21st May 2018, Monday

E-budhabar

प्रधानमन्त्रीको सम्बोधनको सार्थकता



नयाँ वर्ष २०७५ को पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरेका सम्बोधन धेरै नै अर्थपूर्ण छ । विगतका वर्षहरूमा पनि सरकार–प्रमुखले नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा संक्षिप्त सन्देश दिन्थे । तर, यसपटक भने प्रधानमन्त्री ओलीले लामो सम्बोधन नै गरेर नयाँ वर्षदेखि देशको आर्थिक विकास र समृद्धिमा दत्तचित्तपूर्वक लाग्ने उद्घोष गरेका छन् । प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने स्थल चयन गर्नुले पनि धेरै महŒव र प्रभाव दर्साउँछ । देशकै सुन्दर र मनोरम रारातालको किनारबाट देशवासीलाई सम्बोधन गर्नुले नेपालको प्राकृतिक सौन्दर्यको विश्वव्यापी प्रचार मात्र भएको छैन, सुन्दर तालको किनारमा बसेर समृद्धिका मार्गचित्र प्रस्तुत गर्नु आफैंमा अर्थपूर्ण देखिन्छ ।
जनताले पनि प्रधानमन्त्री ओलीबाट केही ठोस प्रतिबद्धता आओस् भन्ने चाहना राखेका थिए । प्रधानमन्त्री भएयता देशवासीलाई आश्वस्त तुल्याउने गरी कुनै ठोस प्रतिबद्धता नआइरहेको सन्दर्भमा कतै सरकार अलमलमा त छैन भन्ने आभास हुन थालिसकेको थियो । तर, रारा किनारबाट जारी सम्बोधनपछि भने प्रधानमन्त्री ओली प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको बेला जनतासामु पस्किएका प्रतिबद्धताबाट दायाँबायाँ छैनन् भन्ने प्रस्ट हुन पुगेको छ । अब बाम गठबन्धनले निर्वाचनताका जनतासामु बिसाएका समृद्धिका सपनाहरूले मूर्तरूप ग्रहण गर्ने समय नजिकिँदै गइरहेको अनुभूति पनि हुन थालेको छ । र, वाम गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री ओली देशको विकास र समृद्धिका लागि आफूले कोरेका मार्गचित्रबाट विचलित नहुने अपेक्षा पनि गर्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले निर्वाचनको पूर्वसन्ध्यामा ‘अधिनायकवाद’ को झ्याली पिट्ने नेपाली कांग्रेसजस्ता दललाई सम्बोधनका क्रममा गहकिलै जवाफ दिएका छन् । ओलीले ‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, सधैँ स्वतन्त्र नेपाल राष्ट्रको माटो एवं लोकतन्त्रप्रति आफ्नो उच्च सममान र अविचलित प्रतिबद्धता’ रहेको कुरा औंल्याउँदै त्यसलाई व्यवहारको तहमा उतार्ने प्रतिबद्धता जनाउनुले कतिपय राजनीतिक शक्तिहरूले राख्दै आएको वाम गठबन्धनप्रतिको संशय निश्चय नै दूर हुने अपेक्षा राख्न सकिन्छ । यद्यपि, प्रधानमन्त्री ओलीको सम्बोधनलाई प्रतिपक्षको धर्म निर्वाह गर्ने क्रममा कांग्रेसलगायत दलले ‘भावनात्मक र ठोस कार्ययोजनारहित’ भनेर आलोचना गर्न चाहेका छन् ।
केही दिनअघि मात्र छिमेकी राष्ट्र भारतको सद्भाव भ्रमण गरेर फर्किएका प्रधानमन्त्री ओलीले छिमेकीहरूसँगको सम्बन्धलाई पनि सम्बोधनका क्रममा कोट्याउने कार्य गरेका छन् । उनले छिमेकी राष्ट्रहरूसँग घनिष्ठ सम्बन्ध कायम राख्ने क्रममा राष्ट्रहितलाई केन्द्रबिन्दुमा राख्ने कुरा उल्लेख गर्नु अझ महŒवपूर्ण देखिन्छ । त्यस्तै, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आर्थिक समृद्धिको स्पष्ट रेखा पनि कोरेका छन् । निर्वाचनकै बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा ल्याएका वाम गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नु छ र सन् २०३० सम्मा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ । त्यसका निम्ति जोखिम नमोलीकन र नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन ।’
देशले आर्थिक समृद्धिको दिशामा गहन र सार्थक पाइला चाल्न कृषि, उद्योग, शिक्षा, स्वास्थ्यलगायत यावत् क्षेत्रहरूको विकासले गति लिनु आवश्यक हुन्छ । यही पक्षलाई दृष्टिगत गरी प्रधानमन्त्री ओलीले आर्थिक समृद्धितिर मुलुकलाई डो¥याउन छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरू, वैदेशिक लगानीकर्ता र वित्तीय संस्थाहरूसँग हातेमालो गर्ने जनाएका छन् । र, स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् । लगानीकर्ताहरूलाई अनावश्यक कानुनी र प्रशासनिक झन्झट बेहोर्नुनपर्नेमा आश्वस्त पार्न पनि चाहेका छन् । औद्योगिक विकासका लागि विशेष आर्थिक र औद्योगिक क्षेत्रको निर्माणमा पनि प्रतिबद्धता खुलेरै आएको छ ।
कृषि क्षेत्रको विकासमा पनि प्रधानमन्त्रीको विशेष जोड रहेको छ । आगामी पाँच वर्षभित्र कृषि उत्पादकत्व चारगुणाले वृद्धि गर्ने कुरालाई सराहनीय ठान्नुपर्छ । त्यस्तै, प्रधानमन्त्रीले शिक्षाको विकासमा जोड दिएका छन् नै जनताको स्वास्थ्य सवालबारे पनि अधिक चासो राखेका छन् । उनले स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्षभित्रै ‘अर्गानिक नेपाल’ बनाइने उद्घोष गरेका छन् । त्यसो त प्रधानमन्त्री ओलीको सम्बोधनमा रेल र जलमार्गका कुरा नपर्ने त प्रश्नै रहेन । भारत भ्रमणका क्रममा यी दुई मार्गबारे समझदारी गरेर फर्किएका ओलीले सरकारको आगामी नीति तथा कार्यक्रममा रेल तथा जलमार्गसहितको आधुनिक यातायात र पूर्वाधारको विस्तृत खाका कोरिने पूर्वसूचना पनि आफ्नो सम्बोधनका क्रममा दिएका छन् ।
नयाँ वर्षको दिन प्रधानमन्त्री ओलीले समृद्ध नेपालको तस्बिर सार्वजनिक गर्नु अत्यन्तै सुखद र महŒवपूर्ण पक्ष हो । अब समृद्ध नेपालको तस्बिरलाई नयाँ फ्रेममा हालेर नेपाली जनताको मनमनमा सजाउन पनि उत्तिकै तत्परता देखाउनु आवश्यक हुन्छ । त्यसो भयो भने मात्र जनताले प्रधानमन्त्रीको सम्बोधनको सार्थकता प्राप्त गर्नेछन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा