24th September 2017, Sunday

E-budhabar

बदलिँदो समय र ‘चिठी–साहित्य’ को स्वाद



एक्काइसौं शताब्दी अनेक उपलब्धिहरुको चाङ बोकेर उभिएको छ । तिनै उपलब्धिहरुमध्ये एक हो– प्रविधिको उच्चतम विकास । सूचना जगत्मा आएको व्यापक फेरबदलले मानिसलाई हरेक कुरामा सहजता, सरलता र निकटता प्रदान गरेको छ । विश्वका जुनसुकै कुना–काप्चाहरुमा बस्ने मानिसहरुबीच तत्क्षण नै अन्तरसंवाद चलाउन सकिने भएको छ । इन्टरनेट र अन्तरसञ्जालहरुको बढ्दो प्रयोगले मानिस–मानिसबीच सहज सम्बन्ध विस्तारित हुँदै गएको छ ।
सूचना जगत्मा आएको क्रान्तिकारी परिवर्तनका सामु हस्तलिखित चिठी–पत्रका प्रसंग उप्काउनु असान्दर्भिक ठहरिन सक्छन् । दुई दशकअघि चिठी–पत्रबाटै पारिवारिक, सामाजिक तहका सूचना र सञ्चो–बिसञ्चोका साथै  युवा–पंक्तिमा प्रेम–झंकारहरु छचल्किन्थे । अब समय बदलिएको छ, प्रविधिको चढ्दो विकाससँगै चिठी–पत्र लेखनको थलो विद्युतीय तार–प्रणालीले लिएको छ । मानिसको परिकल्पना र सम्बन्ध–सूत्रको संसार झनै विशाल र फराकिलो बन्दै गएको छ ।
तर, चिठी–पत्र लेखेर नै परिसम्वाद चलाउने कार्यमा कुनै बेला साहित्य, संगीत, कला, संस्कृति क्षेत्रका सर्जकहरुले ठूलै अग्रसरता लिएका थिए । केही समयअघि, कवि जसराज किरातीले आफू साहित्य–लेखनमा तानिनुमा तत्कालीन समयका सर्जकहरुसँगको बाक्लो चिठी–पत्र आदानप्रदानलाई कारक भएको बताएका थिए । बीसको प्रारम्भिक दशकदेखि नै उम्दा कविता लेख्न थालेका किरातीले गृहजिल्ला खोटाङमा रहेर सामाजिक, साहित्यिक, सांस्कृतिक र राजनीतिकसमेत गतिविधिमा आफूलाई चोपल्दा समकालीन सर्जकहरुसँग चिठीबाटै साहित्य–संवाद चलाएका थिए ।
त्यतिबेला किरातीले भोजपुरका शैलेन्द्र साकार, संखुवासभाका ज्ञान उदास र रमेश श्रेष्ठ, धरानका कृष्ण देवान र गोविन्द विकलसँग बाक्लै चिठी–संवाद चलाएका थिए । किरातीले ती सर्जकहरुसँग चिठीबाटै साहित्यमा आइरहेका नयाँ नयाँ आन्दोलन र वादहरुबारे जानकारी लिन्थे । तर, किरातीलाई अहिले के कुरामा दुःख छ भने, उनले ती चिठीहरु जतन गरेर राखेनन् । नभए, एउटा ऐतिहासिक दस्तावेज बन्थे, ती चिठी–पत्रले कुनै समयको साहित्यको दर्पण देखाउँथे ।
संकलित चिठी–पत्रलाई किताबको रुप दिएर पाठकसामु पस्किने कार्य छिटफुट रुपमा हुन थालेका छन् । केही वर्षपूर्व, कम्युनिष्ट नेता एवं साहित्य–सर्जक नारायणमान विजुक्छे ‘रोहित’ ले आफू जेलमा बस्दा लेखेका चिठी–पत्रलाई किताबकै मान्यता दिलाए । २०४५ सालमा कर्णप्रसाद ह्योजुको हत्या भएपछि सो हत्याकाण्डका लान्छित पात्र विजुक्छेलाई तत्कालीन पञ्चायती शासकले पक्राउ ग¥यो र २०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपश्चात् उनी रिहा भए । जेल जीवनका क्रममा आफ्नी पत्नीलाई लेखेका चिठी–पत्रहरुलाई एकत्रित गर्दै उनले ल्याएका थिए, ‘जेलका चिठीहरु’ । विजुक्छेको ‘जेलका चिठीहरु’ केवल आफ्नी पत्नीलाई एउटा पतिले लेखेका चिठीमा मात्र सीमित देखिँदैन । विजुक्छेले भक्तपुरको सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षहरुलाई पनि मिहिन रुपले केलाउने प्रयत्नसमेत गरेका छन् । विजुक्छेको पुस्तक चिठी–पत्रको सँगालो मात्र नभएर एक राजनीतिक दस्तावेजसमेत बन्न पुगेकोमा सन्देह गर्ने आधार छैन ।
इन्टरनेटको जमानामा कथा–सर्जक हरिहर खनालले पनि चिठी–पत्रको समयलाई सम्झिने चेष्टा गरेका छन् । केही महिना मात्रै भयो, उनले आफूलाई प्राप्त चिठी–पत्रहरुलाई किताबकै रुप र आकार दिए । ती चिठी–पत्रहरु तत्कालीन समयको दस्तावेज ठहरिने भएकाले खनालले किताबको आकार दिन चाहेका हुन् । मूलतः प्रगतिशील कथा लेखनमा जमेका खनालको ‘चिठी–साहित्य’ साहित्यका मर्मज्ञ र रुचिकरहरुलाई चाखलाग्दा विषय हुन सक्छन् ।
अझ, आफूलाई प्राप्त र आफूले अरुलाई लेखेका पत्रहरुलाई सम्हालेर राख्ने कार्यमा त श्यामप्रसाद शर्मालाई कसैले पनि भेट्दैनथे । केही महिनापूर्व भौतिक अस्तित्व त्यागेका शर्माले भूमिगत राजनीतिमा रहँदा मात्र होइन, त्यसअघिका समयमा लेखेका चिठीहरुलाई किताबकै रुप दिएका थिए, ‘छरिएका पत्रहरु’ । खासगरी, श्यामप्रसादका चिठी–पत्रहरु ००७ सालको क्रान्तिपूर्व र पश्चात् नेपाली समाजभित्र देखिएका परिवर्तनका धर्साहरुलाई नियाल्ने माध्यम हुन सक्छन् । तत्कालीन समयका प्रबुद्ध व्यक्तिहरुसँगका चिठी–संवादले त्यतिबेलाका समयलाई चिन्न सहयोग पु¥याउनेमा दुईमत देखिँदैन ।
हुन त, कतिपयलाई लाग्न सक्ला– चिठी–पत्रहरु संकलन गरेर निकालेको किताबको कुन साहित्यिक मूल्य रहन्छ र ? साहित्यिक वा अरु मूल्यवत्ताका हिसाबले त्यस्ता किताबहरु खासै वजनदार नठरिन सक्लान् । तर, तत्कालीन समाज, राजनीति, साहित्य वा अरु क्षेत्रका वस्तुगत यथार्थ बुझ्न भने त्यस्ता चिठी–पत्रहरुले अहम् भूमिका खेल्दछ र कुनै समयको गहकिलो दस्तावेजको रुपमा अंकितसमेत हुन पुग्दछ । नभए, राजनेता बीपी कोइरालालगायतले लेखेका चिठीहरु किताबका रुपमा आउँदा पाठकहरुले चाख मानेर अध्ययन गर्ने थिएनन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा