25th September 2017, Monday

E-budhabar

प्रहरीभित्रकै हत्या किन भयो गुपचुप ?



काठमाडौं । चार महिनाअघि प्रहरीको कल्याण कोषद्वारा सञ्चालित नेपाल प्रहरी स्कुल सामाखुसीमा अध्ययनरत विद्यार्थी कुन्दन थापा मगरको हत्यालाई प्रहरीभित्रैबाट गुपचुप पारिएको छ । उक्त रहस्यमय हत्याको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पीडितको माग भए पनि उक्त माग अझै सुनुवाइ भएको छैन । पीडित पक्षले नेपाल प्रहरीले नै घटनालाई रमस्यमय पारिदिएको भन्दै छानबिनका लागि जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नै जाहेरी दर्ता गर्न नमानेको गुनासो गरेको छ । विद्यालय प्रशासनले घटनालाई स्वाभाविक भन्दै विद्यार्थी कुन्दन थापाले तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्त भने रमस्यमय मृत्यु भन्दै त्यसलाई स्विकार्न तयार छैनन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै किटानी जाहेरी दिन पीडितहरू प्रहरीको दैलो चहार्दा कतै पनि जाहेरी दर्ता गरिएको छैन । त्यति मात्र होइन, तत्कालीन प्रहरी स्कुलकी समादेशक शर्मिला गुरुङलाई प्रहरीको माथिल्लो तहबाटै संरक्षण गरिएको बताइन्छ ।

मृतककी आमा गौमती पुन थापाले दोषीलाई अविलम्ब कारबाही गरिपाऊँ भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा निवेदन दिन जाँदा निवेदन दर्ता नै गर्न नमानेको बताइन्छ । तत्कालीन प्रहरी निरीक्षक शर्मिला गुरुङ हाल रानीपोखरीमै रहेको र उनको उच्च प्रहरी अधिकृतहरूसँग हिमचिम रहेकाले पनि उक्त घटनाको जाहेरी दर्ता नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एउटा बालकको रहस्यमय हत्या प्रकरणसँग जोडिएको र सोको कुनै नैतिक जिम्मेवारी नलिने इन्सपेक्टर गुरुङलाई अहिले रानीपोखरीको महिला सेल प्रमुख बनाइएको भन्दै सर्वसाधारण आश्चर्यमा परेका छन् । उनको कमान्डबाट आममहिलाहरूले न्याय पाउन कठिन हुने बताइन्छ ।

यो विषयमा प्रहरीका तर्फबाट कतै पनि जाहेरी लिन वञ्चित गरिएपछि उच्च अदालतमा ‘जाहेरी दर्ता गर्न निर्देशनका लागि’ मुद्दा पनि परेको छ । विद्यालयको तत्कालीन प्रशासनले आत्महत्या भनेको र पीडितका अफन्तले हत्या भनेको उक्त प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने आवाज सर्वत्र उठेको छ ।

मृततकी आमाले तयार गरेको किटानी जाहेरीमा भनिएको छ, ‘मेरो छोरा मरेर गयो तर निजको मृत्युका सम्बन्धमा मलाई आजसम्म पनि जानकारी नगराउनुको पछाडि मेरो छोराको हत्या नै भएको हो भन्ने कुरा घटनास्थललगायतका परिदृश्यहरूबाट छर्लङ्ग देखिएको अवस्थामा पनि मैले दोषी उपर कारबाहीको माग गर्नु मेरो अधिकार हो ।’ उनले तत्कालीन प्रहरी स्कुलका समादेशक शर्मिला गुरुङ, अर्का विद्यार्था प्रनिशा अधिकारी र निजको बुबा भूतपूर्व हवल्दार बाबुराम अधिकारी तथा निजकी आमासमेतलाई झिकाई दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।

कसरी भयो घटना ?

स्कुल बिदाको मौकामा १४ वर्षीय कुन्दन थापा मगर आफ्नी दिदीको घर जाने तयारी गर्दै थिए । बिहानै दिदीलाई फोन गरेर भने, ‘म आज उतै खाना खान आउँछु ।’ भर्खर परीक्षा सकिएकाले बिदा पनि अलि लामै थियो । परीक्षाको नतिजाको पर्खाइमा रहेका उनी दिदिको घर जान पाउने खुसीले फुरुंग थिए । सामाखुसी रानीबारीस्थित दिदीको घरमा जाने बेला ‘बाई ममी’ भन्दै घरबाट निस्किएका कुन्दन न त दिदीको घर पुगे न त आफ्नो घर फर्केर नै आए ।

दिउँसो करिब २ बजेको थियो स्कुलकी इन्चार्ज शर्मिला गुरुङले कुन्दनकै मोबाइलबाट आमा गौमतीलाई फोन गरिन्न्, ‘तपार्इंको छोरा नेपाल प्रहरी अस्पताल महाराजगंजमा छ, छिटो आउनुस् ।’ यस्तो अवाजपछि छोराको प्रतीक्षामा बसेकी आमाको होसहवास नै उड्यो ।

नेपाल प्रहरी विद्यालय समाखुसीमा कक्षा ८ मा अध्ययनरत कुन्दन एकाएक अस्पतालमा रहेको खबरपछि उनका आमा बुवा तथा आफन्तहरूले शंका मान्न थाले ।
घरबाट खुसी हुँदै बाहिरिएको छोरा कसरी अस्पताल पुग्यो भन्ने प्रश्नले आमाको मन झस्किएको थियो । छोराको अवस्था बुझ्न हतारहतार गर्दै थापा दम्पती नेपाल प्रहरी अस्पताल पुगे । तर प्रहरीले गेटमै रोक्यो ।

‘मेरो बाबुलाई के भयो ? प्लिज, मलाई एकपटक भेट्न दिनुस् न’ भन्दै गौमतीले हारगुहार गरिन् । केही बेरपछि उनलाई भित्र जान दिइयो । भित्र रगताम्य अवस्थामा छोराको मृत शरिर लडिरहेको थियो । गौमती त्यही बेहोस भइन् । ‘तपाईंको छोराले स्कुलको ३ तलामाथिबाट हाम फालेर आत्महत्या ग¥यो,’ स्कुलकी इन्चार्ज शर्मिला गुरुङले भनिन् । तर मृतक कुन्दनका आफन्तहरूलाई शर्मिलाको कुरा पत्यार लागेन । यदि आत्महत्या नै हो भने पनि घरबाट खुसी हुँदै निस्केको बच्चालाई आत्महत्या गर्न कसले प्रेरित ग¥यो ?’

पोस्टमार्टम रिपोर्ट नै रहस्यमय

स्कुल इन्चार्ज शर्मिलासँग गौमतीले थुप्रै सवाल उठाइन् । तर उत्तर भने रहस्यको गर्भमै छ । छोराको आत्महत्या हो या हत्या ? भन्ने प्रश्नको जवाफमा अस्पतालको पोस्टमार्टम रिपोर्टले समेत केही खुलाउन सकेन । पोस्टमार्टम रिर्पोटमा ‘तीन तला माथिबाट खसेर मृत्यु भएको’ भनिएको छ । तर आफ्नो छोराले आत्महत्या गर्न नसक्ने ठोकुवा गर्दै ‘यो हत्या नै भएको’ दाबी परिवारले गरिरहेको छ ।
परिवार भन्छ ः आत्महत्या होइन हत्या नै हो
गोंगबु–६ शिवमन्दिरका स्थानीय बासिन्दा भरत थापा र गौमती पुनका एक्ला छोरा कुन्दन पढाइमा अब्बल थिए । एक्ला छोरा भएकाले पनि छोराको इच्छा चाहनामा बावुआमाले कुनै कमी राखेका थिएनन् । सानैदेखि निडर र फुर्तिलो स्वभावका कुन्दनलाई राम्रो शिक्षादीक्षा दिएर ठूलो र असल मान्छे बनाउने बाबुआमाको तीव्र चाहना थियो । काठमाडौंका नाम चलेका स्कुलमध्येको ‘नेपाल प्रहरी विद्यालय’मा छोरालाई पढाउन पाउँदा उनीहरू खुसी थिए । छोराले पनि राम्रै पढेको थियो । ७ कक्षा पास गरेर ८ कक्षामा भर्ना गर्न परिवारको तयारी हुँदै थियो ।
केही दिनपहिले स्कुलकै समकक्षी प्रमिशा अधिकारीसँग कुन्दनको झगडा भएको थियो । २०७३ चैत १६ गते बिहान दिदीको घरमा खाना खान हिँडेका कुन्दनलाई बाटैमा स्कुलकी इन्चार्ज शर्मिला गुरुङले फोन गरिन् र छलफल भएकाले स्कुल आउन आग्रह गरिन् । कुन्दन दिदीको घर नगई सिधै स्कुलतिर हानिए । प्रमिशा अधिकरीका बुवा बाबुराम अधिकारी छोरीसँग झगडा गर्ने कुन्दनलाई भेट्न नेपाल प्रहरी विद्यालय रानीबारी पुगिसकेका थिए । बाबुराम अधिकारी पूर्वप्रहरी हुन् । स्कुल पुगेको केही छिनपछि कुन्दनलाई इन्चार्ज गुरुङले कार्यालयको एउटा कोठा भित्र लगिन् ।
धेरै बेरपछि तीन जनाले पछाडिको गेट हुँदै कपडाले छोपेको अवस्थामा झुन्ड्याउदै कसैलाई लैजाँदै गरेको छिमेकीले देखेका थिए । ‘यो के बोकेर ल्याएको भन्दा चोर समातेर ल्याएको’ भन्दै ट्याक्सीमा हालेर बाहिर लगेको प्रत्यक्षदर्शीको भनाइ छ ।
‘कार्यालयको कोठाकोे भित्तामा लत्पतिएको रगत, इन्चार्ज गुरुङका हातमा कुन्दनको मोबाइल, कार्यालयभित्रै जुत्ता हुनुले’ यो घटना रहस्यमय छ । यता आमा गौमती पुनको भने आफ्नो छोराको ‘हत्या नै भएको’ दाबी छ । ‘मेरो छोरालाई कुटेर मारे, आफू निर्दोष बन्न उसले आत्महत्या गरेको प्रचार गरियो,’ गौमतीले भनिन्, ‘यो हत्या नै भएको हो, मेरो छोराले आत्महत्या गर्न सक्दैन । यो घटनाको न्यायिक र निष्पक्ष छानबिन होस् ।’
त्यसो त कुन्दनले हाम फालेर आत्महत्या नै गरेको भए पनि उनी खसेको ठाउँमा रगत हुनुपर्ने हो । तर उनी खसेको ठाउँमा रगत छैन, कोठाभित्रको भित्तामा भने रगत लत्पतिएको छ । परिवारको उपस्थितिबिना शव उठाएर अस्पताल पु¥याइएकोप्रति परिवारको तीव्र असन्तुष्ट रहँदै आएको छ । नातामा कुन्दनका दाजु पर्ने सर्जित थापा पनि कुन्दनको आत्महत्या स्विकार्न तयार छैनन् । ‘प्रहरी प्रशासन नै आत्महत्याको प्रपञ्च रचेर यो घटनालाई दबाउनतिर लागेको छ,’ उनको प्रश्न थियो, ‘हामीलाई न्याय कसले दिन्छ ?’

प्रहरी भन्छ आत्महत्या नै हो

यता महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी बमबहादुर भण्डारीले पोस्टमार्टम रिपोर्टका आधारमा यो आत्महत्या नै भएको दाबी गरेका छन् । तर स्कुलकै हाताभित्र यो घटना भएकाले स्कुलले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । इन्चार्ज शर्मिला गरुङलाई पक्राउ गरि छानबिन गरिने र पीडितलाई न्याय दिन कुनै कसुर बाँकी नराखिने उनले बताएको भए पनि अहिलेसम्म इन्स्पेक्टर गुरुङ छानबिनको घेरामा परेकी छैनन् ।

पीडित भन्छन् ः न्याय चाहियो

प्रहरीको आश्वासनले आफूहरू ढुक्क हुन नसकेको र प्रहरीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पीडित परिवारले लगातार आन्दोलन गर्दै आएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि सिंहदरबार घेराउ गर्दा समेत कसैले सुनुवाइ नगरेको कुन्दनका बुवा भरत थापाले दुखेसो पोखे । उनले भने, ‘हामीले छोरा पनि गुमायांै, त्यसमाथि हामीलाई कसैले न्याय पनि दिएन ।’ छोराको आकस्मिक मृत्युले विक्षिप्त बनेका उनी आफूहरूले न्याय पाउनेमा शंका व्यक्त गर्छन् ।
कुन्दनको हत्या हो या आत्महत्या, यो रहस्यकै गर्भमा छ । तर कुन्दनले आत्महत्या नै गरेको भए पनि यसको यथेष्ट प्रमाणहरू प्रशासनले जुटाउन नसकेको परिवारको आरोप छ । भित्तामा लतपतिएको रगतलाई पान खाएर थुकेको भनि गलत जवाफ दिएर घटनालाई अझै रहस्यमय बनाएको भन्दै पीडितले आक्रोश व्यक्त गरेका छन् । एउटा १४ वर्षको नाबालकलाई स्कुलमा एक्लै बोलाएर छानबिन गर्नु स्कुल प्रशासनको गैरजिम्मेवारी भएको उनीहरूको ठहर छ । परिवारलाई जानकारी नै नगराई विद्यार्थीलाई बिदाको समयमा स्कुलमा बोलाएर कारबाही गर्नु गलत भएको परिवारको भनाइ छ ।
यो घटनाबारे चित्तबुझ्दो जवाफ नआए आफूहरू थप आन्दोलनमा उत्रने पीडित परिवारले चेतावनी दिएका छन् । यसैबीच उनीहरूले घटनाको निष्पक्ष छनबिन र क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दर्तासमेत गराएका छन् । घटना भएको तीन दिनमै इन्स्पेक्टर शर्मिला गुरुङलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो । तसर्थ प्रहरी नै प्रमाण नष्ट गर्नतिर लागेको परिवारको आरोप छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा