बढुवामा गृहमन्त्री शर्माको पूर्वाग्रह
काठमाडौं । प्रहरीमा देखिएको लामो समयदेखिको बढुवाको जाम आफूले पद सम्हालेपछि खुलाएको दाबी गर्दै हिँडे पनि गृहमन्त्री जनार्दन शर्माले क्षेत्रीयता, आर्थिक प्रभाव र अन्य उच्च तहको दबाबलाई ध्यान दिएर बढुवामा लाखापाखा गरेको बताउन थालिएको छ । तल्लो तहदेखि उपल्लो तहको प्रहरी अधिकारीहरूको बढुवा पनि पक्षपातपूर्ण भएको भन्दै व्यापक असन्तुष्टि छाएको छ ।
गृहमन्त्री शर्माले ज्येष्ठता र कार्यकुशलता हेरेर एआईजीमा बढुवा गरेको दाबी गरे पनि मधु पुडासैनी र पंकज श्रेष्ठ दुवैलाई पार्न सकेनन् । अहिले आईजीका लागि सिफारिस भएका थुप्रै नाममध्ये पुडासैनी र श्रेष्ठलाई कमसल उम्मेदवार मानिँदैन । सरुवाबढुवामा कुनै अन्याय हुन दिँदैनौ भन्दै हिँड्ने गृहमन्त्रीले पार्टी अध्यक्ष पुष्पकमल दाहालका अगाडि भने घुँडा टेक्न बाध्य भएको चर्चा छ । आफ्नै गृहजिल्लाका भएका कारण एसएसपी सुरेशविक्रम शाहको बढुवा भएको चर्चा छ । अन्यथा उनी पनि अन्य प्रतिस्पर्धीभन्दा अब्बल र योग्य भने पक्कै नभएको बताइन्छ । त्यस्तै एसपीमा एक नम्बरमा बढुवा भएका सिद्धिविक्रम शाह पनि गृह जिल्लावासी भएकैले एक नम्बरमा पारिएको बताइएको छ । डीएसपीबाट बढुवाका लागि एसपीमा सिफारिस भएका सञ्जीव शर्मा दासलाई बलात्कारीलाई संरक्षण गरेको मुद्दामा निलम्बन गरे पनि सिद्धिविक्रमको विगतको चरित्र पनि दासको भन्दा कम नरहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । विगतमा प्रबन्ध शाखामा बसेर अकूत सम्पत्ति आर्जन गरेका शाह सुडान काण्डका एकजना योजनाकारका रूपमा संगठनभित्र परिचित छन् । अख्तियारका लोकमानसिंह कार्कीको चाकरी गरी हनुमानढोका गएका उनी ठाडो उजुरीमा पैसा खाएर कारबाहीमा परेका थिए । अहिले एआईजी प्रमोसनमा सिफारिस भएका मिङमार लामाले नै उनलाई दोषी देखाउँदै कारबाही सिफारिस गरेका थिए ।
त्यस्तै ओमबहादुर राना कार्यक्षमतामा कमजोर हुँदाहुँदै पनि पटकपटक माथिल्ला नेताहरूको संरक्षणमा बढुवामा परिरहनेमा पर्दछन् । उनका लागि पूर्वउपराष्ट्रपति परमानन्द झाले समेत लबिङ गरेको बुझिएको छ । राना पहिले जुनजुन कमान्डमा बसे, ती ठाउँहरूमा असक्षम भनेर फर्काइएका व्यक्ति हुन् । त्यस्तै रसुवामा बस्दा रक्तचन्दन तस्करीको आरोप लागेका थिए भने त्यतिबेलाका कर्णेल रामकुमार थापा कोर्ट मार्सलमै परेका थिए । तर रानालाई तत्कालीन आईजीपीले साधारण नसिहत मात्र दिएर उन्मुक्ति दिलाएका थिए । त्यो कारबाहीसम्बन्धी फाइल अझै प्रहरी मुख्यालयमा रहेको थाहा भएको छ । रानालाई त्यहाँ कारबाही गरिएपछि फेरि उपत्यकाको मुख्य आकर्षक स्थान बौद्ध वृत्तमा पनि सेटिङमै पठाइएको थियो । त्यहाँ पनि तिब्बतियनसँग रकम असुल गरेको आरोपमा उनी कारबाहीमा परेका थिए । तर गृहन्त्री शर्माले उनलाई अहिले बढुवाका लागि लायक देखेका छन् ।
यति मात्र होइन, उनी सुर्खेतमा बस्दा परस्त्रीसँग उठबसको कुरा उठेपछि उनकी श्रीमतीमा अझै पनि डिप्रेसनको समस्या रहेको बताइन्छ । त्यस्तै यसपटक बढुवामा परेका रामेश्वर यादव घुस खानु आफ्नो अधिकार भन्ने गर्दथे । पटकपटक कारबाहीमा परेका मात्र होइन, अख्तियारले रंगेहात भेटेपछि उनी निलम्बनमा परेका व्यक्ति हुन् । त्यस्तै एसपी दिलीपसिंह देउवा एसपी त के असईजत्तिको परिपक्व ढंगले पनि प्रस्तुत हुन सक्दैनन् । तालिममा अत्यधिक मदिरा सेवन गरी पहिलोपटक नै गलत ‘पर्फमेन्स’ पेस गरेपछि उनी पहिलोपटक नै अनुत्तीण भई दोस्रोपटक तालिम गर्न बाध्य भएका थिए । प्रहरीमा तालिममा असफल भएपछि स्वतः जागिर जाने गर्छ । उनी राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा छिर्ने पहिलो व्यक्ति पनि हुन् । यस्तालाई गृहमन्त्री शर्माले के आधारमा च्यापे भन्ने गम्भीर प्रश्न खडा भएको छ । त्यस्तै अहिले बढुवामा परेका शारदाप्रसाद चौधरी मदिरा सेवन नगरी बस्नै नसक्ने बताइन्छ । २०६१ सालमा गुल्मीमा बस्दा एसएलसी परीक्षामा आएका विद्यार्थीहरूलाई बलात्कारको आरोप लागि कारबाही गरी हटाइएका उनी चुनावको समयमा मुगु जिल्ला प्रमुख थिए । उनको लुलो कार्यक्षमता र अत्यधिक रक्सी सेवन गर्ने गरेकै कारणले अञ्चल प्रहरी प्रमुखले यस्ता मान्छेलाई राखेमा चुनाव गराउन सकिँदैन भनेर रिपोर्टिङ गरेका थिए । यसबाट पनि उनको हैसियत प्रस्ट भएको छ । त्यस्तै पूर्वअञ्चलाधीश नवराज गुरुङको छोरा गेन्द्रबहादुर गुरुङ माओवादी भन्दै हिँडेकाले बढुवा भएको बताइएको छ ।aA
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply