संगठनहरूको महाधिवेशन गर्न पनि समस्या छ । प्रचण्डको सहजीकरण खोजिरहेका छन् देउवा । यसको सानो उदाहरण सोमबार स्याङ्जामा निर्वाचन समीक्षा गर्न बसेको कांग्रेस बैठकमा गोपालमान श्रेष्ठले गरेको गुन्डागर्दी, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौंसम्म ल्याउनु परेको परिदृश्य हो । पार्टी सभापति तथा प्रदेशसभामा पराजित कमल पंगेनीले समेत बैठकमा चस्मा फुट्ने गरी दनक भेटेका छन् । रामचन्द्र पौडेल पक्षधरमाथि बैठकमै प्रहार जिल्ला तहमा पुगेको छ । जसरी यिनै प्रचण्डसँग संसद्मा पनि पौडेललाई १६ पटक प्रधानमन्त्रीमा हराउन कांग्रेसले बाँकी राखेन ।
मूलमुद्दा सरकार गठनकै हो, माथि भनिएकै छ । तर विषयान्तर यस्तरी भइरहेको छ कि, गुजरात र हिमाञ्चलमा निर्वाचनपछि फुर्सदमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी भ्याएसम्म नेपालीलाई फोन गरिरहेका छन् । उताको फोन आएपछि यता निर्वाचन आयोगमा केही पदाधिकारी जानै छाडेका छन् । कोही ट्विटरमा लेखेर बसिरहेका छन् । अस्तिसम्म पार्टीको विशेष महाधिवेशन र कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने युवापुस्ता सोमबार राष्ट्रपतिविरुद्ध आन्दोलन गरिन्छ भन्दै ज्ञापनपत्र बुझाउने भइसके । यो सब कामका लागि उनीहरूले फेरि टाट्नामा हरियो घाँस देखाएर सम्मोहित पार्न खोज्दै छन् प्रचण्डलाई । तेस्रोपटक प्रधानमन्त्री र नयाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हुन छाडेर प्रचण्ड जालान् कि नजालान् ? जनता उत्सुकतापूर्वक हेरिरहेका छन् । उनी कांग्रेसबाट प्रधानमन्त्री हुन गए भने सबभन्दा ठूलो जीत बाबुराम भट्टराईको हुनेछ ।
अबको कम्युनिस्ट पार्टी कस्तो बनाउने ? जबज र मालेमावादीहरू छलफल गर्दै होलान् । कतिखेर केपी ओली प्रधानमन्त्री बन्लान् र थपक्क पार्टी अध्यक्षको कुर्सीमा बसौंला भन्दै माधवकुमार नेपालले मुख मिठ्याएका पनि छैनन् । यो लठिभद्र भाउँतो हेरेर राष्ट्रपति भइबसूँ भन्ने मोह पनि देखिन्न । नवौं महाधिवेशनमा ३० प्रतिशतका नेता भनेर उद्धरण गरिएका नेपाल त्यतिखेरै कति प्रतिशतमा देखिए, मतपरिणाम अभिलेखालयमा सुरक्षित नै होला । महाधिवेशन आउन बाँकी समयसम्म अध्यक्ष केपी ओली नै हुन् । पार्टी १०औं महाधिवेशनमा गए उमेर पुगेका जोकोही अध्यक्षमा उठ्न कसैलाई सोधिरहनै पर्दैन । नयाँ कम्युनिस्ट पार्टी बनाउने हो भने त्यसको पहिलो नेतृत्वमा केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र प्रचण्डले लिन चाहनु नौलो होइन । केही ‘हाइब्रिड हाइड्रोकमरेड’हरूलाई नेता बोक्ने र नेता पछार्ने माछाबजारको अभ्यास पार्टीमा देखाउने रहर होला, त्यस्ता बजारु प्रतिक्रियामा डराउनैपर्दैन नेताहरूले ।
प्रचण्डलाई कार्यकारीसहितको सर्वोच्च पद चाहिएको छ । त्यो पदमा पु¥याउन दुई पार्टीका युवापुस्ता तयार छन् । ६ पटक सांसद भएका शेरबहादुर देउवादेखि सँगैका साथीहरू मन्त्री भएर रिटायर्ड हुन लाग्दा धवलागिरी अञ्चलमै कांग्रेस स्विप गरेर पहिलोपटक आफू पनि सांसद बनेका तर प्रचण्डकै समकालीन बाबुराम भट्टराईको नयाँ शक्तिको अध्यक्ष पद अस्वीकार गरेर प्रचण्डकै घर फर्किएका देवेन्द्र पौडेलसमेत यतिखेर प्रचण्डको शक्तियात्रामा सम्मोहित छन् । मसालका महामन्त्रीदेखि नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा (माओवादी केन्द्र) हुँदै एमालेमिश्रित नयाँ कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने काममा सफल बनिरहेका प्रचण्ड कतै कांग्रेससँग मोहनीमत्त भएर वाम ध्रुवीकरणमा असहयोगी त बन्दैनन् ? एमालेले प्रधानमन्त्री र अध्यक्ष दिँदा पनि प्रचण्ड कतै ‘पाण्डव’ हुन छाडेर ‘द्रौपदी’ पो बन्छन् कि ? कहिले शेरबहादुरसँग, कहिले केपी ओलीसँग ? अब त प्रचण्डले एउटा शक्ति नेतृत्व गर्दै स्वस्थानीमा बाबाको यज्ञमा फाल हालेको अवस्थामा पुगेकी सतीदेवीझैं बनेको कांग्रेसलाई बोकेर राजनीतिक तीर्थाटन सफल हुन्न भन्ने बुझ्नुपर्ने हो । आफ्ना सहकर्मीलाई विनाविभागीयमन्त्रीमा राखेर गरिएको अपमान सम्झनुपर्ने हो । कांग्रेसको खस्कँदो राजनीतिक धरातलमा प्रचण्डले आफ्नो शक्ति बिर्सेर भत्कँदै गरेको कांग्रेसलाई टेको दिन थाले भने कहाँ पुग्ला वाम राजनीतिको भविष्य ? प्रचण्डले यतिखेर शेरबहादुरलाई द्रौपदीकै भूमिका दिएर आफू पाण्डव बनेको बेस । त्यसपछि शेरबहादुर देउवा फेरि ओलीतिर सम्मोहित भएको हेर्न बाँकी नै छ ।

ramkumarelan@gmail.com

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा