14th December 2017, Thursday

E-budhabar

चुनावको मुखमा राज्यसत्ताको चरम दुरुपयोग



काठमाडौं । देशभर संयुक्त वाम गठबन्धनका पक्षमा देखिएको जनलहरबाट अत्तालिएको शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले सरकार मतदातालाई पक्षमा प्रभावित पार्न अनेक हथकण्डा अपनाउन थालेको छ । राज्यसत्ताको चरम दुरुपयोग गर्दै देउवा नेतृत्वको सरकार राज्यको ढुकुटीबाट मतदातालाई खुलेआम करोडौं रुपैयाँ बाँड्नेदेखि झूटा आवश्वासन बाँड्ने, सरुवा र बढुवामा चलखेल गर्ने काममा लिप्त बनेको हो । यस्तो निर्वाचन आचारसंहिताविपरीतको निर्लज्ज हर्कतले देउवा नेतृत्वको कांग्रेसले निर्वाचनअगावै पराजय स्विकारिसकेको अर्थमा पनि विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट मात्र होइन, गृह मन्त्रालयबाट दिनहुँ मतदाताहरूलाई राज्यको ढुकुटीबाट करोडौं रकम बाँडिएको तथ्य सार्वजनिक हुने क्रम बढ्दै गएको छ । एउटा मतदातालाई कम्तीमा १० हजारदेखि ५ लाखसम्म बाँडिएको समाचार सार्वजनिक भएको छ । विशेषतः गृह जिल्ला डडेलधुरा, कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका मतदातालाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर रकम बाँडिरहेको खबरहरू आइरहेका छन् । कांग्रेसलाई भोट हाल्ने सर्तमा बालुवाटारमै बोलाएर देउवाले रकम बाँडेको काठमाडौंमा अस्थायी बसोबास गर्ने सुदूरपश्चिमका मतदाताहरूले खुलेआम भन्दै हिँडेका छन् । यस्तो निर्लज्ज क्रियाकलाप यसअघिका कुनै पनि निर्वाचनमा नभएको विश्लेषकहरू बताउँछन् । जिल्ला–जिल्लामा पनि कांग्रेसले पार्टीभित्र असन्तुष्टि राख्ने वाम गठबन्धनका मतदातालाई पैसामार्फत किन्ने रणनीति अख्तियार गरेका छन् । वडाका टोलहरूमा स–साना पटके भेलाहरू गर्ने र त्यसबाट सम्पर्क सूत्र पहिचान गरी पैसा बाँड्ने, वाम असन्तुष्टिमा खेलेर मत बढाउने प्रयास भइरहेको छ । सानदार पराजय बेहोरेर प्रतिपक्षमा बसिने निश्चित भएपछि केही सिट संख्या बढाएर सम्मानजनक जितका लागि उसले यस्ता रणनीतिहरू प्रयोग गरिरहेको बताइन्छ । उता, मन्त्रीहरूले सरकारी गाडीहरूको चरम दुरुपयोग गरेपछि निर्वाचन आयोगले धमाधम पत्र काट्न थालेको छ । कार्यकर्ता ओसारपसारदेखि पार्टीको प्रयोजनमा सरकारी गाडीको व्यापक दुरुपयोग भइरहेपछि आयोगले धमाधम पत्र काट्न थालेको हो । उता, ‘टुरिस्ट उम्मेदवारको आरोप खेप्नुपरेपछि प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा पैसाको पोको बोकेर कैलालीमा अड्डा जमाएर बसेकी छन् भने कमिसनबाट आएको पैसाले भर्खरै चुनावी परिचालनका लागि घरसमेत खरिद गरेको बुझिएको छ । यता, चुनावअघि नै नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) फेर्ने उद्देश्यले थुुप्रै चलखेल भइरहेको बताइन्छ । आईजीपी प्रकाश अर्याललाई हटाएर देउवाले आफूनिकट एआईजी रणबहादुर चन्दलाई बनाउन चलखेल गरिरहेको सूचना स्वयं अर्यालले सार्वजनिक गरिसकेका छन् ।

हिंसा भड्काएर चुनाव बिथोल्ने षड्यन्त्र
काठमाडौं । चुनावी मिति नजिकिँदै जाँदा देशभर संयुक्त वाम गठबन्धनको पक्षमा जनलहर सिर्जना हुँदै गएपछि हिंसा भड्काएर चुनाव बिथोल्ने गम्भीर षड्यन्त्र हुन थालेको छ । रुकुम र रोल्पामा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा र वर्षमान पुनमाथि एम्बुस थापेर आक्रमण गरिएलगत्तै एमाले उम्मेदवारमाथि मंंगलबार त्यस्तै प्रकृतिको हिंसात्मक आक्रमणको घटना भएको छ ।
एमाले पोलिटब्युरो सदस्य तथा भोजपुरमा प्रदेशसभाका उम्मेदवार शेरधन राईमाथि ट्याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा सांघातिक आक्रमण भएको छ । एम्बुस थापेर गरिएको आक्रमणमा राईका अंगरक्षक घाइते भएका छन् । त्यस्तै, संखुवासभामा प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजेन्द्र गौतममाथि पनि त्यस्तै आक्रमण गरिएको छ । निर्वाचन भाँड्ने उद्देश्यले शृंखलाबद्ध रूपमा उम्मेदवारमाथि आक्रमण भएको भन्दै एमालेले घटनाका दोषीलाई तत्काल कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणका रूपमा लिएका छौं । यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौं, अध्यक्ष केपी ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा उमेदवार कमरेड शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।’
एमालेले सत्ता पक्षीय उम्मेदवारलाई मात्र सुरक्षा उपलब्ध गराएका कारण आक्रमणका नियोजित घटना भइरहेकाले शान्ति सुरक्षाका सन्दर्भमा गम्भीर बन्न र निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।
‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवारवरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वाम पक्ष लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने अवस्थाप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ,’ एमालेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्दछौं ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कुमारी र एनसीसी बैंक डुबाउने खेलमा को–को ?

काठमाडौं । काण्डैकाण्डमा मुछिएको कुमारी बैकमा फेरि पनि विवाद बल्झिएको छ । यसअगाडिका सीईओ उदयकृष्ण उपाध्याय यौन काण्डमा परेर चर्चामा आएका मात्र होइनन्, उनको जागिर नै गएको थियो- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

जहाँ फुल्दै छ एउटा सार्थक सपना

आखिर सपना देख्नेहरू नै बदल्छन्– सिंगो संसार, आफू बाँचिरहेको समाज÷परिवेश । युवा सर्जक कमल ढकालसँग पनि सपनाका अनगिन्ति थाकहरू थिए । तिनै सपनामध्ये अहिले एउटा स्वप्नले सार्थक र- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

चीन बुझ्न सजिलो

पहिलो आर्थिक महाशक्ति बन्ने तीव्र दौडमा सामेल चीनले पछिल्ला अवधिमा विकास, उन्नति र समृद्धिको क्षेत्रमा मारेको फड्कोले सबैलाई चकित तुल्याउँछ । समाजवादी राज्य प्रणाली अपनाएयता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा