22nd June 2018, Friday

E-budhabar

बदलिँदो समयमा एमाले र जनसंगठनबीचको सम्बन्ध



बदलिँदो समयमा एमाले र जनसंगठनबीचको सम्बन्ध

नेकपा (एमाले) नेपाली सर्वहारा श्रमजीवि वर्गको पार्टी हो । तर, पछिल्ला दिनमा समाज जतिजति खुला हुँदै छ, पार्टी निर्माण र विकासको क्षेत्रमा त्यति नै ठूलाठूला चुनौतीहरू थपिँदै छन्् । अराजकता, भष्टाचार, अनिमितता, विलासिता र भ्रष्ट संस्कृति, अवसरको ज्यादा खोजी, गुटबन्दी, राजनीतिको पारिवारीकरण र व्यापारीकरण, नातावाद, कृपावाद र आमजनताबाट अलग हुने प्रवृत्ति आज पार्टीले सामना गर्नुपरेका मूलभूत समस्या हुन् । अनेकन् प्रकारका शोषण, दमन, असमानता र विभेदहरूले जकडिएको हाम्रो जस्तो नेपाली समाजमा आमूल परिवर्तन गरी समाजवाद एवं साम्यवादतर्फ अगाडि बढ्ने लक्ष्य लिएको नेकपा (एमाले) ले सादा जीवन र उच्च विचारलाई आफ्नो आदर्शका रूपमा प्रस्तुत गर्ने अठोट गरेको छ । तर, व्यवहारमा यो आदर्श लागू भइरहेको छैन । यस आलेखमा यस्तो हुनुका मूलभूत कारणसहित समाधानका लागि केही सुझाव दिने प्रयास गरिनेछ ।
पार्टी कामको मूल्यांकन
पार्टीले आफ्नो कामको समग्र समीक्षा गर्ने विषय बारम्बार उठाउने गरेको छ । तर, व्यवहारमा हेर्दा व्यवस्थित समीक्षा गर्ने, त्यसबाट शिक्षा लिने काम भएकै छैन भन्दा अनुचित हुँदैन । हामीले पार्टी काम, जनसंगठनहरूको काम, सरकार तथा संसदीय क्षेत्रको कामको वस्तुनिष्ठ समीक्षा गर्ने र त्यसबाट गम्भीर शिक्षा लिँदै आगामी कार्यलाई व्यवस्थित नगरी स्वतःस्फूर्तताले पार्टी सधैं चल्न सक्तैन । यसका लागि पहिलो, पार्टी नेतृत्व तहमा देखा परेका अन्तरविरोधलाई हल गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । दोस्रो, नेतृत्वबीचको समझदारी र एकमना एकताले नै सम्पूर्ण पार्टीपंक्तिमा क्रान्तिकारी ऊर्जा सिर्जना गर्दछ । तेस्रो, नेतृत्वबीचको अनेकता, विवाद, गुटबन्दी, पक्षधरतालाई अविलम्ब अन्त्य गरिनुपर्दछ । चौथो, पार्टीको आन्तरिक निर्वाचनमा समूहगत उपस्थितिको प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति पुगको छ । तसर्थ, यसलाई अन्त्य गर्न हाल हामीले अवलम्बन गरेको निर्वाचन पद्धति, निर्णय गर्ने प्रक्रिया र कार्यकर्तालाई दिइएको अवसरको वस्तुनिष्ठ समीक्षा गरी कम्युनिस्ट निर्णय प्रक्रिया र कार्यकर्ता मूल्यांकन पद्धतिलाई विनापूर्वाग्रह पुनर्जीवित गर्दै संस्थागत परिपाटी र सामूहिक नेतृत्वको पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्दै हरेक कार्यकर्ताको संगठन, संघर्ष र नेतृत्वको कदर हुने पद्धति निर्माण गर्ने दिशामा पार्टी हिम्मतपूर्वक जानुपर्दछ ।
कार्यकर्तालाई वैचारिक तथा सैद्धान्तिक प्रशिक्षण
पार्टी कार्यकर्तालाई वैचारिक तथा सैद्धान्तिक रूपमा पोख्त बनाउन पार्टीको क्रान्ति र सामाजिक परिवर्तनसम्बन्धी दृष्टिकोणहरू, कार्यदिशा, नीति, सिद्धान्त र पार्टीको संगठनात्मक सिद्धान्त, कम्युनिस्ट नैतिकता, आचरण, व्यवहार तथा पार्टी अनुशासन तथा परिवर्तित राज्यका नयाँ संरचनाहरूको औचित्यसहितको कार्यान्वयनलगायतका सम्बन्धमा सघन र व्यवस्थित प्रशिक्षणको खाँचो देखिन्छ । अहिलेका हाम्रा पार्टी प्रशिक्षणहरू गुटबन्दीको विस्तार गर्ने माध्यम बन्दै गएका छन् । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवहरूमाथि उभिएर व्यवस्थित एवं सटीक व्याख्या चौथो राष्ट्रिय महाधिवेशनमा क. मदन भण्डारीद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा गरिएको थियो । पार्टीको सैद्धान्तिक अवधारणाहरूलाई, विचार शृंखलाहरू र निर्णयहरूलाई स्थापित गर्न एवं तिनीहरूको आलोक वा मार्गनिर्देशनमा सिंगो पार्टी र आमजनता तथा समाजलाई तोकिएको लक्ष्य प्राप्तिको दिशामा अघि बढाउन सकिन्छ भन्ने हेक्का कार्यकर्तामाझ विश्वास दिलाउन आवश्यक छ । हाम्रो पार्टीेले भूमिगतकालदेखि नै वैचारिक बहसलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेतृत्वका बीच बिनाघोचपेच साझा मञ्च निर्माण गरी महाधिवेशनमा पेस हुने दस्तावेजहरूमाथि बहसलाई अघि बढाउने प्रचलन थियो । तर, हाल आएर पार्टीमा सैद्धान्तिक वैचारिक बहसहरू स्वस्थ हुन छाडेको छ । भइहाल्यो भने आ–आफ्नो समूहको भेला बोलाएर एकले अर्कालाई खुइल्याउने काम हुन थालेको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त जबजको नीति र कार्यक्रममार्फत समाजवादमा जाने पार्टीको उद्देश्य र कार्यनीतिप्रति प्रतिबद्ध रहँदै पार्टीका सबै राजनीतिक, संगठनात्मक कार्यनीति र कार्यशैली परिभाषित गर्न सकिएको छैन । यतिखेर जबजको व्याख्यामा एकरूपता छैन । सबैले आ–आफ्नो हितअनुकूल हरठाउँमा जबजको व्याख्या र प्रयोग गरिएको पाइन्छ । तसर्थ, पार्टीले संस्थागत रूपमा यसको व्याख्या र बुझाइमा एकरूपता ल्याउन गम्भीर महŒव दिनुपर्दछ । नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरूसँगको एकताका सन्दर्भमा पनि यही विज्ञान लागू गरिनुपर्दछ ।
जनसंगठन परिचालनका सन्दर्भमा
पहिला पार्टी भूमिगत हुँदा आधारभूत तहका जनता वा समुदायसँग सम्बन्ध स्थापित गर्न विभिन्न जनवर्गीय संगठन बनाइएको थियो । तर, २०४६ सालको ऐतिहासिक परिवर्तन पश्चात मुलुकमा खुला राजनीतिक अवस्था आएपछि पार्टीहरू खुला भएपछि जनसंगठनका नेता तथाहरूको एकातिर पार्टीका उच्चस्तरीय नेताहरूसँग प्रत्यक्ष सम्बन्ध हुन थाल्यो, अर्कातिर गैरसरकारी संघ÷संस्थाहरूसँग सम्बन्ध विकास हुन थाल्यो । जसको परिणामस्वरूप केही जवसका नेताहरू पार्टी नेताहरूसँग नजिक हँुदाको फाइदा उठाएर आर्थिक धन्दामा लाग्ने र रातारात धनी हुने र नेता हुने अवस्था सिर्जना भयो । अर्कातिर केही जवसका नेताहरू सामाजिक विकासका नाममा आएका विभिन्न गैससका परियोजनामा चुर्लुम्म डुब्न थाले । यसरी एकातिर पार्टी नेतामार्फत सत्ताको स्वाद लिने एक समूह र अर्कातिर गैससमार्फत परियोजनाको स्वाद लिने एक समूह भएपछि निःस्वार्थ रूपले जनवर्गीय संगठनहरूमा संगठित हुनेहरू घरको न घाटको हुनु स्वाभाविकै हो । पार्टीको नवौं महाधिवेशनको मूल राजनीतिक दस्तावेजमा जनसंगठनहरू भन्ने उपशीर्षकमा पार्टीसँग प्रत्यक्ष रूपले आबद्ध र मोर्चा संगठनमा संगठित २१ वटा जनसंगठन किटान गर्दै जनसंगठनहरूले आफ्नो वर्ग या समुदायका माग, सरोकार र मुद्दाहरूलाई जनपरिचालन, जनदबाब या संघर्षका माध्यमबाट अगाडि बढाउँदै सम्बन्धित वर्ग या समुदायमा पार्टी प्रभाव विस्तारका लागि महŒवपूर्ण भूमिका खेल्छन् । यद्यपि, कतिपय जनसंगठनहरूले परिवर्तित परिस्थितिअनुरूप आफ्ना वर्गीय या सामुदायिक सवालमा केन्द्रित हुँदै सम्बन्धित क्षेत्रको नेताको रूपमा स्थापित हुन आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउन सकिरहेका छैनन् । यिनीहरू पार्टीकै वरिपरि घुम्ने, पार्टी समर्थकहरूका बीचमा मात्रै क्रियाशील हुने काममा सीमित छन् । पार्टीभित्रको गुटबन्दीको असरबाट पनि कतिपय जनसंगठनहरू गम्भीर रूपले प्रभावित छन् । आगामी दिनमा जनसंगठनहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन मोर्चा संगठनहरूले विशेष भूमिका खेल्नुपर्दछ । जनसंगठनहरूको प्रभावकारी परिचालनले मात्रै मोर्चा संगठनका रूपमा वर्गीय संयुक्त मोर्चा निर्माण गर्ने तथा आमश्रमजीवी जनसमुदायबीच पार्टीलाई विस्तार गर्ने पार्टीको उद्देश्य प्राप्त गर्न सकिन्छ भनिएको छ । तर, पार्टी नेतृत्वले यसबीचमा जनसंगठनहरूसँग गरिएका व्यवहारहरू हेर्दा पहिलो आठौं महाधिवेशनपछि गठन भएको राष्ट्रिय प्रतिनिधिपरिषद्मा हजारौं कमरेडहरू विभिन्न क्षेत्रबाट निर्वाचित भए जसमध्ये २१ वटा जनवर्गीय संगठनबाट आधिकारिक निर्णय गराई माइन्युटको फोटोकपीसमेत नाम मागियो । सबैजसो जनसंगठनले त्यही प्रक्रिया अवलम्बन गरे । तर, कतिपय प्रतिनिधिपरिषद् सदस्यहरू परिषद्को समापनसमेत घोषणा हुँदै थिए । जब नयाँ संरचनाअनुसार पार्टीका प्रदेश कमिटीहरू बनाइए, त्यसबेला जनवर्गीय संगठनका तर्फबाट संस्थागत निर्णय गरेर पठाइएकाहरूलाई प्रदेश कमिटी सदस्य हुनबाट वञ्चित गरियो । बरु, पार्टी अध्यक्षले समापन भाषण गर्दै गर्दा मनोनीत भएकाहरू प्रदेश कमिटीका कार्यकारी सदस्य बनाइए । दोस्रो, विगतमा संविधानसभाको निर्वाचनमा मोर्चा संगठनहरूकातर्फबाट उम्मेदवारहरू सिफारिस माग्ने तर जनसंगठनका नेतृत्वलाई बेवास्ता गर्ने काम भए । तेस्रो, स्थानीय तहको निर्वाचनको छनोट प्रक्रियामा त आधारभूत वर्ग समुदायमा कार्यरत जनवर्गीय संगठनलाई बेवास्ता गरी सिफारिस नै मागिएन । चौथो, पार्टी बेलाबेलामा सरकारमा गएका बेला आर्थिक÷सामाजिक रूपान्तरणका कार्यक्रमहरू निर्माण गर्दा र राजनीतिक नियुक्ति गर्दा सम्बन्धित समुदायका जनवर्गीय संगठनलाई बेवास्ता गर्ने गरियो । पाँचौं, जनसंगठनहरूमा पनि नेतृत्व र वर्चस्व कुन गुटको छ भन्ने आधारमा व्यवहार भए । उस्तै हैसियतका जनवर्गीय संगठनहरूमा पनि नेतृत्वको व्यक्तित्व र महाधिवेशनको हिसाबकिताबका आधारमा महासंघ र सामुदायिक संगठनका नाममा विभेद गरियो । छैटौं, एउटै व्यक्ति विभिन्न जनवर्गीय संगठनमा हुने, केही जनवर्गीय संगठनहरूले पार्टीझैं जनवर्गीय संगठन निर्माण तथा परिचालन गर्नेे, केन्द्रीय निकायहरू बनाउनेलगायतका कारणले पार्टीमा अस्वस्थ प्रतिस्पर्धा र गुठबन्दी तलतल विस्तार हुन सजिलो भएको छ । यस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट जोगाउँदै वाम गठबनधनको नेतृत्व गर्दै स्थिर सरकारको नेतृत्व गर्न तम्तयार भएको पार्टीका हामी हरेक कार्यकर्ताहरूले विनापूर्वाग्रह पार्टी निर्माण, परिचालन तथा सुदृढीकरणका लागि एक हुन जरुरी छ । अन्यथा हालको कांग्रेसको जस्तो हालत नहोला भन्न सकिन्न ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा